मनमा गहिरो सन्तुष्टि, शान्ति र आनन्द दिने जीवनका पाँच जीवन्त कर्महरू



जीवनको वास्तविक आनन्द र सन्तुष्टि बाहिरी उपलब्धि वा भौतिक सुखमा भन्दा हाम्रो दैनिक कर्म, सोच र सम्बन्धहरूको गुणस्तरमा निर्भर रहन्छ । सानो तर अर्थपूर्ण काम, आत्मचिन्तन, सिर्जनात्मकता, प्रकृतिसँगको निकटता र मानवीय सम्बन्धहरूले मनलाई गहिरो शान्ति र खुशी दिन्छन । यही सत्यलाई आधार मानेर, मैले यहाँ जीवनलाई अझ अर्थपूर्ण, सन्तुलित र आनन्दमय बनाउने पाँच जीवन्त कर्महरूको चर्चा गरेको छु, जसले हामीलाई भित्रैबाट पूर्ण र सन्तुष्ट बनाउने बाटो देखाउँछन । 

(१) अरूलाई सहयोग गर्नु : अरूलाई सानो भए पनि सहयोग गर्दा मनभित्रैबाट आनन्द मिल्छ । जब हामी कसैलाई मद्दत गर्छौ, चाहे सानो सहयोग नै किन नहोस तब मनमा गहिरो खुशी आउँछ । निःस्वार्थ रूपमा गरिएको सेवा ले आफ्नो अस्तित्व अर्थपूर्ण लाग्छ, म पनि उपयोगी रहेछु भन्ने गहिरो अनुभूति दिन्छ, जसले अहंकार घटाएर  प्रेम र करुणा बढाउँछ र मन हलुका बनाउछ । यस्तो कामले क्षणिक खुशी मात्र होइन, जीवन्त सन्तुष्टि र शान्ति मिल्छ ।

(२) ध्यान र आत्मचिन्तनः शान्त भएर आफ्नै सास र विचारमा ध्यान दिनु मनलाई स्थिर र शान्त पार्ने  गहिरो उपाय हो । यसलाइ अंग्रेजिमा मेडिटेसन पनि भनिन्छ । ध्यान मार्फत मानिस वर्तमानमा बाँच्न सिक्छ, जसले मनको तनाव घटाउँछ, अनावश्यक चिन्ता हटाउछ र भित्री स्पष्टता र शान्ति बढाउँछ । ध्यानले आफूलाई गहिरोरूपमा बुझ्न मद्दत गर्दछ । 

(३) आफूलाई मनपर्ने काममा डुब्नुः जब हामी आफूलाई मनपर्ने काममा पूर्ण रूपमा डुब्छौं, समयको होस नै हुँदैन । जस्तै लेख्ने, पढ्ने, चित्र बनाउने, गित गाँउने, बाँसुरी बजाउने, अथवा अन्य कुनै न कुनै सिर्जनात्मक काम गर्नु । यसरी आफ्नो जीवनको उद्देध्य अनुसार आफुलाइ मन पर्ने कुनै न कुनै सिर्जनात्मक काममा डुबियो मनभित्रको भावनाहरू अभिव्यक्त हुन्छ, मन वर्तमानमा स्थिर हुन्छ, चिन्ता गर्न वा तनाब लिन समय नै हुँदैन, जसले अन्तत मन भित्रैबाट गहिरो आनन्द ल्याँउछ । यस्तो कामले जीवनलाई रचनात्मक र अर्थपूर्ण पनि बनाउँछ ।

(४)  प्रकृतिसँग जोडिनुः हरियाली जंगल, नदी, पहाड वा खुला आकाशमुनि बस्दा मन आफै चंगा हुन्छ, हलुका, प्रफुल्ल र शान्त हुन्छ । प्रकृतिसँग जोडिनाले मानिसलाई शहरी कृत्रिम व्यस्तताबाट टाढा लगेर जीवनको वास्तविक रंग, अर्थ र सुन्दरता सम्झाउँछ । प्रकृतिसँगको सम्वन्धले मनको तनाब, चिन्ता र थकान हटाएर प्राकृतिक उर्जा, सन्तुलन, सहअस्तित्व, समभाव, सरलता र जीवनप्रति कृतज्ञता बढाउँछ ।  

