From classroom to career: story of my first job of my life



मेरो जीवनको पहिलो जागीरको बारेमा एउटा रोमान्चक कहानी छ जसले मेरो जीवनको पहिलो जागीरको अनुभवलाइ मेराे लागि जीवन्त बनाएर राखेकाे छ । म काठमाडौंको सोर्हखुट्टेमा रहेको सिग्मा कलेजमा भर्खरै ११ कक्षा पास भएर कक्षा १२ मा पढ्दै थिए । हाम्रो पढाइ दिउसोकाे थियो । अझै पनि मलाइ याद छ, मेरा घनिष्टतम साथिहरू विज्ञान, बिजय, गणेश, सिर्जना, करूणा, बालकृष्ण, राजकुमार, फुरी, कुमार, शिला, मनिसा लगायत थिए । 

एक दिन विहानै सोर्हखुट्टे गणेशमन्दीर छिर्ने गल्लीको बाँयातर्फ रहेको पहिलो बिल्डिङको दोस्रो तलामा अवस्थित ग्लोब एजुकेशनल इन्सटिचिउटको अफिसमा म हाँजीर गर्दै थिए । अचानक, हामीलाइ कलेजमा अंग्रेजी पढाउनुहुने गुरु त्यही टुप्लुक्क आइपुग्नुभयो । उबेला गुरुलाइ कक्षाकोढामा भन्दा बाहीर अन्यत्र भेट्दा सातो जान्थ्यो,  हामी  डराउथ्यौं, डरै डरमा नमस्कार सर भने मैले पनि । तब सरले सोध्नुभयो, अरे भीम तिमि यहाँ के पढ्न आएको ? तब मैले लजाउदै  लजाउदै भने- म यहाँ कम्प्यूटर टिचरकोरूपमा विगत ४ महिनादेखि काम गरिरहेको छु । मैले यहाँ कम्प्युटर सिक्न वा पढ्न आउनुहुने विद्यार्थीहरूलाइ बेसीक कम्प्युटर र ग्राफिक्स डिजाइनीङ सिकाउछु भनें । अनि, मैले सोधे- हजुर चै यहाँ के कामले पाल्नुभएको थियो सर ? सरले भन्नुभयो, म पनि यहाँ आइएलटिएस पढाउछु । हस सर म क्लासमा गए भनेर म मेरा विद्यार्थीहरू आइसक्नुभएकोले क्लासतर्फ लागे । पढाइ सकेर दिउसो कलेज गए । कलेजमा हाफ टाइम पछि जब सोही अंग्रेजी सरको क्लास शुरू भयो, तब शुरूमै सरले कडा स्वरमा सबैले होमवर्ग गरेर ल्याएका छौ नि भनेर सोध्नुभयो । केही साथीहरूले होमवर्क गर्न भ्याएनछन वा अल्छी लागेर गरेका रहेनछन तर मैले भने होमवर्क गरेर ल्याएकोले सरले होमवर्क नगर्ने साथिहरूलाइ सुनाउदै भन्नुभयो-- तिमारू अल्छीहरूले गरेर खादैनौ । हेर, भीम विहान विहान कम्प्युटर टिचरको रूपमा जागिर खान्छन, पढाउन जान्छन र पनि होमवर्क गरेर ल्याएका रहेछन, तिमारू अल्छीहरू भने घर गयो खायो, सुत्यो, उठ्यो, खायो अनि आयो, यसरी कसरी तिमारूको भविष्य बन्छ ?  भनेर रिसाउदै भन्नुभयो । 

यसरी सरले मेरो प्रशंसा गर्नुभएपछि मेरो नाक फुलिएर घिरौला जत्रो भएको थियो । मेरा साथिहरूले म कम्प्युटरको अलिक पारखी छु भन्ने थाहा पाए । त्यसपछि उनिहरूका विभिन्न असाइनमेन्टहरू, डकुमेन्टेसनका कामहरू लगायत विभिन्न कामहरू मलाइ गरिदेउ है भीम भन्थे, मैले पनि निशुल्क गरिदिन्थे । मलाइ टाइपिङ गर्न, डिजाइन गर्न, वा केही काम गर्न अरूले जति धेरै दिएपनि जिम्मेवारीपूर्वक निशुल्क गरिदिन्थे ताकी मैले मेरो स्कील र स्पीड विकास गर्न सकु । त्यतिखेर मलाइ मेरो जीवनकै पहिलो जागिरको अवसर मिलाइदिनुहुने देव दाइ प्रति म सदैव आभारी छु । मेरो यो २०१० ताकाको कलेज स्मृतीहरूलाइ अहिले २०१३ मा पुनर्ताजगी गरेर मेरो ब्लगमा अभिलिखित गरे। 

(त्यतिखेर मेरो तलब बिहान ६ बजेदेखि ९ बजेसम्म पढाएको ३५०० रूपैंया थियो र मेरो कोठाभाडा चै १५०० रूपैया थियो ।)

Share:

सिग्मा कलेज पढ्दाका दिनहरू: गणित, कम्प्युटर र संघर्षले खिपेको जीवनको जग



एसएलसी (SLC) परीक्षामा ६५ प्रतिशत अंकसहित प्रथम श्रेणीमा उत्तीर्ण भएपछि मेरो मात्र होइन मेरो परिवारको पनि ठूलो सपना थियो—मैले काठमाडौं गएर उच्च शिक्षा हासिल गराेस र सम्भव भएसम्म साइन्स पढाेस । यही सपना बोकेर म २०६५ साल साउन ८ गते गाउँबाट झोला बोकेर इश्वरदाइसँग काठमाडौं आएँ । काठमाडाैंमा हाम्राे सानदाइ (ठूलबुबाको कान्छो छोरा) काे काेठामा बस्न थाले । मेरो योजना स्पष्ट थियो—सरकारी अमृत साइन्स क्याम्पस (अस्कल) मा आई.एस्सी. पढ्ने । तर काठमाडौं आइपुगेपछि थाहा भयो कि सोही वर्षदेखि अस्कल क्याम्पसमा आई.एस्सी. कार्यक्रम बन्द भइसकेको रहेछ र त्यही वर्षदेखि नेपालमा प्लस टु प्रणाली व्यापक रुपमा लागू भएको रहेछ । गाउँबाट साइन्स पढ्ने सपना बोकेर आएको मेरो लागि त्यो समाचार अप्रत्याशित थियो ।

त्यसपछि सानदाइले मलाई काठमाडौंको सोह्रखुट्टेस्थित सिग्मा कलेजमा लिएर जानुभयो । मेरो एस.एल.सी.को नतिजा, विशेष गरी गणितमा प्राप्त उत्कृष्ट अंकहरू हेरेपछि त्यहाँका प्रिन्सिपल दमन सर र त्यहाँको एडमिनिस्ट्रेसन हेड ठाकुर श्रेष्ठले मलाई साइन्सभन्दा पनि सोशल साइन्स अन्तर्गत म्याथमेटिक्स र इकोनोमिक्स मेजर विषय लिएर पढाउँदा बढी प्रभावकारी हुन्छ भनेर  सल्लाह दिनुभयाे । अन्ततः उहाँकै सल्लाह अनुसार सानदाइले मलाई सिग्मा कलेजमा कक्षा ११ मा म्याथमेटिक्स र इकोनोमिक्स मेजर विषयसहित भर्ना गरिदिनुभयो । गाउँबाट साइन्स पढ्ने दृढ इच्छा बोकेर आएको मलाई सुरुका केही दिन भने सोशल साइन्समा भर्ना गरिदिएको कुरा मन परेको थिएन । तर विस्तारै मैले आफ्नो वास्तविक शक्ति गणित नै भएको सत्यलाइ गहनरूपमा महसुस गर्न थालेँ । आखिर मैले भविष्यमा जे बन्ने भए पनि त्यो गणितकाे जगमा नै बन्ने हाे भन्ने कुरा मनन गरे । 

काठमाडौं आएको सुरुका दिनहरूमा म नयाँबजारस्थित गोरखाली टेलिकम नजिकै सानदाइको कोठामा बस्ने गर्थेँ । सानदाइ कम्प्युटर सञ्चालनमा अत्यन्तै दक्ष हुनुहुन्थ्यो । उहाँको टाइपिङ स्पीड साँच्चिकै रकेटजस्तै थियो । त्यतिबेला उहाँ गोरखापत्र दैनिकमा सम्पादकको रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यसबाहेक विभिन्न संस्थाहरूमा कम्प्युटर प्रशिक्षण दिने, पुस्तक तथा प्रकाशन सम्पादन गर्ने लगायत अनेकौं कामहरू पनि गर्नुहुन्थ्यो । बिहान आठ बजे खाना खाएर कोठाबाट निस्किने उहाँ राति करिब बाह्र बजे मात्र फर्किनुहुन्थ्यो । म भने उहाँलाई खाना कुरेर बसिरहन्थेँ । त्यो समय काठमाडौंमा दैनिक १८ देखि २० घण्टासम्म लोडसेडिङ हुने गथ्र्यो । बिजुली नहुँदा अध्ययन गर्न निकै कठिन हुन्थ्यो । राति करिब नौ बजेसम्म खाना पकाइसकेर क्यान्डिल बालेर पढेर सानदाइलाइ कुरेर बस्ने मेरो नियमित बानी बनिसकेको थियो । एकपटक त खाना पकाएर पढ्दा पढ्दै निदाएछु । घरकाे मेनढाेका चै पल्लाे काेठाका दाइहरूले चाडै नै लगाउनुहुन्थ्याे, करिब करिब रातिकाे १२ बजेतिर सानदाइ आउनुभएर मलाइ बाहिरबाट बाेलाउदा वा ढकढक गर्दा नि उठेनछु, त्यतिखेर माेबाइल पनि थिएन, सानदाइले मलाइ उठाउनकाे लागि अरू कुनै उपायले काम नगरेपछि ठुलाे काठकाे टुक्राले पछाडिपटि झ्यालबाट छिराएर झटाराे हान्नुभयाे मलाइ, तब म झल्यास्स भएर बिउजीए, अनि सानदाइलाइ ढाेका खाेलिदिए । 

