
देउरालीको बसाइ समाप्त गरेर काठमाडौं फर्किएपछि मेरो जीवन फेरि एकपटक नयाँ गतिमा अघि बढ्न थाल्यो । सन् २०१३ को फेब्रुअरीदेखि अक्टोबरसम्मको करिब दस महिनाको अवधि मैले अत्यन्त व्यस्त तर सिकाइले भरिएको वातावरणमा बिताएँ । बिहान एक्टिभ प्रेस र दिउँसो अल्टा ग्राफिक्स प्रेसमा काम गर्दै दिनको अधिकांश समय प्रिन्टिङ, प्रकाशन र ग्राफिक डिजाइनिङकै संसारमा व्यतीत हुन्थ्यो । यस अवधिमा मैले पहिलेदेखि आफै पढेर र अभ्यास गरेर जानेका बेसीक कम्पयुटीङ, ग्राफिक जिडाइनीङ र वेब साइट डिजाइनिङका सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई अझ व्यवस्थित, कलात्मक र व्यावसायिक स्तरमा विकास गर्ने अवसर पाएँ । क्यालेन्डर, किताब, कापी, भिजिटिङ कार्ड, ब्रोसर, ब्यानर, होर्डिङ बोर्ड, पुस्तक आवरण (बुक कभर), पुस्तकको लेआउट तथा अन्य सम्पूर्ण ग्राफिक्ससम्बन्धी कार्यहरूलाई छिटो, गुणस्तरीय र व्यावसायिक ढङ्गले सम्पन्न गर्न सक्ने सीप यही अवधिमा विकसित भयो । काठमाडौंका दुई ठूला प्रिन्टिङ प्रेसमा बिहानदेखि बेलुकासम्म निरन्तर काम गर्दा कामको गति, समय व्यवस्थापन, सिर्जनात्मक सोच र प्राविधिक दक्षतामा उल्लेखनीय सुधार आयो । कहिलेकाहीँ दिनहरू यति व्यस्त हुन्थे कि बिहान काम सुरु गरेको थाहा नपाउँदै साँझ परिसकेको हुन्थ्यो, तर हरेक दिनले मलाई केही नयाँ सिकाइरहेको हुन्थ्यो । आज पछाडि फर्केर हेर्दा महसुस हुन्छ, यो अवधि केवल जागिर गरेको समय मात्र थिएन, बरु आफूलाई एक अतिरिक्त सीपयुक्त, आत्मनिर्भर र बहुआयामिक व्यक्तिको रूपमा तयार पार्ने महत्वपूर्ण चरण थियो । पछि जीवनका विभिन्न मोडहरूमा यही ग्राफिक्स तथा डिजाइनिङसम्बन्धी सीपले मलाई अनेकन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा विभिन्न व्यावसायिक क्षेत्रमा काम गर्ने अवसरहरू दिलायो । पढाइसँगै अतिरिक्त सीपमा पनि अब्बल बन्नुपर्छ भन्ने जीवनको एउटा महत्वपूर्ण पाठ मैले यही समयमा व्यवहारिक रूपमा सिक्ने अवसर पाएँ ।



