Insights and Growth: My Role as a National Observer in CA Election 2070



राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) बाट २०७० सालको संविधानसभा निर्वाचनका लागि राष्ट्रिय पर्यवेक्षका रूपमा काम गर्न पाउनु मेरो जीवनको एक महत्वपूर्ण जिम्मेवारी र चुनौतीपूर्ण अनुभव सावित भएको थियो । देशको लोकतान्त्रिक प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन योगदान पुर्याउनुपर्ने भूमिकाले गर्दा यसको दायित्व र सतर्कता गम्भिर थियो । निर्वाचन अवधिभर (निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पश्चात) देशका विभिन्न ठाउँहरूमा पर्यवेक्षणको शिलशिलामा पुग्दा देखिएका चुनौती, अवरोध र कार्यान्वयनका कठिनाइहरूले कामको गम्भिरता पुष्टि भएको थियो । 

निर्वाचन प्रक्रियालाई नजिकबाट अवलोकन गर्न पाउनु मेरो लागि ठूलो सिकाइ थियो । मतदान केन्द्रदेखि मतगणनासम्मकोे सम्पूर्ण संयन्त्र, सुरक्षाको व्यवस्था, कर्मचारीहरूको समन्वय र मतदाताको उत्साहपूर्ण सहभागिता देखेपछि थाहा भयो देशको लोकतान्त्रिक अभ्यास कति जटिल प्रक्रियाको सामना गरेर हुने रहेछ । यस क्रममा स्थानीय समुदायसँगको संवाद, विभिन्न पृष्ठभूमिकाका नागरिकसँगको भेटघाट र उनीहरूको लोकतन्त्रप्रतिको आशा–अपेक्षाले मेरो स्वयंको दृष्टिकोणलाई अझै व्यापक बनायो । 

यो यात्राले मलाई केवल निर्वाचनको प्राविधिक पर्यवेक्षण मात्र सिकाएन, यसले लोकतान्त्रिक मूल्य, नागरिक उत्तरदायित्व र पारदर्शिताको वास्तविक अर्थ बुझ्न पनि मद्दत गर्यो । निर्वाचन पूर्वको दिनदेखि निर्वाचनपश्चातको अन्तिम पर्यवेक्षण प्रतिवेदनसम्मको सम्पूर्ण प्रक्रियामा सकृय सहभागिताले मेरो सिकाई, क्षमता र प्रोसेसनाजिललाई थप सुदृढ बनायो । समग्रमा, संविधानसभा निर्वाचन २०७० मा राष्ट्रिय पर्यवेक्षकका रूपमा बिताएको समय मेरो व्यक्तिगत तथा प्रोफेसनल विकासमा एक अमूल्य सिकाइ र प्रेरणादायी अध्यायको रूपमा सदैव रहिरहने छ । 

Share:

दाइभाउजुसँगको मनकामना यात्रा : मिठो सम्झनाहरू



तिहार बिदाको अवसर पारेर २०७० सालको कार्तिक १७ गते दाइ र भाउजुसँग मिलेर गरिएको मनकामना दर्शन मेरो जीवनको अत्यन्तै मिठो स्मृतिहरूमध्ये एक बनेर बसेको छ । शरद ऋतुको याम उसैपनि मलई सबैभन्दा रमणीय र उल्लासमय लाग्छ । अझ, बिहानको चिसो हावा, घामको हल्का ताप र धार्मिक यात्राको उत्साह मिसिएको त्यो दिन आज पनि मनमै ताजै छ । अझ पहिलो पटक केवलकार चढेको उत्साहपूर्ण क्षण, रमाइलो कुराकानी, हाँसो ठट्टा, केवलकारबाट देखिने हरियाली पहाडहरुको मनोरम दृश्य, सतत सलल बगी रहेको त्रीशुली नदीको पवित्रता, पहाडी गाँउबस्ती, केवलकारको ओहोरदोहोर र अझ माथि पुगेर केबलकारबाट भुइँ मा झरेपछिको चिसो हावाको स्पर्श आदीले मनमा अमिट स्मृति कोरिदिएको थियो । 