सानदाइको कोठामा विन्डोज एक्सपी चल्ने पुरानो डेस्कटप कम्प्युटर थियो । बिजुली आउनेबित्तिकै म त्यसैमा बसेर टाइपिङ गर्ने, डिजाइन सिक्ने, नयाँ–नयाँ कुराहरू बुझ्ने प्रयास गर्थेँ । कम्प्युटरप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गइरहेको थियो । करिब छ महिनापछि काठमान्डौंमा आफै कलेज जान सक्ने, पसल जान सक्ने, यता उता घुमघाम गर्न सक्ने, तरकारी किन्न जान सक्ने, वरिपरिका बाटो वा गल्लिहरू चिन्न सक्ने, समग्रमा आफ्नो जीवन आफै चलाउन सक्ने जस्तो महसुस भएपछि मैले आफै सानो कोठा भाडामा लिएर बस्ने निर्णय गरेँ किनभने प्रभावकारी पढाइकाे लागि एकान्तवास महत्वपूर्ण हुन्छ भन्ने मैले राम्राेसँग बुजिसकेकाे थिए । मेरो ठूलमामाको जेठो छोरा बुहारी आदरणीय अर्जुन दाइ र उमा भाउजुले कपुरधारामा राजेश हमालको घरभन्दा अलिकति उतापट्टी एउटा कोठा खोजिदिनुभयो; त्यति मात्र हैन, उहाँले नै कोठाका अत्यावश्यक सामानहरू जस्तै ग्यास सिलिन्डर, चुलो, भाडाकुडा, पुरानो खाट, लुगा लगायत किनिदिनुभयो; उमा भाउजू र अर्जुन दाइको त्यो गुन मैले जीवनमा कसैगरी चुकाउन सक्दिन होला, खासमा उमा भाउजु त हाम्रो दिदी पनि हो, उहाँ पनि हाम्रो आफ्नै दाजुभाइ खलक न्यौपानेको छोरी हुनुहुन्छ, त्यसैले भाउजू भनेपनि वा दिदी जे भनेपनि उहाँ  मेरो लागि एकदमै खास हुनुहुन्छ, त्यसैले म सदैव उहाँहरूप्रति मनैदेखि कृतज्ञ छु । त्यो कोठाको मासिक भाडा १५०० रुपैयाँ थियो । केही समयपछि म त्यहाँबाट लैनचौरतर्फ भारतीय दूतावासको पर्खालको बाटो हुँदै जाने गल्लीभित्र रहेको जस्ताले छाएको कोठामा सरेँ, त्यो कोठा पनि उमा भाउजुले नै खोजदिनु भएको थियो । त्यस कोठाको भाडा चै १२०० रुपैयाँ मात्र थियो । त्यो कोठा उज्यालो, खुला, हराभरा वातावरण भएको र बस्न निकै रमाइलो थियो । त्यही कोठामा सरेपछि मैले २५ हजार रुपैयाँ खर्च गरेर आफ्नै कम्प्युटर किनें । खासमा, मेरो पढाइ, लेखाइ र सिकाइ को सबैभन्दा प्रमुख वा बाउ भने पनि आमा भने पनि वा गुरु भने पनि जे भने पनि मेरी आमा नै हुन, कम्प्युटर किन्न घरबाट आमाले नै पैसा पठाइदिनुभएको थियो । त्यसपछि त मेरो संसार नै बदलियो । कम्प्युटरका किताबहरू किनेर दिनरात अभ्यास गर्ने, टाइपिङ गर्ने, डिजाइन सिक्ने र सकेसम्म कम्प्युटरमा दक्ष बन्ने प्रयासमा लागिरहेँ ।

यद्यपि जहाँ बसे पनि मेरो जीवनमा सानदाइको प्रभाव र प्रेरणा निरन्तर रहिरह्यो । पछि उहाँले भृकुटीमण्डपमा कम्प्युटर ग्राफिक्स डिजाइन सम्बन्धी तालिम सञ्चालन गर्दा मलाई पनि सहभागी हुन बोलाउनुभयो । उहाँले धेरै विद्यार्थीहरूलाई पढाइरहनुभएको कक्षामा म पनि गएर नियमित रूपमा सिक्ने गर्थेँ । लगभग तीन महिनाको अवधिमा उहाँको मार्गदर्शन, प्रेरणा र प्रशिक्षणबाट मैले बेसिक कम्प्युटिङ, ग्राफिक्स डिजाइन, हाडवेयर र अपरेटिङ सिस्टम सम्वन्धि सिप विकास गर्न सफल भएँ । हुन त एस.एल.सी. दिएर बसेको समयमा गाँउमै आरुघाट बजारमा सुरेश दाइको कम्प्युटर सेन्टरमा पोखराका हेम सरले सञ्चालन गर्नुभएको कक्षामा करिब एक महिना आधारभूत कम्प्युटर प्रशिक्षण लिएको थिएँ । त्यहाँ नेपाली टाइपिङ, अंग्रेजी टाइपिङ, एम.एस. पेन्ट र विशेष गरी माइक्रोसफ्ट वर्डको सामान्य ज्ञान प्राप्त गरेको थिएँ । तर काठमाडौं आएपछि सानदाइमार्फत ग्राफिक्स डिजाइन लगायतका धेरै एडभान्स सीपहरू सिक्ने अवसर प्राप्त भयो । म स्वभावैले छिटो सिक्ने र सिकेको कुरा तुरुन्त व्यवहारमा उतार्ने खालको थिएँ । सायद गणित र कम्प्युटरबीचको वैज्ञानिक कनेक्सनले पनि मलाई छिटै कम्प्युटर स्कील बढाउन सहयोग गरिरहेको थियो होला । गणितपछि मलाई सबैभन्दा मन पर्ने विषय नै कम्प्युटर बन्न थाल्यो । अहिले, अर्थात् २०१३ सम्म आइपुग्दा, म त्यही गणित र कम्प्युटिङ सीपलाई निरन्तर विकास गर्दै स्वअध्ययनका माध्यमबाट वेब डिजाइनर (एचटिएमएल, सिएसएस र जाभास्कृप्ट), वेब डेभलपर (पिएचपी र माएसक्युएल), ग्राफिक्स डिजाइनर (फोटोसप, इन्डिजाइन, पेजमेकर, फ्रिह्यान्ड), गणित शिक्षक र कम्प्युटर शिक्षक बनिसकेको छु । त्यसैले यदि मेरो जीवनको आधारशिला निर्माण गर्न प्रारम्भिक र विशेष योगदान दिने एक व्यक्तिको नाम लिनुपरेमा निसन्देह सानदाइको नाम आउछ । उहाँप्रति म सदैव कृतज्ञ र आभारी छु ।

सिग्मा कलेजको जीवन पनि अत्यन्त स्मरणीय रह्यो । मेरा साथीहरू अत्यन्तै धेरै थिए, तर सबैभन्दा मिल्ने र जिग्री साथीहरू विजय न्यौपाने र विज्ञान पोखरेल थिए । उनीहरूबाहेक गणेश, सिर्जना, करूणा, बालकृष्ण, फुरी, कुमार, राजकुमार, शिला, सुशीला, मनिषा लगायतका साथीहरूसँग पनि निकै घनिष्ठ सम्बन्ध थियो । अध्ययनका हिसाबले पनि म सोशल साइन्स फ्याकल्टीका उत्कृष्ट विद्यार्थीहरूमध्ये एक थिएँ । कलेजका कुनै पनि कार्यक्रममा फ्याकल्टीको प्रतिनिधित्व आवश्यक परेमा प्रायः मलाई नै पठाइन्थ्यो । कलेज सुरु भएको करिब चार महिनापछि पहिलो त्रैमासिक आन्तरिक परीक्षा भयो । त्यस परीक्षामा म आफ्नो फ्याकल्टीमा त प्रथम भएँ नै, अर्काे एउटा रोचक घटना पनि घट्यो । सोशल साइन्समा म्याथमेटिक्स पढ्ने विद्यार्थी हामी केवल दुई जना—म र राजकुमार मात्र थियौँ । हामीलाई अलग्गै कक्षा सञ्चालन गर्नुको सट्टा म्याथमेटिक्स पढ्न साइन्स फ्याकल्टीको कक्षामा पठाइन्थ्यो, किनकि पाठ्यपुस्तक एउटै थियो—बेसिक म्याथमेटिक्स । त्यसैले साइन्स फ्याकल्टीका विद्यार्थीहरूसँग पनि मेरो राम्रो मित्रता थियो, जसमा विजय र मनिषा पनि पर्थे । पहिलो त्रैमासिक परीक्षामा मैले म्याथमेटिक्समा ९२ अंक ल्याएँ र साइन्स फ्याकल्टीका करिब २५ जना विद्यार्थीलाई समेत पछि पारेर प्रथम भएँ । दोस्रो हुने विद्यार्थीले ८९ अंक ल्याएका थिए । सोशल साइन्सबाट आएको विद्यार्थीले साइन्स फ्याकल्टीको गणितमा शीर्ष स्थान हासिल गरेपछि म्याथमेटिक्स पढाउने सर समेत निकै आश्चर्यचकित हुनुभएको थियो ।

पछि कक्षा १२ मा पुगेपछि मेरो कम्प्युटर सीपकै कारण सोह्रखुट्टेस्थित ग्लोब एजुकेशनल इन्स्टिच्युटमा कम्प्युटर शिक्षकको रूपमा बिहान कम्प्युटर पढाउने अवसर प्राप्त भयो । यो अवसर दिलाइदिनुहुने देव दाइ प्रति पनि म सदैव आभारी छु । त्यसपछि मेरो दैनिकी अझ व्यस्त बन्यो—बिहान कम्प्युटर पढाउन जाने र दिउँसो कलेज पढ्न जाने । यसरी अध्ययन र कामलाई सँगसँगै अघि बढाउँदै मैले आफ्नो प्लस टु जीवन पूरा गरेँ । आज मेरो प्लस टु जीवनका तस्बिरहरू खोज्दा केवल यी दुई वटा तस्बिर मात्र भेटिए । तर यी दुई तस्बिरहरूले मेरा लागि त्यो समयको संघर्ष, सपना, मेहनत, सिकाइ, मित्रता, आत्मनिर्भरता र जीवन निर्माणका प्रारम्भिक अध्यायहरूलाई जीवित राखेका छन् । यी तस्बिरहरू भविष्यमा मेरो विगतका संघर्षपूर्ण दिनहरू सम्झाउने एउटा महत्वपूर्ण दस्ताबेज ठानेर यहाँ सुरक्षित गर्ने निर्णय गरे ।

Share:

जीवनमा ‘आइरन गेट (SLC)’ पार गरेको त्यो अविस्मरणीय दिन

आज जीवनका पुराना पानाहरू पल्टाउँदा २०६५ साल असार महिनाको त्यो दिन झलझली सम्झनामा आउँछ, जुन दिन मैले जीवनको पहिलो ठूलो शैक्षिक उपलब्धि हासिल गरेको समाचार सुनेँ । त्यो उपलब्धि थियो—एस.एल.सी. अर्थात् त्यतिबेला ‘करिअरको आइरन गेट’ भनेर चिनिने परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुनु । आजका पुस्तालाई सायद पत्याउन पनि कठिन होला, तर त्यतिबेला एसएलसी को परिणाम केवल एउटा शैक्षिक नतिजा मात्र थिएन, त्यो एउटा विद्यार्थीको भविष्यको दिशानिर्देशक मानिन्थ्यो ।  

त्यो समय म भिमोदय उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिएँ । हाम्रो गाउँबाट म, शैलेन्द्र र हरिराम नियमित विद्यार्थि थियाैं । विद्यालय पुग्न नै कम्तीमा एक घण्टा पैदल हिँड्नुपथ्र्यो । उकाली, ओराली, घाँसदाउरा, मेलापात, गाउँघरका दैनिक कामकाज र अध्ययनलाई सँगसँगै अघि बढाउँदै हामीले विद्यार्थी जीवन बिताएका थियौँ । विद्यालयमा भने मेरा धेरै प्रिय साथीहरू थिए । नारायण लामिछाने, जयबहादुर गुरुङ, प्रविन बुर्लाकोटी, घना गुरुङ, शान्ता गुरुङ, श्याम घले, पूर्णबहादुर गुरुङ, केयरसिंह गुरुङ, रबी कुमार खत्री, खेमराज लामिछाने, वसन्त भुजेल, सुमन श्रेष्ठ, प्रदिप श्रेष्ठ, प्रकाश परियार, शन्तोष खनाल, दिनेश खनाल लगायत (अरू कयाौं प्रिय साथिहरूको नाम मनमा छ तर दिमाखमा यतिखेर आयन) धेरै साथीहरूसँग बिताएका ती दिनहरू आज पनि मनमा ताजै छन् । साधारण गाँउले परिवेशबाट आएका हामी सबैका सपना भने असाधारण थिए ।