(५) गहिरो सम्बन्धहरू बनाउनुः साँचो खुशी एक्लै पाइँदैन, परिवार र सम्बन्धमा पाइन्छ किनभने मानिस सामाजिक प्राणी हो । खासमा परिवार, साथीभाइ वा प्रियजनहरूसँगको साँचो सम्बन्धले मात्र जीवनलाई वास्तविक अर्थ दिन्छ । परिवार, साथीभाइ वा अन्य प्रियजनहरूको माया, विश्वास र अपनत्वले भावनात्मक सहारा दिन्छ र एक्लोपन हटाउँछ । यद गर्नुहोस त जीवनमा परिवार, साथीभाइमा वा अन्य प्रियजनहरूसँग बिताएको समय नै प्रायः जीवनको सबैभन्दा मूल्यवान र यादगार क्षण बन्छ । त्यसर्थ अर्थपूर्ण जीवनको प्रमुख आधार भनेकै गहिरो सम्बन्धहरू र प्रेम हो । 

समग्रमाः खुशी खोज्दा पाइँदैन, अर्थपूर्ण काम गर्दा आफैँ आउँछ । जीवनको सबैभन्दा आनन्ददायक काम “बाहिरी” भन्दा “भित्री” हुनेरहेछन । यी र यस्ता कार्महरूले मात्र जीवनलाइ साचो अर्थमा अर्थपूर्ण बनाउछ । अर्थात, निस्वार्थ सेवा, ध्यान, सृजनतात्मक काम, प्राकृतिसँग जोडिनु र गहिरो सम्बन्धहरू बनाउनुले नै जीवनमा गहिरो खुशी, सन्तुष्टि, शान्ति र आनन्द ल्याउछ । यी कर्महरू गरेर जीवनको परमआनन्दलाइ आत्मसाथ गर्नुलाइ नै सायद मिनिङफुल लिभिङ वा अर्थपूर्ण जीवन भनिन्छ होला । 

Share:

समयको ऐनामा “मानिस”



नयाँ वर्ष २०८३ त आएको छ,
तर अझै पनि मेरो प्रश्न उही छ–
हामी बाँचिरहेका छौँ ?
कि केवल समय बिताइरहेका छौँ?
सायद नयाँ वर्ष त आयो,
तर जीवन अझै सुरु नै भएको छैन ।

वर्ष त हरेक वर्ष फेरिइरहेको छ,
तर, अझै पनि 
मानिस सुध्रिने त छेउ छनक देखिदैन ।
घडीको सुई त सुल्टो दिशा मै घुमिरहेको छ,
तर मानिसको चेतनाको सुई भने 
उल्टो दिशामा घुमीरहेको प्रतित भएको छ । 
सायद समय त अघि बढिरहेको छ,
तर मानिसहरुको चेतना भने 
झन झन पछि पर्दै गईरहेको छ ।

हातमा मोबाइल, आँखा स्क्रिनमा छ, 
र, औँला ननस्टप रिल स्क्रोल गरिरहेछ,
तर आत्मा भने कठै खाली छ । 
जस्तो कि मानिस मानव होइन,
समय काट्न बनाइएको कुनै यन्त्र हो ।

कोही अहङ्कारको महल बनाइरहेछ,
कोही उत्तेजना र आवेगको आगोमा आफैँलाई पोलिरहेछन,
कोही पैसाको पछाडि यति दौडिरहेका छन कि 
गन्तव्य कहिल्यै पुगिने ठाउँ होइन भन्ने बुझेर पनि, 
बुझ पचाएर दौडरिहेका छन...।

