हाम्राे हजुरबाले भन्नुभएको त्यो दिन गाँउले सबैको मुखमा एउटै प्रश्न थियो अरे– ती चार जना साना केटाहरू आखिर कहाँ हराए? उनीहरूलाई कसैले अपहरण गर्यो की? खोलाले बगायो की? जंगलमा हराए की? बाघले खायो की? अनि त्यो दिन सबैभन्दा धेरै मेरो आमा र हस्तेको बा रुनुभएको थियो अरे । आमाले बरम्बार “हे भगवान मेरो बाबुलाई सकुशल फकाईदेउ” भन्दै रुदै हामीलाई खोज्नै हिड्नुभएको थियो अरे । तर आमालाई के थाहा ? उनले जसलाई खोजिरहेकी थिइन– त्यो आठ वर्षको छोरो भने धेरै पैसा कमाउने सपना बोकेर भारतको दिल्ली तर्फ हानिएको छ ।
मानिसको जीवनमा केही यस्ता घटनाहरू घट्छन जुन समयसँगै स्मृतीको पानाहरुबाट मेटिनुको सट्टा झन् झन् जीवन्त बन्दै जान्छन । बालापनका ती उट्पट्याङपूर्ण, निर्दोष, क्रेजी र निकै खतरनाक निर्णयहरू सम्झँदा अहिले आफै दंग पर्छु, कहिलेकाँही हाँसो पनि उठ्छ, मन पनि भारी हुन्छ । त्यो उमेरमा संसार कति सानो लाग्थ्यो, सपनाहरु कति ठूला हुन्थे र वास्तविकता कति टाढा हुने रहेछ भन्ने कुरा अहिले आएर मात्र बुझ्न सकिएकाे छ ।
आज म मेरो जीवनको त्यस्तै एउटा सत्य तर एकदमै गम्भीर घटना शेयर गर्दै छु । यो कुनै चलचित्रको काल्पनिक कथा होइन । यो हाम्रो बालापनको एउटा त्यस्तो वास्तविक सत्य घटना हो, जसले केवल हामी चार भाइको जीवनमा मात्र होइन, पूरै गाउँमा हलचल मच्चाएको थियो ।
पृष्ठभूमी...
त्यतिबेला मेरो उमेर ठ्याक्कै आठ वर्षको हाराहारी थियो । म डाँडा स्कुल अर्थात छायाँदेवी प्राथमिक विद्यालयमा कक्षा दुई मा पढ्थेँ । बालापनका मेरा सबैभन्दा नजिकका साथीहरू थिए– भल्छोपेको हस्तबहादुर आले मगर र मेरो आफ्नै काइँली फुपुको छोरा बलराम दाहाल । हामी तीनै जना लगभग बराबर उमेरका थियौँ । हामी एकले अर्कालाई बोलाउनु पर्दा भीमे (म), हस्ते र बले भनेर नाम काटेर बोलाउथ्यौं । हामी तीनभाई मध्ये सबैभन्दा सोझो हस्ते थियो । अनि म र बलराम चै अलि चनचले स्वभावको थियौं ।
त्यो जेठ महिनाको समय थियो । जेठ महिनामा दिउसो असह्य गर्मी हुने भएकाले हाम्रो दिउसोको पढाईलाई विद्यालयले बिहानमा सारेको थियो । बिहान ठीक छ बजेदेखि एघार बजेसम्म पढाइ हुन्थ्यो । हामी बिहानै विद्यालय पुग्थ्यौं, केही पिरियड पढेपछि ठीक नौ बजे खेलछुट्टी हुन्थ्यो । त्यही बेलामा घर नजिक हुने हामीजस्ता विद्यार्थीहरू खाना खान घर दौडिन्थ्यौँ, खाना खाएर फेरि हतारहतार फर्केर विद्यालय पुग्थ्यौँ ।
पैसा कमाउन भागेर दिल्ली जाने योजना बुन्दै...
हाम्रो गाउँमा हामीभन्दा करिब चार वर्ष जेठो, अर्थात् लगभग बाह्र वर्षको ईश्वर भट्ट नामको भान्जादाइ हुनुहुन्थ्यो । उहाँ आरुघाटको बोर्डिङ स्कुलमा पढ्नुहुन्थ्यो । त्यसैले गाउँका अरू बालबालिकाभन्दा अलि टाठोबाठो, शहर देखेको, अलिअलि अंग्रेजी बोल्न जान्ने, त्यसैले हामी साना केटाहरूका लागि ऊ निकै जान्नेबुझ्ने मान्छेजस्तै लाग्थ्यो । सायद त्यही भएर होला केवल बाह्र वर्षको बाल उमेरमा एकदिन अचानक उसको मनमा एउटा एकदमै क्रेजी विचार आएछ– गाँउमा न राम्रो लगाउने लुगा छ, न मिठो खान पाइन्छ, न राम्रो घर छ, गाँउमा केवल दुःखै दुःख गरेर जीवन बिताउनु परेको छ, त्यसैले पैसा कमाउन ईन्डियाको दिल्ली जाने अनि मस्त पैसा कमाएर फर्कीएर राम्रो घर बनाउने, राम्रो लुगा लगाउने, मिठो खाने, बाउआमालाई सुख दिने । त्यतिखेर हाम्रो गाँउका एक दुई जना काकाहरु दिल्ली पैसा कमाउनु जाने आउने गर्नुहुन्थ्यो । सायद त्यही देखेर ईश्वर भट्टले दिल्ली गयो भने पैसा कमाईन्छ भन्ने सपना देखेको होला सादय ।
एकदिन उहाँले उहाँकै घरमाथीको बन्जारा बारीमा बम ब्लास्ट खेल खेलीरहेको बेलामा मलाई र बलरामलाई एकान्तमा बोलाउनुभयो र भन्नुभयो– ल केटा हो, गाउँमा यसरी दुःख गरेर बस्नुको के अर्थ? भागेर दिल्ली जाऔँ । जागिर खाऔँ । मस्त पैसा कमाऔँ । फर्केर आएपछि राम्रो घर बनाऔँ, राम्रो लुगा पाइन्छ, मिठो खान पाईन्छ, बाउआमालाई पनि सुख हुन्छ । उहाँले हामीलाई यस्तो विभिन्न सपना देखाएर जाम जाम भनेर फकाउनुभयो ।
हामी त केवल आठ वर्षका फुच्चे । न दिल्ली कहाँ हो भन्ने थाहा छ । न दिल्ली कति टाढा छ भन्ने अनुमान छ । न दिल्ली पुग्न कति दिन लाग्छ भन्ने थाहा छ । न जागिर के हो भन्ने ज्ञान छ । अझ जागिर कसरी पाइन्छ भन्ने त झन कल्पनासम्म पनि गरका थिएनौं । त्यो उमेरमा सपना र यथार्थको दुरी नाप्ने कुनै यन्त्र हामीसँग थिएन । केवल उहाँले भनेको कुरा नै सत्य जस्तो लाग्यो । आठ वर्षको उमेरमा विश्वास गर्न कुनै प्रमाण चाहिँदैन रहेछ । दिल्ली गएपछि धेरै पैसा कमाइन्छ होला भन्ने ठानेर हामीले पनि तुरुन्तै हुन्छ हुन्छ जाम भन्यौं । आज सुन्दा यो कुरा बालसुलभ कल्पना जस्तो लाग्छ । तर त्यतिबेला हामी सबैका लागि त्यो कुरा बिल्कुलै सम्भव जस्तो लाग्थ्यो ।
पैसा कमाउने आशा र ईश्वर भट्टको भरोसा गरेर नै हामीले– हुन्छ हुन्छ जाम भनेका थियौं । त्यही एउटा सपनाले हाम्रो बालापनको सबैभन्दा ठूलो साहसिक यात्रा सुरु गरिदियो । त्यही दिन निर्णय भयो– भोलिपल्ट विद्यालयबाटै भागेर हामी दिल्ली जाने । योजना पनि निकै गोप्य ढंगले बनाइयो । भोलिपल्ट बिहान विद्यालय जाने । खेलछुट्टीमा घर गएर खाना खाने । फेरि विद्यालय फर्किने । एघार बजे विद्यालय सकिएपछि चुपचाप डाँडाको बाटो पल्छ्यौ चौतारोतर्फ झर्ने । पल्छेउ चौतारामा ईश्वर भट्टले ठीक ११ बजे हामीलाई कुरेर बसीरहने । सबैजना त्यहाँ भेटेपछि सिधै दिल्लीतर्फ यात्रा सुरु गर्ने । हामीलाई लाग्थ्यो– दिल्ली पुगेर पैसा कमाउन अब धेरै दिन बाँकी छैन । त्यसरी योजना बनेको रात हामी सुत्न त सुत्यौँ होला, तर मन भने दिल्लीमा पुगिसकेको थियो ।
अन्तत स्कुलबाटै दिल्ली भागेको त्यो दिन...
