नेपाली गाउँले जीवन – अर्थपूर्ण जीवन



नेपाली गाउँले जीवन धेरै हिसाबले गहिरो, अर्थपूर्ण, आनन्दीत, सन्तुलित र मानवीय हुन्छ । शहरको भागदौडभन्दा परको गाउँले जीवनले मन, शरीर र समाजलाई सन्तुलित बनाउने मात्र हैन समग्र जीवनलाई नै अर्थपूर्ण बनाईदिन्छ । जहाँ कृत्रिमताको साटो प्राकृतिकता, प्रतिस्पर्धाको साटो सहकार्य र तनावको साटो शान्ति पाइन्छ, त्यहाँको जीवन स्वाभाविक रूपमा सन्तुलित र पूर्ण अनुभव हुन्छ । त्यसर्थ, मैले “किन गाँउमै बस्नु पर्दो रहेछ?” भन्ने प्रश्नको उत्तर दिनको लागि गाँउले जीवनका उल्लेखनीय पक्षहरुलाई समेटेर यो लेख तयार पारेको हुँ । प्रस्तुत छ “गाँउले जीवन–अर्थपूर्ण जीवन” का आधारहरुः

१. स्वच्छ वातावरण र स्वस्थ जीवनः गाउँले जीवनको पहिलो महत्वपूर्ण पक्ष भनेको स्वच्छ वातावरणमा आनन्दले बस्न पाउनु हो । गाँउमा प्रदूषण कम हुने भएकोले त्यहाँको हावा स्वच्छ, पानी प्राकृतिक र खाना प्रायः जैविक हुन्छ । गाउँमा पाइने ताजा तरकारी, जैविक खाद्यान्न र स्थानीय उत्पादनले पोषणयुक्त जीवनशैली निर्माण गर्छ । गाँउको यस्तो स्वच्छ वातावरण र प्राकृतिक खानपानले शरीरलाई मात्र होइन, मनलाई पनि स्वस्थ राख्छ र दीर्घकालीन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । त्यसर्थ गाँउमा बस्दा जीवन स्वस्थ रहने मात्र होइन, गहिरो मानसिक शान्ति प्राप्त हुने भएकोले गाँउले जीवन अर्थपूर्ण रहन्छ ।

२. समुदाय, सामाजिक सम्बन्ध र आत्मियताः
गाउँमा सामाजिक सम्बन्ध अत्यन्तै गहिरो, आत्मिय र बलियो हुन्छ । छिमेकीहरू केवल छिमेकी मात्र होइनन, परिवारजस्तै हुन्छन । हरेक दुःख–सुखमा एकअर्कालाई साथ दिने संस्कारको कारण गाँउका सबै सदस्यहरुलाइ एकअर्काबिच आत्मियता र सहकार्यभावले घनिष्टरुपमा जोडेर राखेको हुन्छ जसले गर्दा गाँउले जीवन एकदमै सुरक्षित रहन्छ । यस्तो सामाजिक संरचनाले आपसी विश्वास, सहयोग र सद्भाव बढाउँछ, जसले जीवनलाई सहज र निश्चिन्त बनाउँछ । अर्थात, गाउँमा “म” भन्दा “हामी” को भावना बलियो हुन्छ, त्यसर्थ गाँउमा एक्लोपना भन्ने नै हुँदैन ।

३. आत्मनिर्भरताः आत्मनिर्भरता गाउँको अर्को महत्वपूर्ण पक्ष हो । आफ्नै खेतबारीमा उत्पादन गरिएको अन्न, तरकारी, फलफुल, दूध र अण्डाले जीवनलाई आत्मनिर्भर बनाउँछ । यसले परनिर्भर आर्थिक भार घटाउनुका साथै आपतकालिन बचत, आत्मविश्वास र दिगो आत्मनिर्भरता पनि बढाउँछ । आफ्नै श्रम र उत्पादनमा आधारित जीवनले आत्मसम्मान बढाउँछ र मानिसलाई आफ्नो जीवनप्रति गर्व गर्न सिकाउँछ । यसले दीगो आत्मनिर्भर जीवनशैलीको विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउँछ ।

४. सरल एवं तनावरहित जीवनः गाउँले जीवन सरल र तनावरहित हुन्छ । गाँउमा अनावश्यक प्रतिस्पर्धा, भागदौड र करिअरको प्रेसर कम हुने भएकाले मानिसहरू मानसिक रूपमा शान्त र सन्तुष्ट रहन्छन । दैनिक जीवनको गति आफ्नै प्राकृतिक लयमा चल्ने हुँदा शरीर र मन दुवैमा सन्तुलन कायम हुन्छ । त्यसर्थ, गाँउमा मानसिक तनाव कम र सन्तुष्टि बढी पाइन्छ, जसले मानिसलाई दीर्घकालीन रूपमा खुसी र स्वस्थ बनाउँछ ।

५. प्रकृतिसँग नजिकको सम्बन्धः प्रकृतिसँग नजिकको सम्बन्ध गाउँको आत्मा हो । हरियाली बनजंगल, खोला नाला, पहाड र खुला आकाशसँगको दैनिक सम्पर्कले मानिसलाई ऊर्जा र आनन्द प्रदान गर्छ । यस्तो वातावरणले मानसिक थकान हटाएर नयाँ ऊर्जा दिन्छ । यसरी प्रकृतिसँगको दैनिक सम्पर्कले मानीसको जीवन पनि प्राकृतिक लयमा चल्ने मात्र होइन मानीसको आत्म पनि सदैव पवित्र रहन्छ । अर्थात, बिहानको ताजा हावा, चराहरुको आवाज, विहानीको घामको स्पर्श र माटोमा गरिने दैनिक खेतिपातीको कामले जीवनलाई पूर्ण रुपमा प्राकृति एवं ऋतुअनुसारको जीवनशैली मोडमा चलाउछ ।

