एसएलसी (SLC) परीक्षामा ६५ प्रतिशत अंकसहित प्रथम श्रेणीमा उत्तीर्ण भएपछि मेरो मात्र होइन मेरो परिवारको पनि ठूलो सपना थियो—मैले काठमाडौं गएर उच्च शिक्षा हासिल गराेस र सम्भव भएसम्म साइन्स पढाेस । यही सपना बोकेर म २०६५ साल साउन ८ गते गाउँबाट झोला बोकेर इश्वरदाइसँग काठमाडौं आएँ । काठमाडाैंमा हाम्राे सानदाइ (ठूलबुबाको कान्छो छोरा) काे काेठामा बस्न थाले । मेरो योजना स्पष्ट थियो—सरकारी अमृत साइन्स क्याम्पस (अस्कल) मा आई.एस्सी. पढ्ने । तर काठमाडौं आइपुगेपछि थाहा भयो कि सोही वर्षदेखि अस्कल क्याम्पसमा आई.एस्सी. कार्यक्रम बन्द भइसकेको रहेछ र त्यही वर्षदेखि नेपालमा प्लस टु प्रणाली व्यापक रुपमा लागू भएको रहेछ । गाउँबाट साइन्स पढ्ने सपना बोकेर आएको मेरो लागि त्यो समाचार अप्रत्याशित थियो ।
त्यसपछि सानदाइले मलाई काठमाडौंको सोह्रखुट्टेस्थित सिग्मा कलेजमा लिएर जानुभयो । मेरो एस.एल.सी.को नतिजा, विशेष गरी गणितमा प्राप्त उत्कृष्ट अंकहरू हेरेपछि त्यहाँका प्रिन्सिपल दमन सर र त्यहाँको एडमिनिस्ट्रेसन हेड ठाकुर श्रेष्ठले मलाई साइन्सभन्दा पनि सोशल साइन्स अन्तर्गत म्याथमेटिक्स र इकोनोमिक्स मेजर विषय लिएर पढाउँदा बढी प्रभावकारी हुन्छ भनेर सल्लाह दिनुभयाे । अन्ततः उहाँकै सल्लाह अनुसार सानदाइले मलाई सिग्मा कलेजमा कक्षा ११ मा म्याथमेटिक्स र इकोनोमिक्स मेजर विषयसहित भर्ना गरिदिनुभयो । गाउँबाट साइन्स पढ्ने दृढ इच्छा बोकेर आएको मलाई सुरुका केही दिन भने सोशल साइन्समा भर्ना गरिदिएको कुरा मन परेको थिएन । तर विस्तारै मैले आफ्नो वास्तविक शक्ति गणित नै भएको सत्यलाइ गहनरूपमा महसुस गर्न थालेँ । आखिर मैले भविष्यमा जे बन्ने भए पनि त्यो गणितकाे जगमा नै बन्ने हाे भन्ने कुरा मनन गरे ।
काठमाडौं आएको सुरुका दिनहरूमा म नयाँबजारस्थित गोरखाली टेलिकम नजिकै सानदाइको कोठामा बस्ने गर्थेँ । सानदाइ कम्प्युटर सञ्चालनमा अत्यन्तै दक्ष हुनुहुन्थ्यो । उहाँको टाइपिङ स्पीड साँच्चिकै रकेटजस्तै थियो । त्यतिबेला उहाँ गोरखापत्र दैनिकमा सम्पादकको रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यसबाहेक विभिन्न संस्थाहरूमा कम्प्युटर प्रशिक्षण दिने, पुस्तक तथा प्रकाशन सम्पादन गर्ने लगायत अनेकौं कामहरू पनि गर्नुहुन्थ्यो । बिहान आठ बजे खाना खाएर कोठाबाट निस्किने उहाँ राति करिब बाह्र बजे मात्र फर्किनुहुन्थ्यो । म भने उहाँलाई खाना कुरेर बसिरहन्थेँ । त्यो समय काठमाडौंमा दैनिक १८ देखि २० घण्टासम्म लोडसेडिङ हुने गथ्र्यो । बिजुली नहुँदा अध्ययन गर्न निकै कठिन हुन्थ्यो । राति करिब नौ बजेसम्म खाना पकाइसकेर क्यान्डिल बालेर पढेर सानदाइलाइ कुरेर बस्ने मेरो नियमित बानी बनिसकेको थियो । एकपटक त खाना पकाएर पढ्दा पढ्दै निदाएछु । घरकाे मेनढाेका चै पल्लाे काेठाका दाइहरूले चाडै नै लगाउनुहुन्थ्याे, करिब करिब रातिकाे १२ बजेतिर सानदाइ आउनुभएर मलाइ बाहिरबाट बाेलाउदा वा ढकढक गर्दा नि उठेनछु, त्यतिखेर माेबाइल पनि थिएन, सानदाइले मलाइ उठाउनकाे लागि अरू कुनै उपायले काम नगरेपछि ठुलाे काठकाे टुक्राले पछाडिपटि झ्यालबाट छिराएर झटाराे हान्नुभयाे मलाइ, तब म झल्यास्स भएर बिउजीए, अनि सानदाइलाइ ढाेका खाेलिदिए ।
सानदाइको कोठामा विन्डोज एक्सपी चल्ने पुरानो डेस्कटप कम्प्युटर थियो । बिजुली आउनेबित्तिकै म त्यसैमा बसेर टाइपिङ गर्ने, डिजाइन सिक्ने, नयाँ–नयाँ कुराहरू बुझ्ने प्रयास गर्थेँ । कम्प्युटरप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गइरहेको थियो । करिब छ महिनापछि काठमान्डौंमा आफै कलेज जान सक्ने, पसल जान सक्ने, यता उता घुमघाम गर्न सक्ने, तरकारी किन्न जान सक्ने, वरिपरिका बाटो वा गल्लिहरू चिन्न सक्ने, समग्रमा आफ्नो जीवन आफै चलाउन सक्ने जस्तो महसुस भएपछि मैले आफै सानो कोठा भाडामा लिएर बस्ने निर्णय गरेँ किनभने प्रभावकारी पढाइकाे लागि एकान्तवास महत्वपूर्ण हुन्छ भन्ने मैले राम्राेसँग बुजिसकेकाे थिए । मेरो ठूलमामाको जेठो छोरा बुहारी आदरणीय अर्जुन दाइ र उमा भाउजुले कपुरधारामा राजेश हमालको घरभन्दा अलिकति उतापट्टी एउटा कोठा खोजिदिनुभयो; त्यति मात्र हैन, उहाँले नै कोठाका अत्यावश्यक सामानहरू जस्तै ग्यास सिलिन्डर, चुलो, भाडाकुडा, पुरानो खाट, लुगा लगायत किनिदिनुभयो; उमा भाउजू र अर्जुन दाइको त्यो गुन मैले जीवनमा कसैगरी चुकाउन सक्दिन होला, खासमा उमा भाउजु त हाम्रो दिदी पनि हो, उहाँ पनि हाम्रो आफ्नै दाजुभाइ खलक न्यौपानेको छोरी हुनुहुन्छ, त्यसैले भाउजू भनेपनि वा दिदी जे भनेपनि उहाँ मेरो लागि एकदमै खास हुनुहुन्छ, त्यसैले म सदैव उहाँहरूप्रति मनैदेखि कृतज्ञ छु । त्यो कोठाको मासिक भाडा १५०० रुपैयाँ थियो । केही समयपछि म त्यहाँबाट लैनचौरतर्फ भारतीय दूतावासको पर्खालको बाटो हुँदै जाने गल्लीभित्र रहेको जस्ताले छाएको कोठामा सरेँ, त्यो कोठा पनि उमा भाउजुले नै खोजदिनु भएको थियो । त्यस कोठाको भाडा चै १२०० रुपैयाँ मात्र थियो । त्यो