आज जीवनका पुराना पानाहरू पल्टाउँदा २०६५ साल असार महिनाको त्यो दिन झलझली सम्झनामा आउँछ, जुन दिन मैले जीवनको पहिलो ठूलो शैक्षिक उपलब्धि हासिल गरेको समाचार सुनेँ । त्यो उपलब्धि थियो—एस.एल.सी. अर्थात् त्यतिबेला ‘करिअरको आइरन गेट’ भनेर चिनिने परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुनु । आजका पुस्तालाई सायद कल्पना गर्न पनि कठिन होला, तर त्यतिबेला एस.एल.सी.को परिणाम केवल एउटा शैक्षिक नतिजा मात्र थिएन, त्यो एउटा विद्यार्थीको भविष्यको दिशानिर्देशक मानिन्थ्यो ।
त्यो समय म भिमोदय उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिएँ । हाम्रो गाउँबाट म, शैलेन्द्र र हरिराम नियमित रूपमा विद्यालय जाने गथ्र्यौँ । विद्यालय पुग्न नै कम्तीमा एक घण्टा पैदल हिँड्नुपथ्र्यो । उकाली, ओराली, घाँसदाउरा, मेलापात, गाउँघरका दैनिक कामकाज र अध्ययनलाई सँगसँगै अघि बढाउँदै हामीले विद्यार्थी जीवन बिताएका थियौँ । विद्यालयमा भने मेरा धेरै प्रिय साथीहरू थिए । नारायण लामिछाने, जयबहादुर गुरुङ, प्रविन बुर्लाकोटी, घना गुरुङ, शान्ता गुरुङ, श्याम घले, पूर्णबहादुर गुरुङ, केयरसिंह गुरुङ लगायत धेरै साथीहरूसँग बिताएका ती दिनहरू आज पनि मनमा ताजै छन् । साधारण गाँउले परिवेशबाट आएका हामी सबैका सपना भने असाधारण थिए ।
म आफूलाई त्यतिबेला एकदमै मध्यम स्तरको विद्यार्थी मान्थेँ । विशेष गरी अंग्रेजी विषयमा म निकै कमजोर थिएँ । नेपाली मातृभाषा भएको र सरकारी विद्यालयमा अध्ययन गरेको कारण अंग्रेजीमा संघर्ष गर्नुपथ्र्यो । अंग्रेजी विषयको परीक्षामा १०० पूर्णाङ्कको प्रश्नपत्रमा ३२ अंक ल्याएर जसोतसो उत्तीर्ण हुन पनि कठिन हुन्थ्यो मलाई । तर एउटा विषय भने मेरो विशेष प्रिय थियो—गणित । सानैदेखि हजुरबाले घरमा सानातिना पैसाको हिसाबकिताब गर्न मलाई लगाउनुहुन्थ्यो । सायद त्यही कारणले होला, गणितप्रति मेरो रुचि र आत्मविश्वास दुवै असाधारण थियो । वास्तवमा मेरो जीवनमा शिक्षाप्रतिको प्रेरणाको सबैभन्दा ठूलो स्रोत नै मेरा हजुरबा हुनुहुन्थ्यो । म जन्मेको चार महिनामै बुबाको निधन भएको रे । त्यसपछि हामीलाई हुर्काउने, माया गर्ने, पढाउने र जीवनका अमूल्यहरू पाठहरु सिकाउने जिम्मेवारी हजुरबा र आमाले नै वहन गर्नुभयो । हाम्रो गाउँमा बुबा, काका वा ठूला बुबाको पुस्ताका अधिकांश मानिसहरू अक्षरसमेत पढ्न नजान्ने अवस्थामा थिए, तर मेरा हजुरबा भने काशी बनारससम्म पुगेर थोरबुहत लेखपढ गर्नुभएको व्यक्ति हुनुहुन्थ्यो । त्यसैले शिक्षाको महत्वबारे उहाँको दृष्टिकोण निकै फराकिलो थियो । उहाँले हामीलाई (दाइ र मलाई) निरन्तर मेहनत गरेर पढ्न प्रेरित गरिरहनुहुन्थ्यो ।