६. कम खर्चिलो जीवनः गाउँमा जीवनयापन खर्च कम हुन्छ । घरभाडा तिर्न पर्दैन । तिर्न परेपनि निकै सस्तो हुन्छ । मुख्य कुरा, गाँउमा धेरै जसो खाद्यान्न आफैं उत्पादन गर्न सकिन्छ । आफ्नै खेतबारीमा उत्पादन गरिएको अन्न, तरकारी, फलफुल, दूध र अण्डाले जीवनलाई आत्मनिर्भर बनाउँछ । फलस्वरुप आर्थिक बचत पनि हुन्छ । साथै, अनावश्यक विलासी खर्च कम हुने भएकाले आर्थिक व्यवस्थापन सजिलो हुन्छ । समग्रमा, घरभाडा, यातायात खर्च, खानापान र दैनिक आवश्यकताहरु गाँउमा सस्तो हुँन्छ जसले गर्दा गाँउमा आर्थिक रूपमा सहज जीवन बिताउन सकिन्छ ।

७. संस्कार, परम्परा र पहिचानको संरक्षणः संस्कार र परम्पराको संरक्षण गाउँमा अझै जीवित छ । चाडपर्व, भेषभुषा, खानपान, भाषा, परम्परागत रितीरिवाज र सांस्कृतिक अभ्यासहरूले हाम्रो पहिचान जोगाइराख्छन । पुस्तौंदेखि पुस्तासम्म सर्ने यी परम्पराहरूले सामाजिक एकता र सांस्कृतिक निरन्तरता कायम राख्छन् । खासमा आफ्नो मौलिक परम्परा र सास्कृतिक पहिचान सहतिको जीवन नै अर्थपूर्ण जीवन हो ।

८. बच्चाहरूका लागि राम्रो वातावरणः बास्तवमा बच्चाहरूका लागि गाउँ उत्कृष्ट वातावरण हो । खुला ठाउँ, प्राकृतिक सिकाइ र पारिवारिक संस्कारले उनीहरूको समग्र विकासमा सकारात्मक भूमिका खेल्छ । खुला ठाउँमा खेल्न पाउँछन । प्रकृतिसँग सिक्ने मौका पाँउछन । परिवार र समाजबाट राम्रो संस्कार पाउँछन । साथै, डिजिटल निर्भरता कम भई व्यवहारिक जीवनोपयोगी सीप विकास हुन्छ । त्यसर्थ बच्चाहरुका लागि गाँउ जस्तो उत्तम वातावरण अन्यत्र हुँदैन ।

९. सन्तुलित जीवनः गाउँले जीवनले काम र व्यक्तिगत जीवनबीच राम्रो सन्तुलन मिलाएको हुन्छ । ऋतुअनुसार बाली रोप्ने वा भित्राउने काममा लाग्नु पर्ने भएता पनि हरेक दिन बिहान बेलुका र खेतीबालीको समय बाहेक अरु समय सधैं परिवारसँग घरमै आनन्दको समय बिताउने, गफगाफ गर्ने, खाने, ठुलाले सानाइ सिकाउने, घरको काम सबै मिलेर गर्ने जस्ता गतिविधिहरुले गर्दा गाँउले जीवनमा कामको अलवा परिवारसँग प्रसस्त समय बिताउन पाइन्छ, फलस्वरुप पारिवारीक सम्बन्धहरू अझ प्रेमपूर्ण, जीवन्त र मजबुत हुन्छन ।

१०. आत्मिक शान्ति र आध्यात्मिकताः आत्मिक शान्ति गाउँको अमूल्य पक्ष हो । गाँउको शान्त वातावरणले ध्यान, पूजा, साधना र आत्मचिन्तनका लागि अनुकूल वातावरण सिर्जना गर्छ । जसले गर्दा मन बाहिरतिर भन्दा भित्रतिरै केन्द्रित हुन मद्यत पुग्छ । यस्तो अभ्यासले मानसिक स्थिरता र आत्मबोध बढाउँछ । जब बाहिरी दुनियाबाट आफ्नै भित्री दुनियामा ध्यान केन्द्रीत हुन थाल्छ, तब जीवन अर्थपूर्ण लाग्ने मात्र होइन, जीवनमा आत्मिक शान्तिको अनुभूति हुनथाल्छ ।

११. सीप विकास र व्यवहारिक ज्ञानः गाउँले जीवनले व्यवहारिक सीप विकास गराउँछ । खेतीपाती, पशुपालन, निर्माण र दैनिक कामकाजले मानिसलाई सक्षम र आत्मनिर्भर बनाउँछ । यस्ता सीपहरूले जीवनका वास्तविक समस्याहरू समाधान गर्न मद्दत गर्छन् । अर्थात, गाँउले जीवनले मानिसलाई व्यावहारीक ज्ञान अभिबृद्धी गराउछ जसले गर्दा उनिहरुमा दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्ने क्षमता बढ्छ । भनिन्छ मानिसले कि पढेर जान्छ, कि परेर जान्छ वा कि गरेर जान्छ । त, गाँउमा पुस्तकबाट भन्दा वास्तवीक जीवन भोगाइ र काम गराईबाट सिक्ने शिक्षा पाइन्छ र त्यस्तो शीक्षाले जीवनको हरेक दुःख सुखमा काम दिन्छ । 

१२. प्राकृतिक स्रोतहरूको सही उपयोगः प्राकृतिक स्रोतहरूको सन्तुलित उपयोग गाउँको महत्वपूर्ण विशेषता हो । पानी, जंगल र जमिनको संरक्षण गर्दै प्रयोग गर्ने चलनले दीगो जीवनपद्धतीलाई प्रोत्साहन दिन्छ । यस्तो जीवनपद्धतीले भविष्यका पुस्ताका लागि पनि स्रोत सुरक्षित राख्न सिकाउछ । गाँउमा मानिसहरु प्राय स्थानीय स्रोत र साधनहरु जस्तै पानी, जंगल र जमिनमा नै निर्भर हुन्छन जसले गर्दा स्वत दिगो जीवनपद्धतिको विकास हुन्छ ।

