रत्न राज्य लक्ष्मी क्याम्पस (आर आर क्याम्पस) द्वारा आयोजित गोदावरी बनभोज (Picnic) कार्यक्रम आज पनि मनमा एक रमाइलो सम्झनाको रूपमा रहिरहेको छ । विभिन्न विषयका साथिहरु उत्साहसहित भेला भएको त्यो दिन गोदावरीको हरियाली, शान्त वातावरण र खुला आकाशले पिकनिकलाई झनै खास बनाएको थियो । खानपान, खेलकुद, गीतसंगीत सहितको त्यो खुला माहोलले हामीलाई के स्मरण गराएको थियो भने कहिलेकाँही बन्द कक्षा कोठा र किताबी ठेलीभन्दा बाहीर निस्केर प्रकृतिको शरणमा खुला आकाशमुनी मनोरममा डुब्नु पनि बौद्धिक विकासको लागि अत्यन्तै आवश्यक पक्ष रहेछ । साथिभाई मिलेर गरिएको छोटो पदयात्रा, घुमघाम, खाईपीइ र प्रकृतिसँग जोडीन पाएको विशेषपलहरुले गर्दा बनभोज वास्तबमै बनभोज जस्तै भएको थियो । अझ, साथिभाईसँग खिचिएका तस्बिरहरु र साथमा बटुलिएका मीठा सम्झनाहरूले पिकनिकलाई एकदमै सफल र हृदयस्पर्शी बनाएको थियो ।
Please Keep Calm, Smile And Take a Photo
Because, photograph is the pause button of life
Dear Nature, why R U so amazing? Can I kiss you?
I found, Nature always wears the colors of the soul
Insights and Growth: My Role as a National Observer in CA Election 2070
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) बाट २०७० सालको संविधानसभा निर्वाचनका लागि राष्ट्रिय पर्यवेक्षका रूपमा काम गर्न पाउनु मेरो जीवनको एक महत्वपूर्ण जिम्मेवारी र चुनौतीपूर्ण अनुभव सावित भएको थियो । देशको लोकतान्त्रिक प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन योगदान पुर्याउनुपर्ने भूमिकाले गर्दा यसको दायित्व र सतर्कता गम्भिर थियो । निर्वाचन अवधिभर (निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पश्चात) देशका विभिन्न ठाउँहरूमा पर्यवेक्षणको शिलशिलामा पुग्दा देखिएका चुनौती, अवरोध र कार्यान्वयनका कठिनाइहरूले कामको गम्भिरता पुष्टि भएको थियो ।
निर्वाचन प्रक्रियालाई नजिकबाट अवलोकन गर्न पाउनु मेरो लागि ठूलो सिकाइ थियो । मतदान केन्द्रदेखि मतगणनासम्मकोे सम्पूर्ण संयन्त्र, सुरक्षाको व्यवस्था, कर्मचारीहरूको समन्वय र मतदाताको उत्साहपूर्ण सहभागिता देखेपछि थाहा भयो देशको लोकतान्त्रिक अभ्यास कति जटिल प्रक्रियाको सामना गरेर हुने रहेछ । यस क्रममा स्थानीय समुदायसँगको संवाद, विभिन्न पृष्ठभूमिकाका नागरिकसँगको भेटघाट र उनीहरूको लोकतन्त्रप्रतिको आशा–अपेक्षाले मेरो स्वयंको दृष्टिकोणलाई अझै व्यापक बनायो ।
यो यात्राले मलाई केवल निर्वाचनको प्राविधिक पर्यवेक्षण मात्र सिकाएन, यसले लोकतान्त्रिक मूल्य, नागरिक उत्तरदायित्व र पारदर्शिताको वास्तविक अर्थ बुझ्न पनि मद्दत गर्यो । निर्वाचन पूर्वको दिनदेखि निर्वाचनपश्चातको अन्तिम पर्यवेक्षण प्रतिवेदनसम्मको सम्पूर्ण प्रक्रियामा सकृय सहभागिताले मेरो सिकाई, क्षमता र प्रोसेसनाजिललाई थप सुदृढ बनायो । समग्रमा, संविधानसभा निर्वाचन २०७० मा राष्ट्रिय पर्यवेक्षकका रूपमा बिताएको समय मेरो व्यक्तिगत तथा प्रोफेसनल विकासमा एक अमूल्य सिकाइ र प्रेरणादायी अध्यायको रूपमा सदैव रहिरहने छ ।
दाइभाउजुसँगको मनकामना यात्रा : मिठो सम्झनाहरू
तिहार बिदाको अवसर पारेर २०७० सालको कार्तिक १७ गते दाइ र भाउजुसँग मिलेर गरिएको मनकामना दर्शन मेरो जीवनको अत्यन्तै मिठो स्मृतिहरूमध्ये एक बनेर बसेको छ । शरद ऋतुको याम उसैपनि मलई सबैभन्दा रमणीय र उल्लासमय लाग्छ । अझ, बिहानको चिसो हावा, घामको हल्का ताप र धार्मिक यात्राको उत्साह मिसिएको त्यो दिन आज पनि मनमै ताजै छ । अझ पहिलो पटक केवलकार चढेको उत्साहपूर्ण क्षण, रमाइलो कुराकानी, हाँसो ठट्टा, केवलकारबाट देखिने हरियाली पहाडहरुको मनोरम दृश्य, सतत सलल बगी रहेको त्रीशुली नदीको पवित्रता, पहाडी गाँउबस्ती, केवलकारको ओहोरदोहोर र अझ माथि पुगेर केबलकारबाट भुइँ मा झरेपछिको चिसो हावाको स्पर्श आदीले मनमा अमिट स्मृति कोरिदिएको थियो ।
मन्दिरतर्फ उकालै उकालो सिँडीहरुमा चढ्दा देखिएको प्राकृतिक सुन्दरता, चारैतिर लटरम्म सुन्तला फलिरहेको, स्थानीय बजारको रमझम, बाटोभरि भेटिने भक्तजनहरूको उत्साह आदीले मेरो हृदयपनि आध्यात्मीक उर्जाले भरिएको जस्तो पुलकीत भएको थियो । मन्दिर पुगेर गरेको मनाकामनामाईको दर्शन र पूजा–आराधनाले मनमा एक अद्भुत शान्ति ल्याएको महसुग गरेको थिए । अझ भनौ, वरिपरिको हरियाली पहाडी दृश्य र मनकामनाको आध्यात्मिक वातावरणले मनलाई पूर्णतः शान्त, प्रसन्न र कृतज्ञ बनाएको थियो ।
मनकामनामाईको दर्शनपछि हामीले त्यहाँको स्थानीय होटलमा खाएको विशेष खाना आजपनि जिब्रोले बिर्सीएको छैन । समग्रमा, आज पनि त्यो दिन सम्झँदा, मनमा उही मिठास, उही ऊर्जा र उही पारिवारिक उत्साहको क्षणहरु फेरि ताजा भएर आइदिन्छन । वास्तवमै, त्यो यात्रा केवल मनकामनामाईको दर्शन मात्र थिएन, त्यो त जीवन्त सम्झिरहने एक भावनात्मक र आध्यात्मिक अनुभव थियो ।
त्यति मात्र हैन, मनकामना दर्शन सकेर दाइभाउजु पोखरा घुम्न जानुभयो म चै कुरिनटारबाट गाढी चढेर गोरखा बजार गएर बास बसे । भोलीपल्छ लक्ष्मि पुजा थियो । देउरालीबाट मेरो साथी तिहारको सामान किनमेल गर्न गोरखा बजार आएको रहेछ । भेटेर गोरखा कालीका मन्दिर घुम्यौं । खाजा खायौं, गफ गयौं । साथी किनमेल गरेर गर गयो । म काठमाडौं कोठामा फर्कीए । यसरी २०७० सालको तिहार बिदाको पनि उच्च सदुपयोग गरियो ।
नयाँ अवसर: राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (NEOC) मा मेरो प्रवेश
२०७० सालको बडादशैँ मनाएर पूर्णिमाको भोलिपल्ट अर्थात २०७० साल कार्तिक २ गते म काठमाडौं फर्किएँ । परिवारसँग बिताएका रमाइला र भावनात्मक क्षणहरू अझै ताजै थिए, तर मनमा अर्को उत्साह पनि थियो । किनभने कार्तिक ३ गतेबाट मेरो जीवनको एउटा महत्वपूर्ण नयाँ अध्याय सुरु हुँदै थियो । त्यो दिन मेरो नयाँ जागिरको पहिलो दिन थियो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) मा कम्प्युटर अपरेटर पदका लागि मेरो नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको थियो ।