हजुरबाको प्ररणाबाट प्रेरीत भएरै होला मलाई पढ्न एकदमै रुची लाग्थ्यो । पढाइमा खुब मेहेनत गर्थे । म ८ कक्षा वा ९ कक्षा पढ्दाताकाको एक अनुभव पनि सुनाउछु– कक्षा ८ उत्तीर्ण गरेर कक्षा ९ मा पुगेपछि वैकल्पिक विषय छनोट गर्ने समय आयो । विद्यार्थीहरूले अप्सनल म्याथमेटिक्स, इकोनोमिक्स वा शिक्षा विषयमध्ये एक रोज्नुपर्ने व्यवस्था थियो । मैले कुनै हिचकिचाहट बिना अप्सनल म्याथमेटिक्स रोजेँ । त्यतिबेला करिब १९३ जना विद्यार्थीमध्ये केवल ३८ जनाले मात्र अप्सनल म्याथमेटिक्स रोजेका थिए । विद्यालयले पनि अप्सनल म्याथमेटिक्स पढ्ने विद्यार्थीलाई अपेक्षाकृत सक्षम विद्यार्थी मानेर ‘सेक्सन ए’ मा राखेको थियो, इकोनोमिक्स पढ्नेलाई ‘सेक्सन बी’ र शिक्षा पढ्नेलाई ‘सेक्सन सी’ मा विभाजन गरिएको थियो । गणितप्रतिको मेरो लगाव र क्षमता त्यसपछि झन् स्पष्ट हुँदै गयो । एस.एल.सी. परीक्षा दिनुअघि अनिवार्य रूपमा पास गर्नुपर्ने टेस्ट परीक्षामा मैले अप्सनल म्याथमेटिक्समा ९७ अंक र कम्पल्सरी म्याथमेटिक्समा ९२ अंक प्राप्त गरेको थिएँ । त्यो परिणामले मलाई आत्मविश्वास त दियो, तर अंग्रेजी विषयप्रतिको डर भने अझै बाँकी नै थियो । मलाई म्याथमेटिक्स विषयमा तिख्खर बनाउन कसैको बढी योगदान छ भने त्यो अप्सनल म्याथमेटिक्स पढाउनुहुने मेरो आदरणीय गुरुदेव छन्द प्ररसाद खनाल सर हो, म जीवभरी उहाँप्रति कृतज्ञ मात्र होइन ऋणी छु, म्याथमेटिक्स विषयमा मलाई तिखार्ने, मलाई निखार्ने व्यक्ति उहाँ नै हो ।
अन्ततः २०६४ सालको चैत महिनामा एस.एल.सी. परीक्षा सम्पन्न भयो । आज पनि सम्झन्छु, हाम्रो परीक्षा सकिएलगत्तै त्यही वर्ष चैत २८ गते नेपालमा पहिलो पटक संविधानसभा निर्वाचन हुँदै थियो । माओवादी जनयुद्धको अन्त्य, राजतन्त्रको अन्त्य, बृहत् शान्ति सम्झौता र लोकतन्त्रको नयाँ युगको सुरुआतसँग जोडिएको त्यो निर्वाचन नेपालको इतिहासमा अत्यन्त महत्वपूर्ण थियो । देश राजनीतिक परिवर्तनको प्रतीक्षामा थियो भने म आफ्नो जीवनको सम्भवतः सबैभन्दा महत्वपूर्ण नतिजाको प्रतीक्षामा थिएँ । मेरो लागि एस.एल.सी.को नतिजा पनि कुनै राष्ट्रिय घटनाभन्दा कम महत्वको थिएन, किनकि त्यही नतिजाले मेरो शैक्षिक र व्यावसायिक भविष्यको ढोका खोल्ने वा बन्द गर्ने थियो ।
