From classroom to career: story of my first job of my life



मेरो जीवनको पहिलो जागीरको बारेमा एउटा रोमान्चक कहानी छ जसले मेरो जीवनको पहिलो जागीरको अनुभवलाइ मेराे लागि जीवन्त बनाएर राखेकाे छ । म काठमाडौंको सोर्हखुट्टेमा रहेको सिग्मा कलेजमा भर्खरै ११ कक्षा पास भएर कक्षा १२ मा पढ्दै थिए । हाम्रो पढाइ दिउसोकाे थियो । अझै पनि मलाइ याद छ, मेरा घनिष्टतम साथिहरू विज्ञान, बिजय, गणेश, सिर्जना, करूणा, बालकृष्ण, राजकुमार, फुरी, कुमार, शिला, मनिसा लगायत थिए । 

एक दिन विहानै सोर्हखुट्टे गणेशमन्दीर छिर्ने गल्लीको बाँयातर्फ रहेको पहिलो बिल्डिङको दोस्रो तलामा अवस्थित ग्लोब एजुकेशनल इन्सटिचिउटको अफिसमा म हाँजीर गर्दै थिए । अचानक, हामीलाइ कलेजमा अंग्रेजी पढाउनुहुने गुरु त्यही टुप्लुक्क आइपुग्नुभयो । उबेला गुरुलाइ कक्षाकोढामा भन्दा बाहीर अन्यत्र भेट्दा सातो जान्थ्यो,  हामी  डराउथ्यौं, डरै डरमा नमस्कार सर भने मैले पनि । तब सरले सोध्नुभयो, अरे भीम तिमि यहाँ के पढ्न आएको ? तब मैले लजाउदै  लजाउदै भने- म यहाँ कम्प्यूटर टिचरकोरूपमा विगत ४ महिनादेखि काम गरिरहेको छु । मैले यहाँ कम्प्युटर सिक्न वा पढ्न आउनुहुने विद्यार्थीहरूलाइ बेसीक कम्प्युटर र ग्राफिक्स डिजाइनीङ सिकाउछु भनें । अनि, मैले सोधे- हजुर चै यहाँ के कामले पाल्नुभएको थियो सर ? सरले भन्नुभयो, म पनि यहाँ आइएलटिएस पढाउछु । हस सर म क्लासमा गए भनेर म मेरा विद्यार्थीहरू आइसक्नुभएकोले क्लासतर्फ लागे । पढाइ सकेर दिउसो कलेज गए । कलेजमा हाफ टाइम पछि जब सोही अंग्रेजी सरको क्लास शुरू भयो, तब शुरूमै सरले कडा स्वरमा सबैले होमवर्ग गरेर ल्याएका छौ नि भनेर सोध्नुभयो । केही साथीहरूले होमवर्क गर्न भ्याएनछन वा अल्छी लागेर गरेका रहेनछन तर मैले भने होमवर्क गरेर ल्याएकोले सरले होमवर्क नगर्ने साथिहरूलाइ सुनाउदै भन्नुभयो-- तिमारू अल्छीहरूले गरेर खादैनौ । हेर, भीम विहान विहान कम्प्युटर टिचरको रूपमा जागिर खान्छन, पढाउन जान्छन र पनि होमवर्क गरेर ल्याएका रहेछन, तिमारू अल्छीहरू भने घर गयो खायो, सुत्यो, उठ्यो, खायो अनि आयो, यसरी कसरी तिमारूको भविष्य बन्छ ?  भनेर रिसाउदै भन्नुभयो । 

यसरी सरले मेरो प्रशंसा गर्नुभएपछि मेरो नाक फुलिएर घिरौला जत्रो भएको थियो । मेरा साथिहरूले म कम्प्युटरको अलिक पारखी छु भन्ने थाहा पाए । त्यसपछि उनिहरूका विभिन्न असाइनमेन्टहरू, डकुमेन्टेसनका कामहरू लगायत विभिन्न कामहरू मलाइ गरिदेउ है भीम भन्थे, मैले पनि निशुल्क गरिदिन्थे । मलाइ टाइपिङ गर्न, डिजाइन गर्न, वा केही काम गर्न अरूले जति धेरै दिएपनि जिम्मेवारीपूर्वक निशुल्क गरिदिन्थे ताकी मैले मेरो स्कील र स्पीड विकास गर्न सकु । मेरो यो २०१० ताकाको कलेज स्मृतीहरूलाइ अहिले २०१३ मा पुनर्ताजगी गरेर मेरो ब्लगमा अभिलिखित गरे।