म आफूलाई त्यतिबेला एकदमै मध्यम स्तरको विद्यार्थी मान्थेँ । विशेष गरी अंग्रेजी विषयमा म निकै कमजोर थिएँ । सरकारी विद्यालयमा अध्ययन गरेको कारणले हाेला अंग्रेजीमा संघर्ष गर्नुपथ्र्यो । अंग्रेजी विषयको परीक्षामा १०० पूर्णाङ्कको प्रश्नपत्रमा ३२ अंक ल्याएर जसोतसो उत्तीर्ण हुन पनि कठिन हुन्थ्यो मलाई । तर एउटा विषय भने मेरो विशेष प्रिय थियो—गणित । सानैदेखि हजुरबाले घरमा सानातिना पैसाको हिसाबकिताब गर्न मलाई लगाउनुहुन्थ्यो । सायद त्यही कारणले होला, गणितप्रति मेरो रुचि असाधारण थियो । वास्तवमा मेरो जीवनमा शिक्षाप्रतिको प्रेरणाको सबैभन्दा ठूलो स्रोत नै मेरा हजुरबा हुनुहुन्थ्यो । म जन्मेको चार महिनामै बुबाको निधन भएको रे । त्यसपछि हामीलाई हुर्काउने, माया गर्ने, पढाउने र जीवनका अमूल्यहरू पाठहरु सिकाउने जिम्मेवारी हजुरबा र आमाले नै वहन गर्नुभयो । हाम्रो गाउँमा बुबा, काका वा ठूला बुबाको पुस्ताका अधिकांश मानिसहरू अक्षरसमेत पढ्न नजान्ने अवस्थामा थिए, तर हाम्राे हजुरबा भने काशी बनारससम्म पुगेर थोरबुहत लेखपढ गर्नुभएको व्यक्ति हुनुहुन्थ्यो । त्यसैले उहाँले हामीलाई (दाइ र मलाई) निरन्तर मेहनत गरेर पढ्न प्रेरित गरिरहनुहुन्थ्यो । तर २०६३ साल बैशाख महिनामा हजुरबुबाले पनि हामीलाइ छाडेर परमधाम हुनुभएपछि भने हामी साँचिकै पूर्णरूपमा टुहुरा भएका थियाैं । त्याे साल म ८ कक्षा पास भएर ९ कक्षामा चढेकाे थिए । मलाइ मेराे जीवनमा हजुरबाले जति प्रभाव अरू कसैले पारेकाे थिएन, त्यसैले हाेला हजुरबालाइ म सधैं सम्झीरहन्छु ।

हजुरबाको प्ररणाबाट प्रेरीत भएरै होला मलाई पढ्न एकदमै रुची लाग्थ्यो । पढाइमा खुब मेहेनत गर्थे । म ८ कक्षा वा ९ कक्षा पढ्दाताकाको एक अनुभव पनि सुनाउछु– कक्षा ८ उत्तीर्ण गरेर कक्षा ९ मा पुगेपछि वैकल्पिक विषय छनोट गर्ने समय आयो । विद्यार्थीहरूले अप्सनल म्याथमेटिक्स, इकोनोमिक्स वा शिक्षा विषयमध्ये एक रोज्नुपर्ने व्यवस्था थियो । मैले कुनै हिचकिचाहट बिना अप्सनल म्याथमेटिक्स रोजेँ । त्यतिबेला करिब १९३ जना विद्यार्थीमध्ये केवल ३८ जनाले मात्र अप्सनल म्याथमेटिक्स रोजेका थिए । विद्यालयले पनि अप्सनल म्याथमेटिक्स पढ्ने विद्यार्थीलाई अपेक्षाकृत सक्षम विद्यार्थी मानेर ‘सेक्सन ए’ मा राखेको थियो, इकोनोमिक्स पढ्नेलाई ‘सेक्सन बी’ र शिक्षा पढ्नेलाई ‘सेक्सन सी’ मा विभाजन गरिएको थियो । गणितप्रतिको मेरो लगाव र क्षमता त्यसपछि झन् स्पष्ट हुँदै गयो । एस.एल.सी. परीक्षा दिनुअघि अनिवार्य रूपमा पास गर्नुपर्ने टेस्ट परीक्षामा मैले अप्सनल म्याथमेटिक्समा ९७ अंक र कम्पल्सरी म्याथमेटिक्समा ९२ अंक प्राप्त गरेको थिएँ । त्यो परिणामले मलाई आत्मविश्वास त दियो, तर अंग्रेजी विषयप्रतिको डर भने अझै बाँकी नै थियो । मलाई म्याथमेटिक्स विषयमा तिख्खर बनाउन कसैको बढी योगदान छ भने त्यो अप्सनल म्याथमेटिक्स पढाउनुहुने मेरो आदरणीय गुरुदेव छन्द प्ररसाद खनाल सर हो, म जीवभरी उहाँप्रति कृतज्ञ मात्र होइन ऋणी छु, म्याथमेटिक्स विषयमा मलाई तिखार्ने, मलाई निखार्ने व्यक्ति उहाँ नै हो । 

अन्ततः २०६४ सालको चैत महिनामा एस.एल.सी. परीक्षा सम्पन्न भयो । आज पनि सम्झन्छु, हाम्रो परीक्षा सकिएलगत्तै त्यही वर्ष चैत २८ गते नेपालमा पहिलो पटक संविधानसभा निर्वाचन हुँदै थियो । माओवादी जनयुद्धको अन्त्य, राजतन्त्रको अन्त्य, बृहत् शान्ति सम्झौता र लोकतन्त्रको नयाँ युगको सुरुआतसँग जोडिएको त्यो निर्वाचन नेपालको इतिहासमा अत्यन्त महत्वपूर्ण थियो । देश राजनीतिक परिवर्तनको प्रतीक्षामा थियो भने म आफ्नो जीवनको सम्भवतः सबैभन्दा महत्वपूर्ण नतिजाको प्रतीक्षामा थिएँ । मेरो लागि एस.एल.सी.को नतिजा पनि कुनै राष्ट्रिय घटनाभन्दा कम महत्वको थिएन, किनकि त्यही नतिजाले मेरो शैक्षिक र व्यावसायिक भविष्यको ढोका खोल्ने वा बन्द गर्ने थियो ।

केही महिनाको प्रतीक्षापछि २०६५ साल असार मसान्तमा नतिजा प्रकाशित भयो । त्यो समय आजजस्तो इन्टरनेट वा मोबाइल एपको सुविधा थिएन । गाउँमा बसेर नतिजा हेर्न सजिलो थिएन । अधिकांश विद्यार्थीहरू गोरखापत्रमा प्रकाशित लाखौँ सिम्बोल नम्बरहरूबीच आफ्नो नम्बर खोज्ने गर्थे वा १६०० नम्बरमा फोन गरेर नतिजा बुझ्ने प्रयास गर्थे । हाम्रो गाउँमा फोन पनि थिएन । टारीमा रेशम काकाको घरमा सायद त्यतिबेला भर्खर स्काई एस.टी.डी. फोन जडान गरिएकाे थियो । म पनि त्यही फोनमा बारम्बार १६०० डायल गरिरहेको थिएँ । तर फोन निरन्तर व्यस्त आइरहेको थियो । धेरै प्रयासपछि बल्ल कनेक्सन भयाे र जब मैले प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण भएको समाचार सुनेँ, त्यो क्षणलाई शब्दमा वर्णन गर्न आज पनि गाह्रो लाग्छ । म खुशीले उफ्रिन थालेको थिए। किनभने हामीजस्ता सरकारी विद्यालयमा अध्ययन गर्ने गाउँले विद्यार्थीका लागि प्रथम श्रेणी ल्याउनु वास्तवमै पहाड फोड्नुजस्तै कठिन उपलब्धि थियो ।

हाम्रो विद्यालयबाट एस.एल.सी. दिएका करिब १९३ जना विद्यार्थीमध्ये केवल ८९ जना मात्र उत्तीर्ण भएका थिए भने प्रथम श्रेणी ल्याउने विद्यार्थीहरूको संख्या मात्र २३ थियो । ती २३ जनामध्ये म पनि एक थिएँ, अझ विद्यालयको शीर्ष १० भित्र पर्न सफल भएको थिएँ । मैले ६५ प्रतिशत अंकसहित प्रथम श्रेणी हासिल गरेको थिएँ । त्यो परिणामले मेरो आत्मविश्वासलाई नयाँ उचाइमा पुर्यायो । मैले महसुस गरेँ—यदि गाउँको साधारण परिवेशबाट र सीमित स्रोतसाधनका बीच अध्ययन गरेर पनि यो उपलब्धि हासिल गर्न सकिदो रहेछ भने भविष्यमा त मैले अझ ठूलो सपना देख्न र पूरा गर्न पनि सक्ने रहेछु ।

सायद यही कारणले त्यो नतिजाले मेरो जीवनको दिशा नै परिवर्तन गरिदियो । राम्रो उच्च शिक्षा हासिल गर्नुपर्छ, ठूलो संसार हेर्नुपर्छ र जीवनमा केही अर्थपूर्ण कर्म गर्नुपर्छ भन्ने दृढ संकल्प मनमा पलायो । अन्ततः २०६५ साल साउन ८ गते झोला बोकेर  ईश्वर दाइ (ठुलबाकाे जेठा छाेरा) काे साथ लागेर उच्च शिक्षाको लागि अल्कटारबाट हिँडेरै धादीङबेसीसम्म (लगभग ५० किलोमिटर) र धादीङबेसीबाट काठमाडौंतर्फ प्रस्थान गरेँ । मलाइ  पहिलाे पटक काठमाडाैं ल्याउँन विशेष साथ दिनुभएकाेमा आदरणीय ईश्वर दाइ प्रति सधैंभरी कृतज्ञ छु । आज पछाडि फर्केर हेर्दा महसुस हुन्छ, त्यो नतिजा केवल एउटा प्रमाणपत्रको उपलब्धि मात्र त थिएन, त्यो त मेरो आत्मविश्वास, संघर्ष, आमा र हजुरबाको प्रेरणा, गाउँको माटोको प्रेम, शिक्षकहरूको मेहनत र मेरो लागि उज्यालो भविष्यतर्फ खुलेको एउटा ऐतिहासिक ढोका रहेछ ।

Share:

