जीवनमा ‘आइरन गेट (SLC)’ पार गरेको त्यो अविस्मरणीय दिन

आज जीवनका पुराना पानाहरू पल्टाउँदा २०६५ साल असार महिनाको त्यो दिन झलझली सम्झनामा आउँछ, जुन दिन मैले जीवनको पहिलो ठूलो शैक्षिक उपलब्धि हासिल गरेको समाचार सुनेँ । त्यो उपलब्धि थियो—एस.एल.सी. अर्थात् त्यतिबेला ‘करिअरको आइरन गेट’ भनेर चिनिने परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुनु । आजका पुस्तालाई सायद पत्याउन पनि कठिन होला, तर त्यतिबेला एसएलसी को परिणाम केवल एउटा शैक्षिक नतिजा मात्र थिएन, त्यो एउटा विद्यार्थीको भविष्यको दिशानिर्देशक मानिन्थ्यो ।  

त्यो समय म भिमोदय उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिएँ । हाम्रो गाउँबाट म, शैलेन्द्र र हरिराम नियमित विद्यार्थि थियाैं । विद्यालय पुग्न नै कम्तीमा एक घण्टा पैदल हिँड्नुपथ्र्यो । उकाली, ओराली, घाँसदाउरा, मेलापात, गाउँघरका दैनिक कामकाज र अध्ययनलाई सँगसँगै अघि बढाउँदै हामीले विद्यार्थी जीवन बिताएका थियौँ । विद्यालयमा भने मेरा धेरै प्रिय साथीहरू थिए । नारायण लामिछाने, जयबहादुर गुरुङ, प्रविन बुर्लाकोटी, घना गुरुङ, शान्ता गुरुङ, श्याम घले, पूर्णबहादुर गुरुङ, केयरसिंह गुरुङ, रबी कुमार खत्री, खेमराज लामिछाने, वसन्त भुजेल, सुमन श्रेष्ठ, प्रदिप श्रेष्ठ, प्रकाश परियार, शन्तोष खनाल, दिनेश खनाल लगायत (अरू कयाौं प्रिय साथिहरूको नाम मनमा छ तर दिमाखमा यतिखेर आयन) धेरै साथीहरूसँग बिताएका ती दिनहरू आज पनि मनमा ताजै छन् । साधारण गाँउले परिवेशबाट आएका हामी सबैका सपना भने असाधारण थिए ।

म आफूलाई त्यतिबेला एकदमै मध्यम स्तरको विद्यार्थी मान्थेँ । विशेष गरी अंग्रेजी विषयमा म निकै कमजोर थिएँ । सरकारी विद्यालयमा अध्ययन गरेको कारणले हाेला अंग्रेजीमा संघर्ष गर्नुपथ्र्यो । अंग्रेजी विषयको परीक्षामा १०० पूर्णाङ्कको प्रश्नपत्रमा ३२ अंक ल्याएर जसोतसो उत्तीर्ण हुन पनि कठिन हुन्थ्यो मलाई । तर एउटा विषय भने मेरो विशेष प्रिय थियो—गणित । सानैदेखि हजुरबाले घरमा सानातिना पैसाको हिसाबकिताब गर्न मलाई लगाउनुहुन्थ्यो । सायद त्यही कारणले होला, गणितप्रति मेरो रुचि असाधारण थियो । वास्तवमा मेरो जीवनमा शिक्षाप्रतिको प्रेरणाको सबैभन्दा ठूलो स्रोत नै मेरा हजुरबा हुनुहुन्थ्यो । म जन्मेको चार महिनामै बुबाको निधन भएको रे । त्यसपछि हामीलाई हुर्काउने, माया गर्ने, पढाउने र जीवनका अमूल्यहरू पाठहरु सिकाउने जिम्मेवारी हजुरबा र आमाले नै वहन गर्नुभयो । हाम्रो गाउँमा बुबा, काका वा ठूला बुबाको पुस्ताका अधिकांश मानिसहरू अक्षरसमेत पढ्न नजान्ने अवस्थामा थिए, तर हाम्राे हजुरबा भने काशी बनारससम्म पुगेर थोरबुहत लेखपढ गर्नुभएको व्यक्ति हुनुहुन्थ्यो । त्यसैले उहाँले हामीलाई (दाइ र मलाई) निरन्तर मेहनत गरेर पढ्न प्रेरित गरिरहनुहुन्थ्यो । तर २०६३ साल बैशाख महिनामा हजुरबुबाले पनि हामीलाइ छाडेर परमधाम हुनुभएपछि भने हामी साँचिकै पूर्णरूपमा टुहुरा भएका थियाैं । त्याे साल म ८ कक्षा पास भएर ९ कक्षामा चढेकाे थिए । मलाइ मेराे जीवनमा हजुरबाले जति प्रभाव अरू कसैले पारेकाे थिएन, त्यसैले हाेला हजुरबालाइ म सधैं सम्झीरहन्छु ।