(त्यतिखेर मेरो तलब बिहान ६ बजेदेखि ९ बजेसम्म पढाएको ३५०० रूपैंया थियो र मेरो कोठाभाडा चै १५०० रूपैया थियो ।)

Share:

सिग्मा कलेज पढ्दाका दिनहरू: गणित, कम्प्युटर र संघर्षले खिपेको जीवनको जग



एस.एल.सी. परीक्षामा ६५ प्रतिशत अंकसहित प्रथम श्रेणीमा उत्तीर्ण भएपछि मेरो मात्र होइन, मेरो परिवारको पनि ठूलो सपना थियो—म काठमाडौं गएर उच्च शिक्षा हासिल गरूँ र सम्भव भएसम्म साइन्स फ्याकल्टी पढु । यही सपना बोकेर म २०६५ साल साउन ८ गते गाउँबाट झोला बोकेर काठमाडौं आएँ । मेरो योजना स्पष्ट थियो—सरकारी अमृत साइन्स क्याम्पस (अस्कल) मा आई.एस्सी. पढ्ने । तर काठमाडौं आइपुगेपछि थाहा भयो कि सोही वर्षदेखि अस्कल क्याम्पसमा आई.एस्सी. कार्यक्रम बन्द भइसकेको रहेछ र त्यही वर्षदेखि नेपालमा प्लस टु प्रणाली व्यापक रुपमा लागू भएको रहेछ । गाउँबाट साइन्स पढ्ने सपना बोकेर आएको मेरो लागि त्यो समाचार अप्रत्याशित थियो ।

त्यसपछि मेरो सानदाइ (ठूलबुबाको कान्छो छोरा) ले मलाई काठमाडौंको सोह्रखुट्टेस्थित सिग्मा कलेजमा लिएर जानुभयो । मेरो एस.एल.सी.को नतिजा, विशेष गरी गणितमा प्राप्त उत्कृष्ट अंकहरू हेरेपछि त्यहाँका प्रिन्सिपल दमन सर र त्यहाँको एडमिनिस्ट्रेसन हेड ठाकुर श्रेष्ठले एउटा सुझाव दिनुभयो । उहाँहरुको विचारमा मलाई साइन्सभन्दा पनि सोशल साइन्स अन्तर्गत म्याथमेटिक्स र इकोनोमिक्स मेजर विषय लिएर पढाउँदा बढी उपयुक्त हुने रहेछ । अन्ततः उहाँकै सल्लाह अनुसार सानदाइले मलाई सिग्मा कलेजमा कक्षा ११ मा म्याथमेटिक्स र इकोनोमिक्स मेजर विषयसहित भर्ना गरिदिनुभयो । गाउँबाट साइन्स पढ्ने दृढ इच्छा बोकेर आएको मलाई सुरुका केही दिन भने सोशल साइन्समा भर्ना गरिदिएको कुरा मन परेको थिएन । तर विस्तारै बुझ्दै जाँदा मैले आफ्नो वास्तविक शक्ति गणित नै भएको महसुस गर्न थालेँ । आखिर मैले भविष्यमा जे बन्ने भए पनि त्यो गणितकै जगमा बन्ने पक्का थियो । त्यसपछि मैले आफू पढिरहेको विषयप्रति पूर्ण रूपमा सकारात्मक सोच विकास गरेँ ।

काठमाडौं आएको सुरुका दिनहरूमा म नयाँबजारस्थित गोरखाली टेलिकम नजिकै सानदाइको कोठामा बस्ने गर्थेँ । सानदाइ कम्प्युटर सञ्चालनमा अत्यन्तै दक्ष हुनुहुन्थ्यो । उहाँको टाइपिङ गति साँच्चिकै रकेटजस्तै थियो । त्यतिबेला उहाँ गोरखापत्र दैनिकमा सम्पादकको रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यसबाहेक विभिन्न संस्थाहरूमा कम्प्युटर प्रशिक्षण दिने, पुस्तक तथा प्रकाशन सम्पादन गर्ने लगायत अनेकौं कामहरू पनि गर्नुहुन्थ्यो । बिहान आठ बजे खाना खाएर कोठाबाट निस्किने उहाँ राति करिब बाह्र बजे मात्र फर्किनुहुन्थ्यो । म भने उहाँलाई कुरेर बसिरहन्थेँ । त्यो समय काठमाडौंमा दैनिक १८ देखि २० घण्टासम्म लोडसेडिङ हुने गथ्र्यो । बिजुली नहुँदा अध्ययन गर्नु निकै कठिन हुन्थ्यो । राति करिब नौ बजेसम्म खाना पकाइसकेर क्यान्डिल बालेर पढ्ने मेरो नियमित बानी बनिसकेको थियो ।