यस अवसरको ढोका खोलिदिनुहुने व्यक्ति मेरो सानदाइ नवराज न्यौपाने हुनुहुन्थ्यो । नियोकमा कम्प्युटरमा दक्ष र भरपर्दो व्यक्तिको लागि एउटा भ्याकेन्सी रहेछ । तत्कालीन महासचिव भवानीप्रसाद खरेलले हाम्रो सानदाइसँग “कम्प्युटर राम्रो चलाउने कोही छ कि?” भनेर सोध्नुभएपछि सानदाइले मेरो काकाको छोरा छ भनेर मेरो सम्पर्क नम्बर उपलब्ध गराइदिनुभएछ । त्यसको केही समयपछि भवानी सरले मलाई सम्पर्क गरेर अन्तरवार्ता तथा प्राक्टिकल परीक्षणका लागि बोलाउनुभयो । अफिसमा पुगेपछि सुरुको एक हप्ता मलाई प्रत्यक्ष परीक्षणकै रूपमा विभिन्न कामहरू दिइयो । पहिलो दिनहरूमै मानवअधिकार अनुगमनसम्बन्धी एउटा अर्धवार्षिक प्रतिवेदनको डिजाइन, लेआउट तथा सम्पूर्ण फिनिसिङको जिम्मेवारी दिइयो । मैले ग्लोब इन्स्टीचिउटमा कम्प्युटर टिचर हुँदा, शैलपुत्री स्कुलमा कम्प्युटर टिचर हुँदा, अल्टा ग्राफिक्स र एक्टिभ प्रेसमा ग्राफिक डिजाइनर हुँदा अनि आफ्नै निरन्तर अभ्यासबाट हासिल गरेको कम्प्युटिङ तथा ग्राफिक्स डिजाइन सम्बन्धी सीप प्रयोग गर्दै उक्त दिइएको काम छिटो र उत्कृष्ट ढङ्गले सम्पन्न गरेँ । त्यसपछि कार्यालयले मेरो क्षमताप्रति विश्वास गर्यो र तेस्रो दिनमै मलाई नियुक्तिपत्र प्रदान गर्यो । त्यो क्षण मेरो लागि अत्यन्त खुशीको क्षण थियो । यो अवसरको लागि रिकमन्डेसन गरिदिनुभएकोमा सानदाइप्रति म सधैंभरी आभारी छु ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) नेपालमा निर्वाचन आयोगसँग सहकार्य गरेर सम्पूर्ण निर्वाचनहरूको सूक्ष्म एवं बृहत्त पर्यवेक्षण गर्ने राष्ट्रिय स्तरको आधिकारिक संस्था थियो । नियोकको ७७ वटै जिल्लामा जिल्ला शाखा र ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय समेत हरेछ । म नियुक्त भएको बेलामा अर्थात २०७० साल असोज महिनामा नियोकको केन्द्रीय अध्यक्ष पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो भने पूर्व राजदूतहरू, प्राध्यापकहरू, विभिन्न आयोगका पूर्व आयुक्तहरू तथा अन्य प्रतिष्ठित व्यक्तित्वहरूको संलग्नता थियो । यस्तो संस्थामा नियुक्ति पाउनु मेरो लागि ठूलो उपलब्धि थियो । यसले मेरो करिअरमा दीर्घकालीन स्थिरता ल्यायो ।कार्यालय समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र हुने भएकाले आफ्नो पढाइमा पनि पर्याप्त ध्यान दिन सकिने वातावरण मिल्यो । नियुक्ती पत्रको आधारमा मेरो मासिक तलब २४ हजार रुपैयाँ थियाे, जुन २०७० साल कार्तिक तिर नेपाल सरकारको सुब्बा सरहको सुविधा मानिन्थ्यो । नियोकमा नियुक्त भएदेखि नियोकका पाट्नर अर्गनाइजेसनहरू राष्टिय मानव अधिकार प्रतष्ठिान, एम्नेस्टी इन्टरनेशनल र इनहुरेड इन्टरनेशनल मा समेत सकृयरुपमा भोलेन्टियरींग प्रकृतिको कामहरु गर्न थाले जसले मलाइ भविष्यप्रतिकाे फराक दिष्टिकाेण विकास गराउन थाल्याे ।
कम्प्युटर अपरेटरको रूपमा मैले कार्यालयका विभिन्न सूचना तथा अभिलेखहरू कम्प्युटरमा प्रविष्ट गर्ने, डाटा अद्यावधिक तथा व्यवस्थापन गर्ने, पत्राचार, प्रतिवेदन र अन्य आवश्यक कागजातहरू तयार तथा टाइप गर्ने, इमेल तथा अनलाइन प्रणाली सञ्चालन गर्ने, कम्प्युटर, प्रिन्टर, स्क्यानर तथा इन्टरनेटसम्बन्धी सामान्य प्राविधिक समस्याहरू समाधान गर्ने, डिजिटल फाइल तथा डाटाबेस व्यवस्थापन गर्ने, रिपोर्टहरू डिजाइन र प्रकाशन गर्ने, डाटा ब्याकअप तथा सुरक्षाको सुनिश्चितता गर्ने लगायतका जिम्मेवारी निर्वाह गर्न थालेँ । साथै कार्यालयका सूचना प्रविधिसम्बन्धी तथा प्रशासनिक कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहयोग र समन्वय गर्ने काम पनि मेरो दैनिकीको हिस्सा बन्यो । यसरी हेर्दा नियोकको जागिर केवल मासिक तलब प्राप्त गर्ने माध्यम मात्र हैन, यसले मेरो जीवनमा स्थिरता ल्यायो, भविष्यप्रतिको दृष्टि फराकिलो बनायो र पढाइ तथा करिअरलाई सन्तुलित ढङ्गले अगाडि बढाउने अवसर दियो । त्यसर्थ, मैले मानेको छु– जीवनमा मैले विकास गरेको कम्प्युटीङ स्कील, शिक्षण पेशामा बिताएका दिनहरु, प्रेसमा बिताएका दिनहरू, निरन्तर स्वअध्ययन र अग्रजहरुबाट ग्रहण गरिएको मार्गदर्शनको प्रतिफल नै नियोकमा प्राप्त यो अवसर हो ।
Dashain 2070 Bliss: A Family Affair of Love and Unity
२०७० सालको बडादशैँ हाम्रो परिवारका लागि केवल चाडपर्व मात्र थिएन, बरु पारिवारिक एकता, प्रेम र सद्भावलाई अझ मजबुत बनाउने एक अनुपम अवसर बनेको थियो । दशैँ शुरु हुनु एक हप्ता अघिदेखि नै परिवारमा उत्साह, टिकाजमरा राख्ने तयारी र चाडपर्वको रमाइलोले विशेष बनाएको थियो । दशै मनाउन भनेरै हामी दाइ भाउजु र म काठमाडौंदेखि गाँउ गएका थियौ । म चै अफिसबाट बिदा मिलेको ले अलि चाढै नै (सायद फुलपातीको दिन भन्दा ३ दिन अघि) गाँउ गएको थिए । दाइभाउजु र हामी आमाछोरा एउटै ठाउँमा भेला भइ सबैजना सँगै गाँउको मुल घरमा दशै मनाउनु, पालैपालो एकअर्काबाट आशीर्वाद र टिकाजमरा थाप्नु र उत्साह साटासाट गर्नुले परिवारको महत्व झनै प्रगाढ भएको महसुस गरायो । दशैको अवसरमा आरुघाटमा मेला लागेको थियो । त्यो भब्य रमाइलो मेला हेर्न समेत गइयो । म देउराली बस्दाताकाका प्रियजनहरुसँग पनि त्यही मेलामा भेट्न पाउदा र आफैले पढेको भिमोदय माबी बाट तल बुढीगण्डकीको तीरमा रहेको तुइन, मन्दिर र बगैंचा सँगसँगै घुम्दाको रमाइलो क्षणहरु पनि अविस्मरणीय बनेको थियो । समग्रमा, २०७० सालको बडादशैँ हामी सबैलाई भावनात्मक रूपमा नजिक ल्याउने, प्रेम र सद्भाव बढाउने र परिवार नै जीवनको सबैभन्दा ठूलो समृद्धि हो भन्ने कुरा पनुः सम्झाइ दिने अविस्मरणीय उत्सव बन्न पुगेको थियो ।
अल्टा ग्राफिक्स र एक्टिभ प्रेसमा काम गर्दाका व्यस्त दिनहरू

देउरालीको बसाइ समाप्त गरेर काठमाडौं फर्किएपछि मेरो जीवन फेरि एकपटक नयाँ गतिमा अघि बढ्न थाल्यो । सन् २०१३ को फेब्रुअरीदेखि अक्टोबरसम्मको करिब दस महिनाको अवधि मैले अत्यन्त व्यस्त तर सिकाइले भरिएको वातावरणमा बिताएँ । बिहान एक्टिभ प्रेस र दिउँसो अल्टा ग्राफिक्स प्रेसमा काम गर्दै दिनको अधिकांश समय प्रिन्टिङ, प्रकाशन र ग्राफिक डिजाइनिङकै संसारमा व्यतीत हुन्थ्यो । यस अवधिमा मैले पहिलेदेखि आफै पढेर र अभ्यास गरेर जानेका बेसीक कम्पयुटीङ, ग्राफिक जिडाइनीङ र वेब साइट डिजाइनिङका सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई अझ व्यवस्थित, कलात्मक र व्यावसायिक स्तरमा विकास गर्ने अवसर पाएँ । क्यालेन्डर, किताब, कापी, भिजिटिङ कार्ड, ब्रोसर, ब्यानर, होर्डिङ बोर्ड, पुस्तक आवरण (बुक कभर), पुस्तकको लेआउट तथा अन्य सम्पूर्ण ग्राफिक्ससम्बन्धी कार्यहरूलाई छिटो, गुणस्तरीय र व्यावसायिक ढङ्गले सम्पन्न गर्न सक्ने सीप यही अवधिमा विकसित भयो । काठमाडौंका दुई ठूला प्रिन्टिङ प्रेसमा बिहानदेखि बेलुकासम्म निरन्तर काम गर्दा कामको गति, समय व्यवस्थापन, सिर्जनात्मक सोच र प्राविधिक दक्षतामा उल्लेखनीय सुधार आयो । कहिलेकाहीँ दिनहरू यति व्यस्त हुन्थे कि बिहान काम सुरु गरेको थाहा नपाउँदै साँझ परिसकेको हुन्थ्यो, तर हरेक दिनले मलाई केही नयाँ सिकाइरहेको हुन्थ्यो । आज पछाडि फर्केर हेर्दा महसुस हुन्छ, यो अवधि केवल जागिर गरेको समय मात्र थिएन, बरु आफूलाई एक अतिरिक्त सीपयुक्त, आत्मनिर्भर र बहुआयामिक व्यक्तिको रूपमा तयार पार्ने महत्वपूर्ण चरण थियो । पछि जीवनका विभिन्न मोडहरूमा यही ग्राफिक्स तथा डिजाइनिङसम्बन्धी सीपले मलाई अनेकन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा विभिन्न व्यावसायिक क्षेत्रमा काम गर्ने अवसरहरू दिलायो । पढाइसँगै अतिरिक्त सीपमा पनि अब्बल बन्नुपर्छ भन्ने जीवनको एउटा महत्वपूर्ण पाठ मैले यही समयमा व्यवहारिक रूपमा सिक्ने अवसर पाएँ । अल्टा ग्राफिक्स र एक्टीभ प्रेसमा काम गर्दा मेरा प्रिय मित्रहरु बिसाल, नगेन्द्र, हरी, सलिना लगायत थिए, उहाँहरुलाइ म अहिले पनि सप्रेम सझिरहन्छु ।