कोठा उज्यालो, खुला, हराभरा वातावरण भएको र बस्न निकै रमाइलो थियो । त्यही कोठामा सरेपछि मैले २५ हजार रुपैयाँ खर्च गरेर आफ्नै कम्प्युटर किनें । खासमा, मेरो पढाइ, लेखाइ र सिकाइ को सबैभन्दा प्रमुख वा बाउ भने पनि आमा भने पनि वा गुरु भने पनि जे भने पनि मेरी आमा नै हुन, कम्प्युटर किन्न घरबाट आमाले नै पैसा पठाइदिनुभएको थियो । त्यसपछि त मेरो संसार नै बदलियो । कम्प्युटरका किताबहरू किनेर दिनरात अभ्यास गर्ने, टाइपिङ गर्ने, डिजाइन सिक्ने र सकेसम्म कम्प्युटरमा दक्ष बन्ने प्रयासमा लागिरहेँ ।
यद्यपि जहाँ बसे पनि मेरो जीवनमा सानदाइको प्रभाव र प्रेरणा निरन्तर रहिरह्यो । पछि उहाँले भृकुटीमण्डपमा कम्प्युटर ग्राफिक्स डिजाइन सम्बन्धी तालिम सञ्चालन गर्दा मलाई पनि सहभागी हुन बोलाउनुभयो । उहाँले धेरै विद्यार्थीहरूलाई पढाइरहनुभएको कक्षामा म पनि गएर नियमित रूपमा सिक्ने गर्थेँ । लगभग तीन महिनाको अवधिमा उहाँको मार्गदर्शन, प्रेरणा र प्रशिक्षणबाट मैले बेसिक कम्प्युटिङ, ग्राफिक्स डिजाइन, हाडवेयर र अपरेटिङ सिस्टम सम्वन्धि सिप विकास गर्न सफल भएँ । हुन त एस.एल.सी. दिएर बसेको समयमा गाँउमै आरुघाट बजारमा सुरेश दाइको कम्प्युटर सेन्टरमा पोखराका हेम सरले सञ्चालन गर्नुभएको कक्षामा करिब एक महिना आधारभूत कम्प्युटर प्रशिक्षण लिएको थिएँ । त्यहाँ नेपाली टाइपिङ, अंग्रेजी टाइपिङ, एम.एस. पेन्ट र विशेष गरी माइक्रोसफ्ट वर्डको सामान्य ज्ञान प्राप्त गरेको थिएँ । तर काठमाडौं आएपछि सानदाइमार्फत ग्राफिक्स डिजाइन लगायतका धेरै एडभान्स सीपहरू सिक्ने अवसर प्राप्त भयो । म स्वभावैले छिटो सिक्ने र सिकेको कुरा तुरुन्त व्यवहारमा उतार्ने खालको थिएँ । सायद गणित र कम्प्युटरबीचको वैज्ञानिक कनेक्सनले पनि मलाई छिटै कम्प्युटर स्कील बढाउन सहयोग गरिरहेको थियो होला । गणितपछि मलाई सबैभन्दा मन पर्ने विषय नै कम्प्युटर बन्न थाल्यो । अहिले, अर्थात् २०१३ सम्म आइपुग्दा, म त्यही गणित र कम्प्युटिङ सीपलाई निरन्तर विकास गर्दै स्वअध्ययनका माध्यमबाट वेब डिजाइनर (एचटिएमएल, सिएसएस र जाभास्कृप्ट), वेब डेभलपर (पिएचपी र माएसक्युएल), ग्राफिक्स डिजाइनर (फोटोसप, इन्डिजाइन, पेजमेकर, फ्रिह्यान्ड), गणित शिक्षक र कम्प्युटर शिक्षक बनिसकेको छु । त्यसैले यदि मेरो जीवनको आधारशिला निर्माण गर्न प्रारम्भिक र विशेष योगदान दिने एक व्यक्तिको नाम लिनुपरेमा निसन्देह सानदाइको नाम आउछ । उहाँप्रति म सदैव कृतज्ञ र आभारी छु ।