त्यतिबेला मोबाइल फोन पनि थिएन । सानदाइको कोठामा विन्डोज एक्सपी चल्ने पुरानो डेस्कटप कम्प्युटर थियो । बिजुली आउनेबित्तिकै म त्यसैमा बसेर टाइपिङ गर्ने, डिजाइन सिक्ने, नयाँ–नयाँ कुराहरू बुझ्ने प्रयास गर्थेँ । कम्प्युटरप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गइरहेको थियो । करिब छ महिनापछि काठमान्डौंमा बस्न अलि सहज भएको महसुस गरेपछि मैले आफ्नै सानो डेरा लिएर बस्ने निर्णय गरेँ । मेरो ठूलमामाको जेठी बुहारी उमा भाउजु अर्थात अर्जुन दाइकी श्रीमतीले कपुरधारामा राजेश हमालको घरभन्दा अलिकति उतापट्टी एउटा सानो अँध्यारो कोठा खोजिदिनुभयो । त्यसको मासिक भाडा १५०० रुपैयाँ थियो । केही समयपछि म त्यहाँबाट लैनचौरतर्फ भारतीय दूतावासको पर्खालको बाटो हुदै जाने गल्लीभित्र रहेको अर्को जस्ताले छाएको कोठामा सरेँ । त्यस कोठाको भाडा १२०० रुपैयाँ थियो । त्यो कोठा उज्यालो, खुला, हराभरा वातावरण भएको र बस्न निकै रमाइलो थियो । त्यही कोठामा सरेपछि मैले २५ हजार रुपैयाँ खर्च गरेर आफ्नै कम्प्युटर किनें । खासमा, मेरो पढाइ, लेखाइ र सिकाइ को सबैभन्दा प्रमुख वा बाउ भने पनि आमा भने पनि वा गुरु भने पनि जे भने पनि मेरी आमा नै हुन, कम्प्युटर किन्न घरबाट आमाले नै पैसा पठाइदिनुभएको थियो । त्यसपछि त मेरो संसार नै बदलियो । कम्प्युटरका किताबहरू किनेर दिनरात अभ्यास गर्ने, टाइपिङ गर्ने, डिजाइन सिक्ने र सकेसम्म कम्प्युटरमा दक्ष बन्ने प्रयासमा लागिरहेँ ।

यद्यपि जहाँ बसे पनि मेरो जीवनमा सानदाइको प्रभाव र प्रेरणा निरन्तर रहिरह्यो । पछि उहाँले भृकुटीमण्डपमा कम्प्युटर ग्राफिक्स डिजाइन सम्बन्धी तालिम सञ्चालन गर्दा मलाई पनि सहभागी हुन बोलाउनुभयो । उहाँले धेरै विद्यार्थीहरूलाई पढाइरहनुभएको कक्षामा म पनि गएर नियमित रूपमा सिक्ने गर्थेँ । लगभग तीन महिनाको अवधिमा उहाँको मार्गदर्शन, प्रेरणा र प्रशिक्षणबाट मैले बेसिक कम्प्युटिङ, ग्राफिक्स डिजाइन, हाडवेयर र अपरेटिङ सिस्टम सम्वन्धि सिप विकास गर्न सफल भएँ । हुन त एस.एल.सी. दिएर बसेको समयमा गाँउमै आरुघाट बजारमा सुरेश दाइको कम्प्युटर सेन्टरमा पोखराका हेम सरले सञ्चालन गर्नुभएको कक्षामा करिब एक महिना आधारभूत कम्प्युटर प्रशिक्षण लिएको थिएँ । त्यहाँ नेपाली टाइपिङ, अंग्रेजी टाइपिङ, एम.एस. पेन्ट र विशेष गरी माइक्रोसफ्ट वर्डको सामान्य ज्ञान प्राप्त गरेको थिएँ । तर काठमाडौं आएपछि सानदाइमार्फत ग्राफिक्स डिजाइन लगायतका धेरै एडभान्स सीपहरू सिक्ने अवसर प्राप्त भयो । म स्वभावैले छिटो सिक्ने र सिकेको कुरा तुरुन्त व्यवहारमा उतार्ने खालको थिएँ । सायद गणित र कम्प्युटरबीचको वैज्ञानिक कनेक्सनले पनि मलाई छिटै कम्प्युटर स्कील बढाउन सहयोग गरिरहेको थियो होला । गणितपछि मलाई सबैभन्दा मन पर्ने विषय नै कम्प्युटर बन्न थाल्यो । अहिले, अर्थात् २०१३ सम्म आइपुग्दा, म त्यही गणित र कम्प्युटिङ सीपलाई निरन्तर विकास गर्दै स्वअध्ययनका माध्यमबाट वेब डिजाइनर (एचटिएमएल, सिएसएस र जाभास्कृप्ट), वेब डेभलपर (पिएचपी र माएसक्युएल), ग्राफिक्स डिजाइनर (फोटोसप, इन्डिजाइन, पेजमेकर, फ्रिह्यान्ड), गणित शिक्षक र कम्प्युटर शिक्षक बनिसकेको छु । त्यसैले यदि मेरो जीवनको आधारशिला निर्माण गर्न प्रारम्भिक र विशेष योगदान दिने एक व्यक्तिको नाम लिनुपरेमा निसन्देह सानदाइको नाम आउछ । उहाँप्रति म सदैव कृतज्ञ र आभारी रहनेछु ।