स्मृतीमा भीमोदय SLC ब्याच २०६४ को अविस्मरणीय शैक्षिक भ्रमण

Fulbari Butwal

आज मार्च १ तारिक २०१३ अर्थात बि.सं २०६९ फागुन १८ गते हो । आज मैले २०६४ साल कार्तिक अर्थात सन २००७ सालको नोभेम्बर तिरको हाम्रो शैक्षीक भ्रमणको अविस्मरणीय स्मृतिहरुलाई खिप्ने प्रयास गरेको छु । यो लगभग ठ्याक्कै ६ वर्ष पहिलेको घटना हो । त्यतिखेर हामी भीमोदय उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्थ्यौं, त्यसैकारण हामी एसएलसी (SLC) दिने ब्याच भएकोले स्कुलले हामीलाई शैक्षिक भ्रमणमा लगेको थियो । र, मैले यहाँ उक्त भ्रमणको थोरबहुत सम्झीएका महत्वपूर्ण गतिविधी, भ्रमण गरिएका स्थानहरु र यात्राको अनुभव क्रमबद्ध तरिकाले लेख्ने प्रयास गरेको छु । कथमकदाचित मैले कुनै घटनाहरु वा मिति वा समय बिर्सीएर गलत लेखेको रहेछु भने कृपया त्यसबेलाको मेरा प्रिय मित्रहरु वा गुरुजनहरु जस जसले यो ब्लग पढ्नु हुन्छ, कमेन्ट मार्फत सच्याउन लगाउनु होला । 


हरेक वर्ष १० कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराउने भिमोदय उच्च माध्यमिक विद्यालयको परम्परा अनुसार नेपालीहरूको महान चाड बडादशैँ सकिएलगत्तै २०६४ साल कार्तिक १६ गते हाम्रो बहुप्रतीक्षित शैक्षिक भ्रमण सुरु भएको थियो । त्यो भ्रमण कुनै साधारण घुमफिर मात्र थिएन, बरु त्यो साल एस.एल.सी. दिन तयार हामी विद्यार्थीहरुलाई नेपालको धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्पदासँग प्रत्यक्ष परिचित गराउने उद्देश्यले आयोजना गरिएको अध्ययन भ्रमण थियो । यस भ्रमणको गुरुयोजना तयार गर्ने मुख्य जिम्मेवारी हाम्रा सामाजिक शिक्षक आदरणीय श्यामप्रसाद लामिछाने सरले लिनुभएको थियो । उहाँलाई नेपालको विभिन्न ऐतिहासिक तथा धार्मिक स्थलहरूको गहिरो जानकारी भएकाले भ्रमणलाई अझ अर्थपूर्ण बनाउने जिम्मेवारी पनि उहाँकै काँधमा थियो । शिक्षकहरूको टोलीमा श्याम प्रसाद लामिछानेको अलवा छन्द प्रसाद खनाल सर, मनप्रसाद बन्जारा, कुल प्रसाद खनाल, लक्ष्मीकान्त खनाल लगायत गुरुहरू हुनुहुन्थ्यो । विद्यार्थीहरू करिब पचास जनाजति थियौं होला सायद । त्यस यात्रामा मेरा सबैभन्दा प्रिय साथीहरू नारायण लामिछाने र शैलेन्द्र लामिछाने थिए । त्यसबाहेक शान्ता गुरुङ, श्याम घले, पूर्णबहादुर गुरुङ, रवीकुमार खत्री, सुमन श्रेष्ठ, प्रदीप श्रेष्ठ, प्रकाश परियार, दिनेश खनाल लगायत कैयौं घनिष्ठ मित्रहरु पनि सँगसँगै थियौं । उत्साह, जिज्ञासा र नयाँ ठाउँहरू देख्ने रहरले हामी सबैको मन भरिएको थियो ।


(१) आरुघाटबाट गोरखा–आँबुखैरेनी–घाँसीकुवा–दमौली–बेगनासताल हुँदै पोखरासम्म

कार्तिक १६ गते बिहान करिब ८ बजेतिर हामी आरुघाट बगैंचा स्थित भिमोदय उच्च माध्यमिक विद्यालयको प्राङ्गणबाट बस चढेर यात्रामा निस्कियौं । बसमा चढ्नासाथ रमाइलोको माहोल सुरु भइसकेको थियो । टारीफाँटको घुम्तीमा बस पुग्दा गाडीमा बजिरहेको गीत—“घुम्तीनीर लेट भयो निरमायालाई बाटैमा भेट भयो” अझै पनि कानमा गुञ्जिरहेको जस्तो लाग्छ । टारीफाट बाट सिमलाफेद, सिमलाफेदबाट ओख्ले हुँदै घ्याम्पेसाल, घ्याम्पेसालबाट कोखेआले, यसरी कयौं उकाली ओराली र घुम्तीहरू पार गरेर हामी गोरखा बजार पुग्यौं र सर्वप्रथम प्रसिद्ध गोरखा कालिका मन्दिरको दर्शन ग¥यौं । नेपाल एकीकरणको इतिहाससँग जोडिएको गोरखा दरबार क्षेत्र र कालिका मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्व आफैंमा विशेष थियो । मन्दिर परिसरबाट देखिने मनास्लु र गणेश हिमालका सुन्दर हिमशृंखलाहरूले हाम्रो मनलाई मोहनी लगाइसकेको थियो । बिहानको शीतल हावा, टलक्क टल्किरहेका हिमालहरू र ऐतिहासिक गोरखाको वातावरणले भ्रमणको सुरुवातलाई नै अविस्मरणीय बनाएको थियो । गोरखा कालिका दर्शनपछि हामीले गोरखाकै एउटा होटलमा बिहानको खाना खायौं अनि त्यसपछि फेरि यात्रालाई निरन्तरता दियौं ।

गोरखाबाट अगाडि बढेपछि हाम्रो बस आबुखैरेनी पुग्यो । त्यहाँबाट डुम्रे बजार हुँदै हामी घाँसीकुवातर्फ लाग्यौं । नेपाली आदिकवि भानुभक्त आचार्यलाई प्रेरणा दिने घाँसीको कथा जोडिएको ऐतिहासिक घाँसीकुवाको महत्वबारे शिक्षकहरूले हामीलाई जानकारी गराउनुभयो । सानो ठाउँ भए पनि नेपाली साहित्यको इतिहासमा त्यसको विशेष स्थान रहेको कुरा थाहा पायौं । त्यहाँबाट हामी पृथ्वी राजमार्गकै केन्द्रबिन्दु मानिने दमौली हुँदै सिधै पोखराको प्रसिद्ध बेगनासताल पुग्यौं । बेगनासतालको पहिलो झलकले नै हामी सबैलाई मन्त्रमुग्ध बनायो । तालको विराटता, नीलो पानीको शान्त सौम्यता, वरिपरिका हरिया डाँडाहरू र प्रकृतिको अनुपम सौन्दर्यले मनलाई एक किसिमको आनन्दले भरिदिएको थियो । बेगनासताललाई तुलनात्मक रूपमा पोखराको शान्त र प्राकृतिक स्वरूप जोगाइराखेको तालका रूपमा चिनिदोरहेछन । हामी केही साथीभाइहरू मिलेर तालको किनारमा पौडी समेत खेल्यौं । तालको चिसो पानी र त्यसको निर्मल वातावरणले यात्राको थकान नै बिर्साइदिएको थियो । बेगनासतालको सौन्दर्यलाई मनभरि सजाउँदै गर्दा साँझ पर्न थालिसकेको थियो । त्यसपछि हामी त्यहाँबाट सिधै पोखराको महेन्द्रपुल नजिकैको होटलमा बास बस्न पुग्यौं । 

पोखरा त्यसबेला पनि नेपालको सबैभन्दा सुन्दर शहरमध्ये एक मानिन्थ्यो र महेन्द्रपुल त्यसको प्रमुख व्यापारिक तथा आवागमन केन्द्र थियो । साँझपख महेन्द्रपुल वरिपरि चलिरहेको चिसो मिठो सिरसिरे हावाले मन–मस्तिष्कमा नै स्पर्श गरेको अनुभूति भएको थियो । वरिपरि झिलिमिली बत्तीहरू, व्यस्त सडक, पोखरेली हराभरा वातावरण र पहाडी शहरको सौन्दर्यताले मन अत्यन्तै प्रफुल्लित भएको थियो । त्यही बेला मनमनै मैले प्रेमप्रकाश मल्लको मलाई अत्यन्तै मनपर्ने गीत—“पोखरा त साँच्चिकैको पोखरा नै रैछ...” गुनगुनाएको थिएँ । महेन्द्रपुल क्षेत्रको सेती नदीले बनाएको एसीयाकै सबैभन्दा  गहिरो खोँच पनि अवलोकन ग¥यौं । दिनभरिको लामो यात्रा, नयाँ ठाउँहरूको अनुभव र साथीहरूसँगको रमाइलोले शरीर थाकेको भए पनि मन भने उत्साहले भरिएको थियो । अन्ततः हामीले त्यो रात त्यही महेन्द्र पुल नजिकैको होटलमा विश्राम ग¥यौं, किनकि भोलिपल्ट अझ रोमाञ्चक र अविस्मरणीय गन्तव्यहरू हाम्रो प्रतीक्षामा थिए ।


(२) सराङकोटको सूर्योदयदेखि कुश्माबजार–बाग्लुकालीका–बेनीबजार हुँदै महेन्द्रपुलसम्म

कार्तिक १७ गते बिहान हामीलाई निकै चाँडै उठाइयो । घडीमा बिहानको ४ बज्न नपाउँदै सबै विद्यार्थीहरू तयार भइसकेका थियौं किनभने त्यो दिनको पहिलो गन्तव्य थियो—पोखराको सुप्रसिद्ध सराङकोट डाँडा । अँध्यारोमै बस चढेर माथि पुग्दा चिसो हावाले शरीर नै सिरिङ्ग बनाएको थियो । तर केहीबेरमै पूर्व क्षितिजबाट सुनौलो घाम उदाउन थालेपछि त्यहाँको दृश्यले हामी सबैलाई मन्त्रमुग्ध बनायो । सराङकोट डाँडा साँच्चै स्वर्गको एउटा टुक्रा जस्तै लाग्यो । त्यहाँबाट देखिने पोखरा उपत्यकाको मनोरम दृश्य, तल फैलिएको पोखरा शहर, तालहरू र टाढा क्षितिजमा टल्किरहेका हिमालहरूले आँखालाई मोहनी लगाएको जस्तो भान हुन्थ्यो । विशेष गरी बिहानको पहिलो किरणले सुनौलो बनेको माछापुच्छ्रे हिमालको अनुपम दृश्य शब्दमा बयान गर्न सकिने खाले थिएन, त्यो त केवल अनुभूत गर्न मात्र सकिन्थ्यो । माछापुच्छ्रे मात्र होइन, धौलागिरि हिमशृंखला पनि स्वर्गको एउटा टाकुरा जस्तै देखिन्थ्यो । चिसो–चिसो सिरेटो बतास, उज्यालिँदै गरेको आकाश र हिमालको त्यो अलौकिक दृश्यले जीवनमा नयाँ ऊर्जा थपिएजस्तो अनुभव भएको थियो ।