सिग्मा कलेजको जीवन पनि अत्यन्त स्मरणीय रह्यो । मेरा साथीहरू अत्यन्तै धेरै थिए, तर सबैभन्दा मिल्ने र जिग्री साथीहरू विजय न्यौपाने र विज्ञान पोखरेल थिए । उनीहरूबाहेक गणेश, सिर्जना, करूणा, बालकृष्ण, फुरी, कुमार, राजकुमार, शिला, सुशीला, मनिषा लगायतका साथीहरूसँग पनि निकै घनिष्ठ सम्बन्ध थियो । अध्ययनका हिसाबले पनि म सोशल साइन्स फ्याकल्टीका उत्कृष्ट विद्यार्थीहरूमध्ये एक थिएँ । कलेजका कुनै पनि कार्यक्रममा फ्याकल्टीको प्रतिनिधित्व आवश्यक परेमा प्रायः मलाई नै पठाइन्थ्यो । कलेज सुरु भएको करिब चार महिनापछि पहिलो त्रैमासिक आन्तरिक परीक्षा भयो । त्यस परीक्षामा म आफ्नो फ्याकल्टीमा त प्रथम भएँ नै, अर्काे एउटा रोचक घटना पनि घट्यो । सोशल साइन्समा म्याथमेटिक्स पढ्ने विद्यार्थी हामी केवल दुई जना—म र राजकुमार मात्र थियौँ । हामीलाई अलग्गै कक्षा सञ्चालन गर्नुको सट्टा म्याथमेटिक्स पढ्न साइन्स फ्याकल्टीको कक्षामा पठाइन्थ्यो, किनकि पाठ्यपुस्तक एउटै थियो—बेसिक म्याथमेटिक्स । त्यसैले साइन्स फ्याकल्टीका विद्यार्थीहरूसँग पनि मेरो राम्रो मित्रता थियो, जसमा विजय र मनिषा पनि पर्थे । पहिलो त्रैमासिक परीक्षामा मैले म्याथमेटिक्समा ९२ अंक ल्याएँ र साइन्स फ्याकल्टीका करिब २५ जना विद्यार्थीलाई समेत पछि पारेर प्रथम भएँ । दोस्रो हुने विद्यार्थीले ८९ अंक ल्याएका थिए । सोशल साइन्सबाट आएको विद्यार्थीले साइन्स फ्याकल्टीको गणितमा शीर्ष स्थान हासिल गरेपछि म्याथमेटिक्स पढाउने सर समेत निकै आश्चर्यचकित हुनुभएको थियो ।
पछि कक्षा १२ मा पुगेपछि मेरो कम्प्युटर सीपकै कारण सोह्रखुट्टेस्थित ग्लोब एजुकेशनल इन्स्टिच्युटमा कम्प्युटर शिक्षकको रूपमा बिहान कम्प्युटर पढाउने अवसर प्राप्त भयो । यो अवसर दिलाइदिनुहुने देव दाइ प्रति पनि म सदैव आभारी छु । त्यसपछि मेरो दैनिकी अझ व्यस्त बन्यो—बिहान कम्प्युटर पढाउन जाने र दिउँसो कलेज पढ्न जाने । यसरी अध्ययन र कामलाई सँगसँगै अघि बढाउँदै मैले आफ्नो प्लस टु जीवन पूरा गरेँ । आज मेरो प्लस टु जीवनका तस्बिरहरू खोज्दा केवल यी दुई वटा तस्बिर मात्र भेटिए । तर यी दुई तस्बिरहरूले मेरा लागि त्यो समयको संघर्ष, सपना, मेहनत, सिकाइ, मित्रता, आत्मनिर्भरता र जीवन निर्माणका प्रारम्भिक अध्यायहरूलाई जीवित राखेका छन् । यी तस्बिरहरू भविष्यमा मेरो विगतका संघर्षपूर्ण दिनहरू सम्झाउने एउटा महत्वपूर्ण दस्ताबेज ठानेर यहाँ सुरक्षित गर्ने निर्णय गरे ।




