एस.एल.सी. परीक्षामा ६५ प्रतिशत अंकसहित प्रथम श्रेणीमा उत्तीर्ण भएपछि मेरो मात्र होइन, मेरो परिवारको पनि ठूलो सपना थियो—म काठमाडौं गएर उच्च शिक्षा हासिल गरूँ र सम्भव भएसम्म साइन्स फ्याकल्टी पढु । यही सपना बोकेर म २०६५ साल साउन ८ गते गाउँबाट झोला बोकेर काठमाडौं आएँ । मेरो योजना स्पष्ट थियो—सरकारी अमृत साइन्स क्याम्पस (अस्कल) मा आई.एस्सी. पढ्ने । तर काठमाडौं आइपुगेपछि थाहा भयो कि सोही वर्षदेखि अस्कल क्याम्पसमा आई.एस्सी. कार्यक्रम बन्द भइसकेको रहेछ र त्यही वर्षदेखि नेपालमा प्लस टु प्रणाली व्यापक रुपमा लागू भएको रहेछ । गाउँबाट साइन्स पढ्ने सपना बोकेर आएको मेरो लागि त्यो समाचार अप्रत्याशित थियो ।
त्यसपछि मेरो सानदाइ (ठूलबुबाको कान्छो छोरा) ले मलाई काठमाडौंको सोह्रखुट्टेस्थित सिग्मा कलेजमा लिएर जानुभयो । मेरो एस.एल.सी.को नतिजा, विशेष गरी गणितमा प्राप्त उत्कृष्ट अंकहरू हेरेपछि त्यहाँका प्रिन्सिपल दमन सर र त्यहाँको एडमिनिस्ट्रेसन हेड ठाकुर श्रेष्ठले एउटा सुझाव दिनुभयो । उहाँहरुको विचारमा मलाई साइन्सभन्दा पनि सोशल साइन्स अन्तर्गत म्याथमेटिक्स र इकोनोमिक्स मेजर विषय लिएर पढाउँदा बढी उपयुक्त हुने रहेछ । अन्ततः उहाँकै सल्लाह अनुसार सानदाइले मलाई सिग्मा कलेजमा कक्षा ११ मा म्याथमेटिक्स र इकोनोमिक्स मेजर विषयसहित भर्ना गरिदिनुभयो । गाउँबाट साइन्स पढ्ने दृढ इच्छा बोकेर आएको मलाई सुरुका केही दिन भने सोशल साइन्समा भर्ना गरिदिएको कुरा मन परेको थिएन । तर विस्तारै बुझ्दै जाँदा मैले आफ्नो वास्तविक शक्ति गणित नै भएको महसुस गर्न थालेँ । आखिर मैले भविष्यमा जे बन्ने भए पनि त्यो गणितकै जगमा बन्ने पक्का थियो । त्यसपछि मैले आफू पढिरहेको विषयप्रति पूर्ण रूपमा सकारात्मक सोच विकास गरेँ ।
काठमाडौं आएको सुरुका दिनहरूमा म नयाँबजारस्थित गोरखाली टेलिकम नजिकै सानदाइको कोठामा बस्ने गर्थेँ । सानदाइ कम्प्युटर सञ्चालनमा अत्यन्तै दक्ष हुनुहुन्थ्यो । उहाँको टाइपिङ गति साँच्चिकै रकेटजस्तै थियो । त्यतिबेला उहाँ गोरखापत्र दैनिकमा सम्पादकको रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यसबाहेक विभिन्न संस्थाहरूमा कम्प्युटर प्रशिक्षण दिने, पुस्तक तथा प्रकाशन सम्पादन गर्ने लगायत अनेकौं कामहरू पनि गर्नुहुन्थ्यो । बिहान आठ बजे खाना खाएर कोठाबाट निस्किने उहाँ राति करिब बाह्र बजे मात्र फर्किनुहुन्थ्यो । म भने उहाँलाई कुरेर बसिरहन्थेँ । त्यो समय काठमाडौंमा दैनिक १८ देखि २० घण्टासम्म लोडसेडिङ हुने गथ्र्यो । बिजुली नहुँदा अध्ययन गर्नु निकै कठिन हुन्थ्यो । राति करिब नौ बजेसम्म खाना पकाइसकेर क्यान्डिल बालेर पढ्ने मेरो नियमित बानी बनिसकेको थियो ।