सराङकोटबाट फर्किएपछि हामी पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारतर्फ लाग्यौं । त्यहाँ रहेको प्रसिद्ध गुप्तेश्वर महादेव गुफाको भ्रमण हाम्रो अर्को गन्तव्य थियो । प्राकृतिक रूपमा बनेको त्यो विशाल गुफा धार्मिक र ऐतिहासिक दृष्टिले समेत अत्यन्त महत्वपूर्ण मानिन्छ । गुफाभित्र प्रवेश गरेपछि त हामी अर्कै संसारमा पुगेजस्तो अनुभूति गर्न थाल्यौं । जता हे¥यो उतै दुलै दुलो, साँघुरा बाटाहरू, अन्धकार र रहस्यले भरिएका प्राकृतिक संरचनाहरू । कुनै दुलोभित्र पस्यो भने कतै हराइएला जस्तो लाग्ने । गुफाभित्रको शीतल वातावरण, पानीका थोपाहरु तप तप झारिरहेका चट्टानहरू र प्रकृतिले हजारौं वर्ष लगाएर बनाएको त्यो अद्भुत संरचनाले हामीलाई आश्चर्यचकित बनाएको थियो । गुप्तेश्वर महादेव गुफाको भ्रमणपछि हामी कुस्मा बजार र वरपरका केही स्थानहरू घुम्दै बाग्लुङतर्फ लाग्यौं ।

बाग्लुङ पुगेपछि हामीले सर्वप्रथम प्रसिद्ध बाग्लुङ कालिका मन्दिरको दर्शन ग¥यौं । जंगलको बिचमा रहेको कालीका भगवतीको  मुख्य मन्दिर पुग्न प्रवेशद्वारबाट भित्र छिरेपछि निकै परसम्म जंगलै जंगलको बाटो हुँदै जानुपथ्र्यो । धेरै भित्र पुगेपछि मात्रै डाँडाको बिचमा रहेको मुख्य मन्दिर आइपुग्यो । मन्दिर परिसरमा रहेको भ्यू–पोइन्टबाट देखिने प्राकृतिक दृश्य अत्यन्तै मनमोहक थियो । पोखरा उपत्यका लगायत वरपरका डाँडाकाँडा, नदी र गाउँहरू त्यहाँबाट अत्यन्त सुन्दर देखिन्थे । शान्त एवं हराभरा पहाडी थुम्कोमा अवस्थित बाग्लुङ कालिकाको दर्शनपछि हामी बाग्लुङ बजार झ¥यौं र त्यहीँ खाना खायौं । बाग्लुङ पुगेपछि मात्र हामीले एउटा रोचक कुरा थाहा पायौं—बाग्लुङ जिल्लाको नक्सा नेपालको नक्सासँग धेरै मिल्दोजुल्दो रहेछ । त्यसैले बाग्लुङलाई “नेपालको छोरा” भन्ने गरिँदो रहेछ । यो तथ्यले हामी विद्यार्थीहरूलाई निकै उत्साहित बनाएको थियो ।

बाग्लुङबाट खाना खाइसकेपछि हाम्रो यात्रा कालीगण्डकी नदीको किनारैकिनार बेनी बजारतर्फ अघि बढ्यो । कच्ची सडकमा धुलो उडाउँदै बस गुडिरहेको थियो र गाडीभित्र “बेनीको बजार, जता माया उतै छ नजर, तीरे मिरे जाली रुमाल” गीत घन्किरहेको थियो । हामी विद्यार्थीहरू रुमाल हल्लाउदै गीतमा नाच्दै, गाउँदै रमाइरहेका थियौं । केही समयपछि हामी म्याग्दी जिल्लाको ऐतिहासिक बेनी बजार पुग्यौं । बेनी त्यसबेला म्याग्दी, उत्तरी बाग्लुङ, मुस्ताङ तथा पश्चिम नेपालका हिमाली र पहाडी क्षेत्रहरूका लागि खच्चडहरु मार्फत सामान ढुवानी र वितरण गर्ने महत्वपूर्ण व्यापारिक जक्सनका रूपमा परिचित थियो । बजारभरि घन्टी बजाउँदै भारी बोकेर हिँडिरहेका खच्चडहरू देख्दा बेनीको पहिचान स्पष्ट झल्किन्थ्यो । त्यहाँ पुगेर हामीले माओवादी जनयुद्धका क्रममा बेनीमा भएको ऐतिहासिक आक्रमण र त्यसले छोडेका प्रभावबारे पनि जानकारी पायौं । युद्धका केही भग्नावशेषहरू अझै देख्न सकिन्थे, जसले नेपालको समकालीन इतिहास बुझ्न मद्दत ग¥यो । बेनीको इतिहास र वातावरणमा रमाउँदै गर्दा साँझ परिसकेको थियो । त्यसपछि हामी पुनः पोखराको महेन्द्र पुल वरिपोरी नै बास बस्ने गरी पोखरा फर्कियौं । तर त्यो रात हाम्रो भ्रमणकै सबैभन्दा हास्यास्पद र सम्झनलायक रात बन्न पुग्यो । पोखरा पुग्दा रातको लगभग १० बजिसकेको थियो । धेरै खोजेपछि बल्ल एउटा होटल भेटियो । होटलमा कोठा त पाइयो तर पानीको सुविधा रहेनछ । राम्रोसँग हातमुख धुन वा फ्रेस हुन समेत पाएनौं । दिनभरको थकानले गर्दा हामीले ‘जे भए पनि सुतौँ’ भनेर कोठामा प्रवेश ग¥यौं । तर कोठाभित्र पुगेपछि अर्को समस्या पो आइलाग्यो—सबैतिर उँडुसै उँडुस! हा हा हा, सुरुमा त हामी हाँस्यौं, तर केहीबेरमै उँडुसले टोकेर हैरान पार्न थालेपछि म लगायत धेरै साथीहरू गाडीमै गएर सुत्यौं । पछि सरहरू आएर अवस्था बुझ्नुभयो र अर्को कोठा खोजेर हामीलाई सारिदिनुभयो । त्यो रातको उँडुस काण्ड हाम्रो भ्रमणको सबैभन्दा रमाइलो र धेरै वर्षसम्म सम्झिइरहने घटना बनेर रह्यो ।


(३) बिन्दबासिनीको दर्शनपछि गोर्खा संग्रालय–सेती घाटी–महेन्द्र गुफा–चमेरो गुफा–डेभीडफल्स–माउन्टेन म्युजीयम हुँदै फेवातालसम्म

कार्तिक १८ गते बिहानै उठेर हामीले सर्वप्रथम पोखराको प्रसिद्ध बिन्दबासिनी मन्दिरको दर्शन ग¥यौं । मन्दिरको शान्त वातावरण र धार्मिक आस्थाले मनमा एक किसिमको आध्यात्मिक ऊर्जा थपिदिएको महसुस भयो । त्यसपछि हामी सेती नदी घाटी अवलोकन गर्न गयौं । पृथ्वीको सतहभित्र गहिरो खोँच बनाएर बग्ने सेती नदीको दृश्य साँच्चै अनौठो थियो । त्यहाँबाट हामी डा. के.आई. सिंह पुल नजिकै रहेको गोरखा मेमोरियल म्युजियम पुग्यौं । यो संग्रहालय नेपाली गोर्खा सैनिकहरूको इतिहास बोकेको अत्यन्त महत्वपूर्ण स्थल रहेछ । नेपाली गोर्खा सैनिकहरुको गौरवशाली इतिहास, युद्धमा प्रयोग भएका हातहतियार, तस्बिरहरू, पदकहरू र वीरताका गाथाहरूले भरिएको त्यो म्युजियम हेर्दा हामी निकै प्रभावित भयौं । विशेष गरी दोस्रो विश्वयुद्धमा वर्मामा जापानसँगको युद्धमा आफ्नो ज्यानको प्रवाह नगरी अदम्य साहस र बहादुरी प्रदर्शन गरेका हाम्रै गोरखाका गजे घलेलाई प्रदान गरिएको भिक्टोरिया क्रसबारे थाहा पाउँदा गर्वले छाती चौडा भएको थियो । 

अझ मलाई त्यो म्युजियममा सबैभन्दा धेरै मन छोएको दृश्य चै त्यहाँ नेपाली महान लोक गाएक झलकमान गन्धर्वले आफ्नै मनका शब्दहरुलाई सारंगिको सुरमा गाएको सैनिकहरुको जीवनमा मेल खाने अमर गीत “हे बरै, आमाले सोधनीन, खै छोरा भन्लील...” भन्ने गीत झलकमान गन्धर्वको फोटो सहित ठुलो ब्यानरमा टाँसीएको रहेछ । र, उहाँलाई नगद पुरस्कार सहित गोर्खा आर्मीहले सम्मान गरिको तस्बिर र त्यो गीतको लिरिक्स एवं भाव अर्थ सबै रहेछ । त्यो दृश्यले मेरो मन गहिरोसँग छोएको थियो । गीतका शब्दहरू पढ्दा नेपाली सैनिकहरूको त्याग, परिवारबाट टाढीनुपर्ने बाध्ता र लडाँइमा आफ्नो जीवनको आहुती दिएका कयौं सैनिकहरुको बास्तवीक कहानी भावनात्मकरुपमा गीत मार्फत उतारिएको छ ।

त्यसपछि हामी लामाचौर र बाटुलेचौर हुँदै पोखराको दुई प्रसिद्ध प्राकृतिक आश्चर्य महेन्द्र गुफा र चमेरो गुफा हेर्न पुग्यौं । गुफाभित्र प्रवेश गरेपछि हामीलाई लाग्यो, मानौँ हामी पृथ्वीको भित्री संसारमा छिरेका छौं । विशेष गरी चमेरो गुफा मेरो लागि निकै रोचक अनुभव बन्यो । गुफाको भित्री भागमा पुगेपछि माथि हेर्दा चमेराहरू नै चमेराहरू देखिन्थे । अझ अन्तिममा बाहिर निस्कने एउटा अत्यन्त साँघुरो दुलो थियो । त्यो दुलोबाट मोटो वा ठूलो जिउडाल भएका मानिस निस्कन कठिन थियो । मेरा धेरै साथीहरू त्यहाँबाट निस्कन नसकेर आएकै बाटो फर्किए । तर म लगायत अरु सानु जिउडालको साथिहरु चै सर्पझैँ सुतुतु त्यो दुलोबाट छिरेर माथि निस्कियौं । बाहिर आएर साथीहरूलाई कुरिरहँदा उनीहरु फर्कीएर आइपुग्दा लगभग दश मिनेटजति लाग्यो ।

यी दुई गुफाको भ्रमणपछि हामी छोरेपाटनस्थित प्रसिद्ध डेभिड फल्स अर्थात पाताले छाँगो हेर्न पुग्यौं । पातले छाँगोको छङ छङ सेतो न सेतो कञ्चन पानी देखेर मन नै शान्त भयो । तर कता हो कताबाट दुलै दुलो त्यत्रो पानी आएर त्यो एउटा छाँगाबाट तल झरेर फेरी दुलै दुलो भित्र भित्र एकाएक भूमिगत हुनेगरी कहाँ कता जान्छ भन्ने प्रश्नले हामी सबैको मनलाई खाइरह्यो । स्थानीय किंवदन्तीअनुसार त्यो पानी पाताल हुँदै अन्तर्लोक पुग्छ रे । प्रकृतिको त्यो अद्भुत चमत्कार देख्दा हामी सबै आश्चर्यचकित भएका थियौं ।

