मेरो बाल्यकालको पहिलो फोटो र गाँउलेजीवनका यादहरू

Childhood Photo
यो तस्बिर मेरो बाल्यकालको लगभग १० वा ११ वर्षतिरको एउटा एकदमै दुर्लभ वा पहिलो रेकडेड तस्बिर हो, जुन मैले अहिले पाएँ र यसलाई म मेरो जीवनको पहिलो बाल्यकालीन फोटोका रूपमा यहाँ सुरक्षित राख्दै छु । त्यतिखेर कलापको स्टाइल तेरे नाम फिलिमको जस्तै बिचबाट केश काटेर दुइतिर जुल्फी पार्ने फेसन थियो । नयाँ लुगा त हामीले वर्षमा एक पटक दशैमा स्कुल ड्रेस लगाउन पाँउथेम, त्यति हो । त्यतिबेला हामीले गाउँमा एकदमै धेरै दुःख गर्दै जीवन बिताउनुपथ्र्याे, बिहान उठेर आँगन बढारने, ढिकी जातो गर्ने, गाइबस्तुको गोबर फाल्ने, बाख्रालाई घाँस काट्ने, भैसीलाई घाँस काट्ने जस्ता कामहरू अनिवार्य जस्तै थियो । त्यसपछि लगभग १ घण्टा हिँडेर आरुघाटको भिमोदय उच्च माध्यमिक विद्यालयमा पढ्न जानु पर्थो ।
स्कुलबाट आएपछि पनि फेरि दाउरा खोज्न जाने वा घाँस काट्न जाने काम गर्नु पर्थो । घाँसको वा दाउराको भारी पुराएर मात्र हामीलाई केही समय खेल्न जाने अवसर मिल्थ्यो । त्यतिबेला हामी फुटबल, ग्यामबल, डन्डिबियो, ढ्यापलगाइ, गट्टा, चुंगी, भालेजुदाइ, लुकी, खोपि, गुच्चा, ढ्याक जस्ता खेलहरू खेल्थ्यौं, जसले हाम्रो बाल्यकाललाई रमाइलो र जीवन्त बनाउथ्यो । तर कक्षा पास हुनकै लागि भएपनि रातिमा अबेेरसम्म पढ्नु अनिवार्य पर्थो । बिजुली थियन, टुकिमा मट्टितेल हालेर बालेर पढ्ने चलन थियो । शनिवार बिदाको दिन गोठालो जान्थ्यौं, गोठालो पनि कि सिंङखोला वा कि खाडीमा जान्थ्यौ र बाख्ररालाई चौर वा बनमा चर्न लगाएर हामी चै मस्त पौडी खेल्थ्यौं । कहिलेकाँही चै गोठालो छत्यौनपाखामा जान्थेम र कालीज लखेट्थेम । बर्खे बिदा वा जाडो बिदामा त मेलापात, अर्म पर्म पनि गर्नु पथ्र्याे हामीले, जसले हामीलाई सानैदेखि जिम्मेवारी र श्रमको मूल्य बुझ्न सिकायो । जस्तै मकै गोडने, छेउकुना खन्ने, धान गोड्ने जस्ता कामहरुमा लहरे पर्म गरिन्थ्यो । बाल्यकालका ती संघर्षहरु– काम, पढाइ, चकचक, सिकाइ, खेलाइ र अन्य अनुभवहरूले मलाई जीवनमा आउने हरेक दुःख सुखलाई धैर्यतापूर्वक सामना गर्न सिकायो । अतः यो मेरो बाल्यकालको तस्बिर देख्नासाथ मलाई बाल्यकालका बितका ति दिनहरु वा ति समयहरु तुरुन्तै सम्झनामा आईहाल्छ ।
Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message