भन्नलाइ त मानव सभ्यता उन्नत भएको भनिन्छ,
तर मानवता भने कता कता हराएको जस्तो देखिन्छ ।
घर ठूला ठूला भएका छन, मन साना ।
सूचना धेरै भएका छन, विवके कम । 
बोलीचाली मीठा भएका छन, तर नियत कडा । 
सोसल मिडियामा साथी धेरै भएका छन,
दुःख सुखमा साथ कम ।
सम्बन्धहरु धेरै भएका छन, आत्मीयता कम ।
भीड बढेको छ, तर मान्छे एक्लिँदै गएका छन । 

सपना ठूला भएका छन, तर निद्रा हराएको छ । 
ज्ञान बढेको छ, तर प्रज्ञा हराउँदै गएको छ । 
नजिकै बसेका छन सबै, तर दूरी गहिरो छ ।
देखावा बढेको छ, वास्तविकता घटेको छ ।
तर्क बढेका छन, तर समझ घटेको छ ।
सफलता बढेको छ, तर सन्तुष्टि घटेको छ ।
कपट र वैमानि बढको छ, तर निष्ठा र नैतिकता हराएको छ ।
झुटको खेती बढेको छ, तर सत्यको रंग उडेको छ । 
जागरणको आवाज चर्को छ, तर आत्मा अझै सुतेकै छ ।

आखिरीमा...
यसै उसै जीवन त फगत बितिरहेछ,
तर, जिवनलाई असलि रुपमा जिउने 
फुर्सद भने कसैले पाएका छैनन । 
Share:

बसन्त, उत्साह र नयाँ वर्षको उमंग



आज नयाँ वर्ष २०८३ को पहिलो दिन, जीवनमा विगतका अनेकन उकाली ओराली र मोडहरू सम्झँदा मन एकदमै दंग परेको छ र नयाँ वर्षाका नयाँ दिनहरू थप सकृय, सृजनशील र सार्थक रहुन भन्ने मनोभावले उत्साहित भएको छ । बसन्त ऋतु सधैंझैं फेरि फर्किएको छ । नयाँ पालुवाहरू पलाउन थालेका छन । फुलहरू ढकमक्क फुलेर चारैतिर सुवास छर्न थालेको छ । फलहरू लाग्न थालेका छन । चराचुरुङ्गीहरूको मधुर स्वरले वातावरणा गुन्जायमान छ । हरियालीले भरिएको प्रकृतिको यो पुनर्जागरणले सबैको मनलाइ मोहित बनाएको छ । बसन्त ऋतुसँग मेरो पनि कनेक्सन गहिरो छ । शुरूवातीदेखि नै बसन्त ऋतुसँग मेरो जीवनको विभिन्न अध्यायहरू पनि जोडिँदै जोडिँदै आएका छन । बसन्त ऋतु काल मै जन्मिएर ३४ वर्ष पूरा गरी ३५औँ वर्षमा पाइला राख्दै गर्दा, हरेक नयाँ वर्ष मलाई केवल पात्रोको परिवर्तन मात्र नभई, आत्मा र जीवनको नयाँ शुरुआत जस्तो लाग्छ । हरेक वर्ष बसन्त ऋतुले प्रकृतिमा अनुपम बहार ल्याए झै जीवनमा पनि निरन्तर नयाँपन, आशा र सम्भावनाको संकेत ल्याइरहेको महसुस गर्छु । 

अझ विशेष कुरा के छ भने, गत बसन्तमा नै म र मेरी प्रियसी कमला बिच शुभ विवाह सम्पन्न भइ गृहस्थ जीवनको नयाँ यात्रा सुरु गरेका थियौं र हामीले प्रण गरेका थियो हामी दुइ मिलेर जीवनलाइ अर्थपूर्ण बनाउने छौं । आमा, म, दाइ, भाउजु र भतीजी गरी पाँच जना सदस्य मिलेर बनेको हाम्रो सानो संसारमा मेरी जिवनसंगीनी पनि नयाँ सदस्यको रूपमा थपिएपछि जीवन थप सन्तुलित, सार्थक र अर्थपूर्ण बनेको थियो । 