डेभिड फल्स हेरीसकेपछि हामी अब पोखराको सबैभन्दा प्रमुख पर्यटकीय केन्द्र लेकसाइड अर्थात फेवाताल तर्फ जाने योजना बनायौं । तर बाटोमै रहेको इन्टरनेशनल माउन्टेन म्युजियम पनि ऐतिहासिक महत्वको भएकाले भ्रमण गर्ने निर्णय गरियो । विश्वका सबै हिमालहरूको विस्तृत जानकारी, पर्वतारोहणको इतिहास र नेपालको भौगोलिक विविधताबारे जानकारी पाउनु त रोचक थियो नै, तर मलाई सबैभन्दा मन परेको कुरा भने नेपालको सांस्कृतिक विविधताको प्रस्तुति थियो । “नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो” भन्ने पृथ्वीनारायण शाहको भनाइ त्यहाँ सजीव रूपमा देख्न पाइन्थ्यो । विभिन्न जातजातिका पहिरन, भाषा, संस्कृति र जीवनशैलीलाई जस्ताको तस्तै प्रस्तुत गरिएको थियो । विशेष गरी मगरनी नानीले आफ्नै परम्परागत पोशाकमा रक्सी पारिरहेको कलात्मक मुर्ती मलाई अत्यन्त यथार्थपरक र आकर्षक लागेको थियो । त्यती मात्र हैन कसैले मकैभुटीरहेको, कसैले सेलरोटी पकाईरहेको, परम्परागत भाडाकुडा, ढीकी, जाँतो, जस्ता संरक्षण गरिनुपर्ने महत्वपूर्ण पक्षलाई प्रस्तुत गरिएको देख्न पाउदा खुशी लागेको थियो । 

अन्ततः इन्टरनेशनल माउन्टेन म्युजियम भ्रमण सकिएपछि हामी पोखराको मुटु फेवाताल पुगेका थियौं । अफ्नै विराटताले सौम्य फेवातालको बीचमा रहेको तालबाराही मन्दिरतर्फ डुङ्गा चढेर जाँदा हाम्रो उत्साह झन बढ्यो । हामी चढेको डुङ्गा फेवातालको बीचमा पुगेपछि हामी सबै साथीहरूले एकै स्वरमा गीत गाउन थाल्यौं—“फेवातालमा साइली डुंगा सलल...” । डुङ्गामा बसेर फेवातालको चिसो पानीमा हात छिराएर एकअर्कालाई पानी छ्याप्ने, हाँस्ने र रमाउने क्रम धेरैबेर चल्यो । फेवातालको पानीभित्र माछापुच्छ्रे हिमालको चुचुरो टल्कीरहेको थियो, त्यो देखेर मलाई पुनः प्रमे प्रकाश मल्लको “पोखरा त साचिकै को पोखरा नै रैछ, माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ” भन्ने गीत गुनगुनाउन मन लाग्यो । अन्ततः तालको बीचमा रहेको तालबाराही मन्दिर पुगेर मन्दिरको दर्शन ग¥यौं । फेवातालको शान्त र सौभ्य वातावरण, वरिपरिका हरिया डाँडाहरू र साथीहरूसँग बिताएको त्यो क्षण आज पनि मेरो स्मृतिमा उत्तिकै ताजै छ । तालबाराहीको दर्शनसँगै हाम्रो पोखरा भ्रमणको अध्यायहरु लगभग सम्पन्न भइसकेको थियो, तर यात्राको रोमाञ्चकता भने अझै बाँकी छँ दै थियो ।


(४) पोखराबाट वालिङ–सेतीवेणी–पाल्पा–बुटवल हुँदै लुम्बिनीसम्म

पोखराका प्रमुख ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरूको अवलोकन गरिसकेपछि हाम्रो शैक्षिक भ्रमणको अर्को अध्याय सुरु भयो । फेवातालको मनमोहक दृश्य र तालबाराही मन्दिरको दर्शनलाई स्मृतिमा सजाउँदै हामी त्यहाँबाट स्याङ्जातर्फ लाग्यौं । हाम्रो गन्तव्य थियो स्याङ्जाको प्रसिद्ध वालिङ बजार । पहाडी भेगको पुरानो र ऐतिहासिक व्यापारिक केन्द्रका रूपमा परिचित वालिङ बजार त्यतिबेला पनि निकै चहलपहलयुक्त स्थान थियो । सिद्धार्थ राजमार्गको महत्वपूर्ण बिन्दु मानिने वालिङ बजार पुग्दासम्म साँझ परिसकेको थियो । दिनभरको यात्राले हामी थाकिसकेका थियौं, त्यसैले त्यो रात वालिङ बजारमै बास बस्ने निर्णय गरियो । होटलमा सामान राखेपछि हामीले बजार वरिपरि केहीबेर घुम्यौं । अन्ततः भोलिपल्टको यात्राको कल्पना गर्दै हामी सबैजना सुत्यौं । 

कार्तिक १९ गते बिहान सबेरै उठेर हामी वालिङबाट सिधै सेतीवेणी कालीगण्डकीतर्फ लाग्यौं । गुल्मी, पर्वत र स्याङ्जा जिल्लाको संगमस्थलका रूपमा परिचित सेतीवेणी धार्मिक तथा प्राकृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थान रहेछ । त्यहाँ पुगेर हामीले संसारकै सबैभन्दा ठूलो शालिग्राम शिला अवलोकन गर्ने अवसर पायौं । हिन्दू धर्ममा शालिग्रामलाई भगवान विष्णुको प्राकृतिक स्वरूपका रूपमा पूजा गरिन्छ । विशाल शालिग्राम शिलाको सामु उभिँदा हामी सबै अचम्मित भएका थियौं । त्यहाँ पुगेपछि मात्र हामीले अर्को रोचक कुरा पनि थाहा पायौं—विश्वमा पाइने असली शालिग्राम ढुंगा कालीगण्डकी नदीमा मात्र पाइँदो रहेछ । सेती नदी र कालीगण्डकी नदीको संगमस्थलमा रहेको त्यो पवित्र वातावरणले मनमा विशेष श्रद्धा र शान्तिको अनुभूति गराएको थियो । धार्मिक महत्व, प्राकृतिक सौन्दर्य र नदीहरूको संगमले सेतीवेणीलाई साँच्चै अनुपम स्थल बनाएको पायौं ।

सेतीवेणीको भ्रमण सम्पन्न भएपछि हामी पुनः वालिङ बजार फर्कियौं । वालिङ बजारमा खाना खाएपछि हाम्रो यात्रा पाल्पातर्फ मोडियो । पहाडका घुमाउरा बाटाहरू पार गर्दै हामी सिद्धार्थ राजमार्ग हुँदै नेपालको पश्चिम भागको प्रख्यात बटौलीबजारतर्फ लाग्यौं । यात्राभर बसभित्र रमाइलो वातावरण कायम थियो । “बटौलीको बस, हरन बजाउँदै घुम्ती मोडेर, नजाउ लजाउँदै मलाई छोडेर” भन्ने गीत बज्दा हामी साथीहरू गीतसँगै रमाउँदै, नाच्दै र गुनगुनाउँदै यात्रा गरिरहेका थियौं । त्यतिबेला यात्रा आफैंमा एउटा उत्सव जस्तो लाग्थ्यो । पहाडी सडक, हरियाली वातावरण, सतत सलल बगीरहेका नदीका उत्ताउला छालहरु र गाडीको गीतको लयले यात्रालाई अझ रोचक बनाइरहेको थियो । साँझसम्म हामी बुटवल आइपुग्यौं । त्यस दिनको बास बटौली बजारमा बस्ने व्यवस्था मिलाइयो । खाना खाइसकेपछि हामीले बटौली बजारको साँझको चहलपहल अवलोकन ग¥यौं । झिलिमिली बत्तीहरूले सजिएको बजार, यात्रुको आवतजावत र शहरको रौनक हेर्दै हामी विश्रामका लागि सुत्न गयौं ।

कार्तिक २० गते बिहानै उठेर हामीले सर्वप्रथम बटौली बजारको ऐतिहासिक महत्वबारे जानकारी प्राप्त ग¥यौं । त्यसपछि बुटवलको प्रसिद्ध मणिमुकुन्द सेन पार्क अर्थात फूलबारी भ्रमण गर्न पुग्यौं । हरियालीले भरिएको पार्क, सुन्दर बगैंचा र शान्त वातावरणले मनलाई निकै आनन्दित बनायो । त्यहाँबाट हामी बुटवलको अर्को महत्वपूर्ण ऐतिहासिक स्थल जितगढी किल्लातर्फ लाग्यौं । नेपाली इतिहासमा अत्यन्त महत्वपूर्ण मानिने त्यो किल्ला त्यही स्थान हो जहाँ कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले एङ्ग्लो–नेपाल युद्धका क्रममा ब्रिटिश सेनाको सामना गर्दै नेपाली भूमि जोगाएको थियो । त्यहाँ पुगेर शिक्षकहरूले त्यस युद्धको इतिहास सुनाउँदा हामी सबै गौरवान्वित भएका थियौं । वीरताको त्यो गाथा केवल इतिहासको पाठ मात्र हैन बरु राष्ट्रिय स्वाभिमानको जीवित प्रतीक पनि थियो ।

बुटवलको ऐतिहासिक भ्रमण सम्पन्न भएपछि हामी सिद्धार्थनगर भैरहवा हुँदै गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्यौं । लुम्बिनी पुग्नेबित्तिकै मनमा एउटा विशेष अनुभूति जाग्यो । जीवनमा पहिलो पटक पुगेको त्यो स्थान मलाई स्वर्गको कुनै पवित्र भूभाग जस्तै लाग्यो । बुद्धको जन्मभूमिमा पुगेर प्राप्त भएको आत्मिक शान्तिलाई यहाँ शब्दमा व्यक्त गर्न असम्भव छ । तर, विराट क्षेत्रफलमा फैलिएका विभिन्न कलात्मक शैलीमा निर्माण गरिएका गुम्बाहरू, मन्दिरहरू र शान्त वातावरणले मनलाई गहिरो रूपमा स्पर्श गरेको थियो । हामीले मायादेवी मन्दिरको दर्शन ग¥यौं, जहाँ गौतम बुद्धको जन्म भएको मानिन्छ । तर मलाई सबैभन्दा विशेष लागेको वस्तु थियो—सम्राट अशोकले करिब २२५० वर्षअघि स्थापना गरेको अशोक स्तम्भ । त्यो स्तम्भ बुद्धको जन्मस्थलको ऐतिहासिक प्रमाणका रूपमा आज पनि उभिएर बसेको छ । इतिहासको त्यति पुरानो प्रमाण आफ्नै आँखाले देख्न पाउँदा म अत्यन्त उत्साहित भएको थिएँ । बुद्धको जीवन, शान्तिको सन्देश र मानव सभ्यतामा उहाँले पु¥याएको योगदानबारे त्यहाँ धेरै कुरा जान्न पाइयो । लुम्बिनीको शान्त वातावरणले मनलाई अद्भुत आनन्द, आध्यात्मिक शक्ति र श्रद्धाले भरिदिएको जस्तो अनुभुति भएको थियो । यसरी लुम्बिनीको धार्मिक, सास्कृतिक, आध्यात्मिक एवं ऐतिहासीक महत्व बारे गहीरो ज्ञान हाँसील गरीसकेपछि हाम्रो लुम्बिनी भ्रमणको अध्याय पनि लगभग सकियो ।


(५) लुम्बिनीबाट भैरहवा–बुटवल–गोरुसिङ्गे–भालुबाङ–बर्दघाट–गैडाकोट हुँदै नारायणघाटसम्म