देउराली बसाइ: कम्प्युटर शिक्षकबाट गणित शिक्षकसम्म
आज जीवनका विगतका केही महत्वपूर्ण मोडहरू सम्झँदा गोरखाको पाँचखुवा देउरालीमा बिताएका दिनहरू विशेष रूपमा मनमा आउँछन् । बिए प्रथम वर्षको पढाइ चलिरहेको बेला मलाई एउटा अप्रत्याशित तर महत्वपूर्ण अवसर प्राप्त भयो । हल्यान्डको स्टुडेन्ट हेल्प नेपालमार्फत नेपालको भिलेज इन्भारमेन्ट नेपाल संस्थासँगको सहकार्यमा गोरखाको शैलपुत्री उच्च माध्यमिक विद्यालय तथा वरिपरिका विद्यालयहरूमा कम्प्युटर टिचिङ परियोजना सञ्चालन गर्ने योजना बनेको थियो । त्यस परियोजनाका लागि मलाई तीन महिनाको लागि कम्प्युटर शिक्षकको रूपमा लैजाने प्रस्ताव ठाकुर धिताल दाइ मार्फत आयो, प्रस्ताव किन आयो भने मलाइ ११ कक्षा पढ्दा देखी नै हल्यान्डको त्यही स्टुडेन्ट हेल्प नेपाल संस्थाले छ/छ महिनामा अध्ययन खर्च छात्रबृत्ती प्रदान गदै आएको थियो, त्यो छात्रबृत्ती पनि मलाइ ठाकुर धिताल दाइले नै मिलाइदिनुभएको थियो र मेरो कम्प्युटर स्कील बारे सो संस्थालाइ र ठाकुर धिताललाइ पनि राम्रोसँग थाहा थियो, त्यसर्थ मेरो संघर्षको बेलामा मलाइ विभिन्न अवसरहरु मिलाइदिन विशेष भुमीका खेल्नुभएकोमा म ठाकुर धिताल दाई प्रति जीवनभर कृतज्ञ छु । त्यो बेला मेरो बिए प्रथम वर्षको पढाइ चलिरहेको थियो, जनसवाल राष्ट्रिय दैनिकमा जागिर पनि थियो । नयाँ अवसर स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा मैले निकै सोचें । अन्ततः तीन वटा कारणले मलाई निर्णय गर्न सहज बनायो । पहिलो, मेरो आर्थिक अवस्था बलियो थिएन तर पारिवारिक जिम्मेवारी पनि थियो । दोस्रो, यो अवसरले नयाँ अनुभव दिने निश्चित थियो । र तेस्रो तथा सबैभन्दा भावनात्मक कारण, शैलपुत्री विद्यालय मेरो गाउँबाट पैदल करिब तीन घण्टाको दूरीमा थियो । अझ विद्यालय रहेको देउराली क्षेत्र मेरो मामाघर आरूपोखरी सोडारी गाउँको नजिकै पथ्र्यो । गाउँमा आमा एक्लै हुनुहुन्थ्यो, त्यसैले कम्तीमा हरेक शुक्रबार उहाँलाई भेट्न जान सकिने आशाले पनि मलाई त्यो अवसर स्वीकार गर्न प्रेरित गर्यो ।
सन् २०१२ को अप्रिल महिनामा म लगायत भिलेज इन्भारमेन्ट नेपालका केही समिति सदस्यहरू करिब २२ वटा कम्प्युटर लिएर शैलपुत्री विद्यालय पुग्यौँ । त्यही दिनबाट मेरो नियमित रूपमा क्याम्पस गएर पढ्ने अभ्यास टुट्यो । त्यसपछि मैले पाठ्यपुस्तकहरू आफैँ किनेर घरमै अध्ययन गर्ने र अन्तिम परीक्षामा मात्र सहभागी हुने शैली अपनाएँ । पछि त्यही बेला बसेको पूर्णरूपमा स्वअध्ययन गर्ने बानीले जागीर र पढाइ लाइ जीवनमा नछुटाइ निरन्तर सँग सँगै लैजान मद्यत पुर्यायो । देउराली गएपछि सुरुका तीन महिनासम्म मैले शैलपुत्री विद्यालयसहित वरिपरिका थप तीन प्रावी विद्यालयका शिक्षकहरूलाई कम्प्युटर तालिम दिएँ, ताकि उनीहरूले पछि आफ्ना विद्यार्थीहरूलाई सिकाउन सकून् । तीन महिनाको अवधि पूरा भएपछि कम्प्युटरको अलवा मेरो गणित विषयप्रतिको दक्षता र अध्यापन शैलीबाट प्रभावित भएर शैलपुत्री विद्यालय व्यवस्थापन समितिले मलाई गणित शिक्षकको रूपमा नियुक्त गर्यो । त्यसपछि स्कुलका डकुमेन्टेसनका कामहरू जस्तै प्रश्नपत्र टाइप गर्ने, प्रिन्ट गर्ने, डिजिटल हाजिरि, कक्षा तालिका, विद्यार्थी परिचयपत्र लगायत विभिन्न अन्य प्राविधिक कामहरूको अलवा नियमीत कक्षा ४ को गणित, कक्षा ६ को गणित र कक्षा ९ को अप्सनल म्याथमेटिक्स पढाउने जिम्मेवारी मेरो भयो । मलाई विद्यालयले नै बस्ने र खाने व्यवस्था गरेको थियो । त्यतिखेर म ठाकुर दाइकै घरमा बस्थे, उहाँको आमाले मलाइ मिठो खाना पकाएर खुवाउनुहुन्थ्यो, पछि ठाकुर दाइको आमा पनि काठमाडौं छोरा भएको ठाँउमै बस्न जानुभयो । ठाकुर दाइको घर भन्दा पल्लो घर हीमलाल सरको थियो । हीमलाल सर शैलपुत्री स्कुलकै एकदमै पुरानो र अनुभवी शिक्षक हुनुहुन्थ्यो । हामी सँगै स्कुल जाने, सँगै फर्कने गर्थिम । हिमलाल सरको कान्छा छोरा फडिन्द्र भाइ मेरो जिग्री साथि भएको थियो । ठाकुर दाइको आमा काठमाडौं जानुभएपछि मलाइ फडिन्द्रको ममिले खाना खुवाउनुभयो । अतः म ठाकुर दाइको ममि, हीमलाल सर, फडिन्द्र भाइ र फडिन्द्रको ममीप्रति पनि मनैदेखि कृतज्ञ छु, आभारी छु, र म उहाँहरूको ऋणी छु । हरेक शुक्रबार बेलुका चार बजे विद्यालय छुट्टीहुनासाथ बत्तीएर करिब दुई घण्टामै आफ्नो घर अल्कटार पुग्थेँ । शुक्रबार र शनिबार आमासँग बिताएर आइतबार बिहान सात बजे घरबाट निस्कीएर दश बजेसम्म विद्यालय पुगेर नियमित कक्षामा सहभागी भइसकेको हुन्थेँ ।
देउरालीमा बिताएको समय केवल अध्यापनको अनुभव मात्र थिएन, जीवन सिक्ने एउटा महत्वपूर्ण पाठशाला पनि थियो । त्यस भेगकै ठूलो सरकारी विद्यालयमा अध्यापन गर्ने अवसरले मलाई आफूभन्दा अनुभवी, परिपक्व र समर्पित शिक्षकहरूसँग नजिकबाट काम गर्ने मौका दियो । त्यतिखेर म त एकदमै आलकच्चा उमेरको अपरिपक्क, केबल १९ वर्षको चनचले फुच्चे केटो थिए । त्यसर्थ उहाँहरुबाट मैले शिक्षा, समाज, खानपान, नेतृत्व र जीवनबारे धेरै कुरा सिकेँ । विद्यालयका गतिविधिबाहेक वरिपरिका गाउँहरू घुम्ने, स्थानीय मेला तथा जात्राहरू हेर्ने, नयाँ मानिसहरूसँग चिनजान गर्ने अवसर पनि पाइयो । नजिकै मामाघर भएका कारण बेला–बेला त्यहाँ पनि पुगिरहन्थेँ । बि.ए. प्रथम वर्षको बोर्ड परीक्षा दिन भने काठमाडौं नै आउनुपर्ने हुन्थ्यो । फर्केर हेर्दा देउरालीमा मेरो बसाइ केवल तीन महिनाका लागि सुरु भएको भए पनि लगभग दस महिनासम्म लम्बियो । अन्ततः सन् २०१३ को फेब्रुअरीतिर मलाई एउटा कुरा स्पष्ट हुन थाल्यो—यदि यहीं बसिरहेँ भने मेरो सम्पूर्ण करिअर गाउँमै सीमित हुन सक्छ । जीवनमा अझ धेरै क्षेत्र बुझ्न, नयाँ अवसर खोज्न र आफूलाई थप परीक्षण गर्नुपर्ने महसुस गरें । त्यसैले मैले देउराली छोडेर पुनः काठमाडौं फर्कने निर्णय गरेँ । काठमाडौं फर्किएपछि सन् २०१३ को अक्टोबरसम्म अल्टा ग्राफिक्स प्रेस र एक्टिभ प्रेसमा बिहान र दिउँसो काम गर्दै अत्यन्त व्यस्त जीवन बिताएँ । आज पछाडि फर्केर हेर्दा महसुस हुन्छ, देउरालीमा बिताएका ती करिब दस महिनाले मलाई सरकारी स्कुलको शिक्षक बन्ने अवसर मात्र दिएनन्, जिम्मेवारी, आत्मनिर्भरता, स्वअध्ययन, ग्रामीण समाजको वास्तविकता र जीवनप्रतिको गहिरो दृष्टिकोण पनि प्रदान गर्यो । सरकारी विद्यालयमा अध्यापन गर्दाको त्यो अनुभव मेरो जीवनको एउटा महत्वपूर्ण अध्याय बनेर सधैँ स्मृतिमा रहिरह्यो । सबैकुराहरुलाइ बिर्सीयो भनेपनि मलाइ देउराली बसाइ किनपनी विशेष एवं खास लाग्छ भने मेरो जीवनका कोही कोही प्रियजनहरुसँग यही देउराली बसाइमा घुलमलिन हुने अवसर जुरेको थियो ।