सिग्मा कलेजको जीवन पनि अत्यन्त स्मरणीय रह्यो । मेरा साथीहरू अत्यन्तै धेरै थिए, तर सबैभन्दा मिल्ने र जिग्री साथीहरू विजय न्यौपाने र विज्ञान पोखरेल थिए । उनीहरूबाहेक गणेश, सिर्जना, करूणा, बालकृष्ण, फुरी, कुमार, राजकुमार, शिला, सुशीला, मनिषा लगायतका साथीहरूसँग पनि निकै घनिष्ठ सम्बन्ध थियो । अध्ययनका हिसाबले पनि म सोशल साइन्स फ्याकल्टीका उत्कृष्ट विद्यार्थीहरूमध्ये एक थिएँ । कलेजका कुनै पनि कार्यक्रममा फ्याकल्टीको प्रतिनिधित्व आवश्यक परेमा प्रायः मलाई नै पठाइन्थ्यो । कलेज सुरु भएको करिब चार महिनापछि पहिलो त्रैमासिक आन्तरिक परीक्षा भयो । त्यस परीक्षामा म आफ्नो फ्याकल्टीमा त प्रथम भएँ नै, एउटा रोचक घटना पनि घट्यो । सोशल साइन्समा म्याथमेटिक्स पढ्ने विद्यार्थी हामी केवल दुई जना—म र राजकुमार मात्र थियौँ । हामीलाई अलग्गै कक्षा सञ्चालन गर्नुको सट्टा म्याथमेटिक्स पढ्न साइन्स फ्याकल्टीको कक्षामा पठाइन्थ्यो, किनकि पाठ्यपुस्तक एउटै थियो—बेसिक म्याथमेटिक्स । त्यसैले साइन्स फ्याकल्टीका विद्यार्थीहरूसँग पनि मेरो राम्रो मित्रता थियो, जसमा विजय र मनिषा पनि पर्थे । पहिलो त्रैमासिक परीक्षामा मैले म्याथमेटिक्समा ९२ अंक ल्याएँ र साइन्स फ्याकल्टीका करिब २५ जना विद्यार्थीलाई समेत पछि पारेर प्रथम भएँ । दोस्रो हुने विद्यार्थीले ८९ अंक ल्याएका थिए । सोशल साइन्सबाट आएको विद्यार्थीले साइन्स फ्याकल्टीको गणितमा शीर्ष स्थान हासिल गरेपछि म्याथमेटिक्स पढाउने सर समेत निकै आश्चर्यचकित हुनुभएको थियो ।

