जुन दिन हामी दुईबाट तीन भयौँ: २०८३ साल साउन २० गते कृष्ण अष्टमी तीथि हाम्रो जीवनको पात्रोमा कहिल्यै नमेटिने गरी लेखिएको सबैभन्दा विशेष दिन हो । सो दिन बिहानदेखि नै मेरी जीवन संगीनी कमलालाई प्रसव बेथा लागिरहेको थियो । त्यो पीडा, प्रतीक्षा, आशा र उत्सुकताबीच हामी दिनभरि चन्द्रागिरी प्राथमिक अस्पताल थानकोटमा थियौँ । घडीका हरेक पलसँगै मनमा एउटै प्रश्न र एउटै प्रार्थना थियो— हाम्रो पहिलो सन्तान कहिले आउला? अन्ततः बेलुकाखेरी त्यो प्रतीक्षाको अन्त्य भयो र हाम्रो जीवनमा एउटा नयाँ अर्थपूर्ण अध्याय सुरु भयो । हाम्रो पहिलो सन्तानको रुपमा बाबु जन्मियो । त्यो क्षणलाई शब्दमा समेट्न सायद संसारका कुनै शब्द पर्याप्त छैनन । केही क्षणअघि सम्म हामी दुई जना मात्र थियौँ— म र कमला । त्यस पलबाट हामी एकाएक ‘बाउ’ र ‘आमा’ भयौँ । हाम्रो काखमा हाम्रो आफ्नै संसार आइपुग्यो । त्यो क्षणमा खुसी मात्र थिएन, मनभित्र एउटा गहिरो कृतज्ञता थियो— अस्तित्वप्रति, हाम्रो कुलदेवताप्रति, हाम्रो पितृ देवताहरुप्रति । अझ, सबैभन्दा बढी मेरी जीवनसाथी कमलाप्रति, जसले संसारकै सबैभन्दा कठीन पिडा (प्रसव पिडा) सहेर हाम्रो जीवनमा यो अमूल्य उपहार ल्याइन । त्यो दिनदेखि हाम्रो घरमा एउटा नयाँ स्वर थपिएको छ, एउटा नयाँ मुस्कान थपिएको छ र हाम्रो जीवनको अर्थ नै अझ गहिरो र अर्थपूर्ण भएको छ ।
यो अविस्मरणीय दिनलाई अझ सुरक्षित, सहज र विश्वासिलो बनाउन साथ दिनुहुने चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटका सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी दुबैजना हृदयदेखि नै कृतज्ञ छौ । विशेषगरी नाइट सिफ्टको सिनियर हेड नर्स भूमिका श्रेष्ठज्यू जसले सहज तरिकाले डेलिभरी गराईदिनुभयो, मिडवाईफ चेज माया दिदी जसले बाबु जन्मिएलगत्तै बाबुको प्रारम्भिक हेरचाहदेखि आवश्यक अन्य प्रक्रियामा अत्यन्त माया र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्नुभयो र दिपिका सिस्टर जसले सम्पूर्ण प्रक्रियामा निरन्तर सहयोग, साथ र हेरचाह प्रदान गर्नुभयो । तपाईहरु तीन जनालाई हामीले आजीवन सम्झिरहनेछौँ । अस्पतालको त्यो बेड, त्यो कोठा, ती व्यस्त क्षणहरू, कमलाको अनुहारमा देखिएको पीडा र त्यसपछि बाबुको पहिलो आगमन । यी सबै हाम्रो जीवनका अमूल्य स्मृतिहरू बनेका छन । आमा, म, कमला, दाइ, भाउजु, भतीज र भतीजी गरी सात जना सदस्य मिलेर बनेको हाम्रो सानो संसारमा हाम्रो बाबु पनि थपिएपछि जीवन थप सन्तुलित, सार्थक र अर्थपूर्ण बनेको जस्तो महसुस गरेका छौं । बाबुसँग जिस्कीने, मुखमा हेर्ने र हास्ने मात्र हैन घरमा हामी सबैजना नयाँ भूमिकामा रमाइरहेका छौँ । बाबुको लुगा धुनेदेखि डायपर फेर्ने, सफा गर्ने, तेल लगाइदिने, दूध खुवाउन सहयोग गर्ने, कमलाको हेरचाह गर्ने र उनको लागि खाना, सुप र झोल बनाउने, भाडा माज्ने— यी सबै काम अहिले मेरा लागि कुनै बोझ होइनन बरु जीवनले दिएको सबैभन्दा रमाइलो एवं सून्दर जिम्मेवारी जस्तो लागिरहेको छ ।
अझ विशेष कुरा त यो हो कि त्यो दिन केवल कमला र म मात्र पहिलोपटक बाउ–आमा बनेनौँ; हाम्रो परिवारले पनि एकैपटक धेरै नयाँ सम्बन्धहरू पायो । मेरी आमाले बाबु समेत गरी दुइ नाती र एक नातीनिको हजुरआमा बन्ने उत्साह अनुभव गर्नुभयो । मेरा दाइ पहिलोपटक ठुलबा, भाउजु पहिलोपटक ठुलीआमा बन्नुभयो । दाइकी छोरीले पनि आफ्नो संसारमा एउटा नयाँ भाइ थपिएर दुईटा भाइको उत्साह अनुभव गरिन । अनि हामी दुई— कमला र म — पहिलोपटक आफ्नो सन्तानलाई काखमा लिएर बाउ–आमा हुनुको त्यो गौरवपूर्ण अद्भुत अनुभूति महसुस गरिरहेका थियौँ । संसारमा एउटा गृहस्थ दम्पतीका लागि आफ्नै सन्तानको बाउ–आमा बन्न पाउनुजस्तो ठूलो सौभाग्य अर्को केही रहेनछ भन्ने कुरा हामीले त्यही दिन महसुस गर्यौं । जीवनमा धेरै कुरा कमाउन सकिन्छ, धेरै उपलब्धि हासिल गर्न सकिन्छ, धेरै खुसीहरू भेटिन्छन तर आफ्नो सानो सन्तानलाई पहिलोपटक काखमा लिएर ‘मेरो पुन्टे बाबु’ भन्न पाउँदाको अनुभूति भने संसारकै सबैभन्दा विशेष र खास अनुभूति रहेछ । त्यसैले २०८३ साल साउन २० गते हाम्रो जीवनको एउटा मिति मात्र होइन—हामी दुईबाट हामी तीन भएको दिन हो, कमला र म पहिलोपटक बाउ–आमा बनेको दिन हो, हाम्रो परिवारमा एउटा नयाँ पुस्ता थपिएको दिन हो र हाम्रो जीवनले नयाँ अर्थ पाएको दिन हो । त्यो दिन, त्यो अस्पताल, त्यो स्मृति र हाम्रो बाबुको आगमन—हामी जीवनभर हृदयमा साँचेर राख्नेछौँ । हाम्रो यस खुसीको क्षणमा साथ दिने, माया गर्ने, शुभेच्छा प्रकट गर्ने तथा हाम्रो खुसीमा मनदेखि नै खुसी भइदिनुहुने सम्पूर्ण इष्टमित्र, आफन्तजन तथा साथीभाइहरूप्रति हामी हृदयदेखि नै असीम कृतज्ञ छौँ ।