आर आर क्याम्पसमा बि.ए. प्रथम वर्ष पढ्दाका दिनहरू
आज मैले आफ्नो जीवनको केही स्मरणीय तस्बिरहरु सुरक्षित राख्ने सोच बनाएको छु । यी तस्बिरहरू रत्न राज्यलक्ष्मी क्याम्पस (आर आर क्याम्पस) मा बि.ए प्रथम वर्ष पढ्दाताकाका हुन । मैले बि. ए. मा म्याथमेटिक्स र इकोनोमिक्स विषय मेजर लिएर अध्ययन गरेको थिए । प्लस टु पूरा गरेर उच्च शिक्षाको नयाँ यात्रामा पाइला टेकिरहेको त्यो समय मेरो जीवनको निकै महत्वपूर्ण चरण थियो । त्यतिखेर मोबाइल वा क्यामेराको सहज पहुँच थिएन, त्यसैले तस्बिर खिच्ने अवसर पनि विरलै मिल्थ्यो । त्यसै कारणले यी तस्बिरहरू मेरा लागि विशेष महत्वपूर्ण छन ।
त्यतिखेर म गल्कोपाखास्थित एभरेष्ट कलेजभन्दा केही अगाडि ऋतु श्रेष्ठको घरमा डेरामा बस्दै आएको थिए । संघर्षका दिनहरूमा मलाई कोठा उपलब्ध गराएर सहयोग गर्ने ऋतु दिदीको परिवार, विशेष गरी उहाँको वृद्ध आमाप्रति म सधै सधैं कृतज्ञ छु । उहाँहरूले “यो भीम मेहनती र पढ्ने केटा रहेछ” भनेर विश्वास गर्दै मलाई बस्ने कोठा उपलब्ध गराउनुभएको थियो । यी तस्बिरहरु पनि मेरो त्यही डेराकै हो । यो ठ्याक्कै सन २०११ को अप्रिल मिहना तिरको कुरा हो । हरेक बिहान करिब पाँच बजे उठ्थे र ठमेल हुँदै असनको बाटो पैदल हिँडेर क्याम्पस पुग्थे । क्याम्पसमा चाडै पुगिएन भने बस्ने सिट पाइदैन थियो । बिहानको चिसो हावा, सडकको शान्त वातावरण र मनमा पलाइरहेका अनेकन सपना मेरा दैनिक सहयात्री थिए । क्याम्पस जीवन पनि निकै रमाइलो थियो । मेरा घनिष्ट मित्रहरु पाण्डव, कृष्ण, गोपाल, पारू, दिपेश र नरेश लगायत धेरै साथीहरूसँग दैनिक हिमचिम थियो । सबै साथीहरू प्रिय थिए, तर पारूसँगको मित्रता विशेष रूपमा थप आत्मीय थियो । पढाइ, घुमाइ, मस्तीमजाग, हाँसो, छलफल र भविष्यका योजनाहरूले क्याम्पस जीवनलाई अझ रोचक बनाएको थियो ।
त्यतिखेरको मेरो कोठा केवल सुत्ने कोठा मात्र थियन बरू मेरो सोच, सपना, अध्ययन र वैचारिक यात्राको एउटा सानो संसार जस्तै थियो । यहाँहरूले मेरो त्यो बेलाको कोठाको भित्ताहरूलाई गहिरोसँग नियाल्नुभयो भने सैद्धान्तिक तथा राजनीतिक रूपमा म कुन विचारधाराप्रति आकर्षित थिएँ भन्ने पनि सहजै अनुमान गर्न सक्नुहुन्छ । किनभने मेरो कोठाको भित्ताभरि कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, लेनिन, स्टालिन, माओत्सेतुङ, चे ग्वेभारा, फिडेल क्यास्ट्रो, अल्बर्ट आइन्स्टाइन, महाकवि लक्ष्मीप्रसाद देवकोटा, रवीन्द्रनाथ ट्यागोर, ओशो, शिवपुरी बाबा लगायत विभिन्न क्रान्तिकारी, चिन्तक, साहित्यकार, वैज्ञानिक तथा साधुसन्तहरूका तस्बिर र पोस्टरहरू टाँसिएका हुन्थे । मेरो कोठामा सानो भएपनि पुस्तक लाइबेरी पनि थियो । मेरो कोठाका भित्ताहरू मात्र होइन, मेरो जीवनशैली, पहिरन, खानपान र दैनिकी पनि अनौठो थियो । म सादा र सरल जीवन जिउन रुचाउँथेँ—सामान्य खानेकुरा खाने, सरल पहिरन लगाउने, हेयर स्टाइल पनि त्यस्तै कपाल नकोरी झ्याम्लांग पार्ने, नियमित रूपमा आफ्नो काममा जाने र निरन्तर अध्ययन–अनुसन्धानमा तल्लीन रहने मेरो दैनिकि थियो । घाँटीमा चे ग्वेभाराको लकेट झुन्ड्याउने र निधारमा अखिल क्रान्तिकारीको रातो फिता बाँध्ने बानीले पनि त्यो समयको मेरो वैचारिक प्रतिबद्धता र क्रान्तिकारीपनालाई झल्काउँथ्यो । माथि उल्लेखित ती सबै परिवेश, व्यवहार र जीवनशैली कुनै क्षणिक रहर, देखावटी फेसन वा अनुकरणको परिणाम थिएनन बरु मेरो मनभित्र गहिरोसँग बसेका विचार, विश्वास र आदर्शहरूले निर्देशित गरेको जीवनपद्धतिको स्वाभाविक प्रतिबिम्ब थिए । समाज, राजनीति, साहित्य, विज्ञान र आध्यात्मिकताबारे गहिरो चासो राख्ने युवा विद्यार्थीका रूपमा मेरो झुकाव स्पष्ट रूपमा कम्युनिस्ट विचारधारा, सामाजिक रूपान्तरण, प्रगतिशील साहित्य, वैज्ञानिक चेतना र सादा तथा सरल आध्यात्मिक जीवनशैलीतर्फ थियो । जीवन, समाज र भविष्यलाई बुझ्ने मेरो दृष्टिकोण निर्माणमा ती व्यक्तित्वहरूका विचार र कृतिहरूले महत्वपूर्ण प्रभाव पारेका थिए, जसको छाप आज पनि मेरो सोच र जीवनयात्रामा कुनै न कुनै रूपमा जीवित छ ।
मेरो दिन केवल क्याम्पसमा मात्र सीमित थिएन । बिहान क्याम्पस जाने अनि दिउँसो जनसवाल राष्ट्रिय दैनिकमा काम गर्ने गर्दथे । पढाइ र कामलाई सँगसँगै अघि बढाउनु सजिलो थिएन तर यही संघर्षले जीवनलाई नयाँ अर्थ दिइरहेको थियो । खासमा म १२ कक्षा पढ्दा देखि नै आत्मनिर्भर अर्थात आफै काम गर्दै पढ्दै गरेको विद्यार्थी भएकोले पढाइ सँगसँगै काम पनि गर्न मलाइ बहुत रमाइलो लाग्थ्यो । म १२ कक्षा पढ्दा देखि नै ग्लोब एजुकेशनल इन्सटिचिउट (सोर्हखुट्टे) मा कम्प्युटर टिचरको रुपमा काम गर्थे । त्यतिखेरका ती दिनहरू, व्यस्तता, जिम्मेवारी, अभाव, मेहनत, संघर्ष र सपनाले भरिएका थिए र त्यही अनुभवहरुले तिखार्दै तिखार्दै मलाई उत्साहपूर्वक जीवनमा अघि बढ्न मद्यत गरिरहेको छ ।
From classroom to career: story of my first job of my life
मेरो जीवनको पहिलो जागीरको बारेमा एउटा रोमान्चक कहानी छ जसले मेरो जीवनको पहिलो जागीरको अनुभवलाइ मेराे लागि जीवन्त बनाएर राखेकाे छ । म काठमाडौंको सोर्हखुट्टेमा रहेको सिग्मा कलेजमा भर्खरै ११ कक्षा पास भएर कक्षा १२ मा पढ्दै थिए । हाम्रो पढाइ दिउसोकाे थियो । अझै पनि मलाइ याद छ, मेरा घनिष्टतम साथिहरू विज्ञान, बिजय, गणेश, सिर्जना, करूणा, बालकृष्ण, राजकुमार, फुरी, कुमार, शिला, मनिसा लगायत थिए ।
एक दिन विहानै सोर्हखुट्टे गणेशमन्दीर छिर्ने गल्लीको बाँयातर्फ रहेको पहिलो बिल्डिङको दोस्रो तलामा अवस्थित ग्लोब एजुकेशनल इन्सटिचिउटको अफिसमा म हाँजीर गर्दै थिए । अचानक, हामीलाइ कलेजमा अंग्रेजी पढाउनुहुने गुरु त्यही टुप्लुक्क आइपुग्नुभयो । उबेला गुरुलाइ कक्षाकोढामा भन्दा बाहीर अन्यत्र भेट्दा सातो जान्थ्यो, हामी डराउथ्यौं, डरै डरमा नमस्कार सर भने मैले पनि । तब सरले सोध्नुभयो, अरे भीम तिमि यहाँ के पढ्न आएको ? तब मैले लजाउदै लजाउदै भने- म यहाँ कम्प्यूटर टिचरकोरूपमा विगत ४ महिनादेखि काम गरिरहेको छु । मैले यहाँ कम्प्युटर सिक्न वा पढ्न आउनुहुने विद्यार्थीहरूलाइ बेसीक कम्प्युटर र ग्राफिक्स डिजाइनीङ सिकाउछु भनें । अनि, मैले सोधे- हजुर चै यहाँ के कामले पाल्नुभएको थियो सर ? सरले भन्नुभयो, म पनि यहाँ आइएलटिएस पढाउछु । हस सर म क्लासमा गए भनेर म मेरा विद्यार्थीहरू आइसक्नुभएकोले क्लासतर्फ लागे । पढाइ सकेर दिउसो कलेज गए । कलेजमा हाफ टाइम पछि जब सोही अंग्रेजी सरको क्लास शुरू भयो, तब शुरूमै सरले कडा स्वरमा सबैले होमवर्ग गरेर ल्याएका छौ नि भनेर सोध्नुभयो । केही साथीहरूले होमवर्क गर्न भ्याएनछन वा अल्छी लागेर गरेका रहेनछन तर मैले भने होमवर्क गरेर ल्याएकोले सरले होमवर्क नगर्ने साथिहरूलाइ सुनाउदै भन्नुभयो-- तिमारू अल्छीहरूले गरेर खादैनौ । हेर, भीम विहान विहान कम्प्युटर टिचरको रूपमा जागिर खान्छन, पढाउन जान्छन र पनि होमवर्क गरेर ल्याएका रहेछन, तिमारू अल्छीहरू भने घर गयो खायो, सुत्यो, उठ्यो, खायो अनि आयो, यसरी कसरी तिमारूको भविष्य बन्छ ? भनेर रिसाउदै भन्नुभयो ।