पछि कक्षा १२ मा पुगेपछि मेरो कम्प्युटर सीपकै कारण सोह्रखुट्टेस्थित ग्लोब एजुकेशनल इन्स्टिच्युटमा कम्प्युटर शिक्षकको रूपमा बिहान कम्प्युटर पढाउने अवसर प्राप्त भयो । यो अवसर दिलाइदिनुहुने देव सर प्रति पनि म सदैव आभारी छु । त्यसपछि मेरो दैनिकी अझ व्यस्त बन्यो—बिहान कम्प्युटर पढाउन जाने र दिउँसो कलेज पढ्न जाने । यसरी अध्ययन र कामलाई सँगसँगै अघि बढाउँदै मैले आफ्नो प्लस टु जीवन पूरा गरेँ । आज मेरो प्लस टु जीवनका तस्बिरहरू खोज्दा केवल यी दुई वटा तस्बिर मात्र भेटिए । तर यी दुई तस्बिरहरूले मेरा लागि त्यो समयको संघर्ष, सपना, मेहनत, सिकाइ, मित्रता, आत्मनिर्भरता र जीवन निर्माणका प्रारम्भिक अध्यायहरूलाई जीवित राखेका छन् । यी तस्बिरहरू भविष्यमा मेरो विगतका संघर्षपूर्ण दिनहरू सम्झाउने एउटा महत्वपूर्ण दस्ताबेज ठानेर यहाँ सुरक्षित गर्ने निर्णय गरे ।

Share:

जीवनमा ‘आइरन गेट (SLC)’ पार गरेको त्यो अविस्मरणीय दिन

आज जीवनका पुराना पानाहरू पल्टाउँदा २०६५ साल असार महिनाको त्यो दिन झलझली सम्झनामा आउँछ, जुन दिन मैले जीवनको पहिलो ठूलो शैक्षिक उपलब्धि हासिल गरेको समाचार सुनेँ । त्यो उपलब्धि थियो—एस.एल.सी. अर्थात् त्यतिबेला ‘करिअरको आइरन गेट’ भनेर चिनिने परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुनु । आजका पुस्तालाई सायद कल्पना गर्न पनि कठिन होला, तर त्यतिबेला एस.एल.सी.को परिणाम केवल एउटा शैक्षिक नतिजा मात्र थिएन, त्यो एउटा विद्यार्थीको भविष्यको दिशानिर्देशक मानिन्थ्यो ।  

त्यो समय म भिमोदय उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिएँ । हाम्रो गाउँबाट म, शैलेन्द्र र हरिराम नियमित रूपमा विद्यालय जाने गथ्र्यौँ । विद्यालय पुग्न नै कम्तीमा एक घण्टा पैदल हिँड्नुपथ्र्यो । उकाली, ओराली, घाँसदाउरा, मेलापात, गाउँघरका दैनिक कामकाज र अध्ययनलाई सँगसँगै अघि बढाउँदै हामीले विद्यार्थी जीवन बिताएका थियौँ । विद्यालयमा भने मेरा धेरै प्रिय साथीहरू थिए । नारायण लामिछाने, जयबहादुर गुरुङ, प्रविन बुर्लाकोटी, घना गुरुङ, शान्ता गुरुङ, श्याम घले, पूर्णबहादुर गुरुङ, केयरसिंह गुरुङ लगायत धेरै साथीहरूसँग बिताएका ती दिनहरू आज पनि मनमा ताजै छन् । साधारण गाँउले परिवेशबाट आएका हामी सबैका सपना भने असाधारण थिए ।

म आफूलाई त्यतिबेला एकदमै मध्यम स्तरको विद्यार्थी मान्थेँ । विशेष गरी अंग्रेजी विषयमा म निकै कमजोर थिएँ । नेपाली मातृभाषा भएको र सरकारी विद्यालयमा अध्ययन गरेको कारण अंग्रेजीमा संघर्ष गर्नुपथ्र्यो । अंग्रेजी विषयको परीक्षामा १०० पूर्णाङ्कको प्रश्नपत्रमा ३२ अंक ल्याएर जसोतसो उत्तीर्ण हुन पनि कठिन हुन्थ्यो मलाई । तर एउटा विषय भने मेरो विशेष प्रिय थियो—गणित । सानैदेखि हजुरबाले घरमा सानातिना पैसाको हिसाबकिताब गर्न मलाई लगाउनुहुन्थ्यो । सायद त्यही कारणले होला, गणितप्रति मेरो रुचि र आत्मविश्वास दुवै असाधारण थियो । वास्तवमा मेरो जीवनमा शिक्षाप्रतिको प्रेरणाको सबैभन्दा ठूलो स्रोत नै मेरा हजुरबा हुनुहुन्थ्यो । म जन्मेको चार महिनामै बुबाको निधन भएको रे । त्यसपछि हामीलाई हुर्काउने, माया गर्ने, पढाउने र जीवनका अमूल्यहरू पाठहरु सिकाउने जिम्मेवारी हजुरबा र आमाले नै वहन गर्नुभयो । हाम्रो गाउँमा बुबा, काका वा ठूला बुबाको पुस्ताका अधिकांश मानिसहरू अक्षरसमेत पढ्न नजान्ने अवस्थामा थिए, तर मेरा हजुरबा भने काशी बनारससम्म पुगेर थोरबुहत लेखपढ गर्नुभएको व्यक्ति हुनुहुन्थ्यो । त्यसैले शिक्षाको महत्वबारे उहाँको दृष्टिकोण निकै फराकिलो थियो । उहाँले हामीलाई (दाइ र मलाई) निरन्तर मेहनत गरेर पढ्न प्रेरित गरिरहनुहुन्थ्यो ।