केही महिनाको प्रतीक्षापछि २०६५ साल असार मसान्तमा नतिजा प्रकाशित भयो । त्यो समय आजजस्तो इन्टरनेट वा मोबाइल एपको सुविधा थिएन । गाउँमा बसेर नतिजा हेर्न सजिलो थिएन । अधिकांश विद्यार्थीहरू गोरखापत्रमा प्रकाशित लाखौँ सिम्बोल नम्बरहरूबीच आफ्नो नम्बर खोज्ने गर्थे वा १६०० नम्बरमा फोन गरेर नतिजा बुझ्ने प्रयास गर्थे । हाम्रो गाउँमा फोन पनि थिएन । टारीमा रेशम काकाको घरमा सायद त्यतिबेला स्काई एस.टी.डी. फोन जडान भएको थियो । म पनि त्यही फोनमा बारम्बार १६०० डायल गरिरहेको थिएँ । तर फोन निरन्तर व्यस्त आइरहेको थियो । धेरै प्रयासपछि बल्ल फोन लाग्यो । जब मैले प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण भएको समाचार सुनेँ, त्यो क्षणलाई शब्दमा वर्णन गर्न आज पनि गाह्रो लाग्छ । म खुशीले एकछिन त पूर्ण रूपमा नियन्त्रणबाहिर भएको थिएँ । किनभने हामीजस्ता सरकारी विद्यालयमा अध्ययन गर्ने गाउँले विद्यार्थीका लागि प्रथम श्रेणी ल्याउनु वास्तवमै पहाड फोड्नुजस्तै कठिन उपलब्धि थियो ।
हाम्रो विद्यालयबाट एस.एल.सी. दिएका करिब १९३ जना विद्यार्थीमध्ये केवल ८९ जना मात्र उत्तीर्ण भएका थिए भने प्रथम श्रेणी ल्याउने विद्यार्थीहरूको संख्या मात्र २३ थियो । ती २३ जनामध्ये म पनि एक थिएँ, अझ विद्यालयको शीर्ष १० भित्र पर्न सफल भएको थिएँ । मैले ६५ प्रतिशत अंकसहित प्रथम श्रेणी हासिल गरेको थिएँ । त्यो परिणामले मेरो आत्मविश्वासलाई नयाँ उचाइमा पुर्यायो । मैले महसुस गरेँ—यदि गाउँको साधारण परिवेशबाट र सीमित स्रोतसाधनका बीच अध्ययन गरेर पनि यो उपलब्धि हासिल गर्न सकिदो रहेछ भने भविष्यमा त मैले अझ ठूलो सपना देख्न र पूरा गर्न पनि सक्ने रहेछु ।
सायद यही कारणले त्यो नतिजाले मेरो जीवनको दिशा नै परिवर्तन गरिदियो । त्यसपछि मैले तत्काललाई गाउँमै सीमित भएर नबस्ने निर्णय गरेँ । राम्रो उच्च शिक्षा हासिल गर्नुपर्छ, ठूलो संसार हेर्नुपर्छ र जीवनमा केही अर्थपूर्ण कर्म गर्नुपर्छ भन्ने दृढ संकल्प मनमा पलायो । अन्ततः २०६५ साल साउन ८ गते झोला बोकेर उच्च शिक्षाको लागि आरुघाट–अल्कटारबाट हिँडेरै धादीङबेसीसम्म (लगभग ५० किलोमिटर) र धादीङबेसीबाट काठमाडौंतर्फ प्रस्थान गरेँ । आज पछाडि फर्केर हेर्दा महसुस हुन्छ, त्यो नतिजा केवल एउटा प्रमाणपत्रको उपलब्धि मात्र त थिएन, त्यो त मेरो आत्मविश्वास, संघर्ष, आमा र हजुरबाको प्रेरणा, गाउँको माटोको प्रेम, शिक्षकहरूको मेहनत र मेरो लागि उज्यालो भविष्यतर्फ खुलेको एउटा ऐतिहासिक ढोका थियो ।