यसरी सरले मेरो प्रशंसा गर्नुभएपछि मेरो नाक फुलिएर घिरौला जत्रो भएको थियो । मेरा साथिहरूले म कम्प्युटरको अलिक पारखी छु भन्ने थाहा पाए । त्यसपछि उनिहरूका विभिन्न असाइनमेन्टहरू, डकुमेन्टेसनका कामहरू लगायत विभिन्न कामहरू मलाइ गरिदेउ है भीम भन्थे, मैले पनि निशुल्क गरिदिन्थे । मलाइ टाइपिङ गर्न, डिजाइन गर्न, वा केही काम गर्न अरूले जति धेरै दिएपनि जिम्मेवारीपूर्वक निशुल्क गरिदिन्थे ताकी मैले मेरो स्कील र स्पीड विकास गर्न सकु । त्यतिखेर मलाइ मेरो जीवनकै पहिलो जागिरको अवसर मिलाइदिनुहुने देव दाइ प्रति म सदैव आभारी छु । मेरो यो २०१० ताकाको कलेज स्मृतीहरूलाइ अहिले २०१३ मा पुनर्ताजगी गरेर मेरो ब्लगमा अभिलिखित गरे।
(त्यतिखेर मेरो तलब बिहान ६ बजेदेखि ९ बजेसम्म पढाएको ३५०० रूपैंया थियो र मेरो कोठाभाडा चै १५०० रूपैया थियो ।)
सिग्मा कलेज पढ्दाका दिनहरू: गणित, कम्प्युटर र संघर्षले खिपेको जीवनको जग
एस.एल.सी. परीक्षामा ६५ प्रतिशत अंकसहित प्रथम श्रेणीमा उत्तीर्ण भएपछि मेरो मात्र होइन मेरो परिवारको पनि ठूलो सपना थियो—मैले काठमाडौं गएर उच्च शिक्षा हासिल गराेस र सम्भव भएसम्म साइन्स पढाेस । यही सपना बोकेर म २०६५ साल साउन ८ गते गाउँबाट झोला बोकेर इश्वरदाइसँग काठमाडौं आएँ । काठमाडाैंमा हाम्राे सानदाइ (ठूलबुबाको कान्छो छोरा) काे काेठामा बस्न थाले । मेरो योजना स्पष्ट थियो—सरकारी अमृत साइन्स क्याम्पस (अस्कल) मा आई.एस्सी. पढ्ने । तर काठमाडौं आइपुगेपछि थाहा भयो कि सोही वर्षदेखि अस्कल क्याम्पसमा आई.एस्सी. कार्यक्रम बन्द भइसकेको रहेछ र त्यही वर्षदेखि नेपालमा प्लस टु प्रणाली व्यापक रुपमा लागू भएको रहेछ । गाउँबाट साइन्स पढ्ने सपना बोकेर आएको मेरो लागि त्यो समाचार अप्रत्याशित थियो ।
त्यसपछि सानदाइले मलाई काठमाडौंको सोह्रखुट्टेस्थित सिग्मा कलेजमा लिएर जानुभयो । मेरो एस.एल.सी.को नतिजा, विशेष गरी गणितमा प्राप्त उत्कृष्ट अंकहरू हेरेपछि त्यहाँका प्रिन्सिपल दमन सर र त्यहाँको एडमिनिस्ट्रेसन हेड ठाकुर श्रेष्ठले मलाई साइन्सभन्दा पनि सोशल साइन्स अन्तर्गत म्याथमेटिक्स र इकोनोमिक्स मेजर विषय लिएर पढाउँदा बढी प्रभावकारी हुन्छ भनेर सल्लाह दिनुभयाे । अन्ततः उहाँकै सल्लाह अनुसार सानदाइले मलाई सिग्मा कलेजमा कक्षा ११ मा म्याथमेटिक्स र इकोनोमिक्स मेजर विषयसहित भर्ना गरिदिनुभयो । गाउँबाट साइन्स पढ्ने दृढ इच्छा बोकेर आएको मलाई सुरुका केही दिन भने सोशल साइन्समा भर्ना गरिदिएको कुरा मन परेको थिएन । तर विस्तारै मैले आफ्नो वास्तविक शक्ति गणित नै भएको सत्यलाइ गहनरूपमा महसुस गर्न थालेँ । आखिर मैले भविष्यमा जे बन्ने भए पनि त्यो गणितकाे जगमा नै बन्ने हाे भन्ने कुरा मनन गरे ।
काठमाडौं आएको सुरुका दिनहरूमा म नयाँबजारस्थित गोरखाली टेलिकम नजिकै सानदाइको कोठामा बस्ने गर्थेँ । सानदाइ कम्प्युटर सञ्चालनमा अत्यन्तै दक्ष हुनुहुन्थ्यो । उहाँको टाइपिङ स्पीड साँच्चिकै रकेटजस्तै थियो । त्यतिबेला उहाँ गोरखापत्र दैनिकमा सम्पादकको रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यसबाहेक विभिन्न संस्थाहरूमा कम्प्युटर प्रशिक्षण दिने, पुस्तक तथा प्रकाशन सम्पादन गर्ने लगायत अनेकौं कामहरू पनि गर्नुहुन्थ्यो । बिहान आठ बजे खाना खाएर कोठाबाट निस्किने उहाँ राति करिब बाह्र बजे मात्र फर्किनुहुन्थ्यो । म भने उहाँलाई खाना कुरेर बसिरहन्थेँ । त्यो समय काठमाडौंमा दैनिक १८ देखि २० घण्टासम्म लोडसेडिङ हुने गथ्र्यो । बिजुली नहुँदा अध्ययन गर्न निकै कठिन हुन्थ्यो । राति करिब नौ बजेसम्म खाना पकाइसकेर क्यान्डिल बालेर पढेर सानदाइलाइ कुरेर बस्ने मेरो नियमित बानी बनिसकेको थियो । एकपटक त खाना पकाएर पढ्दा पढ्दै निदाएछु । घरकाे मेनढाेका चै पल्लाे काेठाका दाइहरूले चाडै नै लगाउनुहुन्थ्याे, करिब करिब रातिकाे १२ बजेतिर सानदाइ आउनुभएर मलाइ बाहिरबाट बाेलाउदा वा ढकढक गर्दा नि उठेनछु, त्यतिखेर माेबाइल पनि थिएन, सानदाइले मलाइ उठाउनकाे लागि अरू कुनै उपायले काम नगरेपछि ठुलाे काठकाे टुक्राले पछाडिपटि झ्यालबाट छिराएर झटाराे हान्नुभयाे मलाइ, तब म झल्यास्स भएर बिउजीए, अनि सानदाइलाइ ढाेका खाेलिदिए ।
सानदाइको कोठामा विन्डोज एक्सपी चल्ने पुरानो डेस्कटप कम्प्युटर थियो । बिजुली आउनेबित्तिकै म त्यसैमा बसेर टाइपिङ गर्ने, डिजाइन सिक्ने, नयाँ–नयाँ कुराहरू बुझ्ने प्रयास गर्थेँ । कम्प्युटरप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गइरहेको थियो । करिब छ महिनापछि काठमान्डौंमा आफै कलेज जान सक्ने, पसल जान सक्ने, यता उता घुमघाम गर्न सक्ने, तरकारी किन्न जान सक्ने, वरिपरिका बाटो वा गल्लिहरू चिन्न सक्ने, समग्रमा आफ्नो जीवन आफै चलाउन सक्ने जस्तो महसुस भएपछि मैले आफै सानो कोठा भाडामा लिएर बस्ने निर्णय गरेँ किनभने प्रभावकारी पढाइकाे लागि एकान्तवास महत्वपूर्ण हुन्छ भन्ने मैले राम्राेसँग बुजिसकेकाे थिए । मेरो ठूलमामाको जेठो छोरा बुहारी आदरणीय अर्जुन दाइ र उमा भाउजुले कपुरधारामा राजेश हमालको घरभन्दा अलिकति उतापट्टी एउटा कोठा खोजिदिनुभयो; त्यति मात्र हैन, उहाँले नै कोठाका अत्यावश्यक सामानहरू जस्तै ग्यास सिलिन्डर, चुलो, भाडाकुडा, पुरानो खाट, लुगा लगायत किनिदिनुभयो; उमा भाउजू र अर्जुन दाइको त्यो गुन मैले जीवनमा कसैगरी चुकाउन सक्दिन होला, खासमा उमा भाउजु त हाम्रो दिदी पनि हो, उहाँ पनि हाम्रो आफ्नै दाजुभाइ खलक न्यौपानेको छोरी हुनुहुन्छ, त्यसैले भाउजू भनेपनि वा दिदी जे भनेपनि उहाँ मेरो लागि एकदमै खास हुनुहुन्छ, त्यसैले म सदैव उहाँहरूप्रति मनैदेखि कृतज्ञ छु । त्यो कोठाको मासिक भाडा १५०० रुपैयाँ थियो । केही समयपछि म त्यहाँबाट लैनचौरतर्फ भारतीय दूतावासको पर्खालको बाटो हुँदै जाने गल्लीभित्र रहेको जस्ताले छाएको कोठामा सरेँ, त्यो कोठा पनि उमा भाउजुले नै खोजदिनु भएको थियो । त्यस कोठाको भाडा चै १२०० रुपैयाँ मात्र थियो । त्यो कोठा उज्यालो, खुला, हराभरा वातावरण भएको र बस्न निकै रमाइलो थियो । त्यही कोठामा सरेपछि मैले २५ हजार रुपैयाँ खर्च गरेर आफ्नै कम्प्युटर किनें । खासमा, मेरो पढाइ, लेखाइ र सिकाइ को सबैभन्दा प्रमुख वा बाउ भने पनि आमा भने पनि वा गुरु भने पनि जे भने पनि मेरी आमा नै हुन, कम्प्युटर किन्न घरबाट आमाले नै पैसा पठाइदिनुभएको थियो । त्यसपछि त मेरो संसार नै बदलियो । कम्प्युटरका किताबहरू किनेर दिनरात अभ्यास गर्ने, टाइपिङ गर्ने, डिजाइन सिक्ने र सकेसम्म कम्प्युटरमा दक्ष बन्ने प्रयासमा लागिरहेँ ।