मन्दिरतर्फ उकालै उकालो सिँडीहरुमा चढ्दा देखिएको प्राकृतिक सुन्दरता, चारैतिर लटरम्म सुन्तला फलिरहेको, स्थानीय बजारको रमझम, बाटोभरि भेटिने भक्तजनहरूको उत्साह आदीले मेरो हृदयपनि आध्यात्मीक उर्जाले भरिएको जस्तो पुलकीत भएको थियो । मन्दिर पुगेर गरेको मनाकामनामाईको दर्शन र पूजा–आराधनाले मनमा एक अद्भुत शान्ति ल्याएको महसुग गरेको थिए । अझ भनौ, वरिपरिको हरियाली पहाडी दृश्य र मनकामनाको आध्यात्मिक वातावरणले मनलाई पूर्णतः शान्त, प्रसन्न र कृतज्ञ बनाएको थियो । 

मनकामनामाईको दर्शनपछि हामीले त्यहाँको स्थानीय होटलमा खाएको विशेष खाना आजपनि जिब्रोले बिर्सीएको छैन । समग्रमा, आज पनि त्यो दिन सम्झँदा, मनमा उही मिठास, उही ऊर्जा र उही पारिवारिक उत्साहको क्षणहरु फेरि ताजा भएर आइदिन्छन । वास्तवमै, त्यो यात्रा केवल मनकामनामाईको दर्शन मात्र थिएन, त्यो त जीवन्त सम्झिरहने एक भावनात्मक र आध्यात्मिक अनुभव थियो । 

त्यति मात्र हैन, मनकामना दर्शन सकेर दाइभाउजु पोखरा घुम्न जानुभयो म चै कुरिनटारबाट गाढी चढेर गोरखा बजार गएर बास बसे । भोलीपल्छ लक्ष्मि पुजा थियो । देउरालीबाट मेरो साथी तिहारको सामान किनमेल गर्न गोरखा बजार आएको रहेछ । भेटेर गोरखा कालीका मन्दिर घुम्यौं । खाजा खायौं, गफ गयौं । साथी किनमेल गरेर गर गयो । म काठमाडौं कोठामा फर्कीए । यसरी २०७० सालको तिहार बिदाको पनि उच्च सदुपयोग गरियो । 

Share:

नयाँ अवसर: राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (NEOC) मा मेरो प्रवेश



२०७० सालको बडादशैँ मनाएर पूर्णिमाको भोलिपल्ट अर्थात २०७० साल कार्तिक २ गते म काठमाडौं फर्किएँ । परिवारसँग बिताएका रमाइला र भावनात्मक क्षणहरू अझै ताजै थिए, तर मनमा अर्को उत्साह पनि थियो । किनभने कार्तिक ३ गतेबाट मेरो जीवनको एउटा महत्वपूर्ण नयाँ अध्याय सुरु हुँदै थियो । त्यो दिन मेरो नयाँ जागिरको पहिलो दिन थियो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) मा कम्प्युटर अपरेटर पदका लागि मेरो नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । 

