राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) बाट २०७० सालको संविधानसभा निर्वाचनका लागि राष्ट्रिय पर्यवेक्षका रूपमा काम गर्न पाउनु मेरो जीवनको एक महत्वपूर्ण जिम्मेवारी र चुनौतीपूर्ण अनुभव सावित भएको थियो । देशको लोकतान्त्रिक प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन योगदान पुर्याउनुपर्ने भूमिकाले गर्दा यसको दायित्व र सतर्कता गम्भिर थियो । निर्वाचन अवधिभर (निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पश्चात) देशका विभिन्न ठाउँहरूमा पर्यवेक्षणको शिलशिलामा पुग्दा देखिएका चुनौती, अवरोध र कार्यान्वयनका कठिनाइहरूले कामको गम्भिरता पुष्टि भएको थियो ।
निर्वाचन प्रक्रियालाई नजिकबाट अवलोकन गर्न पाउनु मेरो लागि ठूलो सिकाइ थियो । मतदान केन्द्रदेखि मतगणनासम्मकोे सम्पूर्ण संयन्त्र, सुरक्षाको व्यवस्था, कर्मचारीहरूको समन्वय र मतदाताको उत्साहपूर्ण सहभागिता देखेपछि थाहा भयो देशको लोकतान्त्रिक अभ्यास कति जटिल प्रक्रियाको सामना गरेर हुने रहेछ । यस क्रममा स्थानीय समुदायसँगको संवाद, विभिन्न पृष्ठभूमिकाका नागरिकसँगको भेटघाट र उनीहरूको लोकतन्त्रप्रतिको आशा–अपेक्षाले मेरो स्वयंको दृष्टिकोणलाई अझै व्यापक बनायो ।
यो यात्राले मलाई केवल निर्वाचनको प्राविधिक पर्यवेक्षण मात्र सिकाएन, यसले लोकतान्त्रिक मूल्य, नागरिक उत्तरदायित्व र पारदर्शिताको वास्तविक अर्थ बुझ्न पनि मद्दत गर्यो । निर्वाचन पूर्वको दिनदेखि निर्वाचनपश्चातको अन्तिम पर्यवेक्षण प्रतिवेदनसम्मको सम्पूर्ण प्रक्रियामा सकृय सहभागिताले मेरो सिकाई, क्षमता र प्रोसेसनाजिललाई थप सुदृढ बनायो । समग्रमा, संविधानसभा निर्वाचन २०७० मा राष्ट्रिय पर्यवेक्षकका रूपमा बिताएको समय मेरो व्यक्तिगत तथा प्रोफेसनल विकासमा एक अमूल्य सिकाइ र प्रेरणादायी अध्यायको रूपमा सदैव रहिरहने छ ।