हजुरबाको प्ररणाबाट प्रेरीत भएरै होला मलाई पढ्न एकदमै रुची लाग्थ्यो । पढाइमा खुब मेहेनत गर्थे । म ८ कक्षा वा ९ कक्षा पढ्दाताकाको एक अनुभव पनि सुनाउछु– कक्षा ८ उत्तीर्ण गरेर कक्षा ९ मा पुगेपछि वैकल्पिक विषय छनोट गर्ने समय आयो । विद्यार्थीहरूले अप्सनल म्याथमेटिक्स, इकोनोमिक्स वा शिक्षा विषयमध्ये एक रोज्नुपर्ने व्यवस्था थियो । मैले कुनै हिचकिचाहट बिना अप्सनल म्याथमेटिक्स रोजेँ । त्यतिबेला करिब १९३ जना विद्यार्थीमध्ये केवल ३८ जनाले मात्र अप्सनल म्याथमेटिक्स रोजेका थिए । विद्यालयले पनि अप्सनल म्याथमेटिक्स पढ्ने विद्यार्थीलाई अपेक्षाकृत सक्षम विद्यार्थी मानेर ‘सेक्सन ए’ मा राखेको थियो, इकोनोमिक्स पढ्नेलाई ‘सेक्सन बी’ र शिक्षा पढ्नेलाई ‘सेक्सन सी’ मा विभाजन गरिएको थियो । गणितप्रतिको मेरो लगाव र क्षमता त्यसपछि झन् स्पष्ट हुँदै गयो । एस.एल.सी. परीक्षा दिनुअघि अनिवार्य रूपमा पास गर्नुपर्ने टेस्ट परीक्षामा मैले अप्सनल म्याथमेटिक्समा ९७ अंक र कम्पल्सरी म्याथमेटिक्समा ९२ अंक प्राप्त गरेको थिएँ । त्यो परिणामले मलाई आत्मविश्वास त दियो, तर अंग्रेजी विषयप्रतिको डर भने अझै बाँकी नै थियो । मलाई म्याथमेटिक्स विषयमा तिख्खर बनाउन कसैको बढी योगदान छ भने त्यो अप्सनल म्याथमेटिक्स पढाउनुहुने मेरो आदरणीय गुरुदेव छन्द प्ररसाद खनाल सर हो, म जीवभरी उहाँप्रति कृतज्ञ मात्र होइन ऋणी छु, म्याथमेटिक्स विषयमा मलाई तिखार्ने, मलाई निखार्ने व्यक्ति उहाँ नै हो । 

अन्ततः २०६४ सालको चैत महिनामा एस.एल.सी. परीक्षा सम्पन्न भयो । आज पनि सम्झन्छु, हाम्रो परीक्षा सकिएलगत्तै त्यही वर्ष चैत २८ गते नेपालमा पहिलो पटक संविधानसभा निर्वाचन हुँदै थियो । माओवादी जनयुद्धको अन्त्य, राजतन्त्रको अन्त्य, बृहत् शान्ति सम्झौता र लोकतन्त्रको नयाँ युगको सुरुआतसँग जोडिएको त्यो निर्वाचन नेपालको इतिहासमा अत्यन्त महत्वपूर्ण थियो । देश राजनीतिक परिवर्तनको प्रतीक्षामा थियो भने म आफ्नो जीवनको सम्भवतः सबैभन्दा महत्वपूर्ण नतिजाको प्रतीक्षामा थिएँ । मेरो लागि एस.एल.सी.को नतिजा पनि कुनै राष्ट्रिय घटनाभन्दा कम महत्वको थिएन, किनकि त्यही नतिजाले मेरो शैक्षिक र व्यावसायिक भविष्यको ढोका खोल्ने वा बन्द गर्ने थियो ।

