२०७० सालको बडादशैँ मनाएर पूर्णिमाको भोलिपल्ट अर्थात २०७० साल कार्तिक २ गते म काठमाडौं फर्किएँ । परिवारसँग बिताएका रमाइला र भावनात्मक क्षणहरू अझै ताजै थिए, तर मनमा अर्को उत्साह पनि थियो । किनभने कार्तिक ३ गतेबाट मेरो जीवनको एउटा महत्वपूर्ण नयाँ अध्याय सुरु हुँदै थियो । त्यो दिन मेरो नयाँ जागिरको पहिलो दिन थियो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) मा कम्प्युटर अपरेटर पदका लागि मेरो नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको थियो ।
यस अवसरको ढोका खोलिदिनुहुने व्यक्ति मेरो सानदाइ नवराज न्यौपाने हुनुहुन्थ्यो । नियोकमा कम्प्युटरमा दक्ष र भरपर्दो व्यक्तिको लागि एउटा भ्याकेन्सी रहेछ । तत्कालीन महासचिव भवानीप्रसाद खरेलले हाम्रो सानदाइसँग “कम्प्युटर राम्रो चलाउने कोही छ कि?” भनेर सोध्नुभएपछि सानदाइले मेरो काकाको छोरा छ भनेर मेरो सम्पर्क नम्बर उपलब्ध गराइदिनुभएछ । त्यसको केही समयपछि भवानी सरले मलाई सम्पर्क गरेर अन्तरवार्ता तथा प्राक्टिकल परीक्षणका लागि बोलाउनुभयो । अफिसमा पुगेपछि सुरुको एक हप्ता मलाई प्रत्यक्ष परीक्षणकै रूपमा विभिन्न कामहरू दिइयो । पहिलो दिनहरूमै मानवअधिकार अनुगमनसम्बन्धी एउटा अर्धवार्षिक प्रतिवेदनको डिजाइन, लेआउट तथा सम्पूर्ण फिनिसिङको जिम्मेवारी दिइयो । मैले ग्लोब इन्स्टीचिउटमा कम्प्युटर टिचर हुँदा, शैलपुत्री स्कुलमा कम्प्युटर टिचर हुँदा, अल्टा ग्राफिक्स र एक्टिभ प्रेसमा ग्राफिक डिजाइनर हुँदा अनि आफ्नै निरन्तर अभ्यासबाट हासिल गरेको कम्प्युटिङ तथा ग्राफिक्स डिजाइन सम्बन्धी सीप प्रयोग गर्दै उक्त दिइएको काम छिटो र उत्कृष्ट ढङ्गले सम्पन्न गरेँ । त्यसपछि कार्यालयले मेरो क्षमताप्रति विश्वास गर्यो र तेस्रो दिनमै मलाई नियुक्तिपत्र प्रदान गर्यो । त्यो क्षण मेरो लागि अत्यन्त खुशीको क्षण थियो । यो अवसरको लागि रिकमन्डेसन गरिदिनुभएकोमा सानदाइप्रति म सधैंभरी आभारी छु ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) नेपालमा निर्वाचन आयोगसँग सहकार्य गरेर सम्पूर्ण निर्वाचनहरूको सूक्ष्म एवं बृहत्त पर्यवेक्षण गर्ने राष्ट्रिय स्तरको आधिकारिक संस्था थियो । नियोकको ७७ वटै जिल्लामा जिल्ला शाखा र ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय समेत हरेछ । म नियुक्त भएको बेलामा अर्थात २०७० साल असोज महिनामा नियोकको केन्द्रीय अध्यक्ष पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो भने पूर्व राजदूतहरू, प्राध्यापकहरू, विभिन्न आयोगका पूर्व आयुक्तहरू तथा अन्य प्रतिष्ठित व्यक्तित्वहरूको संलग्नता थियो । यस्तो संस्थामा नियुक्ति पाउनु मेरो लागि ठूलो उपलब्धि थियो । यसले मेरो करिअरमा दीर्घकालीन स्थिरता ल्यायो ।कार्यालय समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र हुने भएकाले आफ्नो पढाइमा पनि पर्याप्त ध्यान दिन सकिने वातावरण मिल्यो । नियुक्ती पत्रको आधारमा मेरो मासिक तलब २४ हजार रुपैयाँ थियाे, जुन २०७० साल कार्तिक तिर नेपाल सरकारको सुब्बा सरहको सुविधा मानिन्थ्यो । नियोकमा नियुक्त भएदेखि नियोकका पाट्नर अर्गनाइजेसनहरू राष्टिय मानव अधिकार प्रतष्ठिान, एम्नेस्टी इन्टरनेशनल र इनहुरेड इन्टरनेशनल मा समेत सकृयरुपमा भोलेन्टियरींग प्रकृतिको कामहरु गर्न थाले जसले मलाइ भविष्यप्रतिकाे फराक दिष्टिकाेण विकास गराउन थाल्याे ।
कम्प्युटर अपरेटरको रूपमा मैले कार्यालयका विभिन्न सूचना तथा अभिलेखहरू कम्प्युटरमा प्रविष्ट गर्ने, डाटा अद्यावधिक तथा व्यवस्थापन गर्ने, पत्राचार, प्रतिवेदन र अन्य आवश्यक कागजातहरू तयार तथा टाइप गर्ने, इमेल तथा अनलाइन प्रणाली सञ्चालन गर्ने, कम्प्युटर, प्रिन्टर, स्क्यानर तथा इन्टरनेटसम्बन्धी सामान्य प्राविधिक समस्याहरू समाधान गर्ने, डिजिटल फाइल तथा डाटाबेस व्यवस्थापन गर्ने, रिपोर्टहरू डिजाइन र प्रकाशन गर्ने, डाटा ब्याकअप तथा सुरक्षाको सुनिश्चितता गर्ने लगायतका जिम्मेवारी निर्वाह गर्न थालेँ । साथै कार्यालयका सूचना प्रविधिसम्बन्धी तथा प्रशासनिक कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहयोग र समन्वय गर्ने काम पनि मेरो दैनिकीको हिस्सा बन्यो । यसरी हेर्दा नियोकको जागिर केवल मासिक तलब प्राप्त गर्ने माध्यम मात्र हैन, यसले मेरो जीवनमा स्थिरता ल्यायो, भविष्यप्रतिको दृष्टि फराकिलो बनायो र पढाइ तथा करिअरलाई सन्तुलित ढङ्गले अगाडि बढाउने अवसर दियो । त्यसर्थ, मैले मानेको छु– जीवनमा मैले विकास गरेको कम्प्युटीङ स्कील, शिक्षण पेशामा बिताएका दिनहरु, प्रेसमा बिताएका दिनहरू, निरन्तर स्वअध्ययन र अग्रजहरुबाट ग्रहण गरिएको मार्गदर्शनको प्रतिफल नै नियोकमा प्राप्त यो अवसर हो ।