यद्यपि जहाँ बसे पनि मेरो जीवनमा सानदाइको प्रभाव र प्रेरणा निरन्तर रहिरह्यो । पछि उहाँले भृकुटीमण्डपमा कम्प्युटर ग्राफिक्स डिजाइन सम्बन्धी तालिम सञ्चालन गर्दा मलाई पनि सहभागी हुन बोलाउनुभयो । उहाँले धेरै विद्यार्थीहरूलाई पढाइरहनुभएको कक्षामा म पनि गएर नियमित रूपमा सिक्ने गर्थेँ । लगभग तीन महिनाको अवधिमा उहाँको मार्गदर्शन, प्रेरणा र प्रशिक्षणबाट मैले बेसिक कम्प्युटिङ, ग्राफिक्स डिजाइन, हाडवेयर र अपरेटिङ सिस्टम सम्वन्धि सिप विकास गर्न सफल भएँ । हुन त एस.एल.सी. दिएर बसेको समयमा गाँउमै आरुघाट बजारमा सुरेश दाइको कम्प्युटर सेन्टरमा पोखराका हेम सरले सञ्चालन गर्नुभएको कक्षामा करिब एक महिना आधारभूत कम्प्युटर प्रशिक्षण लिएको थिएँ । त्यहाँ नेपाली टाइपिङ, अंग्रेजी टाइपिङ, एम.एस. पेन्ट र विशेष गरी माइक्रोसफ्ट वर्डको सामान्य ज्ञान प्राप्त गरेको थिएँ । तर काठमाडौं आएपछि सानदाइमार्फत ग्राफिक्स डिजाइन लगायतका धेरै एडभान्स सीपहरू सिक्ने अवसर प्राप्त भयो । म स्वभावैले छिटो सिक्ने र सिकेको कुरा तुरुन्त व्यवहारमा उतार्ने खालको थिएँ । सायद गणित र कम्प्युटरबीचको वैज्ञानिक कनेक्सनले पनि मलाई छिटै कम्प्युटर स्कील बढाउन सहयोग गरिरहेको थियो होला । गणितपछि मलाई सबैभन्दा मन पर्ने विषय नै कम्प्युटर बन्न थाल्यो । अहिले, अर्थात् २०१३ सम्म आइपुग्दा, म त्यही गणित र कम्प्युटिङ सीपलाई निरन्तर विकास गर्दै स्वअध्ययनका माध्यमबाट वेब डिजाइनर (एचटिएमएल, सिएसएस र जाभास्कृप्ट), वेब डेभलपर (पिएचपी र माएसक्युएल), ग्राफिक्स डिजाइनर (फोटोसप, इन्डिजाइन, पेजमेकर, फ्रिह्यान्ड), गणित शिक्षक र कम्प्युटर शिक्षक बनिसकेको छु । त्यसैले यदि मेरो जीवनको आधारशिला निर्माण गर्न प्रारम्भिक र विशेष योगदान दिने एक व्यक्तिको नाम लिनुपरेमा निसन्देह सानदाइको नाम आउछ । उहाँप्रति म सदैव कृतज्ञ र आभारी छु ।
सिग्मा कलेजको जीवन पनि अत्यन्त स्मरणीय रह्यो । मेरा साथीहरू अत्यन्तै धेरै थिए, तर सबैभन्दा मिल्ने र जिग्री साथीहरू विजय न्यौपाने र विज्ञान पोखरेल थिए । उनीहरूबाहेक गणेश, सिर्जना, करूणा, बालकृष्ण, फुरी, कुमार, राजकुमार, शिला, सुशीला, मनिषा लगायतका साथीहरूसँग पनि निकै घनिष्ठ सम्बन्ध थियो । अध्ययनका हिसाबले पनि म सोशल साइन्स फ्याकल्टीका उत्कृष्ट विद्यार्थीहरूमध्ये एक थिएँ । कलेजका कुनै पनि कार्यक्रममा फ्याकल्टीको प्रतिनिधित्व आवश्यक परेमा प्रायः मलाई नै पठाइन्थ्यो । कलेज सुरु भएको करिब चार महिनापछि पहिलो त्रैमासिक आन्तरिक परीक्षा भयो । त्यस परीक्षामा म आफ्नो फ्याकल्टीमा त प्रथम भएँ नै, अर्काे एउटा रोचक घटना पनि घट्यो । सोशल साइन्समा म्याथमेटिक्स पढ्ने विद्यार्थी हामी केवल दुई जना—म र राजकुमार मात्र थियौँ । हामीलाई अलग्गै कक्षा सञ्चालन गर्नुको सट्टा म्याथमेटिक्स पढ्न साइन्स फ्याकल्टीको कक्षामा पठाइन्थ्यो, किनकि पाठ्यपुस्तक एउटै थियो—बेसिक म्याथमेटिक्स । त्यसैले साइन्स फ्याकल्टीका विद्यार्थीहरूसँग पनि मेरो राम्रो मित्रता थियो, जसमा विजय र मनिषा पनि पर्थे । पहिलो त्रैमासिक परीक्षामा मैले म्याथमेटिक्समा ९२ अंक ल्याएँ र साइन्स फ्याकल्टीका करिब २५ जना विद्यार्थीलाई समेत पछि पारेर प्रथम भएँ । दोस्रो हुने विद्यार्थीले ८९ अंक ल्याएका थिए । सोशल साइन्सबाट आएको विद्यार्थीले साइन्स फ्याकल्टीको गणितमा शीर्ष स्थान हासिल गरेपछि म्याथमेटिक्स पढाउने सर समेत निकै आश्चर्यचकित हुनुभएको थियो ।
पछि कक्षा १२ मा पुगेपछि मेरो कम्प्युटर सीपकै कारण सोह्रखुट्टेस्थित ग्लोब एजुकेशनल इन्स्टिच्युटमा कम्प्युटर शिक्षकको रूपमा बिहान कम्प्युटर पढाउने अवसर प्राप्त भयो । यो अवसर दिलाइदिनुहुने देव दाइ प्रति पनि म सदैव आभारी छु । त्यसपछि मेरो दैनिकी अझ व्यस्त बन्यो—बिहान कम्प्युटर पढाउन जाने र दिउँसो कलेज पढ्न जाने । यसरी अध्ययन र कामलाई सँगसँगै अघि बढाउँदै मैले आफ्नो प्लस टु जीवन पूरा गरेँ । आज मेरो प्लस टु जीवनका तस्बिरहरू खोज्दा केवल यी दुई वटा तस्बिर मात्र भेटिए । तर यी दुई तस्बिरहरूले मेरा लागि त्यो समयको संघर्ष, सपना, मेहनत, सिकाइ, मित्रता, आत्मनिर्भरता र जीवन निर्माणका प्रारम्भिक अध्यायहरूलाई जीवित राखेका छन् । यी तस्बिरहरू भविष्यमा मेरो विगतका संघर्षपूर्ण दिनहरू सम्झाउने एउटा महत्वपूर्ण दस्ताबेज ठानेर यहाँ सुरक्षित गर्ने निर्णय गरे ।
जीवनमा ‘आइरन गेट (SLC)’ पार गरेको त्यो अविस्मरणीय दिन
आज जीवनका पुराना पानाहरू पल्टाउँदा २०६५ साल असार महिनाको त्यो दिन झलझली सम्झनामा आउँछ, जुन दिन मैले जीवनको पहिलो ठूलो शैक्षिक उपलब्धि हासिल गरेको समाचार सुनेँ । त्यो उपलब्धि थियो—एस.एल.सी. अर्थात् त्यतिबेला ‘करिअरको आइरन गेट’ भनेर चिनिने परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुनु । आजका पुस्तालाई सायद पत्याउन पनि कठिन होला, तर त्यतिबेला एस.एल.सी.को परिणाम केवल एउटा शैक्षिक नतिजा मात्र थिएन, त्यो एउटा विद्यार्थीको भविष्यको दिशानिर्देशक मानिन्थ्यो ।
त्यो समय म भिमोदय उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिएँ । हाम्रो गाउँबाट म, शैलेन्द्र र हरिराम नियमित विद्यार्थि थियाैं । विद्यालय पुग्न नै कम्तीमा एक घण्टा पैदल हिँड्नुपथ्र्यो । उकाली, ओराली, घाँसदाउरा, मेलापात, गाउँघरका दैनिक कामकाज र अध्ययनलाई सँगसँगै अघि बढाउँदै हामीले विद्यार्थी जीवन बिताएका थियौँ । विद्यालयमा भने मेरा धेरै प्रिय साथीहरू थिए । नारायण लामिछाने, जयबहादुर गुरुङ, प्रविन बुर्लाकोटी, घना गुरुङ, शान्ता गुरुङ, श्याम घले, पूर्णबहादुर गुरुङ, केयरसिंह गुरुङ, खेमराज लामिछाने, वसन्त भुजेल, सुमन श्रेष्ठ, प्रदिप श्रेष्ठ, प्रकाश परियार, शन्तोष खनाल, दिनेश खनाल लगायत (अरू कयाौं प्रिय साथिहरूको नाम मनमा छ तर दिमाखमा यतिखेर आयन) धेरै साथीहरूसँग बिताएका ती दिनहरू आज पनि मनमा ताजै छन् । साधारण गाँउले परिवेशबाट आएका हामी सबैका सपना भने असाधारण थिए ।