केही महिनाको प्रतीक्षापछि २०६५ साल असार मसान्तमा नतिजा प्रकाशित भयो । त्यो समय आजजस्तो इन्टरनेट वा मोबाइल एपको सुविधा थिएन । गाउँमा बसेर नतिजा हेर्न सजिलो थिएन । अधिकांश विद्यार्थीहरू गोरखापत्रमा प्रकाशित लाखौँ सिम्बोल नम्बरहरूबीच आफ्नो नम्बर खोज्ने गर्थे वा १६०० नम्बरमा फोन गरेर नतिजा बुझ्ने प्रयास गर्थे । हाम्रो गाउँमा फोन पनि थिएन । टारीमा रेशम काकाको घरमा सायद त्यतिबेला स्काई एस.टी.डी. फोन जडान भएको थियो । म पनि त्यही फोनमा बारम्बार १६०० डायल गरिरहेको थिएँ । तर फोन निरन्तर व्यस्त आइरहेको थियो । धेरै प्रयासपछि बल्ल फोन लाग्यो । जब मैले प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण भएको समाचार सुनेँ, त्यो क्षणलाई शब्दमा वर्णन गर्न आज पनि गाह्रो लाग्छ । म खुशीले एकछिन त पूर्ण रूपमा नियन्त्रणबाहिर भएको थिएँ । किनभने हामीजस्ता सरकारी विद्यालयमा अध्ययन गर्ने गाउँले विद्यार्थीका लागि प्रथम श्रेणी ल्याउनु वास्तवमै पहाड फोड्नुजस्तै कठिन उपलब्धि थियो ।

हाम्रो विद्यालयबाट एस.एल.सी. दिएका करिब १९३ जना विद्यार्थीमध्ये केवल ८९ जना मात्र उत्तीर्ण भएका थिए भने प्रथम श्रेणी ल्याउने विद्यार्थीहरूको संख्या मात्र २३ थियो । ती २३ जनामध्ये म पनि एक थिएँ, अझ विद्यालयको शीर्ष १० भित्र पर्न सफल भएको थिएँ । मैले ६५ प्रतिशत अंकसहित प्रथम श्रेणी हासिल गरेको थिएँ । त्यो परिणामले मेरो आत्मविश्वासलाई नयाँ उचाइमा पुर्यायो । मैले महसुस गरेँ—यदि गाउँको साधारण परिवेशबाट र सीमित स्रोतसाधनका बीच अध्ययन गरेर पनि यो उपलब्धि हासिल गर्न सकिदो रहेछ भने भविष्यमा त मैले अझ ठूलो सपना देख्न र पूरा गर्न पनि सक्ने रहेछु ।

सायद यही कारणले त्यो नतिजाले मेरो जीवनको दिशा नै परिवर्तन गरिदियो । त्यसपछि मैले तत्काललाई गाउँमै सीमित भएर नबस्ने निर्णय गरेँ । राम्रो उच्च शिक्षा हासिल गर्नुपर्छ, ठूलो संसार हेर्नुपर्छ र जीवनमा केही अर्थपूर्ण कर्म गर्नुपर्छ भन्ने दृढ संकल्प मनमा पलायो । अन्ततः २०६५ साल साउन ८ गते झोला बोकेर उच्च शिक्षाको लागि आरुघाट–अल्कटारबाट हिँडेरै धादीङबेसीसम्म (लगभग ५० किलोमिटर) र धादीङबेसीबाट काठमाडौंतर्फ प्रस्थान गरेँ । आज पछाडि फर्केर हेर्दा महसुस हुन्छ, त्यो नतिजा केवल एउटा प्रमाणपत्रको उपलब्धि मात्र त थिएन, त्यो त मेरो आत्मविश्वास, संघर्ष, आमा र हजुरबाको प्रेरणा, गाउँको माटोको प्रेम, शिक्षकहरूको मेहनत र मेरो लागि उज्यालो भविष्यतर्फ खुलेको एउटा ऐतिहासिक ढोका थियो ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message