कविताः स्मृतीमा बालापन - गाँउबाट हराएको मान्छे



आजको दिन मेरो जीवनको ब्लगिङ यात्राको शुरूवाती पहिलो दिन । मिति २०६९ साल फागुन १५ गते मेरो जन्मदिन कै दिन surprisingly मेरो नामको डोमेन www.bhimprasad.com.np मर्कन्टाइलले प्रदान गर्ने नेपाल सरकार को राष्ट्रिय डाटाबेसमा सफलतापूर्वक दर्ता भएर मैले आफैले डिजाइन गरेको ब्लगसाइटमा यो पहिलो ब्लग साझा गर्न पाउँदा मलाई बहुत खुशी लागेको छ । आजको आजै तात्तातै खासै केहि लेख्ने कुरा भेटीन । म एक कवि मनको विद्यार्थी भएको हुनाले यहाँहरू सामु मैले गत दशैमा गाँउ गएको बेलामा गाउँ घरको भीरपाखामा बाख्रा चराउन जादा रचना गरेको एक कविता प्रस्तुत गर्दै छु ! 


"स्मृतीमा बालापनः गाँउबाट हराएको मान्छे"

आज म गाँउमा छु । 

धेरै वर्ष पछि आज म, 

पुनः गोठालो आएको छु ।


बचपनमा घरबनाइ खेलेको ती ढुङ्गा-माटोहरू,

लहरा समातेर पीङखेलेको त्यो रिफेल चौतारो,

त्यो ढकाल चौतारो, त्यो मास्लो चौतारो;

स्कुलबाट भागी भागी पौडी खेल्ने बुडी गंगाको त्यो खाडी,

र सिङखोलाको त्यो दुईकापे हाँडे रूवा,

डन्डिबियो खेल्ने ती निस्नेखेतको खलेगरा,


मोजामा कोदोको भुस कोचेर 

फुटबल खेलेका टारका ती ठुला गराहरू, 

दिदीबैनिसग खुट्टी र गट्टा खेलेका ती आँगनहरू,

खोपी, ढ्याक र गुच्चा खेलेका घरका ती कर्साहरू, 

लुकी र ढ्यापलगाइ खेलेका गाँउका ती गल्लीहरू,

हाफछुट्टीमा चुङ्गी र भालेजुदाइ खेल्ने डाँडास्कुलको त्यो चौर,

सबै सबै यथावथ रहेछ, मलाई सम्झिरहेको रहेछ ।

मलाइ पर्खिबसेको रहेछ ।


लोक भाकाहाल्दै, सिटी बजाउदै, पात बजाउदै, 

घाँस दाउरा र गोठालो गरेका ती छत्यौनपाखा र निस्नेका भीरहरू,

अनि, मेलापात गरेका ती खेत खलियानहरू, 

सिम्लेखेत, चालिसे खेत, निस्ने खेत, टार खेत,

सबै सबै, जस्ताको तस्तै मलाई कुरीरहेका रहेछन । 

बादर लखट्ने टारी र ठुलटारखोला अझैं पनि छदै छ रहेछ ।

गाउबेसी, उकाली वराली, अझैपनि रहेछ ।


वायखोलाका एैसेलुका झ्याङहरू, खाडीका बयरघारी, 

सानटारखोलाको अमराका रूखहरू, 

र नीस्नेभीरको अमला र भलायोहरू, 

अझैपनि फलिरहेकै रहेछन ।


असार लागेपछि हामीले हल्लाउने-

त्यो बम्बै आपको रूख, केरकाली आपको रूख, 

र, त्यो लोहोरे आपको रूखहरूले अझैपनि फल दिईरहेको रहेछ ।


काफल पाक्न थालेपछि

काफल पाक्यो काफल पाक्यो भनेर

वियोगमा कराउने चरा, अहिले पनि कराईरहने रहेछ ।

कोइली चरीले अहिले पनि विरहको भाका गाईरहने रहिछिन ।

ढुकुरका जोडीहरू त्यो बुडो दबदबेको रूखको हाँगामा बसेर, 

प्रेमालाप गरिरहने रहेछन अझैपनि ।

विहान गाँउबासीलाइ सुर्योदयसै उठाउन "कुखुरी-काँ" 