त्यतिबेला मोबाइल फोन पनि थिएन । सानदाइको कोठामा विन्डोज एक्सपी चल्ने पुरानो डेस्कटप कम्प्युटर थियो । बिजुली आउनेबित्तिकै म त्यसैमा बसेर टाइपिङ गर्ने, डिजाइन सिक्ने, नयाँ–नयाँ कुराहरू बुझ्ने प्रयास गर्थेँ । कम्प्युटरप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गइरहेको थियो । करिब छ महिनापछि काठमान्डौंमा बस्न अलि सहज भएको महसुस गरेपछि मैले आफ्नै सानो डेरा लिएर बस्ने निर्णय गरेँ । मेरो ठूलमामाको जेठी बुहारी उमा भाउजु अर्थात अर्जुन दाइकी श्रीमतीले कपुरधारामा राजेश हमालको घरभन्दा अलिकति उतापट्टी एउटा सानो अँध्यारो कोठा खोजिदिनुभयो । त्यसको मासिक भाडा १५०० रुपैयाँ थियो । केही समयपछि म त्यहाँबाट लैनचौरतर्फ भारतीय दूतावासको पर्खालको बाटो हुदै जाने गल्लीभित्र रहेको अर्को जस्ताले छाएको कोठामा सरेँ । त्यस कोठाको भाडा १२०० रुपैयाँ थियो । त्यो कोठा उज्यालो, खुला, हराभरा वातावरण भएको र बस्न निकै रमाइलो थियो । त्यही कोठामा सरेपछि मैले २५ हजार रुपैयाँ खर्च गरेर आफ्नै कम्प्युटर किनें । खासमा, मेरो पढाइ, लेखाइ र सिकाइ को सबैभन्दा प्रमुख वा बाउ भने पनि आमा भने पनि वा गुरु भने पनि जे भने पनि मेरी आमा नै हुन, कम्प्युटर किन्न घरबाट आमाले नै पैसा पठाइदिनुभएको थियो । त्यसपछि त मेरो संसार नै बदलियो । कम्प्युटरका किताबहरू किनेर दिनरात अभ्यास गर्ने, टाइपिङ गर्ने, डिजाइन सिक्ने र सकेसम्म कम्प्युटरमा दक्ष बन्ने प्रयासमा लागिरहेँ ।
यद्यपि जहाँ बसे पनि मेरो जीवनमा सानदाइको प्रभाव र प्रेरणा निरन्तर रहिरह्यो । पछि उहाँले भृकुटीमण्डपमा कम्प्युटर ग्राफिक्स डिजाइन सम्बन्धी तालिम सञ्चालन गर्दा मलाई पनि सहभागी हुन बोलाउनुभयो । उहाँले धेरै विद्यार्थीहरूलाई पढाइरहनुभएको कक्षामा म पनि गएर नियमित रूपमा सिक्ने गर्थेँ । लगभग तीन महिनाको अवधिमा उहाँको मार्गदर्शन, प्रेरणा र प्रशिक्षणबाट मैले बेसिक कम्प्युटिङ, ग्राफिक्स डिजाइन, हाडवेयर र अपरेटिङ सिस्टम सम्वन्धि सिप विकास गर्न सफल भएँ । हुन त एस.एल.सी. दिएर बसेको समयमा गाँउमै आरुघाट बजारमा सुरेश दाइको कम्प्युटर सेन्टरमा पोखराका हेम सरले सञ्चालन गर्नुभएको कक्षामा करिब एक महिना आधारभूत कम्प्युटर प्रशिक्षण लिएको थिएँ । त्यहाँ नेपाली टाइपिङ, अंग्रेजी टाइपिङ, एम.एस. पेन्ट र विशेष गरी माइक्रोसफ्ट वर्डको सामान्य ज्ञान प्राप्त गरेको थिएँ । तर काठमाडौं आएपछि सानदाइमार्फत ग्राफिक्स डिजाइन लगायतका धेरै एडभान्स सीपहरू सिक्ने अवसर प्राप्त भयो । म स्वभावैले छिटो सिक्ने र सिकेको कुरा तुरुन्त व्यवहारमा उतार्ने खालको थिएँ । सायद गणित र कम्प्युटरबीचको वैज्ञानिक कनेक्सनले पनि मलाई छिटै कम्प्युटर स्कील बढाउन सहयोग गरिरहेको थियो होला । गणितपछि मलाई सबैभन्दा मन पर्ने विषय नै कम्प्युटर बन्न थाल्यो । अहिले, अर्थात् २०१३ सम्म आइपुग्दा, म त्यही गणित र कम्प्युटिङ सीपलाई निरन्तर विकास गर्दै स्वअध्ययनका माध्यमबाट वेब डिजाइनर (एचटिएमएल, सिएसएस र जाभास्कृप्ट), वेब डेभलपर (पिएचपी र माएसक्युएल), ग्राफिक्स डिजाइनर (फोटोसप, इन्डिजाइन, पेजमेकर, फ्रिह्यान्ड), गणित शिक्षक र कम्प्युटर शिक्षक बनिसकेको छु । त्यसैले यदि मेरो जीवनको आधारशिला निर्माण गर्न प्रारम्भिक र विशेष योगदान दिने एक व्यक्तिको नाम लिनुपरेमा निसन्देह सानदाइको नाम आउछ । उहाँप्रति म सदैव कृतज्ञ र आभारी रहनेछु ।