हजुरबाको प्ररणाबाट प्रेरीत भएरै होला मलाई पढ्न एकदमै रुची लाग्थ्यो । पढाइमा खुब मेहेनत गर्थे । म ८ कक्षा वा ९ कक्षा पढ्दाताकाको एक अनुभव पनि सुनाउछु– कक्षा ८ उत्तीर्ण गरेर कक्षा ९ मा पुगेपछि वैकल्पिक विषय छनोट गर्ने समय आयो । विद्यार्थीहरूले अप्सनल म्याथमेटिक्स, इकोनोमिक्स वा शिक्षा विषयमध्ये एक रोज्नुपर्ने व्यवस्था थियो । मैले कुनै हिचकिचाहट बिना अप्सनल म्याथमेटिक्स रोजेँ । त्यतिबेला करिब १९३ जना विद्यार्थीमध्ये केवल ३८ जनाले मात्र अप्सनल म्याथमेटिक्स रोजेका थिए । विद्यालयले पनि अप्सनल म्याथमेटिक्स पढ्ने विद्यार्थीलाई अपेक्षाकृत सक्षम विद्यार्थी मानेर ‘सेक्सन ए’ मा राखेको थियो, इकोनोमिक्स पढ्नेलाई ‘सेक्सन बी’ र शिक्षा पढ्नेलाई ‘सेक्सन सी’ मा विभाजन गरिएको थियो । गणितप्रतिको मेरो लगाव र क्षमता त्यसपछि झन् स्पष्ट हुँदै गयो । एस.एल.सी. परीक्षा दिनुअघि अनिवार्य रूपमा पास गर्नुपर्ने टेस्ट परीक्षामा मैले अप्सनल म्याथमेटिक्समा ९७ अंक र कम्पल्सरी म्याथमेटिक्समा ९२ अंक प्राप्त गरेको थिएँ । त्यो परिणामले मलाई आत्मविश्वास त दियो, तर अंग्रेजी विषयप्रतिको डर भने अझै बाँकी नै थियो । मलाई म्याथमेटिक्स विषयमा तिख्खर बनाउन कसैको बढी योगदान छ भने त्यो अप्सनल म्याथमेटिक्स पढाउनुहुने मेरो आदरणीय गुरुदेव छन्द प्ररसाद खनाल सर हो, म जीवभरी उहाँप्रति कृतज्ञ मात्र होइन ऋणी छु, म्याथमेटिक्स विषयमा मलाई तिखार्ने, मलाई निखार्ने व्यक्ति उहाँ नै हो । 

अन्ततः २०६४ सालको चैत महिनामा एस.एल.सी. परीक्षा सम्पन्न भयो । आज पनि सम्झन्छु, हाम्रो परीक्षा सकिएलगत्तै त्यही वर्ष चैत २८ गते नेपालमा पहिलो पटक संविधानसभा निर्वाचन हुँदै थियो । माओवादी जनयुद्धको अन्त्य, राजतन्त्रको अन्त्य, बृहत् शान्ति सम्झौता र लोकतन्त्रको नयाँ युगको सुरुआतसँग जोडिएको त्यो निर्वाचन नेपालको इतिहासमा अत्यन्त महत्वपूर्ण थियो । देश राजनीतिक परिवर्तनको प्रतीक्षामा थियो भने म आफ्नो जीवनको सम्भवतः सबैभन्दा महत्वपूर्ण नतिजाको प्रतीक्षामा थिएँ । मेरो लागि एस.एल.सी.को नतिजा पनि कुनै राष्ट्रिय घटनाभन्दा कम महत्वको थिएन, किनकि त्यही नतिजाले मेरो शैक्षिक र व्यावसायिक भविष्यको ढोका खोल्ने वा बन्द गर्ने थियो ।

