मेरो मनमन्दिरकी तिलोत्तमा तिमी



तिमीलाई मैले

आँखाले मात्र होइन,

मनले मात्र पनि होइन,

आत्माले महसुस गरेको हो ।


जुन दिन तिमी,

अस्तित्वको खोज र कर्मको मिलान मार्फत,

मेरो जीवनमा आयौ,

त्यस दिनदेखि,

समयले पनि आफ्नो गति बिर्सीएछ,

घडीका सुईहरू पनि,

तिम्रो मोहनी मुस्कानको तालमा चल्न थाले, 

मेरो त कुरै नगर, 

सम्झ, म त तिम्रो अस्तित्वमै

विलीन भएको थिएँ ।


तिमीलाई सुन्दर भन्नु,

आकाशलाई नीलो भने जस्तो मात्र हैन, 

किनकि तिम्रो सुन्दरता,

रूपको वा शरिरको वा अनुहारको मात्र हैन,

तिम्रो सुन्दरता त, 

तिम्रो बोलीको मिठासतामा छ ।

अरूको पीडालाई आफ्नै सम्झने,

त्यो कोमल हृदयमा छ ।

अरुको दुःख सुखलाई बुझ्न सक्ने

तिम्रो स्वभावमा छ । 

पारिवारीक वातावरणलाइ रमणीय बनाउने,

तिम्रो सुसस्कृत बानीव्यवहारमा छ । 

र, हरेक समस्याहरुलाई, 

सरलरुपमा बुझीदिने तिम्ररो समझदारीतामा छ । 


तिमीलाई सुसील भन्नु भनेको,

फूललाई सुगन्धित भने जस्तो मात्र हैन,

किनकि तिमी जहाँ पुग्छ्यौ,

त्यहाँ तिम्रो सुभासले वसन्त वहार ल्याइदिन्छ ।

तिम्रा मिठास शब्दहरू,

कुनै कविको कलमबाट झरेका-

मधुर अक्षरजस्ता लाग्छन्,

जसले रिसलाई पनि,

शान्त नदी बनाइदिन्छ ।


तिमी समझदार यति छ्यौ कि,

मेरा मौनताहरू पनि पढ्न सक्छ्यौ ।

मैले चाहेर पनि भन्न नसकेका 

मनका कुराहरू पनि बुझ्न सक्छ्यौ ।

प्रश्नहरूको जन्म हुनुभन्दा अगावै

तिमी उत्तर बनेर उभिन्छ्यौ ।

जब मेरो मनले हार स्विकार्छ तब,

तिमी आशाको दीप बनेर बल्छ्यौ ।


त्यसर्थ, मेरी प्रिय कमला,

म तिमीलाई प्रेम गर्छु भन्नु,

शायद निकै तुच्छ वाक्य हो ।

किनकि मेरो प्रेमको गहिराइ त अनन्त छ ।

बिहानको हरेक पहिलो झुल्कासँगै-

तिम्रो नाममा धड्कीने मेरो मुटु,

रातको अन्तिम तारासम्म

तिम्रै सम्झनामा निदाउँछ ।


तिमी मेरो जीवनको,

कुनै काल्पनीक पात्र होइनौ,

तिमी त त्यो सम्पूर्ण कथा हौ,

जसलाई भगवानले मेरोलागि,

धेरै फुर्सद निकालेर लेखेका हुन ।

तिमी त्यो प्रार्थना हौ,

जसको एक स्पर्श पाएपछि,

मैले मन्दिर जान बिर्सिने गरेको छु,

किनकि मेरो मनको मन्दिरमा,

तिमिलाइ नै सजाई सकेको छु । 


यदि कसैले मलाई सोध्यो भने—

तिम्रो सबैभन्दा ठूलो सम्पत्ति के हो ?

म कुनै धन, कुनै सपना, कुनै पढाइ,

कुनै सफलता वा कुनै उपलब्धिको नाम लिनेछैनँ ।

म केवल मेरी कमलीको नाम लिनेछु,

किनकि संसारका सबै वैभवहरू,

एकातिर राख्दा पनि,

तिम्रो एक थोपा मायाको अगाडि,

सबै सबै फिका फिका लाग्छन ।


तिमी मेरो जीवनको,

गीत पनि हौ, संगित पनि हौ ।

गजल पनि हौ, कविता पनि हौ । 

र साच्चिकै अर्को जन्म हुन्छ यदि भने,

म फेरि पनि,

यही मन-मुटु लिएर जन्मिन चाहन्छु—

ताकि फेरि यही मनको मन्दिरमा

तिम्रै नामको दीप बाल्न सकूँ ।



किनकि,

कतिपय फूलहरू,

बगैंचामा मात्र फुल्दैनन,

केही केही दुर्लभ एवं सुगन्धित फूललाई-

भगवानले,

म जस्ता दुःखीको भाग्यको आँगनीमा,

पवित्र आशीर्वाद स्वरुप,

रोपिदिनुहुन्छ रे ।

र, मेरो लागि,

त्यो दुर्लभ एवं सुगन्धित फूल—

त्यो पवित्र आशीर्वाद—

तिमी हौ । 

हो, कमला तिमी नै हौ ।

---© SatBhim

(यो कविता मेरी जीवनसंगिनी कमलीको २४ औं जन्मदिनको अवसरमा उनलाइ नै समर्पित गरेर रचिएको हो)


Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message