१३. श्रमको सम्मान र सक्रिय जीवनः श्रमको सम्मान गाउँमा स्पष्ट देखिन्छ । गाँउमा काम नगरी बस्ने चलन हुँदैन । गाँउमा काम नै धर्म हो, काम नै पूजा हो भन्ने भावना हुन्छ । त्यसर्थ गाँउमा दैनिक शारीरिक श्रम गरिन्छ । दैनिक शारीरिक कामले शरीरलाई बलियो एवं सक्रिय राख्नुका साथै श्रमप्रतिको सम्मान पनि बढाउँछ । यसले अनुशासन, लगनशीलता र आत्मनिर्भरता पनि विकास गर्छ ।

१४. स्वतन्त्रता र स्वाभिमानः स्वतन्त्रता र स्वाभिमान गाउँले जीवनको आधार हो । आफ्नै स्रोत र साधनमा आधारित जीवनले मानिसलाई आत्मनिर्भर र आत्मसम्मानी बनाउँछ । आफ्नै घर, आफ्नै जमिन, आफ्नै परिश्रम र आफ्नै उत्पादनमा आधारित जीवन बास्तवमा एकदमै स्वाभिमानपूर्ण जीवन हो जहाँ कसैको नियन्त्रण वा कसैसँग निर्भरता हुँदैन, जसले गर्दा गाँउले जीवनमा आत्मसम्मान बलियो हुन्छ ।

१५. सामुदायिक सहभागिता, सामूहिक निर्णय र सहकार्यः सामुदायिक सहभागिता, सामूहिक निर्णय र सहकार्यले गाँउले समाजलाई एकताबद्ध र जिम्मेवार बनाउँछ । जस्तै मेलापात, मेलापर्म, अ‍ैचोपैचो, समुह र सभा लगायतले गाँउलेहरुलाई एकआपसमा परस्पर घनिष्ठ सम्बन्धमा जोडेर राखेको हुन्छ । यस्तो सहभागिताले मानिसहरुमा लोकतान्त्रिक अभ्यास र सामाजिक जिम्मेवारी पनि विकास गर्छ ।

१६. प्राकृतिक उपचार र घरेलु औषधिः प्राकृतिक उपचार र घरेलु औषधिको ज्ञान गाउँमा प्रयापत पाइन्छ । जडीबुटी र परम्परागत उपचार विधिहरूले विभिन्न रोगब्याधी र स्वास्थ्य समस्याहरू समाधान गर्न सहयोग गर्छन । यस्तो अभ्यासले स्वास्थ्य सम्वन्धी वैकल्पिक एवं प्राकृतिक ज्ञान पनि बढाउछ । साथै, यसले आधुनिक औषधिमा निर्भरता कम गरि प्राकृतिक एवं सन्तुलित स्वास्थ्य दृष्टिकोण समेत विकास गर्छ ।

१७. मौलिक कला र सिर्जनात्मकताः मौलिक कला र सिर्जनात्मकता गाउँमा सदैव जीवित रहन्छ । लोकगीत, झ्याउरे, नाचगान, देउसी भैलो, रोधी, कथा, नाटक र हस्तकलाले मानिसहरुमा सांस्कृतिक समृद्धि र रचनात्मक अभिव्यक्ति अभिवृद्धी गर्दछ । यस्तो अभ्यासले मानिसहरुलाई कलात्मक, सृजनशील र सास्कृतिप्रेमी बनाउने मात्र हैन आफ्नो सास्कृतिक धरोहरहरुलाई समेत सदैव जीवित राख्न मद्यत पुग्छ । साथै, यसले सामाजिक मनोरञ्जन र सामूहिक खुशी पनि बढाउँछ ।

१८. वास्तविक जीवनको अनुभूतिः गाउँले जीवनले मात्र वास्तविक असली जीवनको अनुभूति गराउँछ । कृत्रिमता कम र प्राकृतिकता बढी हुने भएकाले गाँउमा साना–साना कुरामा पनि खुसी भेटिन्छ, जसले जीवनलाई साँच्चै अर्थपूर्ण बनाउँछ । सरलता र सन्तुष्टिमा आधारित जीवनले मानिसलाई वास्तविक खुशी के हो भन्ने बुझाउँछ । गाँउमा जीवन बास्तवमै बास्तवीक हुन्छन, शहरमा जसतो कृत्रिम हुँदैन गाँउको जीवन । बारिह अर्को र भित्र अर्को हुँदैन गाँउले जीवन । त्यसर्थ जीवनको वास्तविक स्वाद बास्तवमा गाँउमा नै पाइन्छ ।

समग्रमा, नेपालको गाउँले जीवन केवल जीवनयापन मात्र होइन, एक पूर्ण जीवनशैली हो, जहाँ सादगी, आत्मीयता र सन्तुष्टि पाइन्छ । गाँउको बसाइले मानिसलाई आत्मनिर्भर, सामाजिक रूपमा जिम्मेवार र मानसिक रूपमा सन्तुलित बनाउँछ । गाउँले जीवन केवल सहज, सरल र सन्तुलित मात्र होइन, आत्मनिर्भर, सुसंस्कृत एवं समृद्ध पनि हुन्छ, जसले जीवनलाई वास्तवमै यथार्थपरक, अर्थपूर्ण, सन्तुलित र दीगो बनाउँछ ।
Share:

मनमा गहिरो सन्तुष्टि, शान्ति र आनन्द दिने जीवनका पाँच जीवन्त कर्महरू



जीवनको वास्तविक आनन्द र सन्तुष्टि बाहिरी उपलब्धि वा भौतिक सुखमा भन्दा हाम्रो दैनिक कर्म, सोच र सम्बन्धहरूको गुणस्तरमा निर्भर रहन्छ । सानो तर अर्थपूर्ण काम, आत्मचिन्तन, सिर्जनात्मकता, प्रकृतिसँगको निकटता र मानवीय सम्बन्धहरूले मनलाई गहिरो शान्ति र खुशी दिन्छन । यही सत्यलाई आधार मानेर, मैले यहाँ जीवनलाई अझ अर्थपूर्ण, सन्तुलित र आनन्दमय बनाउने पाँच जीवन्त कर्महरूको चर्चा गरेको छु, जसले हामीलाई भित्रैबाट पूर्ण र सन्तुष्ट बनाउने बाटो देखाउँछन । 