भोलिपल्ट बिहान हामी योजना अनुसार विद्यालय गयौँ । नौ बजे खेलछुट्टी भयो । दौडदै भत खान घर गएँ । हतार हतार खाना खाइसकेर मैले आमासँग भनें– आमा, मलाई कलम किन्न पैसा दिनुस न । विचरा आमासँग पैसा नै हुन्थेन कहाँबाट दिनु । तै पनि आमाले मुस्कुराउँदै भन्नुभयो– कलम किन्ने पैसा त पुग्दैन, “ला” यो दुई रुपैयाँ ले रिफिल किनेर हाल भनेर दुई रुपैयाँको पहेँलो डबल दिनुभयो । त्यतिबेला एउटा डटपेनको मूल्य चार रुपैयाँ पर्थो । आमाले माया गरेर दिनुभएको त्यो दुई रुपैयाँको पहेँलो डबल मैले सावधानीपूर्वक खल्तीमा हाँलें । आमाले त त्यो दुई रुपैयाँ कलमको रिफिल किन्न भनेर दिनुभएको थियो । तर, आमालाई के थाहा– त्यही दुई रुपैयाँ खल्तीमा बोकेर उहाँको छोरा केही घण्टापछि स्कुलबाटै भागेर दिल्ली जाँदैछ भनेर ।
हतारहतार गरेर बलराम र म फेरि विद्यालय पुयौं । विद्यालय पुगेपछि हामीले हाम्रो प्रिय साथी हस्तबहादुर आलेलाई पनि हाम्रो गोप्य योजना सुनायौँ– हस्ते, हामी त भागेर दिल्ली जान लागेको । दिल्ली गएर मस्त पैसा कमाउने । नयाँ लुगा किन्ने । मिठो खाने । फर्केर आएर ठूलो घर बनाउने । हामीले कुरा सक्न नपाउँदै हस्ते उत्साहित हुँदै भन्यो— म पनि जान्छु, मलाई पनि सँगै लैजाव न ! हामीले पनि खुशी हुँदै हुन्छ हुन्छ भन्यौ । हामीलाई पनि खुशी लाग्यो । पहिले तीन जना जाने योजना थियो । अब हामी चार भाई भयौँ । हामीले त भात खाएर आएका थियौं । हस्तबहादुर चै पढाइ सकेर मात्र घर जाने भनेर खेलछुटीमा खाना खान गएनछ । किनभने बिहानसम्म उसलाई थहा नै थिएन ऊ पनि हामीसँग भागेर दिल्ली पैसा कमाउन जानेवाला छ भनेर । त्यसैले ऊ त भोकभोकै थियो । खेलछुट्टीपछि दुईवटा पिरियड हुन्थ्यो । घडीमा एघार बजेपछि विद्यालय छुट्टी भयो । अनि हामी तीन भाई– म, हस्ते र बले चुपचाप विद्यालयबाट रानामाईलाको चौतारो हुँदै डाँडाँको बाटो झरेर पल्छेउ चौतारो पुग्यौँ । हामीसँग अर्को लुगा थिएन त्यसैले त्यही स्कुल ड्रेस नै लगाएर हिँडेका थियौं । हामी पुग्दा ईश्वर भट्ट पहिले नै पल्छेउ चौतारामा हाम्रो प्रतीक्षामा बसिरहेको रहेछ । ईश्वर भट्ट हस्तबहादुरलाई देखेर छक्क पर्यो किनभने उसलाई हस्त पनि हामीसँगै जानेवाला छ भनेर थाहा थिएन । अन्तत अब हाम्रो भागेर दिल्ली जाने टोली पूरा भयो । हामी तीन भाई बाट चार भाई भयौं । ईश्वर भट्ट, म, हस्तबहादुर र बलराम । चार भाई मध्य हामी सबैको नाईके चै ईश्वर भट्ट थियो ।
त्यो दिनभन्दा करिब एक साताअघिदेखि हाम्रो घरमा ठुलो भागवत पुराण लगाएर केबल दुई दिन अघि मात्र मेरो व्रतबन्ध गरिएको थियो । भागवत पढ्न धेरै ठाँउका पण्डीतहरु आउनुभएको थियो । त्यस मध्य सल्यानटारको दुवाडी पण्डीत पनि आउनुभएको थियो । व्रतबन्ध गर्दा मेरो कपाल पूरै खौरिएको थियो । त्यसैले त्यस दिन पनि मैले शीरमा ढाकाको टोपी लगाएको थिएँ । अहिले सम्झँदा– शिरमा ढाका टोपी लगाएको र मनमा असिम सपना बोकेको त्यो आठ वर्षको बालकलाई संसार कति विशाल छ भन्ने थाहा थिएन, संसारको कठोर यथार्थ थाहा थिएन, गन्तव्यको ज्ञान थिएन, तर अदम्य साहस थियो, आफ्नो सपनाप्रतिको विश्वास थियो । त्यसैले त्यतिबेला सायद आफूलाई संसार जित्न निस्केको वीर योद्धा जस्तै ठानेको थियो होला ।
पल्छेउ चौतारादेखि आरुघाटसम्म...
हामी चारै जनाले एकपटक एकअर्काको अनुहार हेर्याैं । त्यो सानो पल्छेउ चौतारोले सायद आफ्नो जीवनमा हजारौँ मानिसहरूको आवात जावात देखेको थियो होला । तर त्यो दिन पल्छेउ चौतारोले पनि हामी चार भाई मासुम बालकहरु भागेर पैसा कमाउन दिल्ली जान लागेको कुरा थाहा पाउन सकेन होला सायद । हामीले अन्तिम पटक गाउँतिर फर्केर हेर्याैं । गाँउमा सबै जस्ताको तस्तै थियो । बदलिएको थियो त केवल हाम्रो मन । हामीलाई लागिरहेको थियो– अब केही महिनापछि हामी धेरै पैसा कमाएर यही बाटो हुँदै फर्किनेछौँ । हामीमध्ये कसैले पनि त्यो बेला कल्पना समेत गरेका थिएनौं कि हामी घरबाट भागेकै क्षणबाट हाम्रो खोजीमा गाँउघरमा रूवाबासी चल्न सक्छ भनेर । तर हामी सबैका आँखामा एउटै सपना थियो— अब हामी दिल्ली जाँदैछौँ, पैसा कमाएर मात्रै गाउँ फर्किनेछौँ । तर हामीलाई के थाहा त्यो यात्रा हाम्रो कल्पनाभन्दा हजारौँ गुणा कठिन, पीडादायी र जीवनकै सबैभन्दा ठूलो पाठ बन्नेछ ।
अन्तत पल्छेउ चौताराबाट हाम्रो “दिल्ली यात्रा” औपचारिक रूपमा सुरु भयो । त्यो बेला हाम्रो मनमा न कुनै डर थियो, न भविष्यको चिन्ता । हामीलाई लागिरहेको थियो– अब केही दिनको कुरा मात्रै हो, दिल्ली पुगिन्छ, जागिर खाइन्छ, पैसा कमाइन्छ, अनि गाउँ फर्कँदा सबैले वाहवाही गर्नेछन । बालापनको मन साँच्चै कति निष्कपट हुँदो रहेछ!
चारै जना आ–आफ्नो सानो पाइला चाल्दै ओरालो झर्यौं । बाटोभरि दिल्लीका सपना बुन्दै, कहिले हाँस्दै, कहिले जिस्कीदै, कहिले भविष्यका योजनाहरू सुनाउँदै हामी आरुघाटतिर तेर्सीयौं । बाटोभरी हामीले कहीले ठूलो घर बनाउने, कहीले नयाँ लुगा किन्ने, कहीले मिठो खाने, कहिले साईकल किन्ने, कहीले पसल थाप्ने जस्ता कुरा गर्थौं । हामीमध्ये कसैलाई पनि थाहा थिएन– सपना देख्नु सजिलो हुन्छ तर त्यहाँसम्म पुग्ने बाटो कति कठिन हुन्छ भन्ने कुरा ।
हिँड्दै–हिँड्दै हामी आरुघाट बजार पुग्यौँ । त्यो समयको आरुघाट बजार एकदमै चहलपहलपूर्ण र व्यस्त थियो । बजारमा मैले आमाले दिनुभएको दुई दुपैयाँको डबले एक रुपैयाँमा चारवटा आउने सुका जाने सुन्तला मिठाई किनें । चार भाईलाई दुई दुई वटा मिठाई भागमा पर्यो । बालापनमा हामीले खाने त्यो सुन्तला मिठाई त्यतिबेला हामीलाई संसारकै सबैभन्दा उत्कृष्ट मिठाईजस्तो लाग्थ्यो । सुन्तला मिठाईको गुलियोले हाम्रो यात्राको उत्साहलाई झन बढाइदियो ।
आरुघाटदेखि सल्यानटारसम्म...
