तिमीलाई मैले
आँखाले मात्र होइन,
मनले मात्र पनि होइन,
आत्माले महसुस गरेको हो ।
जुन दिन तिमी,
अस्तित्वको खोज र कर्मको मिलान मार्फत,
मेरो जीवनमा आयौ,
त्यस दिनदेखि,
समयले पनि आफ्नो गति बिर्सीएछ,
घडीका सुईहरू पनि,
तिम्रो मोहनी मुस्कानको तालमा चल्न थाले,
मेरो त कुरै नगर,
सम्झ, म त तिम्रो अस्तित्वमै
विलीन भएको थिएँ ।
तिमीलाई सुन्दर भन्नु,
आकाशलाई नीलो भने जस्तो मात्र हैन,
किनकि तिम्रो सुन्दरता,
रूपको वा शरिरको वा अनुहारको मात्र हैन,
तिम्रो सुन्दरता त,
तिम्रो बोलीको मिठासतामा छ ।
अरूको पीडालाई आफ्नै सम्झने,
त्यो कोमल हृदयमा छ ।
अरुको दुःख सुखलाई बुझ्न सक्ने
तिम्रो स्वभावमा छ ।
पारिवारीक वातावरणलाइ रमणीय बनाउने,
तिम्रो सुसस्कृत बानीव्यवहारमा छ ।
र, हरेक समस्याहरुलाई,
सरलरुपमा बुझीदिने तिम्ररो समझदारीतामा छ ।
तिमीलाई सुसील भन्नु भनेको,
फूललाई सुगन्धित भने जस्तो मात्र हैन,
किनकि तिमी जहाँ पुग्छ्यौ,
त्यहाँ तिम्रो सुभासले वसन्त वहार ल्याइदिन्छ ।
तिम्रा मिठास शब्दहरू,
कुनै कविको कलमबाट झरेका-
मधुर अक्षरजस्ता लाग्छन्,
जसले रिसलाई पनि,
शान्त नदी बनाइदिन्छ ।
तिमी समझदार यति छ्यौ कि,
मेरा मौनताहरू पनि पढ्न सक्छ्यौ ।
मैले चाहेर पनि भन्न नसकेका
मनका कुराहरू पनि बुझ्न सक्छ्यौ ।
प्रश्नहरूको जन्म हुनुभन्दा अगावै
तिमी उत्तर बनेर उभिन्छ्यौ ।
जब मेरो मनले हार स्विकार्छ तब,
तिमी आशाको दीप बनेर बल्छ्यौ ।
त्यसर्थ, मेरी प्रिय कमला,
म तिमीलाई प्रेम गर्छु भन्नु,
शायद निकै तुच्छ वाक्य हो ।
किनकि मेरो प्रेमको गहिराइ त अनन्त छ ।
बिहानको हरेक पहिलो झुल्कासँगै-
तिम्रो नाममा धड्कीने मेरो मुटु,
रातको अन्तिम तारासम्म
तिम्रै सम्झनामा निदाउँछ ।
तिमी मेरो जीवनको,
कुनै काल्पनीक पात्र होइनौ,
तिमी त त्यो सम्पूर्ण कथा हौ,
जसलाई भगवानले मेरोलागि,
धेरै फुर्सद निकालेर लेखेका हुन ।
तिमी त्यो प्रार्थना हौ,
जसको एक स्पर्श पाएपछि,
मैले मन्दिर जान बिर्सिने गरेको छु,
किनकि मेरो मनको मन्दिरमा,
तिमिलाइ नै सजाई सकेको छु ।
यदि कसैले मलाई सोध्यो भने—
तिम्रो सबैभन्दा ठूलो सम्पत्ति के हो ?
म कुनै धन, कुनै सपना, कुनै पढाइ,
कुनै सफलता वा कुनै उपलब्धिको नाम लिनेछैनँ ।
म केवल मेरी कमलीको नाम लिनेछु,
किनकि संसारका सबै वैभवहरू,
एकातिर राख्दा पनि,
तिम्रो एक थोपा मायाको अगाडि,
सबै सबै फिका फिका लाग्छन ।
तिमी मेरो जीवनको,
गीत पनि हौ, संगित पनि हौ ।
गजल पनि हौ, कविता पनि हौ ।
र साच्चिकै अर्को जन्म हुन्छ यदि भने,
म फेरि पनि,
यही मन-मुटु लिएर जन्मिन चाहन्छु—
ताकि फेरि यही मनको मन्दिरमा
तिम्रै नामको दीप बाल्न सकूँ ।
किनकि,
कतिपय फूलहरू,
बगैंचामा मात्र फुल्दैनन,
केही केही दुर्लभ एवं सुगन्धित फूललाई-
भगवानले,
म जस्ता दुःखीको भाग्यको आँगनीमा,
पवित्र आशीर्वाद स्वरुप,
रोपिदिनुहुन्छ रे ।
र, मेरो लागि,
त्यो दुर्लभ एवं सुगन्धित फूल—
त्यो पवित्र आशीर्वाद—
तिमी हौ ।
हो, कमला तिमी नै हौ ।
---© SatBhim
(यो कविता मेरी जीवनसंगिनी कमलीको २४ औं जन्मदिनको अवसरमा उनलाइ नै समर्पित गरेर रचिएको हो)