(१) अरूलाई सहयोग गर्नु : अरूलाई सानो भए पनि सहयोग गर्दा मनभित्रैबाट आनन्द मिल्छ । जब हामी कसैलाई मद्दत गर्छौ, चाहे सानो सहयोग नै किन नहोस तब मनमा गहिरो खुशी आउँछ । निःस्वार्थ रूपमा गरिएको सेवा ले आफ्नो अस्तित्व अर्थपूर्ण लाग्छ, म पनि उपयोगी रहेछु भन्ने गहिरो अनुभूति दिन्छ, जसले अहंकार घटाएर  प्रेम र करुणा बढाउँछ र मन हलुका बनाउछ । यस्तो कामले क्षणिक खुशी मात्र होइन, जीवन्त सन्तुष्टि र शान्ति मिल्छ ।

(२) ध्यान र आत्मचिन्तनः शान्त भएर आफ्नै सास र विचारमा ध्यान दिनु मनलाई स्थिर र शान्त पार्ने  गहिरो उपाय हो । यसलाइ अंग्रेजिमा मेडिटेसन पनि भनिन्छ । ध्यान मार्फत मानिस वर्तमानमा बाँच्न सिक्छ, जसले मनको तनाव घटाउँछ, अनावश्यक चिन्ता हटाउछ र भित्री स्पष्टता र शान्ति बढाउँछ । ध्यानले आफूलाई गहिरोरूपमा बुझ्न मद्दत गर्दछ । 

(३) आफूलाई मनपर्ने काममा डुब्नुः जब हामी आफूलाई मनपर्ने काममा पूर्ण रूपमा डुब्छौं, समयको होस नै हुँदैन । जस्तै लेख्ने, पढ्ने, चित्र बनाउने, गित गाँउने, बाँसुरी बजाउने, अथवा अन्य कुनै न कुनै सिर्जनात्मक काम गर्नु । यसरी आफ्नो जीवनको उद्देध्य अनुसार आफुलाइ मन पर्ने कुनै न कुनै सिर्जनात्मक काममा डुबियो मनभित्रको भावनाहरू अभिव्यक्त हुन्छ, मन वर्तमानमा स्थिर हुन्छ, चिन्ता गर्न वा तनाब लिन समय नै हुँदैन, जसले अन्तत मन भित्रैबाट गहिरो आनन्द ल्याँउछ । यस्तो कामले जीवनलाई रचनात्मक र अर्थपूर्ण पनि बनाउँछ ।

(४)  प्रकृतिसँग जोडिनुः हरियाली जंगल, नदी, पहाड वा खुला आकाशमुनि बस्दा मन आफै चंगा हुन्छ, हलुका, प्रफुल्ल र शान्त हुन्छ । प्रकृतिसँग जोडिनाले मानिसलाई शहरी कृत्रिम व्यस्तताबाट टाढा लगेर जीवनको वास्तविक रंग, अर्थ र सुन्दरता सम्झाउँछ । प्रकृतिसँगको सम्वन्धले मनको तनाब, चिन्ता र थकान हटाएर प्राकृतिक उर्जा, सन्तुलन, सहअस्तित्व, समभाव, सरलता र जीवनप्रति कृतज्ञता बढाउँछ ।  

(५) गहिरो सम्बन्धहरू बनाउनुः साँचो खुशी एक्लै पाइँदैन, परिवार र सम्बन्धमा पाइन्छ किनभने मानिस सामाजिक प्राणी हो । खासमा परिवार, साथीभाइ वा प्रियजनहरूसँगको साँचो सम्बन्धले मात्र जीवनलाई वास्तविक अर्थ दिन्छ । परिवार, साथीभाइ वा अन्य प्रियजनहरूको माया, विश्वास र अपनत्वले भावनात्मक सहारा दिन्छ र एक्लोपन हटाउँछ । यद गर्नुहोस त जीवनमा परिवार, साथीभाइमा वा अन्य प्रियजनहरूसँग बिताएको समय नै प्रायः जीवनको सबैभन्दा मूल्यवान र यादगार क्षण बन्छ । त्यसर्थ अर्थपूर्ण जीवनको प्रमुख आधार भनेकै गहिरो सम्बन्धहरू र प्रेम हो । 

समग्रमाः खुशी खोज्दा पाइँदैन, अर्थपूर्ण काम गर्दा आफैँ आउँछ । जीवनको सबैभन्दा आनन्ददायक काम “बाहिरी” भन्दा “भित्री” हुनेरहेछन । यी र यस्ता कार्महरूले मात्र जीवनलाइ साचो अर्थमा अर्थपूर्ण बनाउछ । अर्थात, निस्वार्थ सेवा, ध्यान, सृजनतात्मक काम, प्राकृतिसँग जोडिनु र गहिरो सम्बन्धहरू बनाउनुले नै जीवनमा गहिरो खुशी, सन्तुष्टि, शान्ति र आनन्द ल्याउछ । यी कर्महरू गरेर जीवनको परमआनन्दलाइ आत्मसाथ गर्नुलाइ नै सायद मिनिङफुल लिभिङ वा अर्थपूर्ण जीवन भनिन्छ होला । 

Share:

समयको ऐनामा “मानिस”



नयाँ वर्ष २०८३ त आएको छ,
तर अझै पनि मेरो प्रश्न उही छ–
हामी बाँचिरहेका छौँ ?
कि केवल समय बिताइरहेका छौँ?
सायद नयाँ वर्ष त आयो,
तर जीवन अझै सुरु नै भएको छैन ।