कराउन छाडेको रहेनछ कुखुराको भालेले पनि ।


बचपनमा हामीले चोरी खाने गरेको कुमारघरको भोगटे,

गोपाल काकाको बारीको निबुवा र उखु, ठुलबाको बारीको काक्रो,

र सराई काकाको खेतको बेलाउती अझैपनि फरिलहेकै रहेछ ।


हामीले खोतली खोतली खाने, 

अर्चलेको खनायो, चालिसे खेतको बुडो खनायो, 

अझैपनि फलिरहेकै रहेछन ।

जिब्रो कालो न कालो हुनेगरी

हामिले बच्पनमा खाने कालीअँगेरी, 

अझैपनि पाखाभरी फलिरहेका रहेछन ।


हरेक वर्ष साउनको एक गते लुतो फाल्ने–

अर्थात, विभिन्न जडीबुटी, बनस्पति र फलफुलहरु– 

लुतेझार, जनैलहरा, पानीसरो, तितेपाती, कुरीलो, 

उन्यु, कुकुरदाइनोको लहरा, सीउडीको काँडा, 

बेलाउती, बिमीरो, निबुवा, भोगटे, सयपत्री फुल, 

र भलायो लगायत धेरै सामग्री बटुलेर 

बेलुका साझ परेपछि चटट कुरीलो पोलेर पुजा गरेर– 

लुतो आको, खटिरा आको, गानु गाको, 

जरो आको, खोकी लाको, गाँड आको, 

कम्मर दुखेको, दादुरा आको, ठेउला आको,

टाउको दुखेको, पेट दुखेको, घुँडा दुखेको,

....सबै सबै रोग पारीपटी लैजा है सुकौरा गाँडा

भनेर फलाकेर आगोको अगुल्टो घरको सबै सदस्यले

पारी सुकौरापटी फ्याकेर नाङ्लो बजाउदै, 

घरभित्र पसेर ढोका लगाउने चलन

अझैपनि रहेछ गाँउमा । 


मंसिरमा धानको कुनियोको शिरमा चढाउने 

लालुपातेफुल अझैपनि फुलिरहेकै रहेछ ।

हरेक अनाज रोप्ने बेलामा र भित्राउने बेलामा 

श्रद्दाले पहिलो भाग चढाउने गरेको

चालिसेको भुमे, निस्नेको भुमे,

र सिम्लेको भुमे अझैपनि रहिरहेछ ।


स्कुलबाट फर्कियपछिको हाम्रो खाजा 

केराको पातमा हालेको कोदोको रोटी,

अझैपनि पाक्ने रहेछ गाँउमा ।

मोही र भुटेको मकैभटमास खाजा चलन 

अझै पनि रहिहेछ गाँउमा ।


पन्ध्र असारमा खाने दहि चिउरा, साउनमा खाने खिर, 

तीजमा खाने दर, दशैमा खाने मासु चिउरा,

तीहारमा खाने झिलाय र रोटी, न्वागीमा खाने दहिचामल, 

पन्ध्र पुसमा खाने लट्टे, माघमा खाने खित्रो र तरूल, 

अनि फागुनको भाङ र धुनी चलन अझैपनि रहिरहेछ ।


दशैं तिहार जस्ता ठुला चाडपर्व आउन लागेपछि 

घर आँगन र कर्सा सरसफाइ गर्ने,

अनि, गाँउले सबै मिलेर बाटो बनाउने त्यो चलन, 

घरका भित्ताहरुलाई सेतो टलक्क टल्कीने बनाउन

कमेरो लिन जाने सिङखोलाको त्यो मुहान,

छानामा चढेर घरको सबै भित्तामा नबीराइ कमेरो लगाउदा–

टाउको, अनुहार र ज्यान सबै कमेरोले सेत्तै भईने त्यो समय,

रातो माटोले घर आँगन पोतेर चिटीक्क पार्न–

थुन्से बोकेर माटो लिन जाने त्यो मड्किनु डाँडा, 

घरको भित्तामा पुरेनी भर्न–

घिरौलाको पात निचोरेर बनाइने हरियो रंग,

अनि, घरको भित्तामा रंगिन पेटी बनाउन,

चिलउनेको बोक्रा, आँपको बोक्रा, 

र फहेलो फुल्ने जंगली चैते फुल मिसायर पकाएर 

तयार पारिने गाढा बैजनी रंग लगाएपछिको 

चिटिक्क सिंगारीएको सुन्दर घर ।


दशै–तीहारमा हालीने ती रंगटे पीङ र लिंगे पिङ,