तर सपना देखेजस्तो यथार्थमा जीवन कहाँ सजिलो हुँदो रहेछ र? बसपार्क पुगेपछि थाहा भयो– दिउँसो काठमाडौं जाने कुनै बस नै रहेनछ । हामी चारै जना केहीबेर बसपार्क वरिपरि उभियौँ । अब के गर्ने? कसैले केही सोच्न सकेनौं । अन्ततः ईश्वर भट्टले निर्णय गर्याे– बस त पाएन अब हिँड्दै जाम । हामीले पनि बिना कुनै प्रश्न उहाँको कुरा मान्यौँ । त्यसपछि बसपार्कबाट हामी पड्केघारी हुँदै सल्यानटारतर्फ पैदल लाग्यौँ । त्यो बाटो आज सम्झँदा पनि शरीर फतक्क गले जस्तो हुन्छ ।
हामी चारवटा साना केटाहरू त्यो फच्चेक बाटोमा निरन्तर हिँडिरहेका थियौँ । मेरो खुट्टामा खिईसकेको हात्तीछाप चप्पल थियो । एउटा चप्पल त प्वाल परिसकेको थियो । आज सम्झँदा लाग्छ– दिल्ली पुगेर पैसा कमाउने सपना देखेको त्यो बालकसँग संसार जित्ने आँट थियो तर खुट्टामा एकजोर राम्रो चप्पल समेत थिएनच । चार जनामध्ये सबैभन्दा सानो अर्थात सबैभन्दा फुच्चे पनि सायद म नै थिएँ । म जन्मेको तीन महिनामा नै बा बित्नु भएको रे त्यसपछि आमा पनि लामो समय बिरामी हुनुभएपछि मैले दुध खान नपाएकोले म एकदमै फुच्चे भएको रे । तर त्यतिबेला उमेर वा शरीलले भन्दा पनि हाम्रो सपनाले हामीलाई अघि बढाइरहेको थियो ।
पड्केघारीको पट्यारलाग्दो फच्चेक तेर्सो बाटो हिड्दा हिड्दा कहिल्यै सल्यानटार आईपुगेन । जेठ महिनाको दिउसोको मध्य घाम थियो । ज्यान गलेर फतक्कै भै सकेको थियो । घाम चर्किदै गयो । शरीर गल्दै गयो । खुट्टा भारी हुँदै गए । आकाशबाट आगो नै झरेजस्तो भएको थियो । धुलो उडीरहेको थियो । बाटाका ढुङ्गाहरु तातेर पोल्न थालेको थियो । पसिनाले लुगा भिजिसकेका थिए । भोक लागि सकेको थियो । अझ हाम्रो पछि थपिएको साथी हस्तबहादुरको अवस्था झन दयनीय थियो किनभने उसले त बिहानको खाना पनि खान पाएको थिएन । तर पनि दिल्ली पुग्ने सपनाले हामीलाई अझै थकित हुन दिएको थिएन । यत्तिकैमा पछाडिबाट एउटा ठूलो मालवाहक ट्रक आयो । हाम्रो अनुहार उज्यालियो । यही ट्रकमा झुन्डीएर जाम भनेर चारै जना ट्रकको पछाडी झुन्डीएको मात्र के थियो डाइभरले ट्रक रोकेर हामीलाई “भुराहरु तल झर नत्र पाङ्ग्रामुनी चेप्दीनुपर्ला नी” भनेर गाली गर्यो । हामी पनि डरायौं । ट्रकबाट ओर्लियौँ । ट्रक धुलो उडाउँदै अगाडि बढ्यो । त्यो क्षणमा पहिलो पटक महसुस भयो– हामी वास्तवमै एक्लै थियौँ । हामीलाई कसैले चिन्दैन । हामीलाई कसैले सहयोग गर्नेवाला छैन । र हाम्रो यात्रा हामी आफैले हिँड्नु सिवाय हामीसँग अरु केही विकल्पै छैन । त्यसपछि फेरि हिँडाइ सुरु भयो । हिँडेको हिँड्यै । हिँडेको हिँड्यै । विहानदेखि लगभग सात किलोमिटरभन्दा बढी हिँडिसकेपछि बल्ल सल्यानटारको उकालो देखापर्यो । स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै, पसिना पुछ्दै जसो तसो त्यो उकालो चढेपछि समथर सतत विशाल सल्यानटार आइपुग्यो ।
सल्यानटार उक्लीनासाथ डाँडाको चौरमा हामी चारै जना थचक्कै भयौं, एकछिन लम्परार परेर सुत्यौं । बाल खुट्टाहरु धेरै हिंडेको हुनाले खुट्टा पोलिरहेका थिए । शरीर गलेको थियो । घामले टाउको तातेको थियो । सबैभन्दा मुख्य कुरा– धेरै हिडेको हुनाले हामी सबै भोक र तिर्खाले क्याउ क्याउ भएका थियौं । हस्तबहादुर त झन बोल्नै नसक्ने गरी सिथिल भएको थियो । केही बेर त्यही चौरमा बस्यौँ । तर त्यहाँ न पानी थियो, न खानेकुरा । अनि फेरि उठ्यौँ । “कतै घर भेटिन्छ कि?” भन्ने आशामा केही परसम्म हिँड्यौँ । धन्न एउटा घर भेटियो । घरमुलीसँग हामीले पानी माग्यौँ । उहाँहरूले थोरै पानी दिनुभयो । सल्यानटारमा पानीको पनि अभाव रहेछ । हामीले पेटभरि पानीसमेत खान पाएनौँ ।
डल्ला फुटाउने र भैंसी चराउनेने जागिर पाएको त्यो क्षण...
अलिकती पानी खाएपछि त्यही घरमा हामीले सोध्यौँ– हामी त काम खोज्दै हिडेको, केही काम पाईन्छ की हजुर ? हाम्रो कुरा सुनेर त्यो घरको अंकल र आन्टीले निकै सहज भावमा भन्नुभयो– काम त छ भाईहरु तर तिमीहरुले गर्न चै सक्छौ कि सक्दैनौ । हाम्रो मुहार फेरि उज्यालियो । हामीलाई लाग्यो– अब त दिल्ली जानु पर्दैन, यतै काम पाइयो । तर घरमुलीले फेरी भन्नुभयो– तलब चाहिँ धेरै दिन सक्दैनौँ, महिनाको दुई रुपैयाँ दिन्छौँ । दुई रुपैयाँ! त्यो सुनेपछि हामी सबै एकअर्काको अनुहार हेर्न थाल्यौँ । अनि मैले काम चै के गर्नुपर्ने हो भनेर सोधें । घरमुलीले भन्नुभयो– मुख्य काम चै डल्ला फोर्ने हो । घरमुलीले काठले बनाएको घन जस्तै डल्लेसो देखाँउदै यी यस्तो ठुलो डल्लेसोले बारीमा डल्ला फुटाउने काम हो दिउसो चै । बिहान बेलुका चै भैसीलाई घाँस काट्ने अनि कहीलेकाँही चै भैसी चराउने काम पनि गर्नुपर्छ भन्नुभयो । घरमुलीले कामको विवरण सुनाइरहँदा हामी चारै जना एक अर्काको मुख हेर्रै मौन थियौँ । न हाँस्न सकेका थियौँ । न रुन । त्यो क्षणमा पहिलो पटक मेरो मनभित्र एउटा प्रश्न उठ्यो— हामी आफ्नो गाँउ, गाँउलेको माया, आफ्नो घर, आमाको माया र साथीभाई सबै छाडेर आखिर किन बुद्धी बिग्रेर यसरी भाग्यौँ ? केवल एउटा बालसुलभ कल्पनाको पछि लागेर ?
हामी त्यो घरबाट दौडीएर भाग्यौ । त्यहाँबाट हिँडेर लगभग सल्यानटारको पल्लोछेउनिर पुगेपछि अब चै हिड्न सकिदैन भनेर एउटा चौतारो जस्तो पाटीमा लखतरान भएर बस्यौं । शरीरले अब चै लगभग साथ दिन छोडिसकेको थियो । बिहानदेखि निरन्तर हिँडाइ, चर्को घाम, पेटभरिको भोक, पानीको प्यास र थकानले गर्दा हामी चारै जना लखतरान भइसकेका थियौँ । विशेष गरी हस्तबहादुरको शिथील अनुहार हेर्दा नै उसको अवस्था बुझिन्थ्यो । बिहानदेखि एक गाँस पनि नखाएको त्यो सोझो मगर साथीलाई हामीले पाप नै गरेजस्तो भान भयो । कसैसँग बोल्ने ऊर्जा पनि बाँकी थिएन । त्यतिखेरसम्मको सल्यानटारको तातो हावाले हाम्रो शरीर मात्र होइन, हाम्रो बालसुलभ अहंकार र हाम्रो दिल्ली जाने सपना पनि विस्तारै गलाउन थालेको थियो । हामीलाई पहिलो पटक गाउँघरको दुःखभन्दा आमाको माया ठूलो लाग्न थालेको थियो । अब फर्कने बाटो पनि कहाँ सजिलो थियो र?
भगवानले पठाउनुभएको उद्धारदुतसँगको अप्रत्यासित भेट...