लुम्बिनी भ्रमण सम्पन्न भएपछि हामी भैरहवा फर्कियौं र त्यहाँ खाना खायौं । त्यसपछि त्यहाँबाट बस चढेर हाम्रो यात्रा नारायणघाटतर्फ अघि बढ्यो । बुटवलबाट निस्केर हामी कपिलवस्तुको गोरुसिङ्गे, दाङ जिल्लाको भालुबाङ, नवलपरासीको बर्दघाट र नवलपुरको गैँडाकोट हुँदै नारायणघाटतर्फ लाग्यौं । यो यात्रा महेन्द्र राजमार्ग अर्थात पूर्व–पश्चिम राजमार्ग हुँदै भइरहेको थियो । यसरी पहाडका कयौं घुम्तीहरू पार गरेर फराकिलो तराई क्षेत्रमा प्रवेश गर्दा नेपालका भौगोलिक विविधताहरू प्रत्यक्ष देख्न पाइरहेका थियौं । दिनभरको लामो यात्रापछि जब हामी नारायणघाट आइपुग्यौं, रात परिसकेको थियो । त्यसैले त्यो दिनको बास नारायणघाटको पुलचोक वरिपरि बस्ने व्यवस्था गरियो ।

दिनभरको यात्रा, भ्रमण र अनुभवले शरीर थकित भए पनि मन भने नयाँ ज्ञान र सम्झनाले भरिएको थियो । खाना खाइसकेपछि हामीले नारायणघाटको साँझको रमझम केहीबेर नियाल्यौं । नारायणी नदी किनारको त्यो व्यस्त शहर त्यसबेला पनि मध्य नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित थियो । यात्राको थकानका कारण धेरैबेर बाहिर बरालीन मन लागेन । भोलिपल्ट सौराहा, चितवन राष्ट्रिय निकुञ्ज, थारु संस्कृति, हात्ती प्रजनन केन्द्र, हेटौंडा, दामन हुँदै काठमाडौं पुग्ने योजना भएकोले हामी उत्साहका साथ भोली विहानको प्रतीक्षा गर्दै निद्राको काखमा हरायौं ।


(६) नारायणघाटबाट सौराहा–थारु सास्कृतिक नगर–हात्ति प्रजनन केन्द्र हुँदै हेटौडा बजारसम्म

२१ गते बिहान सबेरै उठेर हामी योजना अनुसार सौराहा पुग्यौँ । सौराहा आफैंमा एउटा प्राकृतिक एवं सास्कृतिक विविधताले भरिपूर्ण सुन्दर नगरी हो । सौराहामा सबैभन्दा पहिले थारू गाउँ र थारू समुदायको संस्कृति नजिकबाट अवलोकन गर्ने अवसर मिल्यो । उनीहरूको पहिरन, रहनसहन, सांस्कृतिक विविधता तथा प्रकृति संरक्षणमा पुर्याएको योगदानले मलाई गहिरो प्रभाव पार्यो । विशेष गरी थारू युवतीहरूले आफ्नै मौलिक भेषभूषामा सजिएर “सखी हे, गीत गावैं, झुमरा नाचे, दुःख–सुख सब भुलियै” गीत गाउँदै प्रस्तुत गरेको सांस्कृतिक नृत्य अत्यन्त आकर्षक र अविस्मरणीय थियो । त्यसपछि हामी राप्ती नदी पार गरेर चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको हात्ती प्रजनन केन्द्र पुग्यौँ । म लगायत हामी केही उट्पट्याङ गरीरहने साथीहरू त राप्ती नदीमा पौडी समेत खेल्यौं । जीवनमा पहिलो पटक हात्तीलाई यति नजिकबाट देख्दा अत्यन्त उत्साहित भएको थिएँ म । केवल किताबमा पढेको वा अरूबाट हात्ती त घर जत्रै हुन्छ भन्ने मात्र सुनेको थिए, जीवनमा पहिलो पटक हात्ति देख्न पाउँदा त दंगै परियो । हात्ती त एकदमै चेतनशील प्रणी रहेछ, मानिसको भावना समेत बुज्न सक्ने, गन्ध टाढैबाट थाहा पाउन सक्ने । त्यहाँ धेरै पोथी हात्तिहरु थिए जसलाइ जंगली भाले हात्तीद्धारा क्रस गराइने रहेछ । यसरी चितवन राष्ट्रिय निकुञ्ज र विशेष गरी हात्ती बारे बहुमूल्य जानकारी प्राप्त गरिसकेपछि हामी त्यहाँबाट हेटौंडातर्फ लाग्यौँ ।

हेटौंडा पुगेपछि लाग्यो एउटा बिल्कुलै फरक संसारसँग परिचित हुने अवसर मिल्यो । त्यतिबेला हेटौंडा नेपालको प्रमुख औद्योगिक केन्द्र मात्र नभई व्यापारिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण नाका मानिन्थ्यो । अर्थात भारतसँगको बिरगञ्ज बोडरबाट हरेक सामान आयात निर्यात गर्ने देशकै प्रमुख जक्सन थियो हेटौंडा बजार । सबैभन्दा पहिले हामीले शहीद स्मारक पार्क भ्रमण गर्यौँ । देशका लागि जीवन बलिदान गर्ने महान शहीदहरूको सम्मानमा निर्माण गरिएको त्यो पार्क अत्यन्त प्रेरणादायी लाग्यो । त्यहाँ रहेका विभिन्न शहीदहरूको सालिकमध्ये विशेष गरी वीर भक्ति थापा को प्रतिमा देख्दा मन गर्वले भरिएको थियो । तर मलाई सबैभन्दा बढी आकर्षित गरेको पक्ष भने पार्कभित्र रहेको सानो तर रमणीय चिडियाखाना थियो । बाँदर, चितुवा, मृग, खरायो, लोखर्के, मयूर, अस्ट्रिच, गोही, कछुवा, हाँस, माछा लगायतका धेरै जीवजन्तुहरू त्यहाँ अवलोकन गर्न पाइयो । ठुला ठ्ला सालका रुखहरू, हरियालीले भरिएको वन, सुन्दर बगैँचा, वाटर फाउन्टेन र खुला चौरहरूले त्यो स्थानलाई झनै मनमोहक बनाएको भएर त्यस पार्कलाई मनले छाड्नै मानेको थिएन । म त यति रमाएको थिएँ कि साथीहरू अगाडि बढिसकेको पनि थाहा पाएनछु । केहीबेर त म पार्कभित्र झन्डै हराएको जस्तै भएँ, पछि साथीहरू नै मलाई खोज्दै आए ।

शहीद स्मारक पार्क घुमीसकेर हामी त्यहाँबाट हेटौंडा औद्योगिक क्षेत्र पुग्यौँ । हामीले दैनिक प्रयोग गर्ने चिनी, चियापत्ती, मन्जन, साबुन वा चुरोट लगायतका विभिन्न सामग्रीहरू ठूला उद्योगहरूमा कसरी उत्पादन गरिँदा रहेछन भन्ने प्रत्यक्ष देख्ने अवसर मिल्यो । ठुलो ठुलो मेसिनहरू, उत्पादन प्रक्रिया र औद्योगिक वातावरण देख्दा म जस्तो ग्रामीण परिवेशको विद्यार्थीहरूलाई त्यो संसार एकदमै नयाँ र रोमाञ्चक लागिरहेको थियो । वास्तवमै आफूँ कुवाको भ्यागुतो नै रहेछु भन्ने अनुभूति त्यहीँ भएको थियो मलई । यसरी हेटांैडा भ्रमण गरिसक्दासम्म लगभग दिन ढल्कीन लागिसकेको थियो, त्यसैले हामीले हेटौंडा भ्रमणको अध्ययाय यही समापन गरेर नेपालकै पुरानो बाइरोडको बाटो अर्थात त्रिभुवन राजमार्ग हूँदै काठमाडौंतर्फ मोडीने योजना बनायौं । 


(७) हेटौंडाबाट बाइरोडको बाटो–दामन–टिस्टुङ–पालुङ–नौबीसे–थानकोट हुँदै काठमाडौंसम्म

अन्तत हामी हाम्रो योजना अनुसार हेटौंडाबाट नेपालको ऐतिहासिक बाइरोड मार्ग हुँदै काठमाडौंतर्फ प्रस्थान गायौं । हेटौंडाबाट दामन, टिस्टुङ, पालुङ, नौबिसे तर्फ अघि बढ्दा साँझ परिसकेको थियो । दामनमा केहीबेर रोकिएर त्यहाँको अनुपम प्राकृतिक सौन्दर्य अवलोकन गर्यौँ । दामन टावरमा चढेर टेलिस्कोपमार्फत नेपालको हिमश्रृङ्खलाहरू हेर्ने अवसर मिल्यो, जुन अत्यन्त रोमाञ्चक अनुभव थियो । रात परेपछि हामी गाडीमा “बाइरोडको बाटोमा धुलो उडाउँदै, गाडी गुडाउँदै...” गीत घन्काउँदै रमाइलो गर्दै काठमाडौंतर्फ लाग्यौँ । नौबिसे पुगेर खाजा खाएर थानकोटको उकालो पार गर्दै अन्ततः गोंगबु बसपार्क पुग्यौँ र त्यहीँ नजिकैको होटलमा बास बस्यौँ । होटलको झ्यालबाट बाहिर हेर्दा काठमाडौंको झिलिमिली बत्ती, सडकभरि लर्कोलागेर चलीरहेका साना–ठूला सवारीसाधन, कानै खानेगरी बज्ने गाडीका हर्न, राति अबेरसम्म पनि मानिसहरूको आवतजावत र बसपार्क वरिपरिको चहलपहलले म जस्तो गाउँबाट आएका विद्यार्थीहरूलाई पूर्णतः नयाँ संसारमा पुगेजस्तो अनुभूति गराइरहेको थियो । चारैतिरको भीडभाड, दौडधुप र कहिल्यै नसुत्ने जस्तो देखिने शहरको गतिशील वातावरणले मेरो मन कौतुहलता, उत्साह र आश्चर्यले एकैसाथ भरिएको थियो । हामी धेरै थाकेर आएको हुनाले मनमा अनेक कौतुहुलता सहित सुत्न गयौं ।


(८) बालाजु बाईसधाराबाट स्वयम्भू स्तुपा–हनुमान ढोका हुँदै पशुपतिनाथको दर्शन

भोलीपल्ट अर्थात २२ गते बिहानै उठेर हामीले काठमाडौंको विभिन्न ठाँउको भ्रमण एवं हाम्रो समग्र शैक्षिक भ्रमणकै अन्तिम समापन गर्ने योजना अनुसार सबैभन्दा पहिले नजिकै रहेको बालाजु बाइसधारा पुगेर त्यहाँको रमणीय वातावरण अवलोकन गर्यौँ । बिहानको शीतल हावा, हरियाली बगैचा, फुलहरुको सुभास, चराहरुको चीरबीर आवाज मात्र हैन सास्कृतिक र ऐतिहासिक महत्व बोकेको त्यो बालाजु बाईसधारा क्षेत्र निकै आकर्षक लागेको थियो । त्यहाँ रहेको  बाईस वटै ढुंगेधाराबाट कल कल कल मिठो पानी झरीरहेको थियो । तब मैले प्रेमप्रकाश मल्लको एउटा गीत सझिएको थिए– “बालाजु बाईस धारामा कति मिठो पानी, नारायणहिटी दरबारमा हाम्रा राजा रानी” । 

