Dashain 2070 Bliss: A Family Affair of Love and Unity



२०७० सालको बडादशैँ हाम्रो परिवारका लागि केवल चाडपर्व मात्र थिएन, बरु पारिवारिक एकता, प्रेम र सद्भावलाई अझ मजबुत बनाउने एक अनुपम अवसर बनेको थियो । दशैँ शुरु हुनु एक हप्ता अघिदेखि नै परिवारमा उत्साह, टिकाजमरा राख्ने तयारी र चाडपर्वको रमाइलोले विशेष बनाएको थियो । दशै मनाउन भनेरै हामी दाइ भाउजु र म काठमाडौंदेखि गाँउ गएका थियौ । म चै अफिसबाट बिदा मिलेको ले अलि चाढै नै (सायद फुलपातीको दिन भन्दा ३ दिन अघि) गाँउ गएको थिए ।  दाइभाउजु र हामी आमाछोरा एउटै ठाउँमा भेला भइ सबैजना सँगै गाँउको मुल घरमा दशै मनाउनु, पालैपालो एकअर्काबाट आशीर्वाद र टिकाजमरा थाप्नु र उत्साह साटासाट गर्नुले परिवारको महत्व झनै प्रगाढ भएको महसुस गरायो । दशैको अवसरमा आरुघाटमा मेला लागेको थियो । त्यो भब्य रमाइलो मेला हेर्न समेत गइयो । म देउराली बस्दाताकाका प्रियजनहरुसँग पनि त्यही मेलामा भेट्न पाउदा र आफैले पढेको भिमोदय माबी बाट तल बुढीगण्डकीको तीरमा रहेको तुइन, मन्दिर र बगैंचा सँगसँगै घुम्दाको रमाइलो क्षणहरु पनि अविस्मरणीय बनेको थियो । समग्रमा, २०७० सालको बडादशैँ हामी सबैलाई भावनात्मक रूपमा नजिक ल्याउने, प्रेम र सद्भाव बढाउने र परिवार नै जीवनको सबैभन्दा ठूलो समृद्धि हो भन्ने कुरा पनुः सम्झाइ दिने अविस्मरणीय उत्सव बन्न पुगेको थियो । 



Share:

अल्टा ग्राफिक्स र एक्टिभ प्रेसमा काम गर्दाका व्यस्त दिनहरू

देउरालीको बसाइ समाप्त गरेर काठमाडौं फर्किएपछि मेरो जीवन फेरि एकपटक नयाँ गतिमा अघि बढ्न थाल्यो । सन् २०१३ को फेब्रुअरीदेखि अक्टोबरसम्मको करिब दस महिनाको अवधि मैले अत्यन्त व्यस्त तर सिकाइले भरिएको वातावरणमा बिताएँ । बिहान एक्टिभ प्रेस र दिउँसो अल्टा ग्राफिक्स प्रेसमा काम गर्दै दिनको अधिकांश समय प्रिन्टिङ, प्रकाशन र ग्राफिक डिजाइनिङकै संसारमा व्यतीत हुन्थ्यो । यस अवधिमा मैले पहिलेदेखि आफै पढेर र अभ्यास गरेर जानेका बेसीक कम्पयुटीङ, ग्राफिक जिडाइनीङ र वेब साइट डिजाइनिङका सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई अझ व्यवस्थित, कलात्मक र व्यावसायिक स्तरमा विकास गर्ने अवसर पाएँ । क्यालेन्डर, किताब, कापी, भिजिटिङ कार्ड, ब्रोसर, ब्यानर, होर्डिङ बोर्ड, पुस्तक आवरण (बुक कभर), पुस्तकको लेआउट तथा अन्य सम्पूर्ण ग्राफिक्ससम्बन्धी कार्यहरूलाई छिटो, गुणस्तरीय र व्यावसायिक ढङ्गले सम्पन्न गर्न सक्ने सीप यही अवधिमा विकसित भयो । काठमाडौंका दुई ठूला प्रिन्टिङ प्रेसमा बिहानदेखि बेलुकासम्म निरन्तर काम गर्दा कामको गति, समय व्यवस्थापन, सिर्जनात्मक सोच र प्राविधिक दक्षतामा उल्लेखनीय सुधार आयो । कहिलेकाहीँ दिनहरू यति व्यस्त हुन्थे कि बिहान काम सुरु गरेको थाहा नपाउँदै साँझ परिसकेको हुन्थ्यो, तर हरेक दिनले मलाई केही नयाँ सिकाइरहेको हुन्थ्यो । आज पछाडि फर्केर हेर्दा महसुस हुन्छ, यो अवधि केवल जागिर गरेको समय मात्र थिएन, बरु आफूलाई एक अतिरिक्त सीपयुक्त, आत्मनिर्भर र बहुआयामिक व्यक्तिको रूपमा तयार पार्ने महत्वपूर्ण चरण थियो । पछि जीवनका विभिन्न मोडहरूमा यही ग्राफिक्स तथा डिजाइनिङसम्बन्धी सीपले मलाई अनेकन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा विभिन्न व्यावसायिक क्षेत्रमा काम गर्ने अवसरहरू दिलायो । पढाइसँगै अतिरिक्त सीपमा पनि अब्बल बन्नुपर्छ भन्ने जीवनको एउटा महत्वपूर्ण पाठ मैले यही समयमा व्यवहारिक रूपमा सिक्ने अवसर पाएँ । अल्टा ग्राफिक्स र एक्टीभ प्रेसमा काम गर्दा मेरा प्रिय मित्रहरु बिसाल, नगेन्द्र, हरी, सलिना लगायत थिए, उहाँहरुलाइ म अहिले पनि सप्रेम सझिरहन्छु ।