यस अवसरको ढोका खोलिदिनुहुने व्यक्ति मेरो सानदाइ नवराज न्यौपाने हुनुहुन्थ्यो । नियोकमा कम्प्युटरमा दक्ष र भरपर्दो व्यक्तिको लागि एउटा भ्याकेन्सी रहेछ । तत्कालीन महासचिव भवानीप्रसाद खरेलले हाम्रो सानदाइसँग “कम्प्युटर राम्रो चलाउने कोही छ कि?” भनेर सोध्नुभएपछि सानदाइले मेरो काकाको छोरा छ भनेर मेरो सम्पर्क नम्बर उपलब्ध गराइदिनुभएछ । त्यसको केही समयपछि भवानी सरले मलाई सम्पर्क गरेर अन्तरवार्ता तथा प्राक्टिकल परीक्षणका लागि बोलाउनुभयो । अफिसमा पुगेपछि सुरुको एक हप्ता मलाई प्रत्यक्ष परीक्षणकै रूपमा विभिन्न कामहरू दिइयो । पहिलो दिनहरूमै मानवअधिकार अनुगमनसम्बन्धी एउटा अर्धवार्षिक प्रतिवेदनको डिजाइन, लेआउट तथा सम्पूर्ण फिनिसिङको जिम्मेवारी दिइयो । मैले ग्लोब इन्स्टीचिउटमा कम्प्युटर टिचर हुँदा, शैलपुत्री स्कुलमा कम्प्युटर टिचर हुँदा, अल्टा ग्राफिक्स र एक्टिभ प्रेसमा ग्राफिक डिजाइनर हुँदा अनि  आफ्नै निरन्तर अभ्यासबाट हासिल गरेको कम्प्युटिङ तथा ग्राफिक्स डिजाइन सम्बन्धी सीप प्रयोग गर्दै उक्त दिइएको काम छिटो र उत्कृष्ट ढङ्गले सम्पन्न गरेँ । त्यसपछि कार्यालयले मेरो क्षमताप्रति विश्वास गर्यो र तेस्रो दिनमै मलाई  नियुक्तिपत्र प्रदान गर्यो । त्यो क्षण मेरो लागि अत्यन्त खुशीको क्षण थियो । यो अवसरको लागि रिकमन्डेसन गरिदिनुभएकोमा सानदाइप्रति म सधैंभरी आभारी छु ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) नेपालमा निर्वाचन आयोगसँग सहकार्य गरेर सम्पूर्ण निर्वाचनहरूको सूक्ष्म एवं बृहत्त पर्यवेक्षण गर्ने राष्ट्रिय स्तरको आधिकारिक संस्था थियो । नियोकको ७७ वटै जिल्लामा जिल्ला शाखा र ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय समेत हरेछ । म नियुक्त भएको बेलामा अर्थात २०७० साल असोज महिनामा नियोकको केन्द्रीय अध्यक्ष पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो भने पूर्व राजदूतहरू, प्राध्यापकहरू, विभिन्न आयोगका पूर्व आयुक्तहरू तथा अन्य प्रतिष्ठित व्यक्तित्वहरूको संलग्नता थियो । यस्तो संस्थामा नियुक्ति पाउनु मेरो लागि ठूलो उपलब्धि थियो । यसले मेरो करिअरमा दीर्घकालीन स्थिरता ल्यायो ।कार्यालय समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र हुने भएकाले आफ्नो पढाइमा पनि पर्याप्त ध्यान दिन सकिने वातावरण मिल्यो । नियुक्ती पत्रको आधारमा मेरो मासिक तलब २४ हजार रुपैयाँ थियाे, जुन २०७० साल कार्तिक तिर नेपाल सरकारको सुब्बा सरहको सुविधा मानिन्थ्यो । नियोकमा नियुक्त भएदेखि नियोकका पाट्नर अर्गनाइजेसनहरू राष्टिय मानव अधिकार प्रतष्ठिान, एम्नेस्टी इन्टरनेशनल र इनहुरेड इन्टरनेशनल मा समेत सकृयरुपमा भोलेन्टियरींग प्रकृतिको कामहरु गर्न थाले जसले मलाइ भविष्यप्रतिकाे फराक दिष्टिकाेण विकास गराउन थाल्याे । 

कम्प्युटर अपरेटरको रूपमा मैले कार्यालयका विभिन्न सूचना तथा अभिलेखहरू कम्प्युटरमा प्रविष्ट गर्ने, डाटा अद्यावधिक तथा व्यवस्थापन गर्ने, पत्राचार, प्रतिवेदन र अन्य आवश्यक कागजातहरू तयार तथा टाइप गर्ने, इमेल तथा अनलाइन प्रणाली सञ्चालन गर्ने, कम्प्युटर, प्रिन्टर, स्क्यानर तथा इन्टरनेटसम्बन्धी सामान्य प्राविधिक समस्याहरू समाधान गर्ने, डिजिटल फाइल तथा डाटाबेस व्यवस्थापन गर्ने, रिपोर्टहरू डिजाइन र प्रकाशन गर्ने, डाटा ब्याकअप तथा सुरक्षाको सुनिश्चितता गर्ने लगायतका जिम्मेवारी निर्वाह गर्न थालेँ । साथै कार्यालयका सूचना प्रविधिसम्बन्धी तथा प्रशासनिक कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहयोग र समन्वय गर्ने काम पनि मेरो दैनिकीको हिस्सा बन्यो । यसरी हेर्दा नियोकको जागिर केवल मासिक तलब प्राप्त गर्ने माध्यम मात्र हैन, यसले मेरो जीवनमा स्थिरता ल्यायो, भविष्यप्रतिको दृष्टि फराकिलो बनायो र पढाइ तथा करिअरलाई सन्तुलित ढङ्गले अगाडि बढाउने अवसर दियो । त्यसर्थ, मैले मानेको छु– जीवनमा मैले विकास गरेको कम्प्युटीङ स्कील, शिक्षण पेशामा बिताएका दिनहरु, प्रेसमा बिताएका दिनहरू, निरन्तर स्वअध्ययन र अग्रजहरुबाट ग्रहण गरिएको मार्गदर्शनको प्रतिफल नै नियोकमा प्राप्त यो अवसर हो । 

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message