वर्ष त हरेक वर्ष फेरिइरहेको छ,
तर, अझै पनि 
मानिस सुध्रिने त छेउ छनक देखिदैन ।
घडीको सुई त सुल्टो दिशा मै घुमिरहेको छ,
तर मानिसको चेतनाको सुई भने 
उल्टो दिशामा घुमीरहेको प्रतित भएको छ । 
सायद समय त अघि बढिरहेको छ,
तर मानिसहरुको चेतना भने 
झन झन पछि पर्दै गईरहेको छ ।

हातमा मोबाइल, आँखा स्क्रिनमा छ, 
र, औँला ननस्टप रिल स्क्रोल गरिरहेछ,
तर आत्मा भने कठै खाली छ । 
जस्तो कि मानिस मानव होइन,
समय काट्न बनाइएको कुनै यन्त्र हो ।

कोही अहङ्कारको महल बनाइरहेछ,
कोही उत्तेजना र आवेगको आगोमा आफैँलाई पोलिरहेछन,
कोही पैसाको पछाडि यति दौडिरहेका छन कि 
गन्तव्य कहिल्यै पुगिने ठाउँ होइन भन्ने बुझेर पनि, 
बुझ पचाएर दौडरिहेका छन...।

भन्नलाइ त मानव सभ्यता उन्नत भएको भनिन्छ,
तर मानवता भने कता कता हराएको जस्तो देखिन्छ ।
घर ठूला ठूला भएका छन, मन साना ।
सूचना धेरै भएका छन, विवके कम । 
बोलीचाली मीठा भएका छन, तर नियत कडा । 
सोसल मिडियामा साथी धेरै भएका छन,
दुःख सुखमा साथ कम ।
सम्बन्धहरु धेरै भएका छन, आत्मीयता कम ।
भीड बढेको छ, तर मान्छे एक्लिँदै गएका छन । 

सपना ठूला भएका छन, तर निद्रा हराएको छ । 
ज्ञान बढेको छ, तर प्रज्ञा हराउँदै गएको छ । 
नजिकै बसेका छन सबै, तर दूरी गहिरो छ ।
देखावा बढेको छ, वास्तविकता घटेको छ ।
तर्क बढेका छन, तर समझ घटेको छ ।
सफलता बढेको छ, तर सन्तुष्टि घटेको छ ।
कपट र वैमानि बढको छ, तर निष्ठा र नैतिकता हराएको छ ।
झुटको खेती बढेको छ, तर सत्यको रंग उडेको छ । 
जागरणको आवाज चर्को छ, तर आत्मा अझै सुतेकै छ ।

आखिरीमा...
यसै उसै जीवन त फगत बितिरहेछ,
तर, जिवनलाई असलि रुपमा जिउने 
फुर्सद भने कसैले पाएका छैनन । 
Share:

बसन्त, उत्साह र नयाँ वर्षको उमंग



आज नयाँ वर्ष २०८३ को पहिलो दिन, जीवनमा विगतका अनेकन उकाली ओराली र मोडहरू सम्झँदा मन एकदमै दंग परेको छ र नयाँ वर्षाका नयाँ दिनहरू थप सकृय, सृजनशील र सार्थक रहुन भन्ने मनोभावले उत्साहित भएको छ । बसन्त ऋतु सधैंझैं फेरि फर्किएको छ । नयाँ पालुवाहरू पलाउन थालेका छन । फुलहरू ढकमक्क फुलेर चारैतिर सुवास छर्न थालेको छ । फलहरू लाग्न थालेका छन । चराचुरुङ्गीहरूको मधुर स्वरले वातावरणा गुन्जायमान छ । हरियालीले भरिएको प्रकृतिको यो पुनर्जागरणले सबैको मनलाइ मोहित बनाएको छ । बसन्त ऋतुसँग मेरो पनि कनेक्सन गहिरो छ । शुरूवातीदेखि नै बसन्त ऋतुसँग मेरो जीवनको विभिन्न अध्यायहरू पनि जोडिँदै जोडिँदै आएका छन । बसन्त ऋतु काल मै जन्मिएर ३४ वर्ष पूरा गरी ३५औँ वर्षमा पाइला राख्दै गर्दा, हरेक नयाँ वर्ष मलाई केवल पात्रोको परिवर्तन मात्र नभई, आत्मा र जीवनको नयाँ शुरुआत जस्तो लाग्छ । हरेक वर्ष बसन्त ऋतुले प्रकृतिमा अनुपम बहार ल्याए झै जीवनमा पनि निरन्तर नयाँपन, आशा र सम्भावनाको संकेत ल्याइरहेको महसुस गर्छु । 

अझ विशेष कुरा के छ भने, गत बसन्तमा नै म र मेरी प्रियसी कमला बिच शुभ विवाह सम्पन्न भइ गृहस्थ जीवनको नयाँ यात्रा सुरु गरेका थियौं र हामीले प्रण गरेका थियो हामी दुइ मिलेर जीवनलाइ अर्थपूर्ण बनाउने छौं । आमा, म, दाइ, भाउजु र भतीजी गरी पाँच जना सदस्य मिलेर बनेको हाम्रो सानो संसारमा मेरी जिवनसंगीनी पनि नयाँ सदस्यको रूपमा थपिएपछि जीवन थप सन्तुलित, सार्थक र अर्थपूर्ण बनेको थियो । 

मेरो लागि अर्को विशेष कुरा के छ भने यो नयाँ वर्ष अझ बढी उत्साह र प्रतीक्षाले भरिएको छ । सायद यही नयाँ वर्षको कुनै सुन्दर पलमा हाम्रो पहिलो सन्तानसँग पहिलो भेट हुनेछ । हामी अब केवल पति–पत्नी मात्र नभई छिटै माता पिता समेत बन्ने यात्रामा छौं । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मेरो मनमा भएका यो उत्साह र भावनालाइ यही छोटो ब्लग मार्फत प्रस्तुत गरें किनभने सायद वर्षौँपछि हामीले यही ब्लग पढेर आजको दिनको  हर्ष, उत्साह र उमंग लाई फेरि महसुस गर्नेछौँ । जीवनको यो यात्रा यस्तै साना–साना सम्झनाहरूले नै विशेष, खास र अर्थपूर्ण बन्दै जान्छ भन्ने विश्वासका साथ हामी (म र कमला) नयाँ वर्ष २०८३ लाई हृदयदेखि स्वागत गर्दछौँ । र, नयाँ वर्षले सबैमा उत्साह, उमंग र उन्नति ल्याउन् भन्ने शुभकामना व्यक्त गर्दछौं ।