सल्यानटारको त्यो चौतारोमा बसीरहेकै थियौं । भाग्यले फेरि एउटा नयाँ मोड लियो । त्यही बाटो हुँदै एकजना पण्डितनी आमा आउनुभयो । उहाँले मलाई देख्नेबित्तिकै केही बेर नियाल्नुभयो । अचानक उहाँको अनुहारमा चिनेजस्तो भाव आयो । उहाँ मेरो नजिक आउनुभयो र मायालु स्वरमा भन्नुभयो— “ए बाबु, कता जान लागेको ? तिमी त राद्दल बाजेको नाति होइनौ?” म अचम्म परेँ । मैले उहाँलाई चिन्न सकिन तर उहाँले फेरि मुस्कुराउँदै भन्नुभयो— अस्ति भर्खर तिम्रो व्रतबन्ध भएको होइन? त्यही बेला मेरो श्रीमान् “दुवाडी पण्डीत” तिम्रो घरमा भागवत पाठ गर्न जानुभएको थियो । म पनि उहाँसँगै तिम्रो घर गएकी थिएँ ।
त्यसपछि त मेरो सास पलायो । उहाँले मलाई चिन्नुभएको रहेछ । हामीलाई केही न केही सहयोग त पक्कै गनुहोला जस्तो लाग्यो । उहाँले हामी चारै जनालाई हेर्दै फेरी सोध्नुभयो— “यस्ता उस्तैउस्तै भुराहरू मिलेर कता जान लागेको?” हामी केही क्षण मौन भयौँ । भागेर पैसा कमाउन दिल्ली जान लागेको कुरा भन्न सक्ने अवस्था पनि थिएन । सायद हाम्रो अनुहारमै सबै कुरा लेखिएको थियो । उहाँ आफैँले फेरी सोध्नुभयो— “पक्कै पनि तिमीहरु ऊ त्यो पारी रहेको तिम्रो माइली फुपुको घर बोर्लाङ ऐरीभञ्ज्याङमा जान लागेको होला है बाबु?” तब मैले हत्त न पत्त बाठो भएर हो हो, बोर्लाङको माईली फुपुको घर नै जान लागेको हो भनेर भनिहाले जबकी मलाई माईली फुपुको घर कता हो थाहा पनि थिएन । हाम्रो यात्राको युटर्न मेरो त्यही बाक्यले शुरु गरायो । त्यहाँबाट हाम्रो माईली फुपुको घर जान धेरै टाढा रहेनछ । पण्डितनी आमाले आत्मीयतापूर्वक बोर्लाङको माईलीफुपुको घर जाने बाटो सम्झाईदिनुभयो– “म त टारीबेसी जान लागेको । तिमीहरू यहाँबाट अलिकती तल बुढीगण्डकीतिर झर । त्यहाँ घाटबेसीको लामो काठे झोलुङ्गे पुल छ । त्यो बिस्तारै तर्नू । पुल तरेपछि घाटबेसी फाँट आउँछ । त्यो घाटबेसी फाँटबाट माथि उकालो लागेपछि सिधै बोर्लाङ पुगिन्छ । त्यहाँ पुगेर बगालेको घर कुन हो भनेर सोध्नु, सबैले देखाइदिन्छन । दिन बित्न लागिसक्यो, अब छिटो छिटो जाऊ है बाबुहरु” । यति भनेर पण्डितनी आमा टारीबेसीतर्फ लाग्नुभयो । हामी केहीबेर उहाँ गएको बाटोतिर हेरेर बसिरह्यौँ । त्यो बेला हामीलाई पण्डितनी आमा केवल एउटा बाटो देखाउने मान्छे मात्र हो जस्तो लागेको थियो होला । तर आज सम्झँदा लाग्छ— संकटमा भगवान स्वयं आफै मानिसको रूप लिएर आउनुहुँदो रहेछ । सायद त्यो दिन पण्डितनी आमा हाम्रो लागि भगवान बनेर आउनुभएको थियो ।
दिल्ली जाने योजना युटर्न भएर फुपुको घरतिर जाँदै...
त्यतिबेलासम्म हामी भोकले लगभग गलिसकेका थियौँ । अब दिल्ली जाने सपना धेरै पछाडि छुटिसकेको थियो । हामीसँग अब एउटा मात्र विकल्प बाँकी थियो— जसरी भए पनि त्यहाँबाट ठ्याक्कै पारीपट्टी रहेको माइली फुपुको घर बोर्लाङ पुग्ने । त्यही नै हाम्रो अन्तिम विकल्प हो भन्ठानेर हामी माईली फुपुको घर जानको लागि घाटबेसीपुलतर्फ ओरालो झर्यौ । यो भन्दा अघिसम्मको यात्रामा हामी चार भाईको नाईके ईश्वर भट्ट थियो तर यो मोडबाट अस्तीत्वले मलाई पो नाईके करार गरेको जस्तो भान भएको थियो मलाई । सल्यानटारबाट बिस्तारै तल झरेर हामी घाटबेसी पुलमा पुग्यौ । जीवनमा पहिलो पटक त्यति लामो, अत्यन्तै पुरानाे, काठै काठले बनाएको झोलुंगे पुल देखेर दंग पर्यौं । बुढीगण्डकी माथिको त्यो झोलुंगे पुलमा मान्छे हिड्न थालेपछि डर लाग्ने गरी हल्लीने रहेछ । पुल तल बुढीगण्डकीको पानी गर्जिँदै बगिरहेको थियाे । हामी डराउँदै डराउँदै बिस्तारै पाइला सार्दै पुल तरेर घाटबेसी फाँटमा पुग्यौँ ।
हाम्रो उद्धारकताकोरुपमा बृद्ध बा सँगको साक्षातकार...
पुल तरेपछि घाटबेसी फाँटको बिचबाटो हिडीरहेका थियौं अचानक बाटैनिर पर्ने एउटा घरको बृद्ध बा ले हामीलाई देखेर बोलाउनु भयो– “बाबुहरू, यता आऊ त” । हामी डराउँदै उहाँको घरमा गयौँ । उहाँले सोध्नुभयो— “बाबुहरु कताबाट आयौ ? कता जान लाग्यौ?” । मैले उत्तर दिएँ— “हामी अल्कटारबाट आएका हौं । मेरो माइली फुपु बगालेको घर बोर्लाङ ऐरीभञ्ज्याङमा छ । त्यहीँ जान लागेको” । उहाँले फेरि सोध्नुभयो—“अल्कटारमा कसका छोरा हौ?” फेरी मैले उत्तर दिए– “हामी राद्दाल बाजेको नाति हौं” । यति सुन्नेबित्तिकै उहाँको अनुहार उज्यालियो र भन्नुभयो– ए त आफ्नै भुराहरु पो रहेछौ । त्यसपछि उहाँले हामीलाई घरको फलैचामा बसाल्नुभयो । त्यसपछि घरभित्र गएर चारवटा ठुलो बोटुकामा दही लिएर आउनुभयो र भन्नुभयो– “ल बाबुहरू, धापीएर आएका होलाउ, पहिला दही खाऊ” । हामीले बोटुका हातमा उठायौं र एकैछिनमा खाएर सक्यौं । त्यो दहीको स्वाद आजसम्म पनि मैले बिर्सिएको छैन । त्यो दही केवल दही मात्र थिएन । त्यो त हाम्रो थकित शरीरका लागि अमृत थियो । दहीको पहिलो घुट्को मुखमा पुग्नेबित्तिकै लाग्यो— शिथील शरीरमा फेरि शक्ति पलाउन थाल्यो । पेटमा दही परेपछि आँखामा पनि चमक फर्कियो ।
त्यसपछि ती बा ले मुस्कुराउँदै भन्नुभयो— “भल्छोपेको बाहुन साइँला मेरो भान्जा हो । तिम्रो हजुरबा राद्दाल बाजे चै मेरो मामा पर्छ । तिमीहरु पिर नगर । म पनि बोर्लाङमै पन्तको छोरीको बिहेमा जाँदैछु । अब तिमीहरू मेरो पछि पछि हिँड फुपुको घर नजीकै पुग्छौ” । त्यती सुनेपछि हाम्रो मन हलुङ्गो भयो । हामीलाई लाग्यो— आज फेरि भगवानले हाम्रो उद्धार गर्न अर्को मान्छे पठाइदिनुभयो । ती बा ले पन्तको छोरीको बिहेमा लैजान काँधमा एक ठेकी दही बोक्नुभयो । बा अगाडि अगाडि । हामी चार भाई चै पछिपछि हिड्न थाल्यौ । त्यसरी हाम्रो यात्रा फेरि सुरु भयो ।