केही महिनाको प्रतीक्षापछि २०६५ साल असार मसान्तमा नतिजा प्रकाशित भयो । त्यो समय आजजस्तो इन्टरनेट वा मोबाइल एपको सुविधा थिएन । गाउँमा बसेर नतिजा हेर्न सजिलो थिएन । अधिकांश विद्यार्थीहरू गोरखापत्रमा प्रकाशित लाखौँ सिम्बोल नम्बरहरूबीच आफ्नो नम्बर खोज्ने गर्थे वा १६०० नम्बरमा फोन गरेर नतिजा बुझ्ने प्रयास गर्थे । हाम्रो गाउँमा फोन पनि थिएन । टारीमा रेशम काकाको घरमा सायद त्यतिबेला भर्खर स्काई एस.टी.डी. फोन जडान गरिएकाे थियो । म पनि त्यही फोनमा बारम्बार १६०० डायल गरिरहेको थिएँ । तर फोन निरन्तर व्यस्त आइरहेको थियो । धेरै प्रयासपछि बल्ल कनेक्सन भयाे र जब मैले प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण भएको समाचार सुनेँ, त्यो क्षणलाई शब्दमा वर्णन गर्न आज पनि गाह्रो लाग्छ । म खुशीले उफ्रिन थालेको थिए। किनभने हामीजस्ता सरकारी विद्यालयमा अध्ययन गर्ने गाउँले विद्यार्थीका लागि प्रथम श्रेणी ल्याउनु वास्तवमै पहाड फोड्नुजस्तै कठिन उपलब्धि थियो ।

हाम्रो विद्यालयबाट एस.एल.सी. दिएका करिब १९३ जना विद्यार्थीमध्ये केवल ८९ जना मात्र उत्तीर्ण भएका थिए भने प्रथम श्रेणी ल्याउने विद्यार्थीहरूको संख्या मात्र २३ थियो । ती २३ जनामध्ये म पनि एक थिएँ, अझ विद्यालयको शीर्ष १० भित्र पर्न सफल भएको थिएँ । मैले ६५ प्रतिशत अंकसहित प्रथम श्रेणी हासिल गरेको थिएँ । त्यो परिणामले मेरो आत्मविश्वासलाई नयाँ उचाइमा पुर्यायो । मैले महसुस गरेँ—यदि गाउँको साधारण परिवेशबाट र सीमित स्रोतसाधनका बीच अध्ययन गरेर पनि यो उपलब्धि हासिल गर्न सकिदो रहेछ भने भविष्यमा त मैले अझ ठूलो सपना देख्न र पूरा गर्न पनि सक्ने रहेछु ।

सायद यही कारणले त्यो नतिजाले मेरो जीवनको दिशा नै परिवर्तन गरिदियो । राम्रो उच्च शिक्षा हासिल गर्नुपर्छ, ठूलो संसार हेर्नुपर्छ र जीवनमा केही अर्थपूर्ण कर्म गर्नुपर्छ भन्ने दृढ संकल्प मनमा पलायो । अन्ततः २०६५ साल साउन ८ गते झोला बोकेर  ईश्वर दाइ (ठुलबाकाे जेठा छाेरा) काे साथ लागेर उच्च शिक्षाको लागि अल्कटारबाट हिँडेरै धादीङबेसीसम्म (लगभग ५० किलोमिटर) र धादीङबेसीबाट काठमाडौंतर्फ प्रस्थान गरेँ । मलाइ  पहिलाे पटक काठमाडाैं ल्याउँन विशेष साथ दिनुभएकाेमा आदरणीय ईश्वर दाइ प्रति सधैंभरी कृतज्ञ छु । आज पछाडि फर्केर हेर्दा महसुस हुन्छ, त्यो नतिजा केवल एउटा प्रमाणपत्रको उपलब्धि मात्र त थिएन, त्यो त मेरो आत्मविश्वास, संघर्ष, आमा र हजुरबाको प्रेरणा, गाउँको माटोको प्रेम, शिक्षकहरूको मेहनत र मेरो लागि उज्यालो भविष्यतर्फ खुलेको एउटा ऐतिहासिक ढोका रहेछ ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!
Loading Archive...

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message