बालाजु बाईसधारा घुमीसकेपछि हामी सिधै स्वयम्भूनाथ तर्फ लाग्यौँ । हजारौं सिडी चढेपछि मात्र माथि डाँडामा पुगीयो । स्वयम्भूको डाँडामा पुगेर त्यहाँ रहेका बाँदरहरूसँग जिस्कीयौं । मलाई सबैभन्दा रमाइलो लागेको चै त्यहाँ एउटो मध्यम गोलाकार पानीको पोखरीको बचिमा एउटा वाटर फाउन्टेन र त्यसको बिचमा गौतम बुद्धको मुर्ती थियो र त्यो मुर्तिको खुट्टानिर एउटा सानो गोलाकार कचौरा जस्तो भाडो थियो । जसले सिक्का पैसा बाहीर बारबाट फालेर त्यो कचौरामा छिराउन सक्छ त्यसले जे मागेपनि पुरा हुन्छ भन्ने विश्वासले त्यो कचौरामा सिक्का पैसा फाल्ने मानिसहरुको भीड थियो । मैले पनि पाँच वटा सिक्का फालेको थिए तर एउटा पनि कचौरामा पार्न सकिन । यो एउटा खेल जस्तै लागेकोले रमाइलो भएको थियो । डाँडाको माथिबाट काठमाडौं उपत्यकालाई नियाल्दा म जस्तो गाउँबाट पहिलो पटक राजधानी पुगेको विद्यार्थीलाई त्यो दृश्य अविश्वसनीय लागिरहेको थियो । जता हेरे पनि कंक्रीट नै कंक्रीटको घरै घर, सडक, सवारीसाधन र मानव गतिविधिले भरिएको विशाल उपत्यका देख्दा म निकै दंग परेको थिएँ । स्वयम्भूको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वबारे गुरुहरूबाट सुन्दै त्यहाँको शान्तिपूर्ण वातावरणलाई मनभरि सजाएर हामी तल झर्यौँ ।

त्यसपछि हामी कलङ्की हुँदै बसन्तपुर दरबार क्षेत्र र हनुमानढोका दरबार परिसर पुग्यौँ । नेपालको इतिहासका अनेक उतारचढाव, शाह र राणा कालका घटनाहरू तथा पुराना दरबारहरूको भव्यता प्रत्यक्ष देख्न पाउँदा निकै उत्साहित भएका थियौँ । त्यहाँ रहेका ऐतिहासिक दरबार, मन्दिर र संग्रालय हेर्दै हिँड्दा इतिहासका पानाहरू जीवित भएर आँखाअगाडि उभिएका जस्ता लागिरहेका थिए । विशेष गरी जंगबहादुर राणाले मच्चाएको नेपाली इतिहासको अत्यन्त चर्चित एवं दुःखान्त घटना कोतपर्वसँग सम्बन्धित स्थान देख्दा त्यस घटनाको गम्भीरता अझ स्पष्ट रूपमा बुझ्ने अवसर मिल्यो । बसन्तपुरको ऐतिहासिक वातावरणले हामीलाई नेपालको गौरवशाली अतीतसँग प्रत्यक्ष साक्षात्कार गराइरहेको थियो ।

बसन्तपुर भ्रमणपछि हामीले हाम्रो सम्पूर्ण भ्रमणकै अन्तिम गन्तव्यका रूपमा पशुपतिनाथ मन्दिरको दर्शन गर्ने योजना अनुसार गौशाला पुग्यौँ । विश्व सम्पदा सूचीमा सूचीकृत तथा हिन्दू धर्मावलम्बीहरूको महान तीर्थस्थल पशुपतिनाथको दर्शन गर्ने अवसर पाउँदा मनमा छुट्टै आनन्द र श्रद्धाको भावना जागेको थियो । मन्दिर परिसर, बागमती नदीको किनार, त्यहाँको धार्मिक वातावरण र आध्यात्मिक ऊर्जा अनुभव गर्दै हामीले पशुपतिनाथको दर्शन गर्यौँ । मलाई अझ भावुक बनाएको चै त्यहाँ हरेक घन्टा घन्टामा नयाँ लास जलाइने आर्यघाटबाट निस्कीरहेको धुवाको मुस्लोले हो । त्यो देखेपछि जो कोही मानिसले जिन्दगी भनेको साच्चीकै दुई दिनको घाम छाया रहेछ, मरेर लानु केही पनि छैन रहेछ, त्यसैले तेरो र मेरो भन्नु सबै ब्यर्थ रहेछ भन्ने कुरा जो कोहीले बोध गर्न सक्ने कुरा हो । पशुपतीनाथको दर्शन गरीसक्दासम्म दिउँसोको लगभग ३ बजिसकेको थियो । तब काठमाडौंका ती प्रमुख धार्मिक, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको अवलोकन गरेपछि हाम्रो शैक्षिक भ्रमणको औपचारिक कार्यक्रम लगभग सम्पन्न भईसकेको थियो । 


(९) अन्तिमा पशुपतिनाथको दर्शन गरेर हाम्रो भ्रमण समापन गरी थानकोट–नौबिसे–मलेखु–मुग्लीन–आबुखैरेनी–गोरखा–घ्याम्पेसाल हुँदै आरुघाटसम्म

पशुपतिनाथ दर्शनपछि हामीले चिया–खाजा खायौँ र अन्ततः घर फर्किने तयारी गर्यौँ । सबै साथीहरू बसमा चढ्यौँ । चालक दाइले गाडी सरर कुदाउनुभयो । गाडीभित्र रमाइला गीतहरू बजिरहेका थिए । कोही गीत गाउँथे, कोही झ्यालबाहिरको दृश्य हेर्थे, कोही यात्राका रमाइला प्रसङ्ग सम्झेर हाँस्थे । त्यो दिन अर्थात कार्तिक २२ गते कुकुर तिहार परेको थियो । भोलिपल्ट लक्ष्मीपूजा भएकाले जसरी पनि त्यही २२ गते रातीसम्ममा घर पुग्ने हाम्रो योजना थियो । त्यसैले डाइभर दाईले पनि ननस्टप थानकोट, नौबिसे, मलेखु, मुग्लिन, आबुखैरेनी, गोरखा, घ्याम्पेसाल, ओख्ले अनि टारीफाँट हुँदै आरुघाट बगैचाको भिमोदय स्कुल गेटनिर पुगेर मात्र गाडी रोक्नुभयो । त्यतिखेर लगभग रातिको १० बजिसकेको थियो ।

यसरी कार्तिक १६ गते सुरु भएको हाम्रो सात दिने शैक्षिक भ्रमण कार्तिक २२ गते राति १० बजेसम्मा सफलतापूर्वक सम्पन्न भयो । तर आरुघाट आइपुगे पनि हामी सबै विद्यार्थीहरुो घर वरीपरीका अन्य विभिन्न गाँउमा भएकोले हाम्रो यात्रा सकिएको थिएन । म र मेरा गाँउले साथी शैलेन्द्र लामिछाने सबै साथिभाइ र सरहरुलाई धन्यवाद तथा तिहारको शुभकामा दिएर आफ्नो झोला बोकी त्यहाँबाट हिँड्दै आफ्नो गाउँ अल्कटअर तर्फ लाग्यौँ । घर पुग्न अझै करिब एक घण्टा पैदल यात्रा गर्नुपर्ने थियो । रातको शान्त वातावरणमा सात दिनका सम्झनाहरू मनमनै दोहोर्याउँदै हामी घर पुग्यौँ । घर पुग्दा लगभग रातको ११ बजिसकेको थियो । धेरै दिनको यात्रा र थकानले शरीर गलिसकेको थियो, त्यसैले भोलिपल्ट बिहान ८ बजेसम्म मस्त निदाइयो ।

आज पनि त्यो शैक्षिक भ्रमण सम्झँदा मनमा अनगिन्ती तस्बिरहरू एकपछि अर्को गर्दै झल्झली आउँछन– गोरखा कालिकाको दर्शन, घाँसी कुवाको महत्व, बेगनास तालको सौन्दर्य, सराङकोटबाट देखिएको सूर्योदय,  कुश्मा बजार, गुप्तेश्वर महादेव गुफाको रहस्य, बागलुङ कालिकाको दर्शन, बेनी बजारको इतिहास, बिन्दबासीनि मिन्दीर, गोर्खा म्युजियम, महेन्द्र गुफा, चमेरो गुफा, डेभीड फल्स, माउन्टेन म्युजियम, फेवाताल, वालीङ बजार, सेतीबेणीको धार्मिक महत्व, बटौली बजार, बटौलीको मणीमुकुन्दशेन पार्क, जीतगढी किल्ला, लुम्बिनीको अनुपम शान्ति, चितवनको प्राकृतिक एवं सास्कृतिक वैभव, हेटौंडाको औद्योगिक संसार र शहीद स्मारक पार्क, दामनबाट देखिने हिमाली दृश्य, बाइसधाराको सुन्दरता, स्वयम्भूको डाँडा, बसन्तपुरको इतिहास र पशुपतिनाथको आध्यात्मिक अनुभूति । यी सबै अनुभवहरूले हाम्रो ज्ञानको भण्डार फराक मात्र बनाएको थिएन, नेपालको भूगोल, इतिहास, संस्कृति, प्रकृति र विविधताप्रति गहिरो सम्मान पनि जागृत गराएको थियो ।

समग्रमा, हाम्रो २०६४ सालको एसएलसी ब्याचका विद्यार्थीहरुको शैक्षिक भ्रमण केवल घुमफिर मात्र थिएन, त्यो त– सिकाइ, अनुभव, उत्साह, मित्रता, रमाइलो, खोज र जीवनलाई फराकिलो दृष्टिले हेर्न सिकाउने एउटा महत्वपूर्ण अध्याय सावित भयो । यस्तो अविस्मरणीय भ्रमण सफलतापूर्वक सम्पन्न गराउन अहोरात्र खटिनुहुने सम्पूर्ण गुरुजनहरू, विशेष गरी श्याम प्रसाद लामिछाने सर, छन्द प्रसाद खनाल सर, मनप्रसाद बन्जारा सर, कुलप्रसाद खनाल सर र लक्ष्मीकान्त खनाल सर लगायत अन्य शिक्षकहरू, बस चालक तथा सहचालक र मेरा सम्पूर्ण सहपाठी साथीहरूप्रति म आज पनि हृदयदेखि कृतज्ञ छु । जीवनका धेरै स्मृतिहरूमध्ये यो सात दिने यात्रा सधैँ मेरा लागि विशेष, जीवन्त र अविस्मरणीय स्मृतिका रूपमा रहिरहनेछ ।

---भीम प्रसाद न्यौपाने


त्यतिखेर क्यामेरा नभएकोले तस्बिरहरु खिच्न पाइएन । त्यसैले मैले सम्झनाको लागि भ्रमण गरिएका हरेक ठाँउहरुको एक एक तस्बिर खोजेर यहाँ तल डकुमेन्टेसन गरिराख्ने प्रयास गरेको छु । 

































Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message