जीवनको वास्तविक आनन्द र सन्तुष्टि बाहिरी उपलब्धि वा भौतिक सुखमा भन्दा हाम्रो दैनिक कर्म, सोच र सम्बन्धहरूको गुणस्तरमा निर्भर रहन्छ । सानो तर अर्थपूर्ण काम, आत्मचिन्तन, सिर्जनात्मकता, प्रकृतिसँगको निकटता र मानवीय सम्बन्धहरूले मनलाई गहिरो शान्ति र खुशी दिन्छन । यही सत्यलाई आधार मानेर, मैले यहाँ जीवनलाई अझ अर्थपूर्ण, सन्तुलित र आनन्दमय बनाउने पाँच जीवन्त कर्महरूको चर्चा गरेको छु, जसले हामीलाई भित्रैबाट पूर्ण र सन्तुष्ट बनाउने बाटो देखाउँछन ।
(१) अरूलाई सहयोग गर्नु : अरूलाई सानो भए पनि सहयोग गर्दा मनभित्रैबाट आनन्द मिल्छ । जब हामी कसैलाई मद्दत गर्छौ, चाहे सानो सहयोग नै किन नहोस तब मनमा गहिरो खुशी आउँछ । निःस्वार्थ रूपमा गरिएको सेवा ले आफ्नो अस्तित्व अर्थपूर्ण लाग्छ, म पनि उपयोगी रहेछु भन्ने गहिरो अनुभूति दिन्छ, जसले अहंकार घटाएर प्रेम र करुणा बढाउँछ र मन हलुका बनाउछ । यस्तो कामले क्षणिक खुशी मात्र होइन, जीवन्त सन्तुष्टि र शान्ति मिल्छ ।
(२) ध्यान र आत्मचिन्तनः शान्त भएर आफ्नै सास र विचारमा ध्यान दिनु मनलाई स्थिर र शान्त पार्ने गहिरो उपाय हो । यसलाइ अंग्रेजिमा मेडिटेसन पनि भनिन्छ । ध्यान मार्फत मानिस वर्तमानमा बाँच्न सिक्छ, जसले मनको तनाव घटाउँछ, अनावश्यक चिन्ता हटाउछ र भित्री स्पष्टता र शान्ति बढाउँछ । ध्यानले आफूलाई गहिरोरूपमा बुझ्न मद्दत गर्दछ ।
(३) आफूलाई मनपर्ने काममा डुब्नुः जब हामी आफूलाई मनपर्ने काममा पूर्ण रूपमा डुब्छौं, समयको होस नै हुँदैन । जस्तै लेख्ने, पढ्ने, चित्र बनाउने, गित गाँउने, बाँसुरी बजाउने, अथवा अन्य कुनै न कुनै सिर्जनात्मक काम गर्नु । यसरी आफ्नो जीवनको उद्देध्य अनुसार आफुलाइ मन पर्ने कुनै न कुनै सिर्जनात्मक काममा डुबियो मनभित्रको भावनाहरू अभिव्यक्त हुन्छ, मन वर्तमानमा स्थिर हुन्छ, चिन्ता गर्न वा तनाब लिन समय नै हुँदैन, जसले अन्तत मन भित्रैबाट गहिरो आनन्द ल्याँउछ । यस्तो कामले जीवनलाई रचनात्मक र अर्थपूर्ण पनि बनाउँछ ।
(४) प्रकृतिसँग जोडिनुः हरियाली जंगल, नदी, पहाड वा खुला आकाशमुनि बस्दा मन आफै चंगा हुन्छ, हलुका, प्रफुल्ल र शान्त हुन्छ । प्रकृतिसँग जोडिनाले मानिसलाई शहरी कृत्रिम व्यस्तताबाट टाढा लगेर जीवनको वास्तविक रंग, अर्थ र सुन्दरता सम्झाउँछ । प्रकृतिसँगको सम्वन्धले मनको तनाब, चिन्ता र थकान हटाएर प्राकृतिक उर्जा, सन्तुलन, सहअस्तित्व, समभाव, सरलता र जीवनप्रति कृतज्ञता बढाउँछ ।
(५) गहिरो सम्बन्धहरू बनाउनुः साँचो खुशी एक्लै पाइँदैन, परिवार र सम्बन्धमा पाइन्छ किनभने मानिस सामाजिक प्राणी हो । खासमा परिवार, साथीभाइ वा प्रियजनहरूसँगको साँचो सम्बन्धले मात्र जीवनलाई वास्तविक अर्थ दिन्छ । परिवार, साथीभाइ वा अन्य प्रियजनहरूको माया, विश्वास र अपनत्वले भावनात्मक सहारा दिन्छ र एक्लोपन हटाउँछ । यद गर्नुहोस त जीवनमा परिवार, साथीभाइमा वा अन्य प्रियजनहरूसँग बिताएको समय नै प्रायः जीवनको सबैभन्दा मूल्यवान र यादगार क्षण बन्छ । त्यसर्थ अर्थपूर्ण जीवनको प्रमुख आधार भनेकै गहिरो सम्बन्धहरू र प्रेम हो ।
समग्रमाः खुशी खोज्दा पाइँदैन, अर्थपूर्ण काम गर्दा आफैँ आउँछ । जीवनको सबैभन्दा आनन्ददायक काम “बाहिरी” भन्दा “भित्री” हुनेरहेछन । यी र यस्ता कार्महरूले मात्र जीवनलाइ साचो अर्थमा अर्थपूर्ण बनाउछ । अर्थात, निस्वार्थ सेवा, ध्यान, सृजनतात्मक काम, प्राकृतिसँग जोडिनु र गहिरो सम्बन्धहरू बनाउनुले नै जीवनमा गहिरो खुशी, सन्तुष्टि, शान्ति र आनन्द ल्याउछ । यी कर्महरू गरेर जीवनको परमआनन्दलाइ आत्मसाथ गर्नुलाइ नै सायद मिनिङफुल लिभिङ वा अर्थपूर्ण जीवन भनिन्छ होला ।