Share:

देउराली बसाइ: कम्प्युटर शिक्षकबाट गणित शिक्षकसम्म



आज जीवनका विगतका केही महत्वपूर्ण मोडहरू सम्झँदा गोरखाको पाँचखुवा देउरालीमा बिताएका दिनहरू विशेष रूपमा मनमा आउँछन् । बिए प्रथम वर्षको पढाइ चलिरहेको बेला मलाई एउटा अप्रत्याशित तर महत्वपूर्ण अवसर प्राप्त भयो । हल्यान्डको स्टुडेन्ट हेल्प नेपालमार्फत नेपालको भिलेज इन्भारमेन्ट नेपाल संस्थासँगको सहकार्यमा गोरखाको शैलपुत्री उच्च माध्यमिक विद्यालय तथा वरिपरिका विद्यालयहरूमा कम्प्युटर टिचिङ परियोजना सञ्चालन गर्ने योजना बनेको थियो । त्यस परियोजनाका लागि मलाई तीन महिनाको कम्प्युटर शिक्षकको रूपमा लैजाने प्रस्ताव ठाकुर धिताल दाइ मार्फत आयो, प्रस्ताव किन आयो भने मलाइ ११ कक्षा पढ्दा देखी नै  हल्यान्डको त्यही स्टुडेन्ट हेल्प नेपाल संस्थाले छ/छ महिनामा अध्ययन खर्च छात्रबृत्ती प्रदान गदै आएको थियो, त्यो छात्रबृत्ती पनि मलाइ ठाकुर धिताल दाइले नै मिलाइदिनुभएको थियो र मेरो कम्प्युटर स्कील बारे सो संस्थालाइ र ठाकुर धिताललाइ पनि राम्रोसँग थाहा थियो, त्यसर्थ मेरो संघर्षको बेलामा मलाइ विभिन्न अवसरहरु मिलाइदिन विशेष भुमीका खेल्नुभएकोमा म ठाकुर धिताल दाई प्रति जीवनभर कृतज्ञ छु । त्यो बेला मेरो बिए प्रथम वर्षको पढाइ चलिरहेको थियो, जनसवाल राष्ट्रिय दैनिकमा जागिर पनि थियो । नयाँ अवसर स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा मैले निकै सोचें । अन्ततः तीन वटा कारणले मलाई निर्णय गर्न सहज बनायो । पहिलो, मेरो आर्थिक अवस्था बलियो थिएन तर पारिवारिक जिम्मेवारी पनि थियो । दोस्रो, यो अवसरले नयाँ अनुभव दिने निश्चित थियो । र तेस्रो तथा सबैभन्दा भावनात्मक कारण, शैलपुत्री विद्यालय मेरो गाउँबाट पैदल करिब तीन घण्टाको दूरीमा थियो । अझ विद्यालय रहेको देउराली क्षेत्र मेरो मामाघर आरूपोखरी सोडारी गाउँको नजिकै पथ्र्यो । गाउँमा आमा एक्लै हुनुहुन्थ्यो, त्यसैले कम्तीमा हरेक शुक्रबार उहाँलाई भेट्न जान सकिने आशाले पनि मलाई त्यो अवसर स्वीकार गर्न प्रेरित गर्यो ।

