आजको युगमा हामीले ठूला ठूला विकासको कुरा गर्छौं- प्रविधिको क्रान्ति, सूचना युग र डिजिटल संसार । तर के हामीले कहिल्यै मानव सभ्यता, आफ्नो जिवन पद्धती वा हाम्रो बास्तविक जीवनलाइ हेरेका छौं? के यो विकास साँच्चै मानव सभ्यता र संस्कृतिको उन्नति हो त? मलाइ लाग्छ यो त केवल एउटा भुलभुलैया वा भ्रम हो, जसले हाम्रो वास्तविक जीवन, सम्बन्ध, स्वास्थ्य र संस्कृतिलाई नै खतरामा पारिरहेको छ ।
एक पटक गहिरेर सोच्नुस त, फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक संजालहरूले हाम्रो जीवन कब्जा गरिरहेका छन् । अब खाना खाने उद्देश्य शरिलाइ पौष्टिकता दिनु वा पेट भर्नु होइन, राम्रो फोटो खिचेर पोस्ट गर्नु हो । भेटघाटको उध्येश्य दुःख सुखका मिठो कुरा गर्नु होइन, सेल्फी खिच्नु हो । यात्राको अर्थ अनुभव बटुल्नु, रमाउनु, घुम्नु होइन, केवल फोटो खिच्नु र लोकेशन ट्याग गर्नु हो । तपाइहरू सामाजिक संजालमा हजारौं साथी बनाउनुहुन्छ, तर तपाइको दुःखमा साथ दिन को को आउनु हुन्छ ? भन्नुस त ?
आजको युवा पुस्ता जो देशको सिर्जनात्मकताको मेरुदण्ड हुनुपर्थ्यो, उनीहरू मोबाइलको स्क्रिनमा टाउको गाडेर, ट्रेन्ड अनुकरणमा लागेका छन् । उनीहरू सुत्न भुल्छन्, पढ्न सक्दैनन्, छोटा छोटा रिल भिडियो बाहेक गहिरा दर्शन वा पाठ सिकाउने लामो अन्तरवार्ता वा लामो कथा वा किताब पढ्न सक्दैसक्दैनन, उनिहरू यस्तोमा मन अडाउन नै सक्दैनन । समाजमा आपफन्त इष्टमित्रहरूसँग भेटघाट गर्न वा अभिव्यक्त हुन डराउँछन् । उनीहरूका लागि लाइक, भ्यू, शेयर नै सफलताको मापन बनेको छ । गाँउमा आगोलागि भयो भने त्यहाँ गएर आगो निभाउन सहयोग गर्नुको सट्टा भिडियो रेकड गर्न थाल्छन । सोच, चिन्तन, विवेक त मरेतुल्य छ ।
बाबुआमा र छोराछोरी एउटै कोठामा भए पनि चार फरक पर्दामा हराइरहेका हुन्छन् । संस्कार र संस्कृति मोबाइलको नोटिफिकेसनमा हराउँदैछन् । चाडपर्व फोटो खिच्ने वा सेल्फी पर्वमा रूपान्तरण हुँदै छन् । कस्तो विडम्बना? हामी नेपाली, हाम्रो हजारौं वर्षको सांस्कृतिक धरोहर छ, तर हामी पश्चिमी यूट्युबरले गाँउका सोजा मानिसहरूलाइ १०० रूपयाँ बाडेर फेक-दयालु देखिएर बनाएका भल्ग हेरेर संस्कार सिकिरहेका छौं ।
मोबाइ, इन्टरनेट, डिभाइस वा मेसिनहरू मानव जीवनको सहजिकरणको लागि आविष्कार गरिएका थिए, तर अब हामी उनीहरूको दास भएका छौं । मोबाइल नहुँदा बेचैन, इन्टरनेट नचल्दा क्रुद्ध, चार्ज सकिँदा पागल । यो के हो? मानिसको स्वभाव हो त यो? हामी अब न्याचुरल बीइङ होइन भर्चुअल बीइङ भएका छौं । सृष्टिमा मानिस मात्र छैनौं । चराहरूले इन्टरनेट, मोबाइल, फेसबुक केहि चलाउदैन, उनिहरू जीवनको मजा लिन्छन, जीवनलाइ पल पल जिउछन, परिवारमा रमाउछन । के मानिस मोबाइलमा टाउको घोप्टे पार्न मात्र जन्म लिएको हो? यहि हो असलि जिउने तरिका ? यहि हो मानिसको प्राकृतिक धर्म वा प्राकृतिक जिवनपद्धती ?
त्यसर्थ, हामीले जीवनलाइ पुनः सहि प्राकृतिक पथमा ल्याउनु पर्छ । हामी फेरि साँच्चिकै हाँस्न सिक्नुपर्छ । फेस टु फेस प्रतक्ष मानिसहरू भेट गर्नुपर्छ। हामीले बालबालिकालाई हातमा मोबाइल होइन, फुटबल, गुच्चा, चुंगी, गट्टा, डण्डिबियो दिनुपर्छ । बिरामी साथी वा आपफन्तलाई इनबक्समा म्यासेज गरेर होइन, अस्पतालमा गएर भेट्नुपर्छ । जीवन डिजिटल होइन, वास्तविक जिउनु पर्छ ।
यदि हामीले मोबाइल, सामाजिक संजाल र यन्त्रहरूलाई केवल सञ्चार र सूचना आदानप्रदानको लागि सीमित गर्यौं भने, तिनको उपयोगीता हुनेछ । तर दिनभरि त्यहीमा हरायौं भने, त्यो केवल दुरुपयोग हो, आत्मघाती हो।
हामी डिजिटल युग भनिने एउटा डिजिटल चक्रभ्यु भित्र फँसिरहेका छौं । यो युगले हामीलाई बुद्धिमान होइन, केवल नाम मात्रको व्यस्त बनाएको छ । खासमा हामीलाइ जोडाएको छैन, टुक्राएको छ । अब समय आएको छ, हामीले विचार गर्नुपर्छ, हाम्रो संस्कृति, हाम्रो स्वास्थ्य, हाम्रो सम्बन्ध, हाम्रो वास्तविकता, हामीले कसरी जिवन जिउनु पर्छ, हाम्रो असलि प्राकृतिक जिवनशैली कस्तो हुनुपर्छ, हामी पनि चराहरू जस्तै खुशी र सुन्दर जिवन बिताउन कस्तो जिवनपद्धति अपनाउनु पर्छ, आजैदेखि मनन गरौं । हामी यन्त्रको गुलाम बन्न आएका होइनौं । हामी प्रकृतिको प्राकृतिक सन्तान हौं । हामि कृत्रीम मानिस हैनौं । हाम्रो जीवनमा यन्त्र होइन, साथीको, मानिसको, समाजको साथ चाहिन्छ।