केही पर पुगेपछि हामीले बाटोछेउको एउटा खेतमा लटरम्म काँक्रो फलेको देख्यौं । काँक्रो देख्नेबित्तिकै पेटले फेरि आवाज निकाल्न थाल्यो । दहीले प्यास त मेटाएको थियो तर भोक अझै मरेको थिएन । चारै जनाले बिस्तारै सल्लाह गर्यौँ— “बा लाई अलि अगाडि जान दिम, त्यसपछि एउटा एउटा काँक्रो चोरेर खाऊँ” । योजना मुताविक हामी एकछिन रोकीयौं । ती बा धेरै अगाडि पुग्नुभयो । तब हामी चुपचाप काँक्रोबारीमा पस्यौँ । सबैले एक एक वटा काँक्रो टिपेर त्यहीँ बसेर खायौं । अनि अर्को एउटा एउटा काँक्रो चै काँधमा बोकेर बाहिर निस्कियौँ । केही पर पुगेर खोल्साको ऐँसेलुको झाडीमा लुकेर त्यो दोस्रो काँक्रो पनि मज्जाले खायौँ । त्यतिबेला त्यो काँक्रो हामीलाई राजाको भोजभन्दा कम लागेको थिएन । काँक्रोले अली अली पेट भरियो । अहिले सम्झँदा कहिलेकाहीँ मनमा प्रश्न उठ्छ— त्यो काँक्रो बारीकाे मालिकले हामीलाई देखेको भए के हुन्थ्यो होला? पीट्नुहुन्थ्यो होला ? काँक्रो खाईसकेर हामी दौडीएर फेरी ती बा लाई भेट्टायौं । उहाँले हाँस्दै सोध्नुभयो— “कहाँ हराएका थियौ तिमीहरू?” हामीले तुरुन्तै उत्तर दियौँ— पिसाब फेर्न खोल्सातिर गएका थियौं । बा मुस्कुराउनुभयो । सायद उहाँले सबै कुरा देखिसक्नुभएको थियो होला, सबै कुरा बुझिसक्नुभएको थियो होला । सायद न त्यो काँक्रोबारी पनि उहाँकै थियो की ? तर केही भन्नुभएन । बृद्ध मानिसहरूको महानता त्यस्तै हुन्छ— उनीहरूले बालबालीकाले गरेका गल्तीहरु सबै देख्छन तर बालमनलाई लज्जित बनाउँदैनन । हामी फेरि उहाँकै पछिपछि बाटो लाग्यौँ । ती बा को पछिपछि हामी जंगलको बाटो उक्लँदै गयौँ । ती बा सँग कुरा गर्दै हिँड्दा थकाइ केही कम भएको जस्तो लाग्थ्यो । कहिलेकाहीँ उहाँ पछाडि फर्केर हामीलाई हेर्नुहुन्थ्यो, हामी सबै ठीकसँग आइरहेका छौँ कि छैन भनेर । त्यो आत्मीयताले हामीलाई आफ्नै आफन्तसँग यात्रा गरिरहेको अनुभूति गराइरहेको थियो ।
यसरी गफ गर्दै जंगलको बाटाे उकालो चढ्दै जाँदा अन्तत ती बा जान लाग्नुभएको पन्तको छोरीको बिहे घर आइपुग्यो । बा ले मायालु स्वरमा– ल अब तिमीहरु अलीकति माथिसम्म हिडेपछि एउटा रोड आँउछ, त्यो रोड रोडै जाओ ठ्याकै एैरीभन्ज्याङमा बगालेको घर पुग्छौ । त्यति भनेर उहाँ तेर्सै बिहे घरमा जानुभयो । हामी चारै जना उहाँलाई हेर्दै केही क्षण उभियौँ । मनमनै उहाँलाई धन्यवाद दिइरहेका थियौँ । त्यसपछि हामी लौ अब कसले बाटो देखाइदेला भनेर पीर गर्दै माथि रोडमा निस्कीयौ । आज सम्झँदा लाग्छ— त्यो दिन यदि ती बा नभेटिनुभएको भए हाम्रो यात्रा कता मोडिन्थ्यो, आजसम्म पनि कल्पना गर्न सक्दिनँ ।
दिनभरिको हिँडाइले शरीर पुरै गलिसकेको थियो । रोडमा पुगेपछि रोडको डिलमा बसेर एकछिन थकाईमार्ने निर्णय गर्यौं । डीलमा बसेर यसो तल हेरेको त एउटा रमाइलो दृश्य देख्यौं । त्यो बा ले भन्नु भएको पन्तको छोरीको बिहे ठ्याक्कै त्यही रोडभन्दा अलीकति मुनी रहेछ । त्यो बिहे घर वरिपरि निकै चहलपहल थियो । पन्चे बाजा बजिरहेको थियो । मानिसहरूको आवत जावत र भीड थियो । जन्तीले भतेर खाईरहेका थिए । नाचगानले विवाहघरको वातावरण उल्लासमय भएको थियो । त्यो दृश्य देखेपछि हाम्रो पेटले फेरि आफ्नो उपस्थिति जनायो । धेरै हिडेकोले होला भोक फेरी लागीसकेको थियो । साझ पनि पर्न पर्न लागेको थियो । चारभाईले एकअर्कातिर हेरेर सल्लाह गर्यौ– जाम त्यही बिहे घरमा गएर बिहेको भोज टन्न मासु भात खाम अनि दिदीको घर खोज्दै खोज्दै जाम्ला । हामी यही विषयमा कुरा गरिरहेका थियौँ ।
बगाले भिनाजुसँगको चमत्कारपूर्ण अप्रत्यासित जम्काभेट...
तर भगवानले शायद त्यो बेला हाम्रो लागि अर्कै योजना बनाउनुभएको रहेछ । त्यसरी कुरा गर्दा गर्दै हामी बसीरहेको डीलमुनिबाट हाम्रो बगाले भिनाजु अर्थात हाम्रो माइली दिदीको श्रीमान अर्थात हामी जसको घरमा जानका लागि दिनभरी भौतारीरहेका थियौं उहाँ नै टुप्लुक्क आइपुग्नुभयो । भिनाजु पनि त्यही पन्तको छोरीको घरमा भतेर खाएर आउनुभएको रहेछ । बगाले भिनाजुले हामीलाई देख्नासाथ आश्चर्यचकीत पुर्नभयो । हामीपनि बगाले भिनाजुलाई देख्नासाथ आचर्यचकित पर्यौ । हामी त केही बोल्नै सकेनौं । भगवानको लीला, सायद भगवानले हामीलाई रेस्क्यु गर्न ठाँउ ठाँउमा मान्छे खटाएर राख्नु भएको रहेछ क्या रे । अनि बगाले भिनाजुले हाँस्दै ओइ मोरा हो, कहाँबाट आइपुग्यौ तिमारु हँ ? कसरी आईपुग्यौ? लौ घर हीड भनेर हामीलाई घर लैजानुभयो । त्यो क्षण आज पनि सम्झँदा मेरो शरीर सिरिङ्ग हुन्छ । यदि हामी पाँच मिनेट अगाडि वा पाँच मिनेट पछि पुगेको भए? यदि हामी डिलमा थकाईमारेर नबसेको भए? यदि हामी बिहेको भोज खान जाने योजना नबनाएको भए? सायद त्यो भेट नै हुँदैनथ्योहोला । भिनाजुसँग भेट नभएको भए सायद हामी फेरी दिदीको घर पत्ता लगाउन नसकेर अर्कै गाँउतिर पुग्थ्यौ होला ?
कहिलेकाहीँ जीवनमा हुने यस्ता संयोगहरूलाई केवल संयोग मात्र भन्दा भगवानको खटनपटनप्रति अन्याय हुन्छ । आज आएर सम्झिदा– त्यो दिन साँच्चै कसैले अदृश्य रूपमा हामीलाई हात समातेर सही ठाउँमा पुर्याउन खोजीरहेको जस्तो जस्तो लाग्छ ।
दिल्ली जान हिँडेको मान्छे दिदीको घर पुगेपछि...
भिनाजुसँगै हामी दिदीको घरतिरको बाटो लाग्यौँ । दिनभरिको दुःख, थकाइ, भोक र निराशापछि त्यो बाटो हामीलाई स्वर्गको बाटोजस्तै लागिरहेको थियो । दिदीको घर पुग्दा साँझ परिसकेको थियो । आकाश अँध्यारो हुँदै थियो । घरमा पुग्नेबित्तिकै माइली दिदीले हामीलाई देखेर तीन छक पर्नु भयो । सायद दिदीको अनुहारमा एकैपटक अनेकौं प्रश्नहरु देखिएको थियो– आज एक्कासि यी माईती भाइहरू कीन आइपुगे? यति साना भुराहरू यति टाढासम्म कसरी आए? कतै भागेर त आएका होइनन? न कुनै उट्पट्याङ गरेर पो आएका हुन कि?