Share:

बसन्त र मेरो जीवन



मलाई मेरो जीवन र बसन्त उस्तै उस्तै लाग्छ,   
किनभने मेरो जीवनमा पनि हरेक अन्त्यपछि
कुनै न कुनै नविन सुरूवात भएरै छाडेको छ । 
सायद यही कारणले होला, 
मेरो जन्म पनि बसन्त ऋतुमा भयो 
र, समयले मलाई बारम्बार बसन्तसँग ठोकाइरहन्छ, 
नयाँ बनोस भनेर होला, फेरि सुरु गरोस भनेर होला । 

खासमा वसन्तले मलाई
फूल झैं कोमल हुन मात्र हैन, 
जरा जस्तो गहिरीन पनि सिकाएको छ ।
त्यसैले, जब उजाड रूखका हाँगामा 
हरिया पातहरु पलाउन थाल्छन, 
तब म आफ्नो गहिरो चोटमा पनि
नयाँ आशा पलाएको महसुस गर्छु । 

गत वर्षको बसन्तले 
मेरो जीवनमा एउटा नयाँ स्वर थपिदियो
दुई एक भएर ‘हामी’ बन्ने स्वर । 
उनि जब प्रेमिका बाट जिवनसंगीनी भईन,
त्यस दिनदेखि जीवन वास्तबमै 
अर्थपूर्ण लागेको छ । 

नयाँ वर्षको उज्यालो लिएर
अहिले फेरि अर्को बसन्त आएको छ,
र, मलाई लागेको छ, सधैं झै यो बसन्तले पनि,
मेरो जीवनमा केही न केही नयाँ उपहार दिएर जानेछ । 

सादय चाँडै नै हाम्रो सानो संसारमा 
एउटा नयाँ जीवनको स्पर्श हुनसक्नेछ, 
र त्यो क्षणले मेरो जीवनलाई पूर्ण अर्थपूर्ण बनाइदिनसक्छ । 

त्यसैले, आज, यही बसन्तको आगनीमा उभिएर, 
मैले महसुस गरिरहेको छु 
जीवनको असली सौन्दर्य एक्लै फुल्नुमा होइन, 
सँगसँगै हराभरा हुनुमा रहेछ । 

जसरी हरेक वसन्तले मेरो जीवनमा 
कुनै न कुनै रंग भर्दै आएको छ,  
सायद, वर्षौपछि जब फेरि नव-वसन्त आउनेछ, 
तब म वसन्तले विगतमा भरिदीएका रंगहरुलाई हेर्नेछु,
र, खुशीले गदगद हुँदै, महसुस गर्ने छु
मेरो जीवन कहिल्यै एक्लो थिएनच,
बसन्त त सधैं म सँगसँगै हिँडिरहेको पो रहेछ । 
 
Share:

स्मृतीमा बालापनः गाँउबाट हराएको मान्छे



यो कविता मैले मेरो पहिलो ब्लगिङ यात्राको रुपमा मिति २०६९ साल फागुन १५ गते (मेरो जन्मदिन कै दिन) पहिलो पोस्टको रुपमा प्रकाशन गरेको थिए । भलै यो कविता मेरो सिकाइ चरणकै थियो, तर पनि मलाइ मेरो बालापन, मेरो गाँउले जीवन, म भित्रको गाँउ प्रेम, म भित्रको प्रकृति प्रेम, म भित्रको आध्यात्मिक अनुराग, म भित्रको सांस्कृतिक चेत र मेरो कवि मनको शुरुवाती प्रयासहरुलाइ यो कविताले छर्लंग पारेको भएर मलाई यो कविता सधैं सधैं विशेष, खास र अर्थपूर्ण लाग्छ । त्यसैले गर्दा अठार बिस वर्षमा लेखिएको यो कविता आज ३४ वर्षमा पुनः पढ्न, मनन गर्न र साझा गर्न मन लागेर यहाँ पुनः प्रकाशन गरें । 


आजको दिन मेरो जीवनको ब्लगिङ यात्राको शुरूवाती पहिलो दिन । मिति २०६९ साल फागुन १५ गते मेरो जन्मदिन कै दिन surprisingly मेरो नामको डोमेन www.bhimprasad.com.np नेपाल सरकारको डाटाबेसमा सफलतापूर्वक दर्ता भएर मैले आफैले डिजाइन गरेको ब्लगसाइटमा यो पहिलो ब्लग साझा गर्न पाउँदा मलाई बहुत खुशी लागेको छ । आजको आजै तात्तातै खासै केहि लेख्ने कुरा भेटीन । म एक कवि मनको विद्यार्थी भएको हुनाले यहाँहरू सामु मैले गत दशैमा गाँउ गएको बेलामा गाउँ घरको भीरपाखामा बाख्रा चराउन जादा रचना गरेको एक कविता प्रस्तुत गर्दै छु ! 