लिंगेपीङमा दुइ उस्तै उस्तै साथीभाइ चढेर–

दोहोरी मच्चाउदै चररर चचहुई भन्दै,

फिङ फर्कीर्ने गरी मच्चाउदाको त्यो मजा ।

घर घरमा क्यास्केटमा बझाइने ती रमाइला लोक गीत,

गाँउका सबै दाजुभाइ जम्मा भएर नारीने–

कलबीरेक र झन्डीमुकुडका ती खालहरु, 

रानागाँउको कौडा खालमा चौका दाउमा च्याखे थापेर–

“मारा ले–चार ठाडी” भनेर उफ्रीदाको त्यो उत्साह,

बिजयादशमीको दिनदेखी हरेक आफन्तजनको घरमा 

नयाँ स्कुल ड्रेस लगाएर फुर फुर पर्दै,

टिका लगाउन जाँदाको त्यो आशा,

टिका लगाएर एक रुपैयाको नोट पाँउदाको त्यो खुशी ।

हरेक दशैको पूर्णीमाको दिन 

फुलापती भञ्ज्याङमा लाग्ने त्यो भब्य जात्रा जाँदाको रमाईलो । 


तीहारको झिलीमिली, तोरान उन्ने, माला उन्ने, झिलाए पार्ने, 

लक्ष्मि पुजाको झिलीमिली उज्यालो, 

लुगाको पाछाडी हानीने चामलको पिठोको ढ्याप,

भाईटिकामा दिदी बैनिले दिने कोशेली, 

अझ सबैभन्दा विशेष चै सबै दाजुभाइ मिलेर– 

तीन चार रातसम्म अल्लो गाँउ पल्लो गाँउ

वारी गाँउ पारी गाँउ सबैतिर खेलीने देउसीरे ।

हरेक वर्ष कार्तिक एकादशीको राती–

घाँटीमा रुमाल र कम्मरमा ज्याकेट बाधेर

साथिमाइ बरालीदै जाने बुडाथुम जात्रा, 

जात्रमा बदाम खान लगिएको पचास रुपैया पनि

झन्डीमुकुटमा हारेपछि रातभरी भोकभोकै जात्रामा बरालीएर

भोलीपल्ट बिहान पाँच नबज्दै घर आपुगेर घाँस काट्न गाएका ती सम्झनाहरु,

कार्तिक द्धादसीको दीन कसौडीमा नयाँ चामल, दही, केरा भिजाएर

देवी देवता र थानी भुमेलाई चढाएर खाईने न्वागीको मिठो दहीचामल,

जात्राहरुको सम्झना त झन झलझली छ–

देवीथान जात्रा, गंगाजमुना जात्रा, सल्यानबेसी जात्रा 

हरेक तीन वर्षमा गरिने गाँउकै कुलपुजाको रमाईलो,

अझ, पक्कु पक्कु गर्दै घडेरीको ओडारमा

सीरानघर हजुरबा काम्ने त्यो वीरपुजा ।


कार्तिक लागेपछि 

गाँउका बलियाबांगा दाजुभाइ मिलेर

लेकमा आलुको बिउ लिन जाँदाको स्मृती–

अल्कटारबाट आर्खेत, आर्खेतबाट कोखेटारहुँदै छोपारे भीर,

बुडीगण्डकीको तिरैतिर तेरसै... सोतीखोला तरेपछि

अर्मलाको उकालो चढेर लापुमा बास, 

लापुमा बाहीरै आगो फुकेर भात पकाएर खाएका ती दिन,

जाडो याम तर राती सुत्ने ठाँउ नपाएर 

पछ्यौरा ओडेर सबैजना एकैठाउमा सुतेका ती रातहरु,

भोलिपल्ट लापुको उकालो चढेर नौलीखोला,

नौलीखोलानिरको चौरमा बसेर मकैभटमास र नुनखुरसानी खाजा, 

नौलीखोलको काठको पुल तरेपछि

उकालो चढेर डाडामा पुगेपछिको चिसो हावा,

त्यहाँबाट गुम्दा सिरानगाँउ पुगेर पुछागाँउ झरेर बासबसी,

पन्ध्र पाथी आलुको भारी बोकेर 

भोलीपल्छ त्यहाँबाट ओरालै ओरालो घरफर्कीदाको 

कठीन तर संघर्षमय यात्रा, 

चारदीनमा घर आइपुगेपछि सुन्नीएका खुट्टा,

टाउको माथि हेर्न नमिल्ने गरी बटारीएको घाँटी,

उर्फ, ती दीन, ती सम्झाना, 

सुनेको छु, हामी आलुको बीउ लिन जाने त्यो लेक,

त्यो गुम्दा, त्यो लाप्राक, त्यो बार्पाक–