हाम्रो गाँउमा कसैलाई फुन गरेर सोध्न पनि त्यो बेला मोबाइल वा फोन थिएन । दिदीले मनमनै धेरै कुरा सोच्नुभएको होला तर त्यस क्षण दिदीले कुनै प्रश्न गर्नुभएन । दिदीले सबैभन्दा पहिले हामीलाई फलैचामा गुन्द्री बिच्छ्याएर बसाल्नुभयो । त्यसपछि पन्तको छोरीको बिहेबाट ल्याएको रोटी र कसार निकालेर खान दिनुभयो । हामी त भोकले लगभग बेहाल थियौँ । त्यो रोटी र कसार हामीले यति मिठो मानेर खायौँ कि अहिले पनि त्यसको स्वाद सम्झँदा मन रसाउँछ । विशेष गरी हाम्रो साथी हस्तबहादुर त सारै निरस भईसकेको थियो किनभने उ सबैभन्दा बढी भोको थियो । हस्तबहादुरले एकदमै मिठो मानेर रोटी कसार खाइरहेको देख्दा दिदीको अनुहारमा पनि असाध्यै दया पलाएको जस्तो झल्किन्थ्यो । त्यसपछि दिदीले फेरि खाना पकाउन थाल्नुभयो । खाना पाकिसकेपछि हामीलाई खाना खान बोलाउनुभयो । हामीलाई पेटभरि खाना खुवाउनुभयो । दिनभरीको हिडाई, गर्मी, थकान, प्यास र भोकले शिथील हामी चारै जनालाई दिदीले पकाएर दिनुभएको त्यो मिठो खाना राजाको भोजनजस्तै अनुभव भयो ।
खाना खाइसकेपछि दिदीले हामीलाई तल्लोपट्टिको धन्सार घरको एउटा कोठामा सुत्नको लागि ओछ्यान लगाईदिनुभयो । दिनभरीको थकानले गर्दा कहीले ओछ्यानमा पल्टिन पाईएला जस्तो भएको थियो । हामी ओछ्यानमा पल्टियौँ । दिदी भिनाजुले भने हाम्रो बालापनको मनोविज्ञान हामीभन्दा राम्रो बुझ्नुभएको रहेछ । उहाँहरूले मनमनै सोचिसक्नुभएको रहेछ— यी केटाहरु पक्कै केही न केही उट्पट्याङ गरेर भागेर आएका हुन । राती भागेर अन्त अन्त गयो भने त झन पीर हुन्छ भन्ठानेर हामीलाई कोठा बाहीरबाट चापी लगाएर बाहीर निस्कीनै नमील्ने गराएर दिदी भिनाजु दुबैजना राती फेरी त्यही पन्तको छोरीको बेहेको रमाईलो हेर्न जानुभएछ ।
हामीलाई कोठा बाहीरपट्टीबाट चापी लगाएको कुरा थाहै थिएन । केहीबेरपछि रात गहिरिँदै गयो । सबैलाई पिसाब चाप्दै जान थाल्यो । पिसा फेर्न बाहीर जान ढोका खोल्न खोजियो । तर ढोका त बाहिरबाट बन्द रहेछ । एकपटक, दुईपटक, धकेल्यौँ । खुल्दै खुलेन । अब के गर्ने? अन्तत हामी सबैले एउटा उपाय निकाल्यौँ । कोठाभित्रै रहेको एउटा सानो प्वालमा पालैपालो पिसाब फेर्यौं । हामीसँग अरु विकल्प पनि त थिएन । त्यसपछि फेरि सुत्ने प्रयास गरियो । तर हाम्रो टोलीमा एउटा यस्तो पात्र थियो जो सधैं जिस्कीने, ठट्टा गर्ने, हसाँउने काम थर्यो । त्यो महान पात्र थियो हाम्रो नाईके– ईश्वर भट्ट । हामी सबैलाई चौपट निद्रा लागेको छ तर ऊ चै कहीले के कहीले के भनेर हामीलाई जिस्क्याईरहन्थ्यो । उसले भन्यो– ओई भीमे “अठार” भन त । मैले पनि “अठार” भने । उसले जिस्कायो– अठार, टुपी मठार ? अनि फेसी उसले हस्तेतिर हेर्दै भन्यो– ओई हस्ते “उन्नाईस” भन त । हस्ते ले पनि “उन्नाईस” भन्यो । उसले फेरी जिस्कायो– उन्नाईस, नाईटोमुनी के झुण्डाई? अनि फेरी उसले बलेतिर हेर्दै भन्यो– ओई बले “सत्र” भन त । बले ले पनि “सत्र” भन्यो । उसले फेरी जिस्कायो– सत्र, परियो अलपत्र । हुन पनि हामी पैसा कमाउन दिल्ली जान भनेर हिँडेको मान्छे आखीरिमा दिदीको घरमा पुगेर पिसा फेर्न कोठा बाहीर पनि निस्कीन नमिल्लने गरी एउटा कोठाभित्र अलपत्र परिएको थियो । ईश्वरले यस्ता उट्पट्याङ टुक्का, ठट्टा र गफ निकालेर हाँस्दै, जिस्किँदै आधा रातसम्म हामीलाई निदाउनै दिएन । हामी सबैजना ठट्टा र हाँसीमजाक गर्दै बल्त तल्ल निदायौ । तर हामीलाई के थाहा– त्यही रात उता हाम्रो गाउँमा भने हाम्रो बाउआमा लागयत सबै गाँउलेहरु मिलेर रातभरी लालटिन बालेर डाँडाकाँडा–टोलटोलमा रुँदै रुँदै हामीलाई खोजिरहेका छन होला भनेर ।
जब हामी घर फर्कियौँ...
भोलिपल्ट बिहान घाम उदाएसँगै माइली दिदीले काेठा खोलेर हामीलाई उठाइदिनुभयो । रातिको थकाइ केही कम भएको थियो । पेटभरि खाना खाएको र सुरक्षित ठाउँमा सुतेको कारण शरीरमा अलिकति शक्ति फर्किएको थियो । तर हामीलाई हेर्ने दिदीको आँखामा अझै चिन्ता स्पष्ट देखिन्थ्यो । उहाँलाई लागिसकेको थियो— यी चार जना केटाहरू सामान्य घुम्न आएका होइनन, केही उट्पट्याङ गरेर भागेर नै आएका हुन । तर पनि उहाँले केही भन्नु भएन । उहाँले बिहानै खाना पकाएर हामीलाई पेटभरी खाना खुवाउनुभयो । त्यसपछि भन्नुभयो— “ल, पल्लो गाउँका दिदीहरू आरुघाट बजार जाँदैछन । तिमीहरू पनि बाटोमा अन्त कतै पनि अलमल नगरी उनीहरूसँगै जाऊ । उनिहरुलाई मैले मेरो माईती भाईहरुलाई आरुघाट पुराईद्याओ है भनिदीएको छु । आरुघाटमा पनि अलमल नगरी सरासर घर पुग्नु, बाआमाले पीर मानेका होलान ।” हामीले पनि हस हस भनेर शिर हल्लायौँ । अब लगभग हामीभित्र दिल्ली जाने सपना कत्तिपनि बाँकी थिएन सायद ।
हाम्रो अब एउटै चाहना थियो— जसरी भए पनि घर पुग्ने । हामी पल्लो गाउँका ती दिदीहरुसँगै बोर्लाङबाट तान्द्राङ खोलातिर ओरालो लाग्यौँ । नेपालकै पुरानो, विशाल र घना सालघारीको ओरालो बाटो हुँदै तल झर्यौ । सालघारीभित्रको तातो हावा, चराहरूको आवाज अनि विशाल एवं अग्ला सालका रुखहरूले बाटोलाई अझै रहस्यमय बनाइरहेको थियो । तर हाम्रो मन भने त्यो सुन्दर प्रकृतिमा रमाउन सक्ने अवस्थामा थिएन । हामी त केवल घर सम्झिरहेका थियौँ ।
बोर्लाङको जंगल पार गरेर हामी तान्द्राङ खोला पुग्यौँ । त्यहाँबाट फेरि उकालो चढेर धावा पुग्यौँ । धावाबाट टारीफाँट हुँदै अन्तत आरुघाट पुग्यौं । गर्मी निकै चर्को थियो । आरुघाट बजार छिर्नुअघि स्तुलखोलामा हामी केहीबेर रोकियौँ । चर्को घामले शरीर पोलिरहेको थियो । त्यसैले हामीले लुगासुगा फुकालेर स्तुलखोलामा पौडी खेल्यौँ । स्तुलखोलाको चिसो पानीले शरीरको थकान केही कम गराईदियो तर मनको थकान भने बढ्दै गइरहेको थियो ।
पौडीखेलिसकेर आरुघाटको पुछारबजारबाट हिड्दै अघि बढ्दै थियौं । बजार प्रवेश गर्नेबित्तिकै हामीलाई लाग्न थाल्यो— सबैले हामीतिर हेर्दै छन । कोही पुलुपुलु हेरिरहेका थिए । कोही आपसमा साउती मारिरहेको जस्तो लाग्थो । कसैले हामीतीर हेरेर सुन्नेगरी यिनीहरुनै हैनन चारभाइ बालक हराएको भनेर गाँउका सबै मान्छे चारतिर खोजी हिडेका ? सायद त्यो हाम्रो मनको डर थियो वा सायद साँच्चिकै देशभरी हामी भागेर दिल्ली हिँडेंको खबर फैलिसकेको थियो थाहा छैन ।
हामी आरुघाटबजारको झोलुंगे पुलनिर पुग्न मात्र के लागेका थियौं अचानक ईश्वर भट्टलाई उसको स्कुलको एकजना सरले देख्नुभयो । उहाँ तुरुन्तै नजिक आउनुभयो र निकै गम्भीर स्वरमा भन्नुभयो–“ईश्वर! तिमीहरू कता भागेको? तिम्रो गाउँभरि मान्छे रोइरहेका छन । सबैले रुदै रुदै दिनरात तिमीहरूलाई डाँडाकाँडा–टोलटोल खोजिरहेका छन । तिमी त यति ठूलो भएर पनि यस्ता साना–साना केटाहरूलाई लिएर कहाँ हिँडेको?” सरको स्वरमा रिसभन्दा पनि चिन्ता बढी थियो । ईश्वर केही बोल्न सकेन । हामी पनि चुपचाप उभिइरह्यौँ । त्यसपछि हामी फेरि गाँउतर्फ लाग्यौ ।
गाँउलेको रिस र प्रेम...