सन् २०१२ को अप्रिल महिनामा म लगायत भिलेज इन्भारमेन्ट नेपालका केही समिति सदस्यहरू करिब २२ वटा कम्प्युटर लिएर शैलपुत्री विद्यालय पुग्यौँ । त्यही दिनबाट मेरो नियमित रूपमा क्याम्पस गएर पढ्ने अभ्यास टुट्यो । त्यसपछि मैले पाठ्यपुस्तकहरू आफैँ किनेर घरमै अध्ययन गर्ने र अन्तिम परीक्षामा मात्र सहभागी हुने शैली अपनाएँ । पछि त्यही बेला बसेको पूर्णरूपमा स्वअध्ययन गर्ने बानीले जागीर र पढाइ लाइ जीवनमा नछुटाइ निरन्तर सँग सँगै लैजान मद्यत पुर्यायो । देउराली गएपछि सुरुका तीन महिनासम्म मैले शैलपुत्री विद्यालयसहित वरिपरिका थप तीन प्रावी विद्यालयका शिक्षकहरूलाई कम्प्युटर तालिम दिएँ, ताकि उनीहरूले पछि आफ्ना विद्यार्थीहरूलाई सिकाउन सकून् । तीन महिनाको अवधि पूरा भएपछि कम्प्युटरको अलवा मेरो गणित विषयप्रतिको दक्षता र अध्यापन शैलीबाट प्रभावित भएर शैलपुत्री विद्यालय व्यवस्थापन समितिले मलाई गणित शिक्षकको रूपमा नियुक्त गर्यो ।  त्यसपछि स्कुलका डकुमेन्टेसनका कामहरू जस्तै प्रश्नपत्र टाइप गर्ने, प्रिन्ट गर्ने, डिजिटल हाजिरि, कक्षा तालिका, विद्यार्थी परिचयपत्र लगायत विभिन्न अन्य प्राविधिक कामहरूको अलवा नियमीत कक्षा ४ को गणित, कक्षा ६ को गणित र कक्षा ९ को अप्सनल म्याथमेटिक्स पढाउने जिम्मेवारी मेरो भयो । मलाई विद्यालयले नै बस्ने र खाने व्यवस्था गरेको थियो । त्यतिखेर म ठाकुर दाइकै घरमा बस्थे, उहाँको आमाले मलाइ मिठो खाना पकाएर खुवाउनुहुन्थ्यो, पछि ठाकुर दाइको आमा पनि काठमाडौं छोरा भएको ठाँउमै बस्न जानुभयो । ठाकुर दाइको घर भन्दा पल्लो घर हीमलाल सरको थियो । हीमलाल सर शैलपुत्री स्कुलकै एकदमै पुरानो र अनुभवी शिक्षक हुनुहुन्थ्यो । हामी सँगै स्कुल जाने, सँगै फर्कने गर्थिम । हिमलाल सरको कान्छा छोरा फडिन्द्र भाइ मेरो जिग्री साथि भएको थियो । ठाकुर दाइको आमा काठमाडौं जानुभएपछि मलाइ फडिन्द्रको ममिले खाना खुवाउनुभयो । अतः म ठाकुर दाइको ममि, हीमलाल सर, फडिन्द्र भाइ र फडिन्द्रको ममीप्रति पनि मनैदेखि कृतज्ञ छु, आभारी छु, र म उहाँहरूको ऋणी छु । हरेक शुक्रबार बेलुका चार बजे विद्यालय छुट्टीहुनासाथ बत्तीएर करिब दुई घण्टामै आफ्नो घर अल्कटार पुग्थेँ । शुक्रबार र शनिबार आमासँग बिताएर आइतबार बिहान सात बजे घरबाट निस्कीएर दश बजेसम्म विद्यालय पुगेर नियमित कक्षामा सहभागी भइसकेको हुन्थेँ ।