"स्मृतीमा बालापनः गाँउबाट हराएको मान्छे"

आज म गाँउमा छु । 

धेरै वर्ष पछि आज म, 

पुनः गोठालो आएको छु ।


बचपनमा घरबनाइ खेलेको ती ढुङ्गा-माटोहरू,

लहरा समातेर पीङखेलेको त्यो रिफेल चौतारो,

त्यो ढकाल चौतारो, त्यो मास्लो चौतारो;

स्कुलबाट भागी भागी पौडी खेल्ने बुडी गंगाको त्यो खाडी,

र सिङखोलाको त्यो दुईकापे हाँडे रूवा,

डन्डिबियो खेल्ने ती निस्नेखेतको खलेगरा,


मोजामा कोदोको भुस कोचेर 

फुटबल खेलेका टारका ती ठुला गराहरू, 

दिदीबैनिसग खुट्टी र गट्टा खेलेका ती आँगनहरू,

खोपी, ढ्याक र गुच्चा खेलेका घरका ती कर्साहरू, 

लुकी र ढ्यापलगाइ खेलेका गाँउका ती गल्लीहरू,

हाफछुट्टीमा चुङ्गी र भालेजुदाइ खेल्ने डाँडास्कुलको त्यो चौर,

सबै सबै यथावथ रहेछ, मलाई सम्झिरहेको रहेछ ।

मलाइ पर्खिबसेको रहेछ ।


लोक भाकाहाल्दै, सिटी बजाउदै, पात बजाउदै, 

घाँस दाउरा र गोठालो गरेका ती छत्यौनपाखा र निस्नेका भीरहरू,

अनि, मेलापात गरेका ती खेत खलियानहरू, 

सिम्लेखेत, चालिसे खेत, निस्ने खेत, टार खेत,

सबै सबै, जस्ताको तस्तै मलाई कुरीरहेका रहेछन । 

बादर लखट्ने टारी र ठुलटारखोला अझैं पनि छदै छ रहेछ ।

गाउबेसी, उकाली वराली, अझैपनि रहेछ ।


वायखोलाका एैसेलुका झ्याङहरू, खाडीका बयरघारी, 

सानटारखोलाको अमराका रूखहरू, 

र नीस्नेभीरको अमला र भलायोहरू, 

अझैपनि फलिरहेकै रहेछन ।


असार लागेपछि हामीले हल्लाउने-

त्यो बम्बै आपको रूख, केरकाली आपको रूख, 

र, त्यो लोहोरे आपको रूखहरूले अझैपनि फल दिईरहेको रहेछ ।


काफल पाक्न थालेपछि

काफल पाक्यो काफल पाक्यो भनेर

वियोगमा कराउने चरा, अहिले पनि कराईरहने रहेछ ।

कोइली चरीले अहिले पनि विरहको भाका गाईरहने रहिछिन ।

ढुकुरका जोडीहरू त्यो बुडो दबदबेको रूखको हाँगामा बसेर, 

प्रेमालाप गरिरहने रहेछन अझैपनि ।

विहान गाँउबासीलाइ सुर्योदयसै उठाउन "कुखुरी-काँ" 

कराउन छाडेको रहेनछ कुखुराको भालेले पनि ।


बचपनमा हामीले चोरी खाने गरेको कुमारघरको भोगटे,

गोपाल काकाको बारीको निबुवा र उखु, ठुलबाको बारीको काक्रो,

र सराई काकाको खेतको बेलाउती अझैपनि फरिलहेकै रहेछ ।


हामीले खोतली खोतली खाने, 

अर्चलेको खनायो, चालिसे खेतको बुडो खनायो, 

अझैपनि फलिरहेकै रहेछन ।

जिब्रो कालो न कालो हुनेगरी

हामिले बच्पनमा खाने कालीअँगेरी, 

अझैपनि पाखाभरी फलिरहेका रहेछन ।


मंसिरमा धानको कुनियोको शिरमा चढाउने 

लालुपातेफुल अझैपनि फुलिरहेकै रहेछ ।

हरेक अनाज रोप्ने बेलामा र भित्राउने बेलामा 

श्रद्दाले पहिलो भाग चढाउने गरेको

चालिसेको भुमे, निस्नेको भुमे,

र सिम्लेको भुमे अझैपनि रहिरहेछ ।


स्कुलबाट फर्कियपछिको हाम्रो खाजा 

केराको पातमा हालेको कोदोको रोटी,

अझैपनि पाक्ने रहेछ गाँउमा ।

मोही र भुटेको मकैभटमास खाजा चलन 

अझै पनि रहिहेछ गाँउमा ।


पन्ध्र असारमा खाने दहि चिउरा, साउनमा खाने खिर, 

तीजमा खाने दर, दशैमा खाने मासु चिउरा,

तीहारमा खाने झिलाय र रोटी, न्वागीमा खाने दहिचामल, 

पन्ध्र पुसमा खाने लट्टे, माघमा खाने खित्रो र तरूल, 

अनि फागुनको भाङ र धुनी चलन अझैपनि रहिरहेछ ।


सबै सबैलाइ, 

म जिउदै छ वा मरिसक्याे, थाहा छैन,

म फर्किन्छ वा फर्किदैन, थाहा छैन ।

तर, यी सबै सबै धैर्यपूर्वक मलाई पर्खिएर बसिरहेका रहेछन ।

ती सालका रूखहरू, ती पहरोहरू, ती भीरहरू, ती पाखाहरू,

ती खोलाहरू, ती चौतारीहरू, ती गराहरू, ती फाटहरू, 

त्यो बुडीगण्डकी, त्यो वायखोला, त्यो सिंगखोला,

धापिएको बेला आँतै शितल गराउने बाँसझ्याङको त्यो चिसो पनी,

तीनिहरू सबै सबै कति सौम्य र धैर्य !

मलाई कुरेर बसिरहेका रहेछन।


तर, म कति बैगुनी? 

आमाको गुन बिर्सियर 

बाहिर बाहिर चारी हिड्ने ?

संसारको भोगमा रमाइहिँड्ने ?