म आफूलाई त्यतिबेला एकदमै मध्यम स्तरको विद्यार्थी मान्थेँ । विशेष गरी अंग्रेजी विषयमा म निकै कमजोर थिएँ । सरकारी विद्यालयमा अध्ययन गरेको कारणले हाेला अंग्रेजीमा संघर्ष गर्नुपथ्र्यो । अंग्रेजी विषयको परीक्षामा १०० पूर्णाङ्कको प्रश्नपत्रमा ३२ अंक ल्याएर जसोतसो उत्तीर्ण हुन पनि कठिन हुन्थ्यो मलाई । तर एउटा विषय भने मेरो विशेष प्रिय थियो—गणित । सानैदेखि हजुरबाले घरमा सानातिना पैसाको हिसाबकिताब गर्न मलाई लगाउनुहुन्थ्यो । सायद त्यही कारणले होला, गणितप्रति मेरो रुचि असाधारण थियो । वास्तवमा मेरो जीवनमा शिक्षाप्रतिको प्रेरणाको सबैभन्दा ठूलो स्रोत नै मेरा हजुरबा हुनुहुन्थ्यो । म जन्मेको चार महिनामै बुबाको निधन भएको रे । त्यसपछि हामीलाई हुर्काउने, माया गर्ने, पढाउने र जीवनका अमूल्यहरू पाठहरु सिकाउने जिम्मेवारी हजुरबा र आमाले नै वहन गर्नुभयो । हाम्रो गाउँमा बुबा, काका वा ठूला बुबाको पुस्ताका अधिकांश मानिसहरू अक्षरसमेत पढ्न नजान्ने अवस्थामा थिए, तर हाम्राे हजुरबा भने काशी बनारससम्म पुगेर थोरबुहत लेखपढ गर्नुभएको व्यक्ति हुनुहुन्थ्यो । त्यसैले उहाँले हामीलाई (दाइ र मलाई) निरन्तर मेहनत गरेर पढ्न प्रेरित गरिरहनुहुन्थ्यो । तर २०६३ साल बैशाख महिनामा हजुरबुबाले पनि हामीलाइ छाडेर परमधाम हुनुभएपछि भने हामी साँचिकै पूर्णरूपमा टुहुरा भएका थियाैं । त्याे साल म ८ कक्षा पास भएर ९ कक्षामा चढेकाे थिए । मलाइ मेराे जीवनमा हजुरबाले जति प्रभाव अरू कसैले पारेकाे थिएन, त्यसैले हाेला हजुरबालाइ म सधैं सम्झीरहन्छु ।
हजुरबाको प्ररणाबाट प्रेरीत भएरै होला मलाई पढ्न एकदमै रुची लाग्थ्यो । पढाइमा खुब मेहेनत गर्थे । म ८ कक्षा वा ९ कक्षा पढ्दाताकाको एक अनुभव पनि सुनाउछु– कक्षा ८ उत्तीर्ण गरेर कक्षा ९ मा पुगेपछि वैकल्पिक विषय छनोट गर्ने समय आयो । विद्यार्थीहरूले अप्सनल म्याथमेटिक्स, इकोनोमिक्स वा शिक्षा विषयमध्ये एक रोज्नुपर्ने व्यवस्था थियो । मैले कुनै हिचकिचाहट बिना अप्सनल म्याथमेटिक्स रोजेँ । त्यतिबेला करिब १९३ जना विद्यार्थीमध्ये केवल ३८ जनाले मात्र अप्सनल म्याथमेटिक्स रोजेका थिए । विद्यालयले पनि अप्सनल म्याथमेटिक्स पढ्ने विद्यार्थीलाई अपेक्षाकृत सक्षम विद्यार्थी मानेर ‘सेक्सन ए’ मा राखेको थियो, इकोनोमिक्स पढ्नेलाई ‘सेक्सन बी’ र शिक्षा पढ्नेलाई ‘सेक्सन सी’ मा विभाजन गरिएको थियो । गणितप्रतिको मेरो लगाव र क्षमता त्यसपछि झन् स्पष्ट हुँदै गयो । एस.एल.सी. परीक्षा दिनुअघि अनिवार्य रूपमा पास गर्नुपर्ने टेस्ट परीक्षामा मैले अप्सनल म्याथमेटिक्समा ९७ अंक र कम्पल्सरी म्याथमेटिक्समा ९२ अंक प्राप्त गरेको थिएँ । त्यो परिणामले मलाई आत्मविश्वास त दियो, तर अंग्रेजी विषयप्रतिको डर भने अझै बाँकी नै थियो । मलाई म्याथमेटिक्स विषयमा तिख्खर बनाउन कसैको बढी योगदान छ भने त्यो अप्सनल म्याथमेटिक्स पढाउनुहुने मेरो आदरणीय गुरुदेव छन्द प्ररसाद खनाल सर हो, म जीवभरी उहाँप्रति कृतज्ञ मात्र होइन ऋणी छु, म्याथमेटिक्स विषयमा मलाई तिखार्ने, मलाई निखार्ने व्यक्ति उहाँ नै हो ।
अन्ततः २०६४ सालको चैत महिनामा एस.एल.सी. परीक्षा सम्पन्न भयो । आज पनि सम्झन्छु, हाम्रो परीक्षा सकिएलगत्तै त्यही वर्ष चैत २८ गते नेपालमा पहिलो पटक संविधानसभा निर्वाचन हुँदै थियो । माओवादी जनयुद्धको अन्त्य, राजतन्त्रको अन्त्य, बृहत् शान्ति सम्झौता र लोकतन्त्रको नयाँ युगको सुरुआतसँग जोडिएको त्यो निर्वाचन नेपालको इतिहासमा अत्यन्त महत्वपूर्ण थियो । देश राजनीतिक परिवर्तनको प्रतीक्षामा थियो भने म आफ्नो जीवनको सम्भवतः सबैभन्दा महत्वपूर्ण नतिजाको प्रतीक्षामा थिएँ । मेरो लागि एस.एल.सी.को नतिजा पनि कुनै राष्ट्रिय घटनाभन्दा कम महत्वको थिएन, किनकि त्यही नतिजाले मेरो शैक्षिक र व्यावसायिक भविष्यको ढोका खोल्ने वा बन्द गर्ने थियो ।
केही महिनाको प्रतीक्षापछि २०६५ साल असार मसान्तमा नतिजा प्रकाशित भयो । त्यो समय आजजस्तो इन्टरनेट वा मोबाइल एपको सुविधा थिएन । गाउँमा बसेर नतिजा हेर्न सजिलो थिएन । अधिकांश विद्यार्थीहरू गोरखापत्रमा प्रकाशित लाखौँ सिम्बोल नम्बरहरूबीच आफ्नो नम्बर खोज्ने गर्थे वा १६०० नम्बरमा फोन गरेर नतिजा बुझ्ने प्रयास गर्थे । हाम्रो गाउँमा फोन पनि थिएन । टारीमा रेशम काकाको घरमा सायद त्यतिबेला भर्खर स्काई एस.टी.डी. फोन जडान गरिएकाे थियो । म पनि त्यही फोनमा बारम्बार १६०० डायल गरिरहेको थिएँ । तर फोन निरन्तर व्यस्त आइरहेको थियो । धेरै प्रयासपछि बल्ल कनेक्सन भयाे र जब मैले प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण भएको समाचार सुनेँ, त्यो क्षणलाई शब्दमा वर्णन गर्न आज पनि गाह्रो लाग्छ । म खुशीले उफ्रिन थालेको थिए। किनभने हामीजस्ता सरकारी विद्यालयमा अध्ययन गर्ने गाउँले विद्यार्थीका लागि प्रथम श्रेणी ल्याउनु वास्तवमै पहाड फोड्नुजस्तै कठिन उपलब्धि थियो ।
हाम्रो विद्यालयबाट एस.एल.सी. दिएका करिब १९३ जना विद्यार्थीमध्ये केवल ८९ जना मात्र उत्तीर्ण भएका थिए भने प्रथम श्रेणी ल्याउने विद्यार्थीहरूको संख्या मात्र २३ थियो । ती २३ जनामध्ये म पनि एक थिएँ, अझ विद्यालयको शीर्ष १० भित्र पर्न सफल भएको थिएँ । मैले ६५ प्रतिशत अंकसहित प्रथम श्रेणी हासिल गरेको थिएँ । त्यो परिणामले मेरो आत्मविश्वासलाई नयाँ उचाइमा पुर्यायो । मैले महसुस गरेँ—यदि गाउँको साधारण परिवेशबाट र सीमित स्रोतसाधनका बीच अध्ययन गरेर पनि यो उपलब्धि हासिल गर्न सकिदो रहेछ भने भविष्यमा त मैले अझ ठूलो सपना देख्न र पूरा गर्न पनि सक्ने रहेछु ।
सायद यही कारणले त्यो नतिजाले मेरो जीवनको दिशा नै परिवर्तन गरिदियो । राम्रो उच्च शिक्षा हासिल गर्नुपर्छ, ठूलो संसार हेर्नुपर्छ र जीवनमा केही अर्थपूर्ण कर्म गर्नुपर्छ भन्ने दृढ संकल्प मनमा पलायो । अन्ततः २०६५ साल साउन ८ गते झोला बोकेर ईश्वर दाइ (ठुलबाकाे जेठा छाेरा) काे साथ लागेर उच्च शिक्षाको लागि अल्कटारबाट हिँडेरै धादीङबेसीसम्म (लगभग ५० किलोमिटर) र धादीङबेसीबाट काठमाडौंतर्फ प्रस्थान गरेँ । मलाइ पहिलाे पटक काठमाडाैं ल्याउँन विशेष साथ दिनुभएकाेमा आदरणीय ईश्वर दाइ प्रति सधैंभरी कृतज्ञ छु । आज पछाडि फर्केर हेर्दा महसुस हुन्छ, त्यो नतिजा केवल एउटा प्रमाणपत्रको उपलब्धि मात्र त थिएन, त्यो त मेरो आत्मविश्वास, संघर्ष, आमा र हजुरबाको प्रेरणा, गाउँको माटोको प्रेम, शिक्षकहरूको मेहनत र मेरो लागि उज्यालो भविष्यतर्फ खुलेको एउटा ऐतिहासिक ढोका रहेछ ।
मेरो बाल्यकालको पहिलो फोटो र गाँउलेजीवनका यादहरू
कविताः स्मृतीमा बालापन - गाँउबाट हराएको मान्छे
आजको दिन मेरो जीवनको ब्लगिङ यात्राको शुरूवाती पहिलो दिन । मिति २०६९ साल फागुन १५ गते मेरो जन्मदिन कै दिन surprisingly मेरो नामको डोमेन www.bhimprasad.com.np मर्कन्टाइलले प्रदान गर्ने नेपाल सरकार को राष्ट्रिय डाटाबेसमा सफलतापूर्वक दर्ता भएर मैले आफैले डिजाइन गरेको ब्लगसाइटमा यो पहिलो ब्लग साझा गर्न पाउँदा मलाई बहुत खुशी लागेको छ । आजको आजै तात्तातै खासै केहि लेख्ने कुरा भेटीन । म एक कवि मनको विद्यार्थी भएको हुनाले यहाँहरू सामु मैले गत दशैमा गाँउ गएको बेलामा गाउँ घरको भीरपाखामा बाख्रा चराउन जादा रचना गरेको एक कविता प्रस्तुत गर्दै छु !