अहिले त एकदमै सुन्दर नगरी भएका छन रे । 

अनि, त्याे गुम्दा ले अल्कटारका दाजुभाइ 

अब फेरी कहिले आलु लिन आउलान भनेर

कुरीबसेका छन अरे ।


तर,

म झैं सबै दाजुभाइ गाँउ छाडेर शहर छिरेपछि, 

शहरको भोग विलासले सबैलाई खिचेपछि,

अहिले गाँउ खाली छ, 

तर, गाँउमा हुनुपर्ने सबै सबै छ,

गाँउमा जीवन छ, जीवन्त छ । 

गाँउमा जीवनको अर्थ छ, अर्थपूर्ण छ ।


गाउँले मलाई मात्र होइन,

सबै दाजुभाईहरुलाई धैर्यपूर्वक कुरिरहेको रहेछ ।

सायद उसले सोचेको होला—

शहरको नरकीय जीवनबाट निस्सासिएर, 

एक न एक दिन सबै सबै,

आफ्नै जन्मभूमिको स्वर्गीय काखमा जरुर फर्किनेछन ।

त्यसैले,

कहिले फर्किएलान् मेरा जवान युवाहरू भन्दै, 

ऊ आज पनि बाटो हेरिरहेको छ ।

जब त्यो दिन आउछ, उसको योजना छ–

स्वच्छ कलकल हावाले सबैलाई अँगालो हालेर स्वागत गर्ने ।

मिठो चिसो पानीले सबैको भड्कीएको तिर्खा मेटाईदिने ।  


सबै सबैलाइ, 

म जिउदै छ वा मरिसक्याे, थाहा छैन,

म फर्किन्छ वा फर्किदैन, थाहा छैन ।

तर, यी सबै सबै धैर्यपूर्वक मलाई पर्खिएर बसिरहेका रहेछन ।

ती सालका रूखहरू, ती पहरोहरू, ती भीरहरू, ती पाखाहरू,

ती खोलाहरू, ती चौतारीहरू, ती गराहरू, ती फाटहरू, 

त्यो बुडीगण्डकी, त्यो वायखोला, त्यो सिंगखोला,

धापिएको बेला आँतै शितल गराउने बाँसझ्याङको त्यो चिसो पनी,

तीनिहरू सबै सबै कति सौम्य र धैर्य !

मलाई कुरेर बसिरहेका रहेछन।


तर, म कति बैगुनी? 

आमाको गुन बिर्सियर 

बाहिर बाहिर चारी हिड्ने ?

संसारको भोगमा रमाइहिँड्ने ?

सान्सारिक भोगमा जति जति डुबे पनि

कहिल्यै तृप्त भएर आमाको काँखमा नफर्किने

सधै सधै अरूकै दास भएर रमाइरहने, 

हेर्नुस त, म कति बैगुनी ।


म गाँउ छाडेर काठमाडौं गएपछि,

मैले हेरीरहेको छु, मैले देखिरहेको छु,

र, मैले महसुस गरिरहेको छु-

काठमाडौंका कयौं चौरहरू मासिय, 

कयौं रूखबोटबिरूवा मासिय, 

कयौं कुलो र खोलाहरू मासिय,

कयौं फाल्सा, हिटी र धाराहरू मासिय,

कयौं पोखरीहरू मासिय,

कयौं गल्लिहरू मासिय, 

कयौं बाटोहरू मासिय,

कयौं जग्गाहरू मासिय,

केवल कंक्रिटका ठुला ठुला घरहरू

थपिएको थपियै छन,

जहाँ कोठाहरू त जोडिएको छ

तर कोठाको हरेक भित्ताले,

पल्लो कोठाको छिमेकीसँग 

मन जोडिन छेकिदिएको जस्तो, 

कसैको वास्ता बेस्ता नहुने ।

खासमा भन्नुपर्दा, 

कंक्रिट नै कंक्रिटको मरूभुमी रहेछ काठमाडौं, 

न मिठो खाने पानि छ, न सास फेर्न स्वच्छ हावा छ,

धुलो र धुवामा निसास्सियर पनि, 

हेर्नुस त, त्याँही रमाएर बसिरहेको म ।


उफ,

एकफेर सोचिल्याउला त

स्वर्ग भनेको त गाउँ नै पो रहेछ । 

तर, मलाइ थाहा छ-

सबैको भागमा,

स्वर्गको बास कहाँ लेखेको हुनेरहेछ र !

© SatBhim Adhya

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!
Loading Archive...

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message