सान्सारिक भोगमा जति जति डुबे पनि

कहिल्यै तृप्त भएर आमाको काँखमा नफर्किने

सधै सधै अरूकै दास भएर रमाइरहने, 

हेर्नुस त, म कति बैगुनी ।


म गाँउ छाडेर काठमाडौं गएपछि,

मैले हेरीरहेको छु, मैले देखिरहेको छु,

र, मैले महसुस गरिरहेको छु-

काठमाडौंका कयौं चौरहरू मासिय, 

कयौं रूखबोटबिरूवा मासिय, 

कयौं कुलो र खोलाहरू मासिय,

कयौं फाल्सा, हिटी र धाराहरू मासिय,

कयौं पोखरीहरू मासिय,

कयौं गल्लिहरू मासिय, 

कयौं बाटोहरू मासिय,

कयौं जग्गाहरू मासिय,

केवल कंक्रिटका ठुला ठुला घरहरू

थपिएको थपियै छन,

जहाँ कोठाहरू त जोडिएको छ

तर कोठाको हरेक भित्ताले,

पल्लो कोठाको छिमेकीसँग 

मन जोडिन छेकिदिएको जस्तो, 

कसैको वास्ता बेस्ता नहुने ।

खासमा भन्नुपर्दा, 

कंक्रिट नै कंक्रिटको मरूभुमी रहेछ काठमाडौं, 

न मिठो खाने पानि छ, न सास फेर्न स्वच्छ हावा छ,

धुलो र धुवामा निसास्सियर पनि, 

हेर्नुस त, त्याँही रमाएर बसिरहेको म ।


उफ,

एकफेर सोचिल्याउला त

स्वर्ग भनेको त गाउँ नै पो रहेछ । 

तर, मलाइ थाहा छ-

सबैको भागमा,

स्वर्गको बास कहाँ लेखेको हुनेरहेछ र !

© SatBhim Adhya

Share:

Economic Inequality, Inflation and the Right to Food: A Human Rights Perspective



In recent years, one serious issue is clearly visible in our country- prices of daily food items are continuously increasing, but income of common people is not increasing in the same way. This situation is creating a big gap between rich and poor. As a result, many people are struggling even to manage basic food for their family. This is not only an economic problem. It is also a human rights issue. The right to food is a basic human right, but due to rising inequality and inflation, many people are being indirectly denied this right. Therefore, it is important to understand how economic inequality and market forces are affecting the right to food in our society.

In our society, economic inequality, I mean unequal distribution of income and wealth among people is increasing day by day. Some people are becoming richer, while many others are finding it harder to survive. This inequality is not only about money. It also affects access to education, health services and other opportunities. People with low income have limited choices in life. They cannot invest in good nutrition, proper healthcare and quality education. So, when inequality becomes high, it creates an unfair system where some people live with abundance, while others struggle for basic needs like food. This condition directly challenges the universal principle of equal human dignity.

Nowadays, almost everyone clearly knows that inflation is an increase in the prices of goods and services as the prices of rice, oil, vegetables, pulses and other daily food items have increased significantly in recent years in Nepal. However, the income of most people, especially daily wage workers, farmers and low-salary employees has not increased accordingly. Due to this, people’s purchasing power is decreasing. Even if they earn the same amount of money as before, they can buy less food than before. Families are forced to reduce the quantity and quality of food. Some may skip meals, while others may shift to less nutritious food options. This situation is more serious in low-income rural and urban families. Unfortunately they are helpless, as they have no control over it. Therefore, inflation is not just a number in economic reports, it directly affecting the stomach of people. 

According to the principle of the right to food, every person should have physical and economic access to sufficient, safe and nutritious food at all times. It is recognized as a fundamental human right in international frameworks and also in our national commitments. However, in reality, many people are unable to realize this right. When a family cannot afford basic food due to high prices and low income, their right to food is violated, not directly by law, but indirectly by the system. As Food is not a luxury item, it is essential for survival, health and human dignity. If a person is hungry, they cannot live a productive and meaningful life.

Economic inequality and inflation are deeply connected to food insecurity. When inequality is high, a large portion of the population already has low income. When inflation rises, these people are hit the hardest. Rich people can still afford food even if prices increase. But poor people have to struggle. This creates a situation where the same market system benefits some people while harming others. Market forces alone cannot ensure fairness. The idea that “market will adjust everything” does not work in reality for basic human needs like food. When food becomes expensive, it is not just a market outcome, it becomes a human rights concern. In this way, inequality and inflation together create a cycle where poor people become poorer and more vulnerable to hunger.

Addressing this issue is becoming increasingly important in a country like Nepal, where a large portion of the the population continues to struggle with poverty and basic survival. Many families depend on remittances, daily wages, subsistence or small-scale agriculture. Their income is not stable. At the same time, market prices are continuously increasing. And, urban areas are also facing high living costs. Rent, transportation and food prices are rising. Not only lower-class families but middle-class families are also feeling pressure in Nepal.

In rural areas, although some farmers produce food, they still face challenges like low productivity, lack of market access and climate-related problems. As a result, even farmers are not fully food secure. This shows that the problem is not only production, but also distribution, affordability and inequality. If development only focuses on economic growth and ignores inequality, then such problems will continue. Growth without fairness cannot ensure human rights. Therefore, government policies should focus on protecting vulnerable groups. This can include price control mechanisms, food subsidies, social protection mechanism/programs and support for local agriculture.

There is also a need to strengthen systems that ensure fair wages and income opportunities. When people have stable income, they can better handle inflation. Development should not only be about increasing GDP. It should be about improving the quality of life and ensuring that basic rights like food are accessible to all. 

Overall, economic inequality and inflation are not just economic issues, they are deeply connected to human rights. When people cannot afford food, their basic right to live with dignity is affected. In a society where some people waste food and others sleep hungry, there is a serious imbalance. This imbalance is not natural, it is created by government led market systems and policies that fail to ensure fairness. Therefore, it is important to view the right to food not just as a charity issue, but as a matter of justice and human rights. Only then can we move towards a more equal and fair society.

Reference:
United Nations. (1999). The right to adequate food (Article 11). Committee on Economic, Social and Cultural Rights, General Comment No. 12.
Sen, A. (1999). Development as freedom. New York: Alfred A. Knopf.
World Bank. (2023). Nepal development update: Restoring export competitiveness. Washington, DC: World Bank.
Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message