बि.ए. प्रथम वर्ष पढ्दाका दिनहरू




आज मैले आफ्नो जीवनको केही स्मरणीय तस्बिरहरु सुरक्षित राख्ने सोच बनाएको छु । यी तस्बिरहरू रत्न राज्यलक्ष्मी क्याम्पसमा बि.ए प्रथम वर्ष पढ्दाताकाका हुन । मैले बि. ए. मा म्याथमेटिक्स र इकोनोमिक्स विषय मेजर लिएर अध्ययन गरेको थिए । प्लस टु पूरा गरेर उच्च शिक्षाको नयाँ यात्रामा पाइला टेकिरहेको त्यो समय मेरो जीवनको निकै महत्वपूर्ण चरण थियो । त्यतिखेर मोबाइल वा क्यामेराको सहज पहुँच थिएन, त्यसैले तस्बिर खिच्ने अवसर पनि विरलै मिल्थ्यो । त्यसै कारणले यी तस्बिरहरू मेरा लागि विशेष महत्वपूर्ण छन ।

त्यतिखेर म काठमाडौंको गल्कुपाखामा डेरामा बस्थे । यी तस्बिरहरु पनि मेरो डेराकै हो । यो ठ्याक्कै २०११ को अप्रिल मिहना तिरको कुरा हो । हरेक बिहान करिब पाँच बजे उठ्थे र ठमेल हुँदै असनको बाटो पैदल हिँडेर क्याम्पस पुग्थे । क्याम्पसमा चाडै पुगिएन भने बस्ने सिट पाइदैन थियो । बिहानको चिसो हावा, सडकको शान्त वातावरण र मनमा पलाइरहेका अनेकन सपना मेरा दैनिक सहयात्री थिए । क्याम्पस जीवन पनि निकै रमाइलो थियो । मेरा घनिष्ट मित्रहरु पाण्डव, कृष्ण, गोपाल, पारू, दिपेश र नरेश लगायत धेरै साथीहरूसँग दैनिक हिमचिम थियो । सबै साथीहरू प्रिय थिए, तर पारूसँगको मित्रता विशेष रूपमा थप आत्मीय थियो । पढाइ, घुमाइ, मस्तीमजाग, हाँसो, छलफल र भविष्यका योजनाहरूले क्याम्पस जीवनलाई अझ रोचक बनाएको थियो ।

त्यतिखेरको मेरो कोठा केवल सुत्ने कोठा मात्र थियन बरू मेरो सोच, सपना, अध्ययन र वैचारिक यात्राको एउटा सानो संसार जस्तै थियो । यहाँहरूले मेरो त्यो बेलाको कोठाको भित्ताहरूलाई गहिरोसँग नियाल्नुभयो भने सैद्धान्तिक तथा राजनीतिक रूपमा म कुन विचारधाराप्रति आकर्षित थिएँ भन्ने पनि सहजै अनुमान गर्न सक्नुहुन्छ । किनभने मेरो कोठाको भित्ताभरि कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, लेनिन, स्टालिन, माओत्सेतुङ, चे ग्वेभारा, फिडेल क्यास्ट्रो, अल्बर्ट आइन्स्टाइन, महाकवि लक्ष्मीप्रसाद देवकोटा, रवीन्द्रनाथ ट्यागोर, शिवपुरी बाबा लगायत विभिन्न क्रान्तिकारी, चिन्तक, साहित्यकार, वैज्ञानिक तथा साधुसन्तहरूका तस्बिर र पोस्टरहरू टाँसिएका हुन्थे । ती केवल सजावटका सामग्री थिएनन्, बरु मेरा दैनिक प्रेरणाका स्रोत थिए । समाज, राजनीति, साहित्य, विज्ञान र आध्यात्मिकताबारे गहिरो चासो राख्ने युवा विद्यार्थीका रूपमा मेरो झुकाव स्पष्ट रूपमा कम्युनिस्ट विचारधारा, सामाजिक रूपान्तरण, प्रगतिशील साहित्य, वैज्ञानिक चेतना र सादा तथा सरल आध्यात्मिक जीवनशैलीतर्फ थियो । जीवन, समाज र भविष्यलाई बुझ्ने मेरो दृष्टिकोण निर्माणमा ती व्यक्तित्वहरूका विचार र कृतिहरूले महत्वपूर्ण प्रभाव पारेका थिए, जसको छाप आज पनि मेरो सोच र जीवनयात्रामा कुनै न कुनै रूपमा जीवित छ ।


मेरो दिन केवल क्याम्पसमा मात्र सीमित थिएन । बिहान क्याम्पस जाने अनि दिउँसो जनसवाल राष्ट्रिय दैनिकमा काम गर्ने गर्दथे । पढाइ र कामलाई सँगसँगै अघि बढाउनु सजिलो थिएन तर यही संघर्षले जीवनलाई नयाँ अर्थ दिइरहेको थियो । खासमा म १२ कक्षा पढ्दा देखि नै आत्मनिर्भर अर्थात आफै काम गर्दै पढ्दै गरेको विद्यार्थी भएकोले पढाइ सँगसँगै काम पनि गर्न मलाइ बहुत रमाइलो लाग्थ्यो । म १२ कक्षा पढ्दा देखि नै ग्लोब एजुकेशनल इन्सटिचिउट (सोर्हखुट्टे) मा कम्प्युटर टिचरको रुपमा काम गर्थे । त्यतिखेरका ती दिनहरू, व्यस्तता, जिम्मेवारी, अभाव, मेहनत, संघर्ष  र सपनाले भरिएका थिए र त्यही अनुभवहरुले तिखार्दै तिखार्दै मलाई उत्साहपूर्वक जीवनमा अघि बढ्न मद्यत गरिरहेको छ । 





Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message