देउरालीमा बिताएको समय केवल अध्यापनको अनुभव मात्र थिएन, जीवन सिक्ने एउटा महत्वपूर्ण पाठशाला पनि थियो । त्यस भेगकै ठूलो सरकारी विद्यालयमा अध्यापन गर्ने अवसरले मलाई आफूभन्दा अनुभवी, परिपक्व र समर्पित शिक्षकहरूसँग नजिकबाट काम गर्ने मौका दियो । त्यतिखेर म त एकदमै आलकच्चा उमेरको अपरिपक्क, केबल १९ वर्षको चनचले फुच्चे केटो थिए । त्यसर्थ उहाँहरुबाट मैले शिक्षा, समाज, खानपान, नेतृत्व र जीवनबारे धेरै कुरा सिकेँ । विद्यालयका गतिविधिबाहेक वरिपरिका गाउँहरू घुम्ने, स्थानीय मेला तथा जात्राहरू हेर्ने, नयाँ मानिसहरूसँग चिनजान गर्ने अवसर पनि पाइयो । नजिकै मामाघर भएका कारण बेला–बेला त्यहाँ पनि पुगिरहन्थेँ । बि.ए. प्रथम वर्षको बोर्ड परीक्षा दिन भने काठमाडौं नै आउनुपर्ने हुन्थ्यो । फर्केर हेर्दा देउरालीमा मेरो बसाइ केवल तीन महिनाका लागि सुरु भएको भए पनि लगभग दस महिनासम्म लम्बियो । अन्ततः सन् २०१३ को फेब्रुअरीतिर मलाई एउटा कुरा स्पष्ट हुन थाल्यो—यदि यहीं बसिरहेँ भने मेरो सम्पूर्ण करिअर गाउँमै सीमित हुन सक्छ । जीवनमा अझ धेरै क्षेत्र बुझ्न, नयाँ अवसर खोज्न र आफूलाई थप परीक्षण गर्नुपर्ने महसुस गरें । त्यसैले मैले देउराली छोडेर पुनः काठमाडौं फर्कने निर्णय गरेँ । काठमाडौं फर्किएपछि सन् २०१३ को अक्टोबरसम्म अल्टा ग्राफिक्स प्रेस र एक्टिभ प्रेसमा बिहान र दिउँसो काम गर्दै अत्यन्त व्यस्त जीवन बिताएँ । आज पछाडि फर्केर हेर्दा महसुस हुन्छ, देउरालीमा बिताएका ती करिब दस महिनाले मलाई सरकारी स्कुलको शिक्षक बन्ने अवसर मात्र दिएनन्, जिम्मेवारी, आत्मनिर्भरता, स्वअध्ययन, ग्रामीण समाजको वास्तविकता र जीवनप्रतिको गहिरो दृष्टिकोण पनि प्रदान गर्यो । सरकारी विद्यालयमा अध्यापन गर्दाको त्यो अनुभव मेरो जीवनको एउटा महत्वपूर्ण अध्याय बनेर सधैँ स्मृतिमा रहिरह्यो । सबैकुराहरुलाइ बिर्सीयो भनेपनि मलाइ देउराली बसाइ किनपनी विशेष एवं खास लाग्छ भने मेरो जीवनका कोही कोही प्रियजनहरुसँग यही देउराली बसाइमा घुलमलिन हुने अवसर जुरेको थियो । 

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message