सिग्मा कलेजको जीवन पनि अत्यन्त स्मरणीय रह्यो । मेरा साथीहरू अत्यन्तै धेरै थिए, तर सबैभन्दा मिल्ने र जिग्री साथीहरू विजय न्यौपाने र विज्ञान पोखरेल थिए । उनीहरूबाहेक गणेश, सिर्जना, करूणा, बालकृष्ण, फुरी, कुमार, राजकुमार, शिला, सुशीला, मनिषा लगायतका साथीहरूसँग पनि निकै घनिष्ठ सम्बन्ध थियो । अध्ययनका हिसाबले पनि म सोशल साइन्स फ्याकल्टीका उत्कृष्ट विद्यार्थीहरूमध्ये एक थिएँ । कलेजका कुनै पनि कार्यक्रममा फ्याकल्टीको प्रतिनिधित्व आवश्यक परेमा प्रायः मलाई नै पठाइन्थ्यो । कलेज सुरु भएको करिब चार महिनापछि पहिलो त्रैमासिक आन्तरिक परीक्षा भयो । त्यस परीक्षामा म आफ्नो फ्याकल्टीमा त प्रथम भएँ नै, एउटा रोचक घटना पनि घट्यो । सोशल साइन्समा म्याथमेटिक्स पढ्ने विद्यार्थी हामी केवल दुई जना—म र राजकुमार मात्र थियौँ । हामीलाई अलग्गै कक्षा सञ्चालन गर्नुको सट्टा म्याथमेटिक्स पढ्न साइन्स फ्याकल्टीको कक्षामा पठाइन्थ्यो, किनकि पाठ्यपुस्तक एउटै थियो—बेसिक म्याथमेटिक्स । त्यसैले साइन्स फ्याकल्टीका विद्यार्थीहरूसँग पनि मेरो राम्रो मित्रता थियो, जसमा विजय र मनिषा पनि पर्थे । पहिलो त्रैमासिक परीक्षामा मैले म्याथमेटिक्समा ९२ अंक ल्याएँ र साइन्स फ्याकल्टीका करिब २५ जना विद्यार्थीलाई समेत पछि पारेर प्रथम भएँ । दोस्रो हुने विद्यार्थीले ८९ अंक ल्याएका थिए । सोशल साइन्सबाट आएको विद्यार्थीले साइन्स फ्याकल्टीको गणितमा शीर्ष स्थान हासिल गरेपछि म्याथमेटिक्स पढाउने सर समेत निकै आश्चर्यचकित हुनुभएको थियो ।
पछि कक्षा १२ मा पुगेपछि मेरो कम्प्युटर सीपकै कारण सोह्रखुट्टेस्थित ग्लोब एजुकेशनल इन्स्टिच्युटमा कम्प्युटर शिक्षकको रूपमा बिहान कम्प्युटर पढाउने अवसर प्राप्त भयो । यो अवसर दिलाइदिनुहुने देव सर प्रति पनि म सदैव आभारी छु । त्यसपछि मेरो दैनिकी अझ व्यस्त बन्यो—बिहान कम्प्युटर पढाउन जाने र दिउँसो कलेज पढ्न जाने । यसरी अध्ययन र कामलाई सँगसँगै अघि बढाउँदै मैले आफ्नो प्लस टु जीवन पूरा गरेँ । आज मेरो प्लस टु जीवनका तस्बिरहरू खोज्दा केवल यी दुई वटा तस्बिर मात्र भेटिए । तर यी दुई तस्बिरहरूले मेरा लागि त्यो समयको संघर्ष, सपना, मेहनत, सिकाइ, मित्रता, आत्मनिर्भरता र जीवन निर्माणका प्रारम्भिक अध्यायहरूलाई जीवित राखेका छन् । यी तस्बिरहरू भविष्यमा मेरो विगतका संघर्षपूर्ण दिनहरू सम्झाउने एउटा महत्वपूर्ण दस्ताबेज ठानेर यहाँ सुरक्षित गर्ने निर्णय गरे ।