सौन्दर्यको शाश्वत स्वरूपः हृदयकी रानी

 सर्वोच्च हिमशीखरको सौम्यता जस्तो, आकाश छोएर पनि धर्तिमै हाँसिरहेकी । प्रेमरसले भरिएर जति अग्लो देखिएपनि, तिम्रो प्रेमको गहिराइ, अनन्त महासागर जस्तो । जसरी समुन्द्रको छालहरूमा पानी छल्किन्छ, तिम्रो मृदु हाँसोले मेरो मन छचल्किरहेको छ । देउरालीको बतासजस्तो तिम्रो चाल, कहिले कोमल, कहिले शीतल, कहिले वेगवान । कहिले मनमा चल्छौ, कहिले मुटुसम्म सर्सराउछौ । कहिले झरनालाई मुईखान पहाड चढ्छौ, खासमा, झरनाको सौन्दर्य जस्तै छ तिम्रो आँखा, जसले पत्थरहरूलाई स्पर्श गर्दै, सुमधुर संगीत उराल्छ । वर्षा यामको बादल जस्तो, जो दिनभर आकाश ढाकेर बस्छ; तर साँझपरेपछि, पुन: धर्तीलाई चुम्न आइपुग्छ । तिम्रो गहिरो साथले, मेरो दिनको थकानमा, शान्तिको रङ लगाँउछ, र सारा धर्तिलाई हराभरा बनाउँने, वर्षातको झरी जस्तै, प्रेमको अतृप्ति प्यास मेटाएर, मेरो जीवनलाई अर्थपूर्ण बनाईदिन्छौ । जसरी मिर्मिरेको उषा किरणले उज्यालो विहननी लियर आउँछ, तिम्रो प्रेमको प्रकाशले, मेरो जीवनलाई झलमल बनाएको छ । तिमी त्यो नदी हौ, जुन निरन्तर सतत, सलल, बगिरहन्छ आफ्नै सरिता लयमा, जसरी नदीले, प्रत्येक चट्टानलाई आफ्नो कोमलताले खारेर खनिज बनाउँछ। त्यसरी नै तिम्रो मायाको भेलले मेरो मनको विकारहरू पखालेर, मेरो असलि मसँग भेट गराईदिन्छ । तिम्रो स्पर्श पवित्र पवन जस्तै छ, जसले मेरो जीवनको प्रत्येक पललाई अनुग्रहले भरिदिएको छ । म, तिमीलाई कसरी वर्णन गरूँ? तिमी प्रकृति हौ, सृष्टिकर्ता, संहारर्ता, जिवन्त, जिवन्त, सौन्दर्यको शाश्वत स्वरूप, कोमल, निर्जर, तिमी मेरी सहृदयी रानी हौ ।



Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Thanks For Visiting