मेरो लागि अर्को विशेष कुरा के छ भने यो नयाँ वर्ष अझ बढी उत्साह र प्रतीक्षाले भरिएको छ । सायद यही नयाँ वर्षको कुनै सुन्दर पलमा हाम्रो पहिलो सन्तानसँग पहिलो भेट हुनेछ । हामी अब केवल पति–पत्नी मात्र नभई छिटै माता पिता समेत बन्ने यात्रामा छौं । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मेरो मनमा भएका यो उत्साह र भावनालाइ यही छोटो ब्लग मार्फत प्रस्तुत गरें किनभने सायद वर्षौँपछि हामीले यही ब्लग पढेर आजको दिनको  हर्ष, उत्साह र उमंग लाई फेरि महसुस गर्नेछौँ । जीवनको यो यात्रा यस्तै साना–साना सम्झनाहरूले नै विशेष, खास र अर्थपूर्ण बन्दै जान्छ भन्ने विश्वासका साथ हामी (म र कमला) नयाँ वर्ष २०८३ लाई हृदयदेखि स्वागत गर्दछौँ । र, नयाँ वर्षले सबैमा उत्साह, उमंग र उन्नति ल्याउन् भन्ने शुभकामना व्यक्त गर्दछौं ।





Share:

बसन्त र मेरो जीवन



मलाई मेरो जीवन र बसन्त उस्तै उस्तै लाग्छ,   
किनभने मेरो जीवनमा पनि हरेक अन्त्यपछि
कुनै न कुनै नविन सुरूवात भएरै छाडेको छ । 
सायद यही कारणले होला, 
मेरो जन्म पनि बसन्त ऋतुमा भयो 
र, समयले मलाई बारम्बार बसन्तसँग ठोकाइरहन्छ, 
नयाँ बनोस भनेर होला, फेरि सुरु गरोस भनेर होला । 

खासमा वसन्तले मलाई
फूल झैं कोमल हुन मात्र हैन, 
जरा जस्तो गहिरीन पनि सिकाएको छ ।
त्यसैले, जब उजाड रूखका हाँगामा 
हरिया पातहरु पलाउन थाल्छन, 
तब म आफ्नो गहिरो चोटमा पनि
नयाँ आशा पलाएको महसुस गर्छु । 

गत वर्षको बसन्तले 
मेरो जीवनमा एउटा नयाँ स्वर थपिदियो
दुई एक भएर ‘हामी’ बन्ने स्वर । 
उनि जब प्रेमिका बाट जिवनसंगीनी भईन,
त्यस दिनदेखि जीवन वास्तबमै 
अर्थपूर्ण लागेको छ । 

नयाँ वर्षको उज्यालो लिएर
अहिले फेरि अर्को बसन्त आएको छ,
र, मलाई लागेको छ, सधैं झै यो बसन्तले पनि,
मेरो जीवनमा केही न केही नयाँ उपहार दिएर जानेछ । 

सादय चाँडै नै हाम्रो सानो संसारमा 
एउटा नयाँ जीवनको स्पर्श हुनसक्नेछ, 
र त्यो क्षणले मेरो जीवनलाई पूर्ण अर्थपूर्ण बनाइदिनसक्छ । 

त्यसैले, आज, यही बसन्तको आगनीमा उभिएर, 
मैले महसुस गरिरहेको छु 
जीवनको असली सौन्दर्य एक्लै फुल्नुमा होइन, 
सँगसँगै हराभरा हुनुमा रहेछ । 

जसरी हरेक वसन्तले मेरो जीवनमा 
कुनै न कुनै रंग भर्दै आएको छ,  
सायद, वर्षौपछि जब फेरि नव-वसन्त आउनेछ, 
तब म वसन्तले विगतमा भरिदीएका रंगहरुलाई हेर्नेछु,
र, खुशीले गदगद हुँदै, महसुस गर्ने छु
मेरो जीवन कहिल्यै एक्लो थिएनच,
बसन्त त सधैं म सँगसँगै हिँडिरहेको पो रहेछ । 
 
Share:
for 👦 Good News
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र: (१)अन्तरमुखी हुनु (मौन) , (२)वैराग्य हुनु (जिज्ञासु) र (३)एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim

Send Me a Message