त्यसपछि हामीले सकेसम्म कसैको आँखा नपर्ने गरी, मुख लुकाएर, छिटोछिटो हिँडेर गाँउ पुग्ने योजना बनायौं । योजना अनुसार बगैंचा, चापानी, मंगलटार अनि सिमारा पार गर्यौँ । सिङखोला पार गरेर ढकाल चौतारोतिर उकालो मात्र के लागेका थियौं– त्यहाँ त गाउँभरिका मानिसहरू हाम्रो प्रतीक्षामा रहेछन । हामीलाई देख्नेबित्तिकै चारैतिरबाट गाँउको मानिसहरू दौडिएर हामीतिर आउनुभयो । गाँउका सबै मान्छेले हामीलाई त छेकारा काटेर कालिज समात्न लागेझै गर्न थाल्नुभयो । हाम्रो त सातोपुत्लो नै उड्यो । डरले केही सोच्न सकिएन । डरले हामी चारै जना दौडिँदै सिँचाई कुलोकुलै भाग्यौ । भागेर सानटारखोलाको सिँचाइ कुलोको अन्डरग्राउन्ड दुलोभित्र छिर्यौ । हामीलाई लाग्यो— अब कसैले भेट्दैन । तर हाम्रा गाउँलेहरू त हामीभन्दा धेरै बाठा रहेछन । उहाँहरूले तुरुन्तै हामी लुकेको ठाउँ पत्ता लगाउनुभयो । हामीलाई एक–एक गरेर दुलोभित्रबाट तानेर घिसार्दै बाहिर निकालियो । कसैले हामीलाई गाली गर्न थाल्नुभयो । कोही रिसले हामीलाई काच्चै खाउला झैं गर्दै थिए । कसैले हामीलाई मायाले सुमसुमाउनुभयो । कोही हामीलाई समातेर रुन थाल्नुभएको थियो । त्यो दृश्य आज पनि सम्झँदा मन भारी हुन्छ । रिस र माया एकैपटक कस्तो देखिँदो रहेछ भन्ने मैले पहिलो पटक त्यही दिन देखेँ ।
सबैभन्दा ठूलो सजाय भने ईश्वरले पायो । ईश्वरको बुबाले बनमासाको सुम्टाले ईश्वरलाई यति धेरै पिट्नुभयो कि ज्यानभरि सुम्ला उठेको थियो । ईश्वर हामीभन्दा जेठोबाठो थियो । त्यसैले सबैभन्दा धेरै दोष पनि ईश्वर माथि नै आयो । ईश्वरलाई पिटिसकेपछि ईश्वरको बुबा मलाई पनि पिट्न आउनुभएको थियो तर त्यही बेला हाम्रो ठुलदाइले मलाई तानेर लैजानुभयो । सायद त्यसैले म त्यो दिन ठूलो कुटाइबाट बँचे । तर ईश्वरको मन भने बुबाको त्यो कुटाइले चकनाचुर भएछ । रिस, पीडा, अपमान र निराशाले भरिएको त्यो बालमनले अचानक– “म मर्न जान्छु” भनेर बुढीगण्डकीको खाडीतर्फ हामफाल्दै गयो । तर गाँउका सबै मानिसहरुले तत्कालै समातेर उसलाई फकाएर घर लगियो । त्यसपछि हामी सबै आ–आफ्नो घर गयौं ।
हजुरबाको माया...
घर पुगेपछि मलाई सबैभन्दा पहिले अँगालो हाल्ने मान्छे हुनुहुन्थ्यो— मेरो हजुरबा । उहाँले मलाई काखमा राख्नुभयो । न गाली गर्नुभयो । न कुट्नुभयो । मायालु स्वरमा भन्नुभयो— अब यस्तो कहिल्यै नगर है कान्छा । त्यसपछि हजुरबाको आँखामा आँसु भरिए ।
हजुरबाले रुँदै भन्नुभयो— तँ घरबाट हराएपछि तेरो आमा पागलझैँ भएकी छ । रुँदै–रुँदै तलाई खोज्न निस्केकी छ । अहिलेसम्म घर फर्केकी पनि छैन । त्यो सुन्नेबित्तिकै मेरो मन एक्कासि भारी भयो । हजुरबाले त्यसपछि भन्नुभयो— “तिमारुलाई खोज्न अल्कटार भल्छोपे लगायतका सबै सबै गाँउले दाजुभाईहरु र तेरो आमा, तेरो काईली फुपु, हस्तको बुबा, ईश्वरको बुबा लगायत सबै चार भन्जाङ, चार डाँडा, आर्खेत, आरुघाट, आरुपोखरी, टारीफाट, ओख्ले, घ्याम्पेसाल, गोरखा, आरुघाटपारी, सल्यान्टार, टारीबेसी, हनुमानडाडा, गोलाभञ्ज्याङ लगायत सबैतीर रुदै रदै दिनभरी रातभरी खानु पिउनु छाडेर खोजी हिडेको छ । पुलिस चौकीमा तिमारुको हुलिया दिएको छ । रेडियो नेपालमा पनि तिमीहरू हराएको सूचना दिइएको थियो” । अब यस्तो उट्पट्याङ कहिल्यै नगर है कान्छा भनेर हजुरबाले माया गरेर सम्झाइ बुझाइ गर्नुभयो ।
हुन पनि हाम्रो आमा, हस्तको आमा, काईली दिदी, ईश्वरको ममी सबै सबै हे बा हो, मेरो बाबुहरु कता हरायो, हे भगवान मेरो बाबुहरुलाई सकुसल खोजिदिनुस भनेर डाको छाडेर रुदै लालटीन बालेर दिनरात नभनी चारतीर छरीएर खोजी हिँडेका थिए अरे । त्यो दृश्य त हामीले देखेनौं तर कल्पना गर्दा आज पनि मन भक्कानिन्छ । त्यो सबै थाहा पाएपछि पहिलो पटक मैले आफ्नो गल्तीको गहिराइ बुझे । त्यतिखेर हामीले बुद्धी नपुगेर ख्याल ख्यालैमा सामान्य ठानेर गरिएको बालसुलभ निर्णयले यत्रो ठुलो घटना घट्ला, परिवार र गाँउलेलाई यति धेरै पीर दिइएला भन्ने त ठानेकै थिएनौं ।
त्यो यात्राले सिकाएको पाठ...
आज यति धेरैवर्षपछि त्यो घटना सम्झिदा– त्यो त सत्य घटना होइन, कुनै चलचित्रको काल्पनिक कथा हो जस्तो लाग्छ । तर त्यो एकदमै सत्य घटना हो । हाम्रो अबोध बालसुलभ निर्णयले निम्त्याएको सत्य घटना हो । हामीले बुद्धि नपुगेर, संसार नबुझेर, गाँउघरको दुःखलाई बालसुलभ आँखाले हेरेर, पैसा कमाउने सपना बोकेर गाउँ छाडेका थियौँ । तर त्यो यात्राले हामीलाई पैसाभन्दा ठूलो पाठ सिकायो— घरको माया संसारको सबैभन्दा ठूलो सम्पत्ति रहेछ । कुनै पनि सपना आमाको आँसु भन्दा मूल्यवान रहेनछ । आज त्यो घटना सम्झँदा हाँसो पनि उठ्छ । आँखा पनि रसाउँछन । र, मनमनै भगवानलाई धन्यवाद दिन्छु— बिच बिचमा विभिन्न उद्धारकर्ता व्यक्तिहरु पठाउनुभएर हामी चारै जनालाई सकुशल घर फर्काउन सफल हुनुभयो ।
त्यसैले, आज आएर सोच्छु- जीवनका सबै यात्राहरू गन्तव्यसम्म पुग्नका लागि मात्र हुँदैन रहेछ । केही यात्राहरू केवल जीवनमा एउटा अमूल्य पाठ सिकाउनका लागि मात्र पनि हुनेरहेछन । हाम्रो त्यो दिल्ली यात्रा पनि ठ्याकै त्यस्तै सावित भयो । हामी पैसा कमाउन निस्केका थियौँ । तर फर्कँदा पैसाभन्दा धेरै ठूलो सम्पत्ति लिएर फर्कियौँ— गाँउको माया, आमाको माया, घरको अर्थ र एउटा बालसुलभ निर्णयले कहिलेकाहीँ सयौँ मानिसको निन्द्रा हरण गर्न सक्ने रहेछ भन्ने महत्वपूर्ण पाठ ।
फर्केर हेर्दा...