"स्मृतीमा बालापनः गाँउबाट हराएको मान्छे"
आज म गाँउमा छु ।
धेरै वर्ष पछि आज म,
पुनः गोठालो आएको छु ।
बचपनमा घरबनाइ खेलेको ती ढुङ्गा-माटोहरू,
लहरा समातेर पीङखेलेको त्यो रिफेल चौतारो,
त्यो ढकाल चौतारो, त्यो मास्लो चौतारो;
स्कुलबाट भागी भागी पौडी खेल्ने बुडी गंगाको त्यो खाडी,
र सिङखोलाको त्यो दुईकापे हाँडे रूवा,
डन्डिबियो खेल्ने ती निस्नेखेतको खलेगरा,
मोजामा कोदोको भुस कोचेर
फुटबल खेलेका टारका ती ठुला गराहरू,
दिदीबैनिसग खुट्टी र गट्टा खेलेका ती आँगनहरू,
खोपी, ढ्याक र गुच्चा खेलेका घरका ती कर्साहरू,
लुकी र ढ्यापलगाइ खेलेका गाँउका ती गल्लीहरू,
हाफछुट्टीमा चुङ्गी र भालेजुदाइ खेल्ने डाँडास्कुलको त्यो चौर,
सबै सबै यथावथ रहेछ, मलाई सम्झिरहेको रहेछ ।
मलाइ पर्खिबसेको रहेछ ।
लोक भाकाहाल्दै, सिटी बजाउदै, पात बजाउदै,
घाँस दाउरा र गोठालो गरेका ती छत्यौनपाखा र निस्नेका भीरहरू,
अनि, मेलापात गरेका ती खेत खलियानहरू,
सिम्लेखेत, चालिसे खेत, निस्ने खेत, टार खेत,
सबै सबै, जस्ताको तस्तै मलाई कुरीरहेका रहेछन ।
बादर लखट्ने टारी र ठुलटारखोला अझैं पनि छदै छ रहेछ ।
गाउबेसी, उकाली वराली, अझैपनि रहेछ ।
वायखोलाका एैसेलुका झ्याङहरू, खाडीका बयरघारी,
सानटारखोलाको अमराका रूखहरू,
र नीस्नेभीरको अमला र भलायोहरू,
अझैपनि फलिरहेकै रहेछन ।
असार लागेपछि हामीले हल्लाउने-
त्यो बम्बै आपको रूख, केरकाली आपको रूख,
र, त्यो लोहोरे आपको रूखहरूले अझैपनि फल दिईरहेको रहेछ ।
काफल पाक्न थालेपछि
काफल पाक्यो काफल पाक्यो भनेर
वियोगमा कराउने चरा, अहिले पनि कराईरहने रहेछ ।
कोइली चरीले अहिले पनि विरहको भाका गाईरहने रहिछिन ।
ढुकुरका जोडीहरू त्यो बुडो दबदबेको रूखको हाँगामा बसेर,
प्रेमालाप गरिरहने रहेछन अझैपनि ।
विहान गाँउबासीलाइ सुर्योदयसै उठाउन "कुखुरी-काँ"
कराउन छाडेको रहेनछ कुखुराकाे भालेले पनि ।
बचपनमा हामीले चोरी खाने गरेको कुमारघरको भोगटे,
गोपाल काकाको बारीको निबुवा र उखु, ठुलबाको बारीको काक्रो,
र सराई काकाको खेतको बेलाउती अझैपनि फरिलहेकै रहेछ ।
हामीले खोतली खोतली खाने,
अर्चलेको खनायो, चालिसे खेतको बुडो खनायो,
अझैपनि फलिरहेकै रहेछन ।
जिब्रो कालो न कालो हुनेगरी
हामिले बच्पनमा खाने कालीअँगेरी,
अझैपनि पाखाभरी फलिरहेका रहेछन ।
मंसिरमा धानको कुनियोको शिरमा चढाउने
लालुपातेफुल अझैपनि फुलिरहेकै रहेछ ।
हरेक अनाज रोप्ने बेलामा र भित्राउने बेलामा
श्रद्दाले पहिलाे भाग चढाउने गरेको
चालिसेको भुमे, निस्नेको भुमे,
र सिम्लेको भुमे अझैपनि रहिरहेछ ।
स्कुलबाट फर्कियपछिको हाम्रो खाजा
केराको पातमा हालेको कोदोको रोटी,
अझैपनि पाक्ने रहेछ गाँउमा ।
मोही र भुटेको मकैभटमास खाजा चलन
अझै पनि रहिहेछ गाँउमा ।
पन्ध्र असारमा खाने दहि चिउरा, साउनमा खाने खिर,
तीजमा खाने दर, दशैमा खाने मासु चिउरा,
तीहारमा खाने झिलाय र रोटी, न्वागीमा खाने दहिचामल,
पन्ध्र पुसमा खाने लट्टे, माघमा खाने खित्रो र तरूल,
अनि फागुनको भाङ र धुनी चलन अझैपनि रहिरहेछ ।
सबै सबैलाइ,
म जिउदै छ वा मरिसक्याे, थाहा छैन,
म फर्किन्छ वा फर्किदैन, थाहा छैन ।
तर, यी सबै सबै धैर्यपूर्वक मलाई पर्खिएर बसिरहेका रहेछन ।
ती सालका रूखहरू, ती पहरोहरू, ती भीरहरू, ती पाखाहरू,
ती खोलाहरू, ती चौतारीहरू, ती गराहरू, ती फाटहरू,
त्यो बुडीगण्डकी, त्यो वायखोला, त्यो सिंगखोला,
धापिएको बेला आँतै शितल गराउने बाँसझ्याङको त्यो चिसो पनी,
तीनिहरू सबै सबै कति सौम्य र धैर्य !
मलाई कुरेर बसिरहेका रहेछन।
तर, म कति बैगुनी?
आमाको गुन बिर्सियर
बाहिर बाहिर चारी हिड्ने ?
संसारको भोगमा रमाइहिँड्ने ?
सान्सारिक भोगमा जति जति डुबे पनि
कहिल्यै तृप्त भएर आमाको काँखमा नफर्किने
सधै सधै अरूकै दास भएर रमाइरहने,
हेर्नुस त, म कति बैगुनी ।
म गाँउ छाडेर काठमाडौं गएपछि,
मैले हेरीरहेको छु, मैले देखिरहेको छु,
र, मैले महसुस गरिरहेको छु-
काठमाडौंका कयौं चौरहरू मासिय,
कयौं रूखबोटबिरूवा मासिय,
कयौं कुलो र खोलाहरू मासिय,
कयौं फाल्सा, हिटी र धाराहरू मासिय,
कयौं पोखरीहरू मासिय,
कयौं गल्लिहरू मासिय,
कयौं बाटोहरू मासिय,
कयौं जग्गाहरू मासिय,
केवल कंक्रिटका ठुला ठुला घरहरू
थपिएको थपियै छन,
जहाँ कोठाहरू त जोडिएको छ
तर कोठाको हरेक भित्ताले,
पल्लो कोठाको छिमेकीसँग
मन जोडिन छेकिदिएको जस्तो,
कसैको वास्ता बेस्ता नहुने ।
खासमा भन्नुपर्दा,
कंक्रिट नै कंक्रिटको मरूभुमी रहेछ काठमाडौं,
न मिठो खाने पानि छ, न सास फेर्न स्वच्छ हावा छ,
धुलो र धुवामा निसास्सियर पनि,
हेर्नुस त, त्याँही रमाएर बसिरहेको म ।
उफ,
एकफेर सोचिल्याउला त
स्वर्ग भनेको त गाउँ नै पो रहेछ ।
तर, मलाइ थाहा छ-
सबैको भागमा,
स्वर्गको बास कहाँ लेखेको हुनेरहेछ र !