हाम्रो त्यो यात्रालाई फर्केर हेर्दा आज मनमनै सोच्छु— यदि आरुघाटपारिको बसपार्कबाट हामी साँच्चै काठमाडौं जाने बस चढेको भए अनि काठमाडौं पुगेर काठमाडौंबाट दिल्लीतर्फ जाने अर्को बस समातेको भए हाम्रो जीवनको कथा कहाँ पुग्थ्यो होला? सायद हामीलाई खोज्दै हिँडेको हाम्रो बाआमाहरुले हामीलाई कहिल्यै भेट्ने थिएनन होला । हाम्रो बालापन बम्बैको कुनै एउटा होटेलमा भाडा भाजेर बित्थ्यो होला । त्यो कल्पना मात्रै गर्दा पनि आज मन सिरिङ्ग हुन्छ । त्यसैले त्यो दिन आरुघाटबाट काठमाडौं जाने बस नहुनु नै हाम्रो जीवनको सबैभन्दा ठूलो सौभाग्य रहेछ । अहिले सोच्दा लाग्छ– सायद त्यो पनि भगवानको नै खटन पटन थियो होला ।
कहिलेकाहीँ मनमा हाम्रो यात्राको अर्को अबस्था सम्झीन्छु— यदि हामी पड्केघारीको बिचबाट साँच्चै त्यो ट्रक चढेर गएको भए हामी कहाँ पुग्थ्यौं होला ? हाम्रो बालापनको कथा कहाँ पुग्थ्यो होला? सायद हामी अझ धेरै हराउँथ्यौँ, अझ ठूलो संकटमा पथ्र्यौँ वा सायद कहिल्यै घर फर्किनसक्दैनथ्यौँ । आज लाग्छ, ड्राईभरले गाली गरेर त्यो ट्रकबाट झारिनु नै हाम्रो यात्राको पहिलो ठूलो उद्धार थियो । त्यो दिन हामीलाई ट्रकमा चढ्न नदिएकोमा ड्राइभरप्रति त्यतिबेला रिस उठेको थियो तर ड्राईभरले गरेको त्यो गाली भगवानले गरेको सबैभन्दा ठूलो रक्षाकवच रहेछ भन्ने कुरा अहिले आएर बुझियो ।
फर्केर हेर्दा आज पनि म कहिलेकाहीँ कल्पना गर्छु– यदि हामी सल्यानटारमा पानी दिएको घरमै बसेर दुई रुपैयाँ महिनाको ज्यालामा डल्ला फोर्दै र भैँसी चराउँदै बसेको भए हाम्रो जीवनको कथा कस्तो हुन्थ्यो होला? सायद हाम्रो पढाइ त्यहीँ टुङ्गिन्थ्यो र आजको मेरो जीवन पूर्ण रूपमा अर्कै दिशामा बगिसकेको हुन्थ्यो । आज सम्झिदा– हामी त्यहाँबाट भाग्नुले नै हामीलाई बचायो जस्तो लाग्छ ।
फर्केर हेर्दा अहिले कहिलेकाहीँ कल्पना गर्छु— यदि त्यो दिन सल्यानटारको पल्लोछेउमा ती पण्डितनी आमा नभेटिएकी भए, हामी कुन बाटो लाग्थ्यौँ र कहाँ पुग्थ्यौँ होला? सायद हामी अझै अन्जान बाटाहरूमा भौतारिइरहन्थ्यौँ होला । आज लाग्छ– त्यो दिन ती पण्डितनी आमा हाम्रो लागि साधारण व्यक्ति होइन, भगवान्ले नै पठाइदिनुभएको एक उद्धारकर्ता हुनुहुन्थ्यो । उहाँसँगको त्यो संयोगपूर्ण भेट नै हामी घर फर्कने मोडको पहिलो उज्यालो किरण बनेको थियो ।
फर्केर हेर्दा अहिले कहिलेकाहीँ मनमा प्रश्न उठ्छ— यदि घाटबेसी फाँटको बीचबाटोमा ती दही खुवाउने बा नभेटिनुभएको भए हाम्रो यात्रा कहाँ पुग्थ्यो होला? सायद भोक, थकान र अन्योलले हामीलाई अझै धेरै भौतारिन बाध्य पाथ्र्यो र फुपुको घर पुग्ने आशा पनि झन टाढिँदै जान्थ्यो । त्यो दिन ती बा ले खुवाउनुभएको दही केवल दही मात्र थिएन त्यो त थाकेका चार बालकका लागि नयाँ जीवन दिने अमृत थियो । आज लाग्छ– उहाँ पनि भगवानले हाम्रो उद्धारगर्न खटाउनुभएको दुत हुनुहुन्थ्यो ।
फर्केर हेर्दा अहिले कहिलेकाहीँ मनमा अर्को शक्तिसाली प्रश्न उठ्छ— यदि त्यो बोर्लाङ डाँडाको डिलमा हामी बसिरहेको बेलामा बगाले भिनाजु टुप्लुक्क आईनपुग्नुभएको भए हामी कता लाग्थ्यौँ होला? सायद भोक र थकानले लखतरान भएका हामी फेरि कुनै अन्जान बाटोतिर भौतारिन्थ्यौँ र घर फर्किने हाम्रो यात्रा अझै धेरै लम्बिन्थ्यो । आज लाग्छ– त्यो बोर्लाङ डाडाको डिलमा भिनाजुसँग भएको भेट केवल संयोग मात्र त थिएन । जब हामी पूर्ण रूपमा थाकेर, अन्योलमा परेर उभिएका थियौँ, त्यही बेला भगवानले हामीलाई उद्धारगर्न आफ्नै मान्छेलाई पठाउनुभएको थियो होला सायद ।
फर्केर हेर्दा अहिले कहिलेकाहीँ कल्पना गर्नु– यदि दिदी र भिनाजुले त्यो रात हामीलाई सुताएर बाहिरबाट चापी नलगाइ जानु भएको भए के हुन्थ्यो होला? दाल भात तरकारी र रोटी खाएर दिनभरिको भोक मेटिएको शरीरमा फेरि शक्ति पलाईसकेको थियो । सायद हामी राति नै फेरि अर्को कुनै अन्जान यात्रातिर भाग्थ्यौँ र त्यसपछि हाम्रो जीवन कुन मोडमा पुग्थ्यो कसैले भन्न सक्दैन । आज सम्झँदा लाग्छ– त्यो दिदी भिनाजुले हामी माथि गरेको त्यो शंका र बाहीरबाट लगाईदिनुभएको त्यो सानो चापीले केवल एउटा कोठाको ढोका मात्र बन्द गरेको थिएन बरु हाम्रो जीवनलाई अन्धकारतर्फ मोडिनबाट पनि जोगाएको थियो । सायद त्यसो नभएको भए आज म यो संस्मरण लेखिरहेको पनि हुने थिइनँ होला ।
हामी चारभाईको साझा कृतज्ञताभाव...
बालापनमै त्यस्तो ठूलो जोखिम मोलेर लाहुर हिँडेका हामी चारै जनाले त्यही उमेरमै जीवनको एउटा अमूल्य पाठ सिकिसकेका रहेछौँ । समयले हामी सबैलाई आ–आफ्नो बाटोमा अघि बढायो । देश-विदेश घुमायो, संघर्ष गर्न सिकायो, आर्थिक रूपमा आत्मनिर्भर बनायो र आ–आफ्नो क्षेत्रमा स्थापित हुने अवसर दियो । कहिलेकाहीँ लाग्छ, बालापनमा खाएको त्यो पहिलो ठूलो ठक्करले नै जीवनलाई हार नमान्ने साहस, सङ्घर्ष गर्ने शक्ति र अघि बढ्ने प्रेरणा हाम्रो मन मस्तिष्कमा रोपिदिएको थियो होला सायद । त्यसैले आज त्यो घटना सम्झँदा पछुतोभन्दा पनि कृतज्ञताभाव पैसा हुन्छ— किनकि त्यही उट्पट्याङपूर्ण यात्राले हामीलाई जीवनभरका लागि साहस, सङ्घर्ष र सही बाटो रोज्ने चेतना दिएकाे थियो । विशेषगरी- हाम्रो त्यो कठिन यात्रामा हामीलाइ उद्धार गर्ने, बाटो देखाउने, माया गर्ने, गाली गरेर सम्झाउने, जीवनको पाठ सिकाउने र हामीलाई खोज्न दिनरात नभनी हिँडेका सबै आफन्तजन तथा सम्पूर्ण गाउँलेहरूप्रति हामी चारै भाइ हृदयदेखि नै कृतज्ञ, ऋणी र सदैव आभारी छौँ । उहाँहरूको माया र सद्भाव हामी जीवनभर कहिल्यै बिर्सने छैनौँ ।
यात्रा संस्मरण लेख्ने अठोट...
त्यसैले यो संस्मरण केवल आफ्नो बालापन सम्झनका लागि मात्र लेखिएको होइन । कुनै पनि बालबालिकाले आफ्नो बालसुलभ आवेगमा परिवार, आफन्त र गाउँलेहरूलाई रुवाउने वा चिन्तामा पार्ने कुनै पनि उट्पट्याङपूर्ण निर्णय कहिल्यै नगरून र बाउआमाले पनि आफ्ना बालबालिकाप्रति सधैँ सजग र सचेत रहून भन्ने सानो सन्देशकाे लागि यो संस्मरण लेखेको हुँ । साथै, बालापनमा हामीले घटाएको त्यो साहसिक, क्रेजी, उट्पट्याङपूर्ण तर अविस्मरणीय घटनालाई भविष्यमा बुढेसकालमा फेरि सम्झन, आफ्ना सन्ततिलाई सुनाउन र स्मृतिका रूपमा सुरक्षित राख्न मैले यो संस्मरण आफ्नो व्यक्तिगत ब्लगमा अभिलिखित गर्ने प्रयास गरेको हुँ । अन्तमा, हाम्रो बालापनको यो सत्य यात्रा–संस्मरण धैर्यपूर्वक पढिदिनुभएकोमा हृदयदेखि नै हार्दिक